बेलायती नागरिक थोमस बेल ‘डेली टेलिग्राफ’का लागि १२ वर्षीय सशस्त्र द्वन्द्वबारे रिपोर्ट गर्न पहिलो पटक नेपाल आएका थिए। त्यसपछि उनले ‘डेली टेलिग्राफ’कै लागि नेपालसहित दक्षिण एशियाली संवाददाताका रूपमा काम गरे। एक दशकअघि ‘काठमाडौँ’ पुस्तक प्रकाशित गरेका पत्रकार बेलको हिमाली ग्रामीण भेग तथा स्थानीय समाज–संस्कृतिबारेमा लेखेको नियात्रा कृति ‘ह्युमन नेचर’ शनिबार सार्वजनिक हुँदै छ। पुस्तकबारे बेलसँग उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानी :
पुस्तकमा तपाईंले नेपालका हिमाली तथा पहाडी भेगको वर्णन गर्नुभएको छ। तपाईंले नेपाली गाउँलाई कस्तो देख्नुभयो?
नेपाली गाउँ एकैनासको छैन, नेपाली ग्रामीण परिवेश विविधतापूर्ण छ। सोही कारण पनि मैले पुस्तकमा पनि विविध परिवेशका गाउँको नमूना प्रस्तुत गर्न खोजेको हुँ। मैले पूर्वदेखि पश्चिमसम्मको यात्रा गरी गाउँले विविधता छिचोल्ने प्रयास गरेको छु। पूर्व र राजधानीको आदिवासी संस्कारदेखि डोल्पाको तिब्बती जीवनशैली, गोर्खाली गाथा अनि सुदूरपश्चिममा आफ्नै मौलिक परिदृश्य देख्नसकिन्छ। विविधताबीच नेपालीपनको समानता यी परिवेशको साझापन हो। यही विषयलाई पुस्तकमा उर्ताने प्रयास गरेको छु।
यद्यपि, जागिरे जीवनको दुई दशकमा नेपालका कतिपय भेगको भ्रमण पहिले नै गरिसकेको हुँदा मेरा लागि नौलो अथवा आश्चर्ययुक्त अनुभव भएन। ग्रामीण हिमाली परिवेशबारे लेख्नेभन्दा पनि घुम्ने बहाना बन्यो यो पुस्तक।
पुस्तक ‘काठमाडौँ’पछि हिमाली क्षेत्रलाई नै आफ्नो सोध र लेखनको विषय किन बनाउनु भयो?
काठमाडौँबारे मेरो अघिल्लो पुस्तक राजधानी या भनौँ शहरकेन्द्रित थियो। मानिसले कसरी शहर बनाउँछन्, कसरी शहरले मानिस बनाउँछ भन्ने उक्त पुस्तकको सार थियो।
पछिल्लो पुस्तक पनि मानिस र वासस्थानकै सेरोफेरो केन्द्रित छ। तथापि यसमा मानिस, वातावरण र त्यहाँको ल्यान्डस्केप (परिदृश्य)सँगको निकटतालाई जोड दिएको छु। कारण, ती नै मेरो अनुभूति थिए। यस पटक ग्रामीण परिवेश र त्यहाँको जीवनशैलीबारे नियात्राका रूपमा लेख्न चाहेको हुँ।
पत्रकारका रूपमा मैले गर्ने धेरै रिपोर्टिङ राजनीतिक विषय केन्द्रित थियो र, पछिल्लो रोजाइ भने एउटा स्वागतयोग्य परिवर्तनको रूपमा मैँले मानेको छु। यद्यपि, हिमाल होस् वा शहर— मानिस र तिनको वासस्थानसँगको सम्बन्धबारे नै यो पुस्तक लेखिएको हो। साथै, हिमाली क्षेत्र मलाई मन पर्ने भेग भएकाले पनि नेपालका अन्य भूभाग छाडेर म हिमालतिर लागेको हुँ, यो मेरो ‘नेचुरल चोइस’ हो।
पहिलो पुस्तकमा तपाईंले ‘काठमाडौँका मानिस पहिले पहिले एक अर्कोलाई कथा सुनाउँदै डराउँथे’ भनेर लेख्नुभएको थियो। यसले राजधानी, विशेषतः नेवार समुदायमा प्रचलित ख्याक, लाखेलगायत कथा, किंवदन्तीमाथिको जनविश्वासलाई जनाएको थियो। यस पटक ग्रामीण भेगको यात्रामा त्यस्ता कथा–किंवदन्तीबारे कत्तिको सुन्न पाउनुभयो?
यस पुस्तकमा ग्रामीण भेगमा रहेका जनश्रुति तथा जनविश्वासमा रहेका कथा, मिथक र किंवदन्ती धेरै छन्। स्थानअनुसार संस्कृति, कथनीसँग स्थानीयको आफ्नै अन्तरसम्बन्ध हुन्छ। हामी जसरी हिमाललाई सौन्दर्यका दृष्टिले हेर्छौँ, हिमालका मानिसका लागि हिमाल भिन्न छ। उनीहरूका लागि हिमालप्रतिको दृष्टि, सम्मान र कथा एकदमै अलग छ।
यसबाहेक, यो पुस्तक चार पाठमा विभाजित छ। पहिलो पाठमा मैले हिमाली आदिवासीको कुरा गरेको छु। उनीहरूका कथा, मिथक र परिवेशको कुरा छ। दोस्रोमा पर्वतीय परिदृश्यबारे कुरा गरेको छु। तेस्रोमा तिब्बती संस्कृतिबारे लेखेको छु। यसमा आत्मा र प्रेत जगाउने चलनको विषयमा लेखिएको छ। यी सबै कथा र चलनकै सम्मिश्रण हुन्।
चौथो पाठ भने वातावरण संरक्षणको विषयमा छन्। राष्ट्रिय निकुञ्ज, संरक्षणको कुरा आएको छ। आधुनिकतासँगै यस्ता बाहिरी (विदेशी) अवधारणा कसरी नेपाल भित्रियो, त्यसबारे लेखिएको छ।
मिथक र अन्धविश्वासलाई पाश्चात्य समाजले कसरी हेर्छ? तपाईं कसरी हेर्नु हुन्छ?
हरेक देशको आफ्नै कथा, मिथक र जनविश्वासका अवधारणा हुन्छन्। यस्ता विषयलाई अन्धविश्वास भनेर सतही टिप्पणी गर्नु उचित हुँदैन। विदेशीको रूपमा हामीले कुनै अन्य देशको चलनलाई अन्धविश्वास वा अवैज्ञानिक भनेर टिप्पणी गर्नुअघि यस्ता चलन र परम्पराको अर्थ बुझ्न सक्नुपर्छ। नेपालका यस्ता रीतिरिवाजबारे जान्न र बुझ्न मलाई पनि निकै समय लाग्यो। यो कुनै यात्राभन्दा कम भएन। आशा गर्छु, नेपाली संस्कृति र परम्परा बुझ्न म केही सफल भएँ।
तपाईंले विश्वका विभिन्न स्थानको यात्रा गर्नुभएको छ। परम्परा र मान्यताका हिसाबले नेपाली समाजका यस्ता चलन र मान्यताबीच कस्तो भिन्नता अथवा साझापन पाउनुभएको छ?
म बेलायतमा जन्मे/हुर्कें। त्यसपछि २ दशकको व्यावसायिक जीवन नेपालमै बित्यो। त्यो हुँदा विश्वका अन्य कुनाको तुलना गर्ने क्षमता राख्दिनँ, तर मेरो अनुभवअनुसार डोल्पाको तिब्बतीय चलनमा प्रेत र आत्मा जगाउने चलन विश्वका अन्य भागसँग मिल्छ, जसलाई ‘एक्सोसिजम’ अर्थात् वशीकरण भनिन्छ।
यसमा साधु (तपस्वी) ले आफ्ना साधनामार्फत स्थान, जनावर र मानिसलाई नै वशमा गर्ने आत्मा, प्रेत जगाउने कुरा गर्छन्। यस्ता प्रसंग म अहिले बसिरहेको स्कटल्यान्डमा पनि हुने गर्छ। अमेरिका र बेलायतमा पनि यस्ता अभ्यास पाइन्छन्। विश्वका कुनै पनि देश एक अर्काबाट पूर्ण रूपमा भिन्न छैनन्। नेपाल पनि यसबाट अलग छैन। यद्यपि, हरेक देशका परम्परा, संस्कारको आधारभूत शैलीमा भिन्नता रहन्छ।
पुस्तकको पहिलो हिस्सामा तपाईंका नेपाली सहयात्रीले हरेक भेटमा जात र थरको कुरा हुने गरेको सन्दर्भ उल्लेख गर्नुभएको छ? यसलाई कसरी लिनुभएको छ?
पहिलो पाठमा मेरो साथी राजेन्द्र सुनारसँग गाउँघर घुमेको प्रसंगमा उक्त कुरा आएको छ। उनले जता गए पनि आफ्नो संवादको शुरूआत आफ्नो पहिचान, व्यक्तिगत जानकारी, चिनापरिचयबाट गरे। सायद हरेक समाजको आफ्नै चरित्र हुन्छ र यी कुरा मलाई असामान्य लागेन।
पुस्तकमा ‘लाहुरे’बारे थोरै प्रसंग छ। लाहुरेको चलन बेलायती सेनामा भर्ती हुने गोर्खाली लाहुरे नभई लाहोरबाट शुरू भएको उल्लेख गर्नुभएको छ। यसबारे थप जानकारी केही छ कि?
यो मैले पत्ता लगाएको विषय त होइन, धेरैलाई थाहा भएकै विषय हो। बेलायतमा गोर्खाली लाहुरे भर्ती सन् १८१६ पछि मात्र हुन थालेको थियो। यद्यपि, त्यसअघि पनि नेपालीहरू लाहोर जाने गर्थे, जहाँ रञ्जित सिंह राजा थिए। नेपालीहरू शिख राजाका सेनामा भर्ती हुने गर्थे। स्विजरल्यान्डमा पनि आफ्ना नागरिकलाई आर्मीको रूपमा अन्य देशमा पठाउने परम्परा थियो, जसमा विशेष गरी हिमाली क्षेत्रबाट युवाहरू भर्ती हुन हिँड्थे।
इतिहास कोट्याउने क्रममा भारतमा बेलायती उपनिवेश हुँदा त्यसको एउटा प्रभाव नेपालको जंगल वा वातावरणमा पर्यो भन्नेबारे पुस्तकमा उल्लेख गर्नुभएको छ। त्यो कसरी?
१८ र १९औँ शताब्दीमा नेपालमा अधिक वन विनाश भयो। जति बेला भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो उपनिवेश स्थापित गरेको थियो। शुरूआतमा पहाडी क्षेत्रमा रूख धमाधम काटिए। त्यसको उद्देश्य अन्नबाली उब्जाउ गर्ने जमिन बढाउन थियो। जतिखेर युरोप कृषिप्रधान थियो, त्यतिखेर त्यहाँ पनि वन विनाश गरिएको थियो। बढी जनसंख्या कृषक हुँदा जग्गाको आवश्यकताको लागि उक्त कदम चालिएको थियो।
१९औँ शताब्दीमा तराईतर्फको वन विनाश भयो, बेलायती कम्पनीमार्फत काठको ओसारपसारको माग उच्च हुन थालेपछि तराईको वन विनाश पारिएको हो। त्यस बेला सालका रूखको राजस्व पनि राम्रै थियो।
इतिहास/संस्कृतिको अध्ययन र लेखनीमा लागिरहँदा, आधुनिकीकरणले नेपालमा कस्तो प्रभाव र परिवर्तन भएको देख्नुहुन्छ?
परिवर्तनलाई अवश्य पनि सकारात्मक मान्नुपर्छ। बाटो, खाना, 'लजिस्टक सर्भिस' तथा सुविधामा राम्रो प्रगति भएको छ। शिक्षा र स्वास्थ्यमा पनि परिवर्तन भएको छ। म पुगेका स्थानमा मानिसहरू यसमा सकारात्मक देखिए।
तर योसँगै पुराना चलन, परम्परा, संस्कृति र पेसा पनि मेटिँदै गएका छन्। उदाहरणको लागि, माझी समुदायले डुंगा चलाउँथे। पुल बनेपछि तिनको पेसा संकटमा पर्यो। यस्ता जीवनशैली आधुनिकताले पछाडि पारिदिएको छ। मेरो पुस्तकको एउटा सन्देश पनि यही हो—‘कुनै पनि कुरा लामो समय उस्तै रहँदैन। परिवर्तन स्वाभाविक हो।’
तपाईंलाई मन परेको नेपाली संस्कृतिबारे बताउनुपर्दा के सम्झनुहुन्छ?
यो पुस्तक लेख्ने क्रममा कुनै पोखरीमा झाँक्रीहरूसँग बसेर समय बिताएँ। यात्राको सबैभन्दा स्मरणीय क्षण त्यही हो। यात्राको क्रममा साँझ बास बस्नुपर्दा बास दिने अपरिचित मानिसको घर वा भट्टीमा बित्ने समय अतुलनीय छ। नुनखुर्सानीसहितको सामान्य खानपिनसहितको सत्कार, रक्सी खाँदै गरिएका गफगाफ मलाई एकदमै विशेष लाग्छ।