Thursday, January 23, 2025

-->

शुरू भयो सराय नाच, के छ ऐतिहासिक सम्बन्ध?

गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ।

शुरू भयो सराय नाच के छ ऐतिहासिक सम्बन्ध
कास्कीकोटमा सराय नाच्दै युवा। स्थानीय बोलिचालीमा सरुन नाच पनि भनिन्छ। तस्वीर: गौरव त्रिपाठी

गुल्मी– हातमा खुँडा र लौरोजस्ता हतियार युद्धमा निपुणझैँ देखिने मानिसहरूको समूह। युद्धमा जस्तै भावभंगी। झट्ट हेर्दा युद्धका लागि तयारी गरेको झल्को आउने सराय नाच आइतबारदेखि मध्यपश्चिम क्षेत्रमा शुरू भएको छ।

यो नाच दशैँको एकादशीदेखि भेगअनुसार पूर्णिमासम्म नाचिन्छ। कोटमा जम्मा भएर प्राचीन तथा मध्यकालमा युद्धमा प्रयोग हुने खुँडा, खुकुरी, खड्ग, तरवार, लौरो ढाललगायत हतियार चलाउँदै बाजाको तालमा नाचिने सरायले ऐतिहासिक कथ्य पनि कहन्छ।

सराया नाचबारे हालसम्म लिखित प्रमाण फेला नपरे पनि युद्धकलासँग जोडिएको अध्येताहरू बताउँछन्। प्राचीन युद्धकलाको झल्को दिने गरी तन्नेरीहरूले सराय नाचमा युद्धकौशल देखाउँछन्।

इतिहास अध्येता मीनप्रसाद ज्ञवाली मध्यकालमा आफ्नो राज्यको खाद्यान्न सुरक्षाका लागि पनि युद्धकला जान्नुपर्ने आवश्यकता रहेको बताउँछन्। “त्यो युगलाई लुटपाटको युग पनि भनिन्छ। त्यस बेला आफ्नो राज्यको खाद्यान्न सुरक्षित गर्नु ठूलो कुरा हुन्थ्यो,” उनी भन्छन्, “खाद्यान्नको सुरक्षाका लागि उनीहरूले घरेलु हतियार प्रयोग गर्थे। घरेलु हतियार प्रयोग गरेर नाचिने नाच नै सराय हो।”

भदौपछि मंसिरसम्म धानलगायत खाद्यान्न घर भित्र्याउने समय हो। वर्षभरिलाई फलाएको अन्नपात जुनकुनै हालतमा पनि बचाउनुपर्ने हुन्थ्यो। “त्यसैको सुरक्षाको लागि तालिम पनि त्यति बेलै गरिन्थ्यो,” उनी भन्छन्, “बर्खा सकिएपछि र जाडो पनि शुरू नभइसकेको समयमा यो नाच चलाइएको किंबदन्ती छ।”

दशैँको पहिलो दिन घटस्थापनामा गुरू राखेर सराय नाच सिक्ने गरिन्छ। अभ्यास पूरा भइसकेपछि कतै एकादशी त कतै नवमी हुँदै पूर्णिमासम्म सराय नाच्ने चलन छ। 

सराय नाचको अर्को रोचक प्रसंग के छ भने, घटस्थापनमा गुरू राखेर अभ्यास शुरू गर्दा एकान्त स्थान छनोट गरिन्छ। सार्वजनिक स्थानमा सरायको अभ्यास गरिँदैन। इतिहास अध्येता ज्ञवाली युद्ध अभ्यास भएकाले दुश्मनबाट छिपाउन एकान्त ठाउँ रोजिएको बताउँछन्। 

इतिहासबाटै लडाकु जातिका रूपमा चित्रित भएकाले पनि मगर जातिमा सराय नाच प्रचलित भएको उनी बताउँछन्। “पश्चिम नेपालतिर अहिले पनि दशैँको दुर्गापूजा गर्ने धेरैजसो मन्दिरहरूमा मगर पुजारी छन्,” अध्येता ज्ञवाली भन्छन्।

कोट र सरायको सम्बन्ध
बाइसे, चौबिसे राज्य भएका बेला भुरेटाकुरे राजा थिए। तिनीहरूको बसाइँ अलि उच्च भाग वा थुम्कोमा हुन्थ्यो। सुरक्षाको कारण पनि अग्लो ठाउँमा बनाइएका दरबारलाई कोट भनिन्थ्यो। अहिले पूजाआजा गरिने कोट त्योबेलाको प्रशासनिक केन्द्र थियो। सराय पनि कोटमै खेलिन्थ्यो, जुन आजसम्म जारी छ।

अध्येता डा. मीन श्रीस मगर अहिले सदरमुकामबाट प्रशासनिक काम भएझैँ कोटमा सार्वजनिक महत्त्वका काम हुने बताउँछन्। “सराय भनेको मगर भाषामा तरवार हो। देख्दा लामो तरवारजस्तो तर अलि ठूलो आकारको हतियारलाई खुँडा पनि भनिन्छ, त्यसैले दशैँमा कोटघरमा मार हान्ने चलन छ,” उनी भन्छन्, “दशैँमा पशुबलि चढाएर खासगरी मगरहरूले पुज्ने चलन हो।”

सराय नाचमा ‘डुङडुङ’ बाजा बजाएर ‘वाक् खोईं?’, ‘वाक् खोईं’ भन्दै खुँडाले ‘हऊ’ भनेर भुँइतिर देखाइन्छ। बाजाकै तालमा हतियार जुधाइन्छ। डा. श्रीसका अनुसार सराय नाचमा ‘वाक् खोईं?’ भन्नुको पछाडि पनि किंवदन्ती छ। 

कोटमा चढाइएको सुँगुरलाई मगर भाषामा ‘वाक्से’ भनिन्छ। बलि चढाएको ‘सुँगुर खोईं?’ भन्दा तल छ भन्ने अर्थ्याएर खुँडाले भुइँतिर देखाउँदै बाजा बजाएर नाच्ने चलन चलिआएको हो। अहिले पनि सराय नाच्दा ‘वाक् खोईं?’ भनिन्छ। घटस्थापनामा कोटमा सुँगुर बलि चढाउने प्रथा कायमै छ।

एकादशीदेखि पूर्णिमासम्म सराय नाचिन्छ। पूर्णिमाको दिन जमरा सेलाइन्छ। कोट नजिकैको पोखरी अथवा कुवा नजिकै जमरा लगेर विसर्जन गरेपछि सराय नाच सकिन्छ। “दुईतीन गाउँ भेला भयो, सराय नाच्यो अनि दशैँ समापन गर्ने चलन अहिले पनि कायमै छ,” डा.श्रीस भन्छन्। अहिलेसम्म गुल्मी, पाल्पा, बागलुङ, स्याङ्जा, अर्घाखाँची, प्यूठानतिर कायमै रहेको सराय नाच बिस्तारै कम नाचिन थालिएको छ।

सरायलाई केही भेगमा सराङ्गे वा सराइँ पनि भनिन्छ। भेगअनुसार यसको उच्चारण फरक छ। अध्येता डा.श्रीसका अनुसार सरायलाई प्यूठानको केही भेगमा सराङ्गे भनिन्छ भने रूकुम, रोल्पातिर सराय नै भन्छन्।

कतिपयले यो नाचलाई मध्यकालीन द्वन्द्वको अवस्थामा शुरू भएको अनुमान गर्छन्। कतिपयले नेपाल एकीकरण गर्दा शुरू भएको व्याख्या गर्छन्। केही इतिहासकारहरू एकीकरणको क्रममा बहादुर शाहले नायबी लिँदा हातहतियार प्रदर्शन गर्ने र युद्धमा होमिने चलन थियो र त्यहीँ समयदेखि सराय शुरू भएको बताउँछन्। तर मध्यकालमा नै सराय शुरू भएर व्यापकता पाएको पाइन्छ। 

गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ। जुनियाँकोट सराय नाँच्न ख्याति कमाएको अर्को ठाउँ हो। भार्सेको अर्कुल राज्यको दरबारको हातहतियार ल्याएर यहाँ राखिएको बताइन्छ। 

त्यतिबेलाका ढाल, तरबार ल्याएर राखेको ठाउँ अहिले पनि छ।े श्रीस मुखिया बस्ने जमरीकोट भन्ने ठाउँ पनि छ। त्यहाँ श्रीस मुखियाको इलाकाका स्थानीय भेला भएर नाच्ने चलन छ।

१५औँ शताब्दीबाट शुरू!
गुल्मी भार्सेमा तत्कालीन पारगुल्मी (पारकोट) राज्यको दरबारको भग्नावशेष छ। भार्से गाउँको अर्कुल डाँडामा अवस्थित त्यस दरबारलाई अर्कुल–दरबार भनिन्थ्यो। त्यसलाई पारकोटे राज्य भनेर पनि चिनिन्छ। (प्रदेशका ऐतिहासिक गढीहरू र पुराना दरबारहरूको पहिचान एवम् पर्यटकीय सम्भाव्यता अध्ययन, पृ. ५८)

अर्कुल दरबारको नाता नेपालको इतिहासमा चर्चित पाल्पाका सेनवंशी राजासँग पनि जोडिएको अध्येता श्रीस सुनाउँछन्। सेनवंशी राजाका ससुराली पारकोटे राजा थिए। पारकोटे राजाको दररबारका भग्नावशेष अझै पनि भार्सेमा भेटिन्छ। उनै मगर राजाको दरबारबाट सराय नाच विस्तार भएको किंबदन्ती भएको अध्येता श्रीस सुनाउँछन्। “पारकोटे राजाले सराय चलाएको र त्यहीँबाट विस्तार भएको अध्ययनहरूबाट खुल्छ,” उनी भन्छन्।
१५औँ शताब्दीतिर शुरू भएको अर्कुल राज्यको अस्तित्व १७९५ सालसम्म थियो। पारकोटे राजाहरूले चलाएको सराय नाच विस्तार भएर अर्घाखाँची बागलुङतिर सर्दै आएको पनि श्रीस बताउँछन्।

तस्वीर: विवश पल्ली मगर

सेन राज्यसँग पनि पारकोटे राजाहरूको सम्बन्ध जोडिएको छ। मुकुन्द सेन प्रथमकी रानी पारकोटे राजाकी छोरी हुन्। मुकुन्द सेन प्रथमकी आमा पनि पारकोटे राज्यकै चेली भएको श्रीस बताउँछन्। पारकोट मगर राज्य कहाँ थियो स्पष्ट अभिलेख नपाइए पनि कालिगण्डकी पारिका कोटैकोट भएका राज्य बन्ने क्रममा पारकोट राज्य रहन गएको र राजथानी भार्से भएको अध्येता श्रीसले सुनाए। 

इतिहासकार राजाराम सुवेदीका अनुसार बाइसे, चौबिसे राज्यको पालामा युद्ध अभ्यास गर्ने चलन नै सराय नाच हो। साना राज्यले आफ्नो अस्तित्व जोगाउन गरेको युद्ध अभ्यासले उनीहरूको राज्य जोगाउन नसके पनि त्यो प्रथा कायमै रह्यो। 

कोटहरूमा मगर पुजारी रहने चलन छ। राजाबाहेक अरू प्रवेश गर्न नपाउने कोटमा मगर पुजारीले पूजा चलाउने गरेको उनले सुनाए। “सराङकोटमा बलबहादुर मास्की राना पुजारी थिए। कास्कीकोटको गुप्तकालीकाको दर्शनमा राजाबाहेक अरू भित्र पस्न पाउँदैनथे,” उनी भन्छन्।

कास्कीकोटमा राज्यको सुरक्षाका लागि पहिला खड्काहरूलाई खटाइएको थियो। त्यसपछि कुँवरहरू खटाइएको सुवेदी सुनाउँछन्। खड्का, कुँवरले सराङ्कोटमा सराय नाच्थे। पूर्वपट्टी सराङ्कोट, पश्चिम पांदुरकोट, चापाकोट, हेम्जाकोटसम्म सराय नाच्दै लैजाने गरेका थिए। सराङ्कोटमा दिनदिनै कास्कीकोटबाट सराय खेल्दै आउने हुनाले सराङकोट नामकरण हुन गएको किंबदन्तीसमेत सुवेदीले सुनाए।

पाल्पामा सराय नाच्ने ठाउँको नाम नै सराइ रहन गयो। अध्येता डा. विष्णु सिँजालीका अनुसार पहिला लिखित रूप नहुँदा सराय र सराइ उस्ताउस्तै सुनिने भएकाले त्यस्तो नामकरण भएको थियो। नामजस्तै यसको नाच्ने तौरतरिका पनि फरक छ। रूकुम र रोल्पामा लठ्ठी नचाइन्छ भने गुल्मी, स्याङ्जा, पाल्पालगायत ठाउँमा तरबार नचाइन्छ। 

“कतै बाजाको तालमा नचाइन्छ। कतै मादल, ढोलको तालमा नचाइन्छ। त्यो चाहिँ फरक फरक पाटो भयो। तर दुवै नाच युद्ध प्रयोजनका लागि हो,” उनी भन्छन्। मानव अस्तित्व विकास हुने चरणमा सबैभन्दा पहिला जंगली जनावरबाट बच्नको लागि मान्छेले युद्धकला सिकेको डा. सिँजालीको भनाइ छ। सराय नाच्ने परम्परा फलाम पत्ता लागेर हँसिया, खुकुरी बनेदेखि नै शुरू भएको उनको दाबी छ। 

“यो त आदिवासीपन हो। पहिला जंगली जनावरसँग लड्न हतियार चाहियो। हातहतियार बनाउन नजान्दै लठ्ठी नचाए, त्यसबाट जंगली जनावरसँग प्रतिकार गरे,” उनी भन्छन्, “जब हतियार विकास भयो, त्यसपछि हतियारले प्रतिकार गर्न थाले।” रूकुम रोल्पामा लठ्ठी नचाउने प्रारम्भिक चरणको सराय भएको पनि उनले बताए।

नेपालको सन्दर्भमा खानी पत्ता लगाउने जाति भनेर मगरलाई चिनिएको र खानी खन्ने हतियार मगरले नै बनाएको डा. सिँजालीको भनाइ छ। “दलितहरू त १४औँ–१५औँ शताब्दीपछि मात्रै ब्राह्मणहरूसँग नेपाल छिरेका छन्। त्योभन्दा अगाडि त मगरहरू आफैँ काम गर्थे,” उनी भन्छन्।

कोटहरूमा ‘उमरा’ अर्थात कोटको हतियार रक्षा गर्ने मान्छे चुनिएको हुन्छ। अहिले कोटमा पुजारी भए जस्तै त्यस बेला ‘उमरा’ सेना प्रमुख हुने गरेको सिँजाली बताउँछन्। प्रत्येक कोटमा उमराका लागि निश्चित  खलक छानिन्थे।

अध्ययन, अनुसन्धानको अभावमा संस्कृतिको व्याख्या पनि फरक तरिकाले गर्दा गलत भाष्य रहन गएको डा. सिँजाली बताउँछन्। १८ र १२ मगरात भनेर पूर्व र पश्चिमका मगर चिनिन्छन् र केही चालचलन पनि फरक छन्। तर यी एउटै समुदाय भएको उनको भनाइ छ। हड्सनले ‘एस्से अन द ल्याङ्ग्वेज, लिट्रेचर एन्ड रिलिजन अफ नेपाल एन्ड तिब्बत’मा १२ राज्य मिलेर लड्न लिग बनाएको उल्लेख गरेको तर भान्सीटार्टले चाहिँ आफ्नो किताब ‘गुर्खा’मा त्यो नियम धेरै नचलेको जनाएका छन्। सिँजाली भन्छन्, “त्यो केही वर्ष मात्रै चल्यो, पृथ्वीनारायण शाहले आक्रमण गरेपछि हरायो। मगरलाई फुटाएर एकआपसमा जुधाउन यस्तो षड्यन्त्र रचिएको हो।”

१२ पन्थी र १८ पन्थी भनेर थरगत रूपमा बाँडेर छुवाछुत चलाउन खोजिएको उनको आरोप छ। “मगरहरूको बराह कुलदेवता हुने र नहुने भनेर बाँडियो, छुवाछुत गराउन। तर फण्डा सफल हुन सकेन,” उनी भन्छन्, “किनभने उच्च जातिमा जाने जनै लगाएर क्षेत्री ठकुरी भए। सोझासिधा जनतालाई मतलब भएन।”

संस्कृतिविद् एमएस थापाका अनुसार प्राचीन समयमा फौज भर्ती गर्ने नियम नभए पनि मगरहरू आफ्नो राज्यको रक्षाका लागि युद्धकलामा निपुण हुनैपर्थ्यो। त्यसैले एक घरमा एक जना योद्धा हुन्थे। पछि युद्धकलामा घरका सबै निपुण हुनुपर्ने चलनले सराय नाचको परम्परा कायम भएको उनको भनाइ छ।

अझै पनि हरेक घरका तन्नेरीले युद्ध अभ्यास गर्छन्।


सम्बन्धित सामग्री