Thursday, January 16, 2025

-->

जुनबेसीबाट भारत–भुटान पुगेको पुस्तकालय ‘मोडल’

रिड पुस्तकालय देशका ४८ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या ७० पुगेको छ। योबाहेक भारत र भुटानमा पनि ‘रिड–मोडल’ पुगिसकेको छ।

जुनबेसीबाट भारत–भुटान पुगेको पुस्तकालय ‘मोडल’

काठमाडौँ— सन् १९९० को आरम्भतिर पर्यटकका रूपमा नेपाल आएकी थिइन्– अमेरिका, नेब्रास्काकी एन्टोनिया न्युवर(टोनी)। घुमफिरमा सोलुखुम्बुको जुनबेसी पुगेकी टोनीका भरिया–गाइड थिए– सोलुकै दोमी लामा। 

सोलु, सल्लेरी र जुनबेसीका भित्री गाउँबस्तीमा सात दिनजतिको घुमघामपछि काठमाडौँ फर्कने अघिल्लो साँझ टोनीले सोधिन्, “दोमी, तिमीलाई के उपहार दिऊँ?”

दोमीले शायद पैसा, घडी या लुगा यस्तै केही उपहारमा माग्लान् भन्ने लागेको थियो उनलाई तर त्यसो भएन। उनले टोनीलाई आफ्नो गाउँ जुनबेसीमा पढ्न चाहने केटाकेटी धेरै भए पनि पुस्तकालयको सुविधा नभएको सुनाए। “बरु सक्नुहुन्छ भने थोरतिनो पुस्तक राखेर एउटा पुस्तकालय खोलिदिए बेस हुन्थ्यो,” दोमीले विनम्रतासाथ आग्रह गरे।

दोमीको जवाफबाट औधी खुशी भएकी टोनीले जुनबेसीमा पुस्तकालय स्थापना गर्ने वाचा मात्रै होइन, अर्को साल सन् १९९१ को शुरूआतमै जुनबेसी पुस्तकालय उद्घाटनमै फेरि नेपाल आइन्। 

यसरी ३३ वर्षभन्दा अघि नेपालमा पदयात्री बनेर आएकी अमेरिकी टोनी संवेदना र विवेकका आधारमा यतैकी बनेकी थिइन्। एउटा भरियाले राखेको इच्छामा सन् १९९१ मा स्थापना भएको पुस्तकालय तथा यहीसँग जोडिएको संस्था रिड(रुरल एजुकेसन एन्ड डेभलपमेन्ट) अर्थात् ग्रामीण विकास तथा शिक्षाको अभियान यसरी बढ्यो कि अहिले नेपालकै एउटा सफल सामुदायिक सचेतनाको नाम बनेर अघि बढेको छ।

तिनै हितैषी टोनीले जुनबेसीबाट शुरू गरेको यो सत्कर्म अहिले देशका ४७ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या पुगेको छ– ७०। यसमा पछिल्लो पटक थपिएको रिड पुस्तकालय हो– लुपलुङ पुस्तकालय, प्युठान।

यसअघि २०२२ अप्रिलमा गोरखाको बारपाक–सुलिकोट गाउँपालिकामा ताकुघाट पुस्तकालय उद्घाटन भएको थियो। उक्त पुस्तकालय उद्घाटनमा आएकी ७८ वर्षीया टोनीले भनेकी थिइन्, “आत्मनिर्भर (सेल्फ–सस्टेन) हुने उपायमा पुस्तकालय मात्रै होइन हाम्रो जीवन पनि चल्नुपर्छ । सधैँ स्रोत खोजेर या सहयोग जुटाएर मात्रै केही पनि दिगो हुन सक्दैन।”

⁎⁎

स्थानीय समुदायलाई जिम्मा दिएपछि फेरि नियमित सञ्चालन या प्रवर्द्धनमा कुनै प्रकारको आर्थिक सहयोग दिनुनपर्ने आत्मनिर्भर उपायका पुस्तकालय। पनौतीको ज्ञानविकास पुस्तकालय हुँदै गोरखा, ताकुकोटको पुस्तकालय पनि यही आत्मनिर्भरताको नमूना बनिसकेका छन्। स्थानीयको प्रत्यक्ष सहभागितामा आत्मनिर्भर पुस्तकालय सञ्चालन हुँदै आएको यो ‘मोडल’लाई सन् २००६ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० लाख डलरको पुरस्कार (रेप्लिकेसन अवार्ड)) प्रदान गरिसकेको छ। 

आत्मनिर्भर बन्ने–बनाउने उपायसँगै पुस्तकालयले साक्षरता वृद्धि, महिला सशक्तीकरण तथा आयआर्जनका उपाय सिकाउने सामग्री र दिगो विकासका नमूना सिकाइ अनुभव बाँड्नुलाई फाउन्डेसनले पुरस्कारको आधार बनाएको थियो।  

यही रेप्लिकेसन अवार्डका बलमा रिड नेपालले भारतको हरियाणा, मणिपुर, राजस्थान, कोलकाता, दिल्ली, गुजरात, उत्तराखण्डसहित चार दर्जन बढी स्थान र भुटानमा थिम्पुसहित नौ स्थानमा रिड पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ।

नेपालमा पुर्‍याएको योगदान तथा शिक्षा–चेतनाको प्रवर्द्धनका निम्ति टोनीलाई नेपाल पर्यटन बोर्डले सम्मान तथा डिल्लीरमण रेग्मी इन्टरनेसनल पिस अवार्ड प्रदान गरिसकेको छ।

“रिडका संस्थापक डा. एन्टोनियाले एउटा पुस्तकालय खोल्ने र छाडिदिने खालको चलनमा नयाँपन दिनुभएको छ। फोटोकपी पसल राखेर हुन्छ या सटर भाडामा लगाएर, अथवा टिभी/रेडियोका टावर राख्न भाडामा लगाएरै– ती पुस्तकालय आत्मनिर्भर हुनैपर्छ भन्ने उदाहरणका कारण उहाँको यो शैलीलाई आज बाहिरी विश्वले सराहना गरेको छ,” रिड ग्लोबलकी कार्यकारी निर्देशक सन्जना श्रेष्ठ भन्छिन्, “माछा मारेर होइन, माछा मार्ने बल्छी दिएर टोनी दिदीले शैक्षिक र बौद्धिक जगत्मा पुर्‍याएको प्रभावकारी योगदानको सधैँ स्तुत्य रहनेछ, नेपाली गाउँघरका निम्ति टोनीको उज्यालो नाम सधैँसधैँ प्रेरणास्वरूप रहिरहनेछ।’

खोलिएका पुस्तकालय आत्मनिर्भर बनाउने उपायमा कतै सटर भाडा (तेह्रथुम, जुम्ला, बाजुरा) र कतै महिला सहकारी (नुवाकोट) या सामुदायिक रेडियो (स्याङ्जा) सञ्चालनमा छन्। फोटोकपी मेसिन या एम्बुलेन्स सञ्चालनबाट उठेको रकमबाट पनि पुस्तकालय चलेका छन्। 

रिड संस्थापक टोनीकै परिकल्पनामा, पुस्तकालय सञ्चालनमा स्थानीयको अपनत्व कायम होस् भन्नाकै लागि स्थानीय समुदायले भवन निर्माणमा जग्गा दिनुपर्ने, महिला सहभागिता (३० प्रतिशत) र जनश्रमदान(१५ प्रतिशत) रहनुपर्ने शर्त उपयोगमा ल्याएको छ। कुनै कार्यक्रम, अभियान वा योजनामा अपनत्व राख्ने एक मात्र उपाय भनेकै यही प्रत्यक्ष सहभागिता हो। 
⁎⁎

रिड नेपालकी संस्थापक टोनी एक वर्षअघि अर्थात् २०२३ को अप्रिलमा नेपाल आइन् जीवनकै अन्तिम इच्छा लिएर। त्यो के भने मृत्युका काउन्ट–डाउन शुरू भइसकेको संकेत पाएकी उनी जीवनमा अन्तिम पटक नेपाली माटो र आफन्तको अपनत्वबोध गर्न चाहिन्थिन्। नभन्दै २०२३ अप्रिल ८ मा भक्तपुरको नमूना घरमा सम्पदाविद् रवीन्द्र पुरीले आयोजना गरेको टोनी स्वागतको समारोह जीवनकै अन्तिम सत्संग बनिदियो उनका लागि। टोनी आफैँ प्युठानको लुपलुङ जान चाहन्थिन् तर त्यो पूरा भएन।

इच्छा, सपना र योजना अनन्त हुन्छन् तर समयका अगाडि सबै शून्यमा शून्यसरि हुन्। 

“नेपालमै अन्तिम सास फेर्छु भनेर दुई साताअघि काठमाडौँ आएकी क्यान्सरग्रस्त एन्टोनिया न्यूवरको अमेरिका घर फिर्ने क्रममा यूएईको दुबईमा निधन भएको छ,” २०२३ अप्रिल १६ को डेटलाइनमा यूएईको एक अंग्रेजी अनलाइनमा समाचार छापिएको थियो। यो खबरको पुष्टि गरेकी थिइन्, रिड ग्लोबलकी कार्यकारी निर्देशक सन्जना श्रेष्ठले अस्ट्रेलियाको मेलबोर्नबाट। अनि, बल्ल मिमांसा शुरू भयो टोनी कृतित्व–व्यक्तित्वको।  

नेपाली गाउँघर र किताबप्रेमी जनसाधारणसँगको लगाव कस्तो भइदियो भने टोनीले शुरू गरेको रिड अभियानको रूप मात्र अघि बढेन, यसले देश–विदेशमै आत्मनिर्भर पुस्तकालयको सञ्जाल फैलाउनमा मद्दतसमेत गर्‍यो। 

“अमेरिका त के, म संसारको जुनै कुनोमा गएर पनि नेपालमा पाएको सम्मान र अपनत्व पाउन सक्दिन थिएँ”, सधैँजसो टोनी भन्ने गर्थिन्, “अमेरिकामा मेरो ट्रेकिङ कम्पनीको नाम मिथ एन्ड माउन्टेन राखेकी छु। तर मेरो जीवनमा भने यो सुन्दर मुलुकमा आएर म आफैँले ‘मिथ’ भेटेझैँ भएको छ।”


सम्बन्धित सामग्री