Tuesday, December 03, 2024

-->

३८ वर्षअघि हराएको मरष्ठी जात्रा ब्युँताउन संघर्षरत चापागाउँवासी

करिब चार दशकअघि मूर्ति हराएपछि चापागाउँको मरष्ठी जात्रा रोकिएको थियो। त्यहाँका युवा जात्रा जोगाउन संरक्षण समिति बनाएर ३ वर्षदेखि संघर्षरत छन्।

३८ वर्षअघि हराएको मरष्ठी जात्रा ब्युँताउन संघर्षरत चापागाउँवासी
तस्वीर : प्रविता/उकालो

‘एन्सियन्ट काठमाडौँः अन्डरस्ट्यान्डिङ नेपाः भ्याली’ले आफ्नो फेसबुक पेजमा आइतबार(हिजो) बिहान साँढे ११ बजे एउटा पोस्ट गर्‍यो,  ‘...यस हप्ता भइरहेका दुई रोचक जात्राका बारेमा हामीले थाहा पाएका छौँ, जुन हाम्रो हप्ता दिनको जात्रा क्यालेन्डरमा पहिले थिएन...’

एन्सियन्ट काठमाडौँ जसले उपत्यकामा हुने गरेको जात्राको एकहप्ते ‘क्यालेन्डर’ तय गर्ने गर्छ। उक्त क्यालेन्डरमा थपिएका जात्रा हुन्; चापागाउँको वज्रवाराही मरष्ठी जात्रा र बलम्बुको महालक्ष्मी।

हुन पनि वज्रवाराही मरष्ठी जात्राबारे कमैलाई मात्र जानकारी छ। कारण, चापागाउँमा उक्त जात्रा ३८ वर्षसम्म मनाइएन। तीन वर्षयता स्थानीय यो जात्रालाई ब्युँताउन संघर्षरत छन्। विसं. २०७९ यता जात्रा विधिवत् रूपमा सञ्चालनमा आइरहेको हो। तेस्रो वर्ष शनिबार (मंसिर अष्टमी)देखि शुरू भएको जात्रा वखाः डबलीमा सोमबार (दशमी)सम्म हुन्छ। 

डबलीमा सोमबार (आज) बिहान स्थानीयको चहलपहल बाक्लो छ। डबलीको मध्य भागमा खटमा मुख्य मूर्तिको प्रतिमा राखी पूजाआराधना चलिरहेको छ। हार्मोनियम, तबलासहित ख्याली बजाएर भजन मण्डली भजन आराधनामा व्यस्त छन्। मण्डलीको एक सदस्य हुन्, कृष्ण गोपाल देशार (८२)। उनी तबला बजाउँछन्। ०१८ सालदेखि नै उक्त जात्रामा उनी तबला बजाउँथे। तर बीचमा जात्रा रोकियो। त्यसपछि ३८ वर्ष मरष्ठी जात्रा चलेन। जात्रामा उनको तबलाको ताल गुन्जिएनन्। तीन वर्षयता फेरि तबला बजाउन पाउँदा उनको हर्षित छन्।

मूर्ति हराएसँगै रोकिएको जात्रा
करिब चार दशकअघि हराएको मूर्तिसँगै जात्रा रोकिएको ७२ वर्षीय देवकुमार देशार बताउँछन्। पुनः सञ्चालनमा आएको जात्रा हेर्न उनी पनि चापागाउँस्थित वखाः डबलीमा आइपुगेका थिए।

किशोरावस्थामा देखेको, मनाएको जात्रामा एक्कासि विश्राम लाग्दा चापागाउँको इतिहासबाट महत्त्वपूर्ण संस्कृति मेटिने हो कि भन्नेमा उनी चिन्तित थिए। यद्यपि, चापागाउँका युवाले देखाएको जाँगरले आफूलाई आफ्नो समयको सम्झना दिलाएको बताए। जीवनको उत्तरार्धमा जात्रा मनाउन पाउँदा अधुरा इच्छा पूरा भएझै लागेको उनी बताउँछन्।

मूर्ति कहिले, कसरी हरायो उनलाई स्पष्ट याद छैन। यद्यपि बाबुबाजेदेखि हराएको मूर्तिको प्रतिरूप बनाएर जात्रा सञ्चालन भएकोमा उनी खुशी छन्। सानातिना विधि तथा सामग्रीबाहेक जात्रामा खासै भिन्नता नभएको उनी बताउँछन्।

देवकुमारकै छेउमा एक हुल महिला पूजाका लागि पालो कुरिरहेका छन्। सामान्य दिनमा अबिर, केशरी, फूलपातीले भरिने पूजाथालीको सट्टा कोत (जात्रा विशेषमा प्रयोग गरिने गोलाकारमा खाल्डो परेको पूजाथाली) भटमास, चिउरा, वः, अण्डा, फलफूल, रक्सीले सजिएको छ। कोतलाई आफ्नो छेउमा राखेर स्थानीय लक्ष्मी देशार पूजा गर्न पालो पर्खिरहेकी थिइन्। उनी जात्रामा भेटिएका आफ्ना संगिनीसँग बातचितमा मक्ख थिइन्। “जात्रा फेरि शुरू भयो, खुशी लाग्यो,” नेपाली भाषा बोल्ने प्रयास गर्दै उनले भनिन्। 

स्थानीयको साहस
स्थानीयलाई मरष्ठी जात्राको मुख्य मूर्ति चोरी भएको यकिन मिति थाहा छैन। हराएको मूर्ति केही वर्षअघि स्विट्जल्यान्डमा भेटिएको खबर नगरपालिका तथा वडा कार्यालयबाटै स्थानीयमाझ प्रसारित भएको थियो। तर मूर्ति फिर्ताका लागि स्थानीय तहले तदारुकता नदेखाउँदा स्थानीय निराश छन्। सक्कली मूर्ति फिर्ता हुने/नहुने अन्योलबीच जात्रालाई भने रोक्ने नहुने मान्यतासहित ०७९ सालमा जात्रा सञ्चालनका लागि मरष्ठी जात्रा संरक्षण समिति बन्यो।

१५ वर्षअघि पाटनका कर्माचार्य (मरष्ठी जात्राका मुख्य पुजारी)ले हराएको मूर्तिको रिप्लिका (प्रतिमूर्ति) बनाएर जात्रा सञ्चालनका लागि सुझाव दिएको स्थानीय तथा मरष्ठी जात्रा संरक्षण समितिका संयोजक राजेन्द्र देशार सम्झन्छन्। “त्यो बेलामा स्थानीयका बीचमै मतभेद रह्यो,” उनले भने, “हुन पनि दशकौँअघि रोकिएको जात्रा शुरू गर्ने भेउ कसैलाई भएन।”

विसं. २०७९ मा राजेन्द्र देशार, ज्ञानबहादुर देशार, किशोर नेवाः लगायतका स्थानीय संगठित भएर जात्रा सञ्चालनका लागि जोड दिए। त्यसपछि मरष्ठी जात्रा संरक्षण समिति बनाएर तीन वर्षयता जात्रा सञ्चालन भइरहेको छ।

“पहिलो वर्ष अलमलमै ठीकठाक रूपमै जात्रा सम्पन्न भयो,” समितिका अर्को सदस्य ज्ञानबहादुर देशार भन्छन्, “दोस्रो वर्षबाट विधिविधानपूर्वक हामीले जात्रा सञ्चालन गरिरहेका छौँ।”

आर्थिक आयस्रोत सीमित भए पनि जात्रालाई सुलभ रूपमै सम्पन्न गराउन लागिपरेको उनी बताउँछन्। देशारका अनुसार चापागाउँको मुख्य जात्रामा स्थानीय तहबाट ३० हजार मात्र सहयोग भयो। जात्राको खर्च नै एक लाख बढी उठ्ने उनको भनाइ छ।

“यो जात्राको गुठीको जग्गा थियो। गुठी संस्थानले रैकार गरिसक्यो। जात्राका लागि बजेट छैन,” उनी भन्छन्, “हामीले आफ्नो साथीभाइ, स्थानीय तथा दाताबाट सहयोग अपिल गर्ने गरेका छौँ।” उनीहरूले आर्थिक मितव्ययिताका लागि जात्रामा मदिरालगायतका भोजमा कम खर्च गर्ने गरेका छन्।

जात्रा संरक्षणमा आफै जाग्नुपर्नेमा स्थानीय बासिन्दाले पहल गर्दासमेत राज्यले बेवास्ता गर्दा आफूहरू निराश बनेको उनी बताउँछन्। “मेरो छोराछोरीले यो जात्राको भेउ नै थिएन। अहिले नातिनातिनीले देख्न पाएका छन्,” उनी भन्छन्, “एकपटक हराइसकेको जात्रा नबिलाओस्। अब फेरि उस्तै घटना नदोहोरियोस्।”

जात्राले निरन्तरता पाउला!
कुनै समय चापागाउँको मुख्य जात्राका रूपमा रहेको मरष्ठी जात्रा कात्तिक–मंसिरमा धान भित्र्याउने चटारोबीच नखट्या (जात्रा सम्पन्न भए पनि विवाह भएका छोरीचेलीलाई बोलाएर गरिने भोज) गर्न नसकेपछि चैतमा हुने वज्रवाराही जात्रालाई मुख्य जात्राका रूपमा मान्न थालिएको कथा आफ्नो बाजेबाट सुनेको स्थानीय दीपेश शाही(२१) बताउँछन्। शाही भजन मण्डलीमा समेत सदस्य छन्।

शाही जात्राको व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने बताउँछन्। “यहाँ व्यवस्थापनमा समस्या हो कि जस्तो लाग्छ। हुन त ‘स्पोन्सर’ पनि छैनन्। जात्रा सकिएपछि सम्य बजि पनि छैन,” उनी भन्छन्, “असन, भक्तपुरतिर जात्राको रौनक नै बेग्लै हुन्छ।”

यसका साथै आफ्नो समुदायको मुख्य बाजा नायखिः आएपछि मात्र रथ, खट उठाउने उपत्यकाका विभिन्न स्थानमा चलन छ। यहाँ  त्यस्तो कुनै चलन छैन। “बाजा नआए पनि खट उठाउनुहुन्छ,” उनी भन्छन्।

यसमा संयोजक देशारले चापागाउँको मुख्य बाजा बुँकि धाँ भएका कारण सोही बाजा बजाउने चलन भएको प्रस्ट पारे।

के जात्राले निरन्तरता पाउला? उकालोमा प्रश्नमा शाही भन्छन्, “हामी नजन्मिँदा हराएको देवताको जात्रा, हाम्रो बुबाआमाले हेर्न नपाएको जात्रा हामीले हेर्न पाउँदा ‘स्पेसल फिल’ भइरहेको छ। तर बलियो रूपमा स्थापित भएपछि जात्रा चल्थ्यो।”


सम्बन्धित सामग्री