Saturday, December 14, 2024

-->

भेषबहादुर थापाले देखेको नेपाल

महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।

भेषबहादुर थापाले देखेको नेपाल

२०१७ सालदेखि अहिलेसम्म पनि नेपालमा अर्थशास्त्री, योजनाविद्, कुटनीतिज्ञ तथा राजनीतिज्ञका रूपमा सबैबाट रुचाइएका थोरै मात्र व्यक्ति छन्। तिनै सीमित व्यक्तिमध्ये पर्छन् डा. भेषबहादुर थापा। थापाले आफ्नो पुस्तक राष्ट्र परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्ममा आफ्नो भोगाइ, देखाइ मात्र नभई आफूलाई चित्त बुझेका र नबुझेका तथा गरेका र नसकेका कामका भित्री पाटो निर्धक्कसँग लेखेका छन्।

पुस्तकमा धेरै विषयवस्तु समेटिएका छन्। पुस्तक सरसर्ती हेर्दा मलाई क्वाटीको स्वाद आयो। यो केबल आत्मकथा मात्र नभएर नेपालको कूटनीति, राजनीति, अर्थनीति, चक्रनीति र परचक्रीहरूको नीति सबैमा गरिएको खोजीनीतिको फेहरिस्त हो। अतः तत्कालीन नेपाललाई बुझ्न खोज्ने सबैका लागि यो असल खुराक हो।

२०१७ सालमा विद्यार्थी छँदै राजा उनी महेन्द्रको नजरमा परेका थिए। महेन्द्रको अमेरिका भ्रमणका बेला क्यालिफोर्नियामा लस एन्जलसका मेयरद्वारा आयोजित सम्मान कार्यक्रममा भेषबहादुर थापाले अध्ययन गरेकै विश्वविद्यालयका कुलपतिले थापा एक जेहेनदार छात्र भएको र सबै अमेरिकीलाई उछिन्दै सर्वप्रथम भएको जनाउ राजालाई दिएका थिए। त्यही कार्यक्रममा राजाले उनलाई भेटेको र पढाइपश्चात् नेपाल फर्कन भनेको प्रसंग रोचक छ। लियो ई रोजसँगको सम्पर्क र राजासँगको भेट वास्तवमा लेखकको जीवनका सर्वाधिक दुई महत्त्वपूर्ण घटना हुन पुगे।

महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।

२०१७ पुस १ गते नेपाल ‘महेन्द्रपथ’मा अगाडि बढेपछि आफ्नो विद्यावारिधि अनुसन्धानलाई थाती राखेर थापा नेपाल फर्किए र योजना परिषद्को सचिवमा नियुक्त भए। त्यति बेला उनी २४ वर्ष उमेरका मात्र थिए। २४ वर्षकै उमेरमा सचिव भएपछि थापामाथि समकक्षी र दरबारियाहरूको वक्रदृष्टि पनि परेको थियो। तर राजाको पुट पाएको हुँदा उनी निरन्तर अगाडि बढिरहे। 

थापाले पुस्तकमा राजा महेन्द्र र दरबारियाहरूको गैरपञ्चायती दृष्टिकोण पनि उजागर गरेका छन्। त्यसबेलाका पूर्व–पश्चिम राजमार्ग, भूमि सुधार योजना, मौद्रिक स्थिति, भारत र चीनसँगको सम्बन्धजस्ता विषयवस्तु पुस्तकमा प्रकाश पारिएको छ।

२०२३ सालमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थापाले योजना परिषद्कै सचिव हुँदा नै विद्यावारिधि शोध प्रबन्ध बुझाइसकेका थिए। शोध प्रबन्ध बुझाएको चर्चा पनि छ तर त्यसको मौखिक परीक्षा भए नभएको र कहिले डिग्री प्रदान गरिएकोलगायत विषय उल्लेख छैन। हुन त धेरै विश्वविद्यालयमा विद्यावारिधि शोधार्थीहरूले मौखिक परीक्षा दिनुनपर्ने प्रावधान पनि हुन्छ। 

गभर्नरपछि थापा अर्थसचिव भए। त्यहाँ उनी डा. यादवप्रसाद पन्तको उत्तराधिकारी थिए। पन्तबाटै थापालाई अर्थशास्त्र अध्ययन गर्ने प्रेरणा मिलेको थियो। संयोग नै मान्नुपर्छ, उनीहरू दुवै जना नेपाल सरकारका सचिव, गभर्नर, मन्त्री र राजदूत भए। 

अर्थसचिव भई कार्यसम्पादन गर्दा चीनको भ्रमणका क्रममा पाएको स्वागत, तत्कालीन चीनका प्रधानमन्त्री चाउ एन लाई होटलमै भेट्न गएको प्रसंग, सेडा (हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास प्रशासन अनुसन्धान केन्द्र) स्थापनाको पृष्ठभूमि तथा राष्ट्रिय शिक्षा पद्धतिको योजना प्रादुर्भाव हुनुको अन्तर्यको चर्चा पुस्तकमा छ। नयाँ शिक्षा नीतिप्रति उनी खुशी देखिएनन्। शिक्षालाई दरबारी बनाउने नीति दरबारकै लागि प्रत्युत्पादक भयो। 

अर्थसचिव हुँदाहुँदै महेन्द्रको इच्छा विपरीत उनी एक प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध हुन क्यानडा पुगे। यसको पछाडि प्रतिष्ठा र पैसा दुवै गाँसिएको थियो। उनले क्यानडाबाट नेपाल फर्कने योजना बनाइरहँदा राजा महेन्द्रको निधन भयो।

सिंहदरबार जल्दा नैतिकताको आधारमा प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएको, सिंहदरबारमा रहेका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भएको तथा अर्थ राज्यमन्त्री र पूर्ण मन्त्री हुँदा सम्पादन भएका कार्यहरूको विवरण पुस्तकमा छ। राजा वीरेन्द्रको शुभराज्याभिषेक महोत्सवको चर्चा, विभिन्न प्रधानमन्त्रीसँग कार्य गर्दाको अनुभव, पञ्चायतका मठाधीशहरूको चर्तिकला, ज्ञानेन्द्रको कोपभाजनमा पर्दा गलैया काण्ड भएको प्रसंग, अमेरिकाको राजदूत हुँदाको अनुभव, वीरेन्द्रको अमेरिका भ्रमण, बडामहारानी ऐश्वर्यको किनमेलजस्ता विषयमा पनि पुस्तकमा विस्तृत चर्चा छ।

नेपालको सरकारी सेवाबाट निवृत्त भएपछि संयुक्त राष्ट्रसंघको प्रतिनिधि भई उनी श्रीलंका गए। नेपालमा २०४६ सालपछिको विकसित परिस्थितिमा तनहुँबाट सांसदको उम्मेदवार भए पनि पराजित भएका थिए। उनलाई विभिन्न राजनैतिक पार्टीले आमन्त्रण गरे पनि कतै संलग्न भएनन्। २०५२ सालमा उनी पुनः अमेरिकाका लागि नेपालका राजदूत भएर गए। २०५४ सालमा भारतको राजदूत नियुक्त गरिए। २०५८ को दरबार हत्याकाण्डपछि विस्तारै शक्ति तत्कालीन राजा ज्ञानेन्द्रको हातमा गयो। थापा २०६० फागुनमा परराष्ट्र र स्वास्थ्य मन्त्री नियुक्त भए। नेपाल गणतन्त्रमा प्रवेश गरेपछि नेपाल–भारत प्रबुद्ध समूहमा सरिक भए। यी सबै घटनाक्रम पुस्तकमा पढ्न पाइन्छ।

यो पुस्तक अध्ययन गर्दा अहिलेसम्म नखुलेका कयौँ पाटा उदांग देखिन्छन्। २००७ सालदेखि हालसम्मकै राजनीतिक घटनाहरूको विवेचना छ। तीन जना राजा, तीन वटा राजनैतिक व्यवस्था र तीन प्रकारको सरकारी सेवामा रही कार्य गर्दाको अनुभव पनि पुस्तकमा छ। उनले बाल्यकालमा राणा शासनको अनुभव गरे। २००७ सालको परिवर्तनपश्चात् नेपाल नयाँ युगमा प्रवेश ग¥यो। त्यसको १० वर्षपछि पञ्चायती व्यवस्थाको शुरूआत भयो। २०४६ सालमा जनताको आन्दोलन सफल भयो र प्रजातन्त्रको पुनर्बहाली भयो। २००७ सालपछिका सबै शासन व्यवस्थामा उनी सत्ता निकट भए। गणतन्त्र आएपछि पनि उनले आफ्नो अनुभव र विद्वतालाई प्रयोग गर्ने अवसर पाए। त्यसकारण उनी एक जीवित इतिहास हुन पुगे। 

२०१७ सालदेखि नै सत्ताकै सेरोफेरोमा परिक्रमा गरिरहेका थापामा ‘भए अन्त नभए लखन थापाको जन्त’ भन्ने मानसिकता देखिन्छ। नेपालमा उचित अवसर नपाए आफूलाई विदेशमा ‘बिकाउने’ योग्यता भएको गर्व र आत्मगौरव पुस्तकमा यत्रतत्र स छ। तीन जना राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग सन्निकट भई कार्य गर्दाका स्मरण रोचक छन्। राजा महेन्द्र र वीरेन्द्रसँग लेखकको रसायन मिलेको थियो। तर ज्ञानेन्द्रसँग ठीक उल्टो ३६ को सम्बन्ध थियो। ज्ञानेन्द्र अधिराजकुमार हुँदा नै पानीजहाज प्रकरण चलेको र सोही कारण गलैँचा काण्ड सिर्जना भएको रहस्य बाहिर आएको छ।

डा. यादवप्रसाद पन्त, कुलशेखर शर्मा, यदुनाथ खनाल, डा. हर्क गुरुङहरूलाई रुचाउने लेखकले प्रधानमन्त्री हुन पुगेका कीर्तिनिधि विष्टको प्रत्यक्ष र सूर्यबहादुर थापा र तुलसी गिरीको परोक्ष रूपमा सराहना गर्नुभएको छ। विश्वबन्धु थापा क्षमता भएर पनि प्रधानमन्त्री हुन नसकेकोमा कताकता लेखकलाई खल्लो लागेको पाइन्छ।

नेपालको सबै कालखण्डमा दरबारियाहरूले तत्कालीन राजनीतिमा प्रमुख भूमिका निर्वाह गरे। तिनै दरबारियाहरूले ठूलो काण्ड मच्चाए। पृथ्वीनारायण शाहपछि शाहकालमा महेन्द्र नै विविध पक्षमा सक्षम राजा हुन्। यसो हुनुमा दरबारिया भाइभारदारलाई सन्तुलनमा राख्न सक्नु नै हो। समय र परिस्थिति बुझ्न माहिर राजा महेन्द्र थिए भने यो परिस्थिति नबुझ्ने ज्ञानेन्द्रले नेपालबाटै राजतन्त्रको अन्त्य गराएको भन्ने निष्कर्षमा पुग्न प्रस्तुत कृति सहयोगी बन्छ।

भारत, चीन, अमेरिकालगायत अन्य राष्ट्रसँग नेपालको सम्बन्ध लेखकले वस्तुनिष्ठ मूल्यांकन गरेका छन्। हिजोका अंग्रेजदेखि आजसम्मका भारतीय शासकहरूको नेपाल हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको तथा नेपाललाई आफ्नो अनुकूल बनाउने भारतीय रणनीतिको शल्यक्रिया राम्रैसँग भएको छ। इन्दिरा गान्धी र राजा महेन्द्र तथा वीरेन्द्र र राजीव गान्धीबीचको जुँगाको लडाइँबाट परेको प्रभाव, २०४६ सालको आन्दोलन र माओवादीप्रति भारतीय दृष्टिकोण, भारतले नाकाबन्दी लगाउनुका कारण, चीनबाट पृथक् राख्ने भारतीय रणनीति, चीनले नेपाललाई अरनिको राजमार्ग बनाउन सहयोग गरेकोमा भारतले देखाएको प्रतिक्रियालगायत विषय पुस्तकमा छन्।

लेखकले जन्मदेखि हालसम्मकै जीवनका प्रमुख मोडहरूको स्मरण गरे पनि यो पुस्तक यथार्थमा आत्मकथा वा आत्मवृत्तान्त होइन। लेखकले ‘यस संस्मरणलाई मैले मेरो जीवनका पाटालाई उजागर गर्न होइन, मुलुक परिवर्तनको प्रवाहलाई पुनरावलोकन गर्ने जमर्को गरेको छु’ भनेबाट पनि यो आत्मकथाको काँटमा नपर्ला। तर आफ्नो जन्म, शिक्षा, कार्य, विवाह, सन्तान आदिको विवरणबाट निजी जीवनबारे प्रकाश पारिएको र आफूले सम्पादन गरेका कार्यहरूको वर्णन हेर्दा आत्मकथाकै रूपमा पनि लिन सकिन्छ।

नेपालले हुलाक र यातायातमा भारतमा निर्भर हुनुपरेको, नेपालकै एक भागबाट अर्को भागमा पुग्न भारतीय भूमि टेक्नुपर्ने अवस्था, अमेरिका युरोप अस्ट्रेलिया जाँदा पानीजहाजबाटै जानुपर्ने जस्ता विषय आजको पुस्तालाई आश्चर्यपूर्ण लाग्न सक्छन्। नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने, जुत्ता सहजै उपलब्ध नहुने, हिँडेर नै विद्यालय पुग्नुपर्ने, भारु सटही दर व्यापारीले निर्धारण गर्ने, नेपाल बैंक लिमिटेडको अध्यक्षको नाताले प्राप्त बोनसबाट काठमाडौँको मुटुमै १० रोपनी जग्गा पाउने जस्ता विषय आज एकादेशका कथा भएका छन्।

लेखकले ठाउँ ठाउँमा आर्थिक अवस्थाको कारण घरव्यवहार धान्न धौधौ परेको वर्णन गरेका छन्। तर बानेश्वरको जग्गा यतिमा र यो स्रोतबाट किनेको हुँ, महाराजगञ्जको घर यहाँको आयबाट खरिद गरेको भन्ने विषय खुलाएका छैनन्। खानदानी परिवारमा जन्मिएको तथा आफू सम्पन्न परिवारको भएको संकेत धेरै ठाउँमा आएको छ। त्यसैले पैसाका विषयमा भएका गनगन चित्तबुझ्दो लाग्दैन। अमेरिकाबाट फर्कँदा ऋषिकेश शाहबाट प्राप्त रकम सापटी भनिएको तर उक्त सापटी फर्काएको कतै उल्लेख छैन। अमेरिकाको राजदूतबाट पहिलोपटक फिर्ता बोलाइएको हो अथवा राजीनामा दिएको भन्ने पनि पुस्तकमा प्रस्ट छैन।

विभिन्न मुलुकको नेपाली राजदूत हुँदा तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहँदा आफूलाई काबिल देखाउने प्रसंग पुस्तकमा आएका छन्। त्यस संस्थामा सरिक हुनु नै उनको क्षमता वा योग्यताको परिचय हो। उमेर पुगिसकेका छोराछोरी गुमाएको पीडा सहन गरी आफ्नो अर्जुन दृष्टिमा कुनै असर पुग्न नदिनु र धैर्यधारण गर्न सक्नु निश्चय नै उनको चारित्रिक विशेषता हो।

नेपाल आउने अंग्रेजको पालादेखिकै प्रायः आवासीय दूतहरूले आफ्नो संस्मरण प्रकाशन गरेको पृष्ठभूमि हेर्दा हाम्रा राजदूतहरूले त्यस दिशामा उत्साह नदेखाएको सन्दर्भमा यो संस्मरणात्मक ग्रन्थ महत्त्वपूर्ण छ। ग्रन्थमा प्रवाह भएका विचार, विश्लेषण, प्रक्षेपण लेखकका निजी विचार हुन्। 

यस पुस्तकका कारण लेखकलाई भावी पुस्ताले सम्झिरहेका हुनेछन्। आफ्नो जीवनको ९०औँ वसन्त पार गर्दासमेत सक्रिय तथा रचनात्मक जीवन बिताइरहेका डा. भेषबहादुर थापा मानवताका सरल पात्र हुन्।


सम्बन्धित सामग्री