Saturday, December 14, 2024

-->

नुवाकोटको तलेजु भवानीः मूर्ति बेपत्ता, मन्दिरमा पूजा यथावत्

तलेजु भवानीको मूर्ति दर्शन गर्न पुजारी, धामी र राष्ट्रप्रमुख गरी ६ जनाले पाउँछन्। हराएको मूर्ति कस्तो थियो स्थानीयलाई थाहा छैन। चोरिँदा खण्डित भएर छुटेको मूर्तिको खुट्टा २०७२ सालको भूकम्पपछि टहरोमा छ।

नुवाकोटको तलेजु भवानीः मूर्ति बेपत्ता मन्दिरमा पूजा यथावत्
जीर्णोद्वारको पर्खाइमा रहेको नुवाकोटस्थित तलेजु भवानीको मन्दिर। तस्वीर: प्रबिता/उकालो

नुवाकोट– २०३० साउन ६ गते। रोपाइँको चटारोले थाकेका नुवाकोट दरबार परिसरस्थित ‘शहर टोल’का बासिन्दा राति मस्त निन्द्रामा थिए। त्यही बेला दरबार परिसर नजिकै रहेको मन्दिरबाट तलेजु भवानीको मूर्ति चोरी भयो।

“बिहान मात्र मूर्ति हराएको खबर फैलियो, खोजबिन भयो तर भेटिएन,” नुवाकोटका जीवित देवता मानिने धामी हरिमान सिंह डंगोल भन्छन्, “त्यस बेला मन्दिर आसपास माल अड्डा, पसल तथा सैनिक ब्यारेक थिए। (चोर) कहाँबाट आए र (मूर्ति) कता लगे केही थाहा छैन।”

तलेजु भवानीको मूर्ति दर्शन गर्न चार पुजारी, धामी र राष्ट्रप्रमुख गरी ६ जनाले मात्रै पाउँछन्। हराएको मूर्ति कस्तो थियो भन्ने स्थानीयलाई थाहा छैन। धामी डंगोलका अनुसार मूर्ति तामाको थियो। शरीरमा जनै लगाएजस्तो पातलो धागोको आकार, शिरमा हिरा र मोती जडित पञ्चमुखी मुकुट थियो।

हराएको मूर्तिको रिप्लिका (उस्तै अर्को मूर्ति) बनाएर प्राणप्रतिष्ठा गर्ने विषय केही समय चलेको थियो। तर चोरीको क्रममा मूर्तिको खुट्टा खण्डित भएर छुटेको हुँदा अहिले सोही खुट्टालाई तलेजुको स्वरूप मानी पूजा हुने गरेको डंगोल बताउँछन्।

मन्दिर परिसरमै रहेको नाराणयको मूर्ति पनि २०२८ सालमा चोरी भएको थियो। उक्त मूर्ति भने फेला पारेर केरुङबाट फिर्ता ल्याइएको स्थानीय जानकार तथा भैरवी माविका शिक्षक रामहरि आचार्य बताउँछन्। उनका अनुसार त्यसपछि २०३१ सालमा तलेजु मन्दिरभित्रै रहेका अरू चार वटा मूर्ति पनि चोरी भए। चोरी भएको तलेजुको एक फुटको मूर्ति पछि फेरि गुठी संस्थानबाट स्थापन भएको थियो। तर त्यो पनि चोरी भएको आचार्यको भनाइ छ।

हराएका मूर्तिको खोजी हुन नसकेको धामी डंगोलको गुनासो छ। “मूर्ति हराएको ५० वर्षभन्दा धेरै भयो। अमेरिकातिर पुगेको छ भन्छन्, केही थाहा छैन,” उनी भन्छन्।

मल्लकालीन मन्दिर, तर नौलो शैली
नुवाकोट दरबार क्षेत्रबाट करिब १५० मिटर उत्तरतर्फ रहेको तलेजु मन्दिर चतुष्कोणाकारमा फरक शैलीमा बनाइएको छ। मल्लकालीन प्रायः मन्दिर शिखर, प्यागोडा अथवा गुम्बज शैलीमा बनाइए पनि यो मन्दिर मिश्रित शैलीको भएको स्थानीयसमेत रहेका इतिहासका जानकार आचार्य बताउँछन्।

यो मन्दिरको नौलो स्वरूपको विषयमा दुर्गा शाक्यले आफ्नो पुस्तक ‘गडेसेस तुलजा एन्ड कुमारी इन नेपाली कल्चर’मा वर्णन गरेकी छन्। प्रायः तीनतले मन्दिर गजुरसहित प्यागोडा शैलीमा हुन्छ। मन्दिरको गर्भगृहमा रहेको मुख्य मूर्तिको छुट्टै देय् छेः (देवताको घर) हुन्छ। यो मन्दिर तीनतले भए पनि मन्दिर र त्यसमाथि थप दुई तला द्य छेः (देवताको मुख्य मूर्ति राख्ने घर) बनाइएको छ। यसले मन्दिर पाँच तलाको भएको छ। यही कारण परम्परागत तलेजुका मन्दिरबाट यो मन्दिरलाई भिन्न बनाएको शाक्यले उल्लेख गरेकी छन्।

१४औँ शताब्दीमा लेखिएको गोपालराज वंशावलीअनुसार नौ वटा जिल्ला भएकाले ‘नुवाकोट’ नामकरण भएको थियो। वंशावलीमा नुवाकोटलाई ‘नवक्वाठ’ भनिएको छ।  १५४८ सालसम्म स्वतन्त्र राज्य रहेको नुवाकोटलाई कान्तिपुरका राजा रत्न मल्लले काठमाडौँ अन्तर्गत मिलाएपछि काठमाडौँ र नुवाकोटको संस्कृति मिल्न गएको आचार्य बताउँछन्। त्यससँगै तुलजा (तलेजु) मन्दिर पनि काठमाडौँबाट नुवाकोट स्थान्तरण भयो।

गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा नुवाकोटमाथि १८०१* सालमा विजय प्राप्त गरेका थिए। उनले केही समय नुवाकोटबाट पनि शासन गरेका थिए। नुवाकोटमा रहेको साततले दरबार, नारायण मन्दिर, रंग महल, भैरवी मन्दिरलगायत विभिन्न सम्पदाले यो क्षेत्रको सांस्कृतिक महत्त्व झल्काउँछ। 

तलेजु मन्दिरको निर्माण १६३० सालमा राजा महेन्द्र मल्लको शासनमा शुरू भएको थियो। दरबार क्षेत्रभित्र रहेको नारायण मन्दिरभित्रको पानसको अभिलेखमा पनि उक्त मन्दिर १५औँ शताब्दीअघि बनेको उल्लेख छ। उक्त अभिलेखलाई खस मल्ल राजा रिपु मल्लले १५औँ शताब्दीमा राख्न लगाएका थिए।

तलेजु मन्दिरमा बडादशैँमा सरकारी तवरबाट पूजासामग्री पठाउने चलन छ। पाँचतले मन्दिरको दोस्रो तलाको पश्चिमपट्टि दुई वटा पूजाकोठा छन्। जसमध्ये दायाँतर्फको कोठामा मल्ल राजाहरूले तुलजा भवानीको पूजा गर्ने गरेका थिए।

पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि पनि उक्त परम्परालाई निरन्तरता दिँदै त्यसको अघिल्लो कोठामा शाहकालीन पूजा शुरू गरेका थिए। उक्त पूजाका पूजारी (उपासे) मगर समुदायका हुन्। अहिले पनि मल्लकालीन र शाहकालीन दुवै पूजा हुन्छ। 

यस मन्दिरमा फूलपाती पनि भित्र्याउने गरिन्छ। गोरखाबाट भित्र्याउने फूलपातीको अवधारणा नुवाकोट हुँदै काठमाडौँले अनुशरण गरेको स्थानीय बताउँछन्। 

उक्त मन्दिरमा काठमाडौँस्थित झ्वाःबहालका ‘१८ बज्राचार्य’ परिवारबाट गुभाजु हुने गर्छन्। गुभाजबाहेक मन्दिरमा दुई डंगोल (ज्यापु) र दुई श्रेष्ठ (प्रधान) समुदायका पूजारी रहने चलन छ।

के मन्दिरमा आगो लागेको थियो? 
स्थानीयसमेत रहेका जानकार रामहरि आचार्यका अनुसार जनश्रुतिमा तलेजु मन्दिर आगलागीमा परेको कथन चले पनि प्रमाण भेटिएको छैन। “मन्दिरमा दुई पटक आगलागी भएको चर्चा जनश्रुतिमा चलेको छ,” आचार्य भन्छन्, “नजिकै रहेको अशोक बाटिक, नुवाकोट बजार (झोरको बाटो हुँदै तिब्बत पुग्ने बाटो) लिच्छविकालीन व्यवस्थित हिटी थियो। त्यहाँ भएको आगलागी मन्दिरसम्म सरेर ध्वस्त भएको भनाइ छ।”

आगलागीको प्रसंग धामी परिवारसँग रहेको अभिलेखबाट संकेत मिल्ने उनी बताउँछन्। “धामीको घरमा रहेको प्रतापसिंह शाहको (विसं १८३२) पालाको अभिलेखको पत्रमा दरबारमा खरको छाना फेर्न भनिएको छ। हुनसक्छ दरबार क्षेत्रसँगै तलेजु मन्दिरमा पनि खरको छानो थियो। आगलागीका कारण छानो फेर्नु परेको थियो की!” उनी भन्छन्। त्यसपछिको १०० वर्षको अभिलेख नभएको उनको भनाइ छ।

यता, दुर्गा शाक्यको ‘गडेसेस तुलजा एन्ड कुमारी इन नेपाली कल्चर’ पुस्तकमा सन् १९८० सालमा आगलागी भएको उल्लेख छ। उक्त आगलागीले मन्दिरको मौलिक शैली ध्वस्त भएको र पछि हालको शैलीमा निर्माण गरिएको लेखिएको छ। मन्दिरको माथिल्लो भागमा सुनको गजुर र मूल ढोका भिन्न शैलीमा नबनेको भए मन्दिर आममानिसको घरसरह देखिने उनले उल्लेख गरेकी छन्।

बेवास्तामा रहेको सम्पदा
२०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो दुई तलाका पाली पूर्णरूपमा जीर्ण छन्। पूर्वी मोहडातर्फ पर्खाल खण्डहरमा परिणत भएको छ। मन्दिरलाई ‘स्काफोल्डिङ’ गरेर राखेको नौ वर्ष बितिसकेको छ।

मन्दिरमा चल्नु पर्ने पूजाआराधानका लागि दुई वटा टहरा बनाइएको छ। शाहकालीन पूजा मन्दिर परिसर छेउको टहरा र मल्लकालीन पूजा मन्दिरभन्दा तलको टहरामा हुँदै आएको छ। मन्दिरका मुख्य मूर्तिको बाँकी रहेको खुट्टा नजिकैको टहरामा छ। यसलाई प्रहरीले २४ घण्टा नै पहरा दिन्छन्। 

हरेक वर्ष विजया दशमीका दिन हुने पूजा नौ वर्षदेखि त्यही टहरामा हुने गरेको स्थानीय सुन्तली डंगोल बताउँछिन्। टहरालाई मन्दिर बनाउँदा कहिलेकाहीँ अत्यास लाग्ने सुन्तलीको भनाइ छ। मन्दिरभित्र जान नपाए पनि तलेजु मन्दिरको वास्तविक स्वरूप चाँडै देखिन पाउने उनको आशा छ।

यो मन्दिर १९९० साल र २०२८ सालको भूकम्पले पनि क्षतिग्रति बनाएको थियो। तर त्यति बेला पुनर्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पपछि भने पुनर्निर्माण गरिएको छैन। 

मन्दिरसँगै रहेको प्रसिद्ध साततले दरबारको पनि पुनर्निर्माण भएको छैन। यद्यपि, चालु आर्थिक वर्षमा तलेजु मन्दिर पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र साततले दरबार पनि पुनर्निर्माण गरिने पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय साततले दरबार संग्रहालयका कार्यालय प्रमुख सुनील पाण्डे बताउँछन्। 

“चिनियाँ सरकारको सहयोगमा दरबार परिसरको निर्माण प्रक्रियाअघि बढेको छ,” पाण्डे भन्छन्, “कोभिडका कारण काम रोकिएको थियो, त्यसपछि वसन्तपुरमा सम्पदा पुनर्निर्माण उनीहरू (चिनियाँ)को प्राथमिकतामा परेपछि नुवाकोटमा पुनर्निर्माणको काम केही ढिला हुन पुग्यो।”

*सच्याइएको


सम्बन्धित सामग्री