नेपालको राजनीतिमा चिनिएका तर साहित्यमा यसअघि सक्रियता नदेखाएका चिरञ्जीवी वाग्लेको उपन्यास ‘बहादुर शाह’ पाठकका लागि नौलो खुराक हो। यो उपन्यासले इतिहास उधिनेको छ। यसै पनि इतिहास र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ। साहित्यको उद्भव नै ऐतिहासिक घटनाहरूको वृत्तान्तबाट भएको हो।
ऐतिहासिक अध्ययनले पनि देखाउँछ, विभिन्न पुराण, बाइबल अथवा अन्य धर्मग्रन्थहरूमा वर्णित कथाहरूको वाचनसँगै साहित्यको विकास हुँदै गएको हो। यस्ता वर्णनहरूले तत्कालीन घटनाक्रमहरूलाई पनि चित्रित गरिरहका हुन्थे। इतिहास र साहित्य दुवैमा तत्कालीन समयमा मानिसहरूमा रहेका भावना, संवेदना, सोचाइहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्।
इतिहास बुझ्न तत्कालीन समयसन्दर्भ थाहा पाउन जरुरी हुन्छ भने साहित्य बुझ्न पनि ती सन्दर्भ र परिवेश चाहिन्छ। अतः साहित्यिक कृतिहरू इतिहासका स्रोत हुन्, ऐतिहासिक तथ्य र घटनाहरूले साहित्यको सिर्जनामा योगदान पुर्याइरहेका हुन्छन्। यी दुवै विधाले मानव जीवन र घटनाक्रमलाई सुन्दर ढंगले चित्रण गर्छन्।
इतिहासकारले साहित्यबाट ऐतिहासिक तथ्यहरू उत्खनन् गर्छ। ऐतिहासिक विषयवस्तुसँग सम्बन्धित उपन्यासबाट प्रवाहित सूचना तथा तथ्यलाई इतिहासको स्रोतका रूपमा उपयोग गर्दा इतिहासकारहरू सजग तथा इमानदार हुनु वाञ्छनीय छ। ऐतिहासिक उपन्यासलाई इतिहासको स्रोतका रूपमा लिन हुने वा नहुने भन्ने विषयमा इतिहासकारहरू बीचमै मतैक्य पाइँदैन। तर यसबाट प्राप्त हुने ऐतिहासिक जानकारीलाई अस्वीकार गर्न सकिँदैन।
विशेषतः यसले तत्कालीन समाज, सामाजिक प्रथा र व्यवस्था, जीवनयापनका तौरतरिका, भाषा तथा संस्कृतिबारे जुन जानकारी दिन्छ त्यो इतिहासकारका लागि ऐतिहासिक घटनाहरूको व्याख्या विश्लेषणमा उपयोगी हुनसक्छ। उक्त जानकारी इतिहासका अन्य स्रोतबाट प्राप्त हुन सक्दैनन्। एलस्टायर म्याकडोनाल्ड टेलरले ऐतिहासिक उपन्यासहरू इतिहासका स्रोत हुनसक्ने विषयमा वस्तुनिष्ठ मूल्यांकन गरेका छन्। चाल्र्स डिकेन्सको ‘अ टेल अफ टु सिटिज’, जेम्स क्लेभेलको ‘सगुन’, लियो टाल्सटायको ‘वार एन्ड पिस’, एलेक्स हेलेयको ‘सट्सः दि सागा अफ एन एमेरिकन फेमिली’, बलदेवप्रसाद मिश्रको ‘अनारकली’ तथा गंगाप्रसाद गुप्ताको ‘नुरजहाँ’ आदि विश्वप्रसिद्ध ऐतिहासिक उपन्यासहरू हुन्। यी उपन्यासले तत्कालीन समयको सामाजिक, आर्थिक तथा राजनैतिक पक्षको प्रकाश पारेका छन्।
ऐतिहासिक उपन्यास लेखनमा नेपाल पनि अगाडि छ। २०७४, २०७५ र २०७६ सालको मदन पुरस्कार प्राप्त गरेर ऐतिहासिक उपन्यासले एउटा इतिहास नै निर्माण गरेका छन्। ऐतिहासिक उपन्यासकारमा डायमन्डशमशेर (वसन्ती, सेतोबाघ, प्रतिबद्ध, सत्प्रयास), मोहनबहादुर मल्ल (बहादुर नजर), सुन्दरप्रताप शाह (बहादुर शाह), श्रीप्रसाद घिमिरे (द्रव्य शाह, पृथ्वीनारायण शाह र महासामन्त), टुकराज मिश्र (रिडी राँची : रुँदै हाँस्दै), रामकृष्ण कुँवर राणा आदिको नाम आउँछ। नेपालको तत्कालीन सामाजिक अवस्थाको चित्रण कृष्ण धरावासी (झोला), अमर न्यौपाने (सेतो धरती) चर्चित छन्। नीलम कार्की निहारिकाको ‘योगमाया’ तथा योगेशराजको ‘रणहार’ जस्ता ऐतिहासिक उपन्यासले त मदन पुरस्कारै पाए।
यसै सन्दर्भमा चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ पाठकले नवीन उपहारका रूपमा भेट्टाएका छन्। पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाह नेपालको शाहवंशीय इतिहासका चर्चित पात्र हुन्। नेपालको राज्य विस्तार अभियान (एकीकरण)मा उनको उल्लेख्य योगदान छ। नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुर्याउने श्रेय उनै राजकुमार बहादुर शाहलाई दिने गरिन्छ।
यसको अलावा कम्पनी सरकारसँग सन् १७९२ को वाणिज्य सन्धि र चीनसँग पनि सोही वर्ष भएका सन्धिमा उनकै वरद हात थियो। पृथ्वीनारायण शाहको मृत्युपछि लगत्तै बहादुर शाह नजरबन्दमा परेको, बेतिया प्रवासमा रहेको, प्रतापसिंह शाहको मृत्युपछि उनले नेपाल आई राजकाज सम्हालेको, कालान्तरमा आफ्नै भाउजू राजमाता राजेन्द्रलक्ष्मीसँग खटपट परी पुनः मुग्लान पसेको, राजेन्द्रलक्ष्मीको निधनपछि पुनः नेपालमा आएर शासनको बागडोर सम्हालेको, उमेर पुगेपछि राजा रणबहादुर शाहसँग खटपट परी मृत्युदण्ड पाएकोसम्मका ऐतिहासिक घटनामा उपन्यासको कथानक बगेको छ।
शताब्दीपुरुष सत्यमोहन जोशीको भूमिकाले उपन्यासको ओज बढाएको छ। उनले यस उपन्यासलाई गवेषणात्मक कृति ठानेका छन्। पृथ्वीनारायण शाहको अन्तिम समयमा भाइहरू भाँडिएका थिए। विजित प्रदेशका केही स्थानको राजा हुने मनसुवा उनीहरूले राखेका थिए तर पृथ्वीनारायण शाहले मुलुकलाई विभक्त गर्न चाहेनन्।
उनका भाइ महोद्दामकीर्ति शाह पृथ्वीनारायण शाहको मृत्युको समयमा विभन्डिएर पश्चिमतिर लागेका थिए। नुवाकोट देवीघाटमा पृथ्वीनारायणको मृत्यु हुँदा साथमा बहादुर शाह र दलजित शाह (पृथ्वीका भाइ) थिए भने प्रतापसिंह शाह काठमाडौँमा थिए। पृथ्वीनारायणको मृत्यु हुनेबित्तिकै प्रतापसिंह राजा घोषित भए र काजक्रियामा पनि उपस्थित भएनन्। भाई बहादुर शाहलाई आशोचकै अवधिमा नजरबन्दमा राखिदिए।
पृथ्वीनारायणको मृत्युलगत्तै यसरी दरबारिया षड्यन्त्रकारी राजनीतिको विजारोपण भयो। बज्रनाथ पण्डित, स्वरूपसिंह कार्की र मैजुरानी (प्रतापसिंह शाहकी भित्रिनी) जस्ता त्रिमूर्तिले राजालाई एकोहोर्याएका थिए। उनीहरूले बहादुर शाहलाई राजाको नजिक हुन नदिन अनेकौँ प्रपञ्च रचे। यिनै त्रिमूर्तिले राजालाई राजकाजबाट पृथक राखी तन्त्र र भोग विलासमा नै रमाउन बाध्य बनाई आफू शासनको हर्ताकर्ता हुन पुगे। यस ऐतिहासिक तथ्यलाई लेखक वाग्लेले सुन्दर दृष्टिले चित्रण गरेका छन्। नरेन्द्रलक्ष्मीले आफ्ना छोरालाई पठाएको पत्रको माध्यमबाट प्रतापसिंहको आनीबानी र चरित्रको राम्रो प्रकाश पारिएको छ।
राजगुरु गजराज मिश्रको पहलमा बहादुर शाह नजरबन्दबाट छुटी बेतिया पुगे र त्यहीँबाटै उनले चितवन कब्जा गर्न सुझाएका थिए। बहादुर शाहकै परामर्शमा प्रतापसिंहले चितवन दखल गरेको प्रसंग उपन्यासमा उजागर गरिएको छ। त्यस समयमा नेपालको दरबारमा पृथ्वीनारायण शाहका एक गुट भारदारहरू बहादुर शाहका पक्षधर थिए। अर्को गुट मैजुरानी एन्ड कम्पनी भएको र दोस्रो गुटको मुठीमा राजा भएकाले अर्को पक्षको कुनै जोर चलेको थिएन।
साढे दुई वर्ष शासन चलाएपश्चात् प्रतापसिंहको मृत्यु भयो र नेपालको राजनीतिमा राजेन्द्र लक्ष्मीको पल्ला भारी भयो। हिजोसम्म त्रिमूर्तिबाट सताइएकी राजेन्द्रलक्ष्मी अब बदला लिन तयार भइन्। बज्रनाथले राजेन्द्रलक्ष्मीलाई सती पठाउन शास्त्रीय तर्क गरे पनि केही लागेन। उक्त समय सती पठाउने कार्य पनि षड्यन्त्रकारी राजनीतिसँगै जोडिएको थियो।
राजेन्द्रलक्ष्मी बालक राजा रणबहादुर शाहको नायब भएपछि बहादुर शाह नेपाल झिकाइए। अनि देवर–भाउजू मिलेर आफ्ना हिजोका विरोधीलाई तह लगाउने उद्योग गरे। विरोधी पन्छाएपछि भने यी दुवैको सहकार्यले निरन्तरता पाउन सकेन। बहादुर शाह विजय अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने पक्षमा थिए भने राजेन्द्रलक्ष्मी सैनिक परिचालन गर्ने पक्षमा थिइन्। यी मूल मुद्दामा कुरा नमिल्दा एकले अर्कालाई सिध्याउने कूटिल चाल चल्न थाले।
त्यही बेला अधिकांश भारदारहरूले बहादुर शाहलाई साथ दिएकाले राजेन्द्रलक्ष्मीलाई सर्वजित रानासँग लसपस गरेको बात लगाई नजरबन्द गरियो। उनी दरबार परिसरमै काटिए। राजेन्द्रलक्ष्मीसँग वज्रनाथ पण्डितलगायत धेरैले आँखा लगाएको वर्णन पनि रोचक छ। त्यो कुरा राजेन्द्रलक्ष्मीको त्यसबेलाको उमेर र स्वभावसँग मेल खान आउँछ।
बहादुर शाह गोरखा पुगेको बेलामा शाही परिवारलाई हातमा लिई नजरबन्दबाट फुत्की आफ्नै हातमा शासनको बागडोर लिन राजेन्द्रलक्ष्मी सफल भइन्। बहादुर शाह भागेर बेतिया नै पुगे। त्यसपछि राजमाता जीवित छउन्जेल निर्वासनमै रहे। राजेन्द्रलक्ष्मीको देहवसानपश्चात् बहादुर शाह नेपाल आई बालक राजाको नायब हुन पुगे। त्यतिबेला उनी आफ्ना विरोधीलाई निर्ममतापूर्वक दमन गर्न पछाडि परेनन्।
राजा नाबालक हुनाले लामो समयसम्म बहादुर शाहले आफ्नै ढंगले राजकाज गरे। उनैको नायबीकालमा नेपालको सीमा गढवाल÷सतलजसम्म पुग्यो। यस विजय अभियानमा नेपालले लिएको रणनीति, राज्य दखल गर्ने सेनानायकहरूको बहादुरी, पाल्पासँगको मित्रता, आश्रय स्वीकार गर्ने र पराजित भएका राजाहरूसँग भएको व्यवहार जस्ता प्रसंगको यथार्थपरक चित्रण उपन्यासमा छ। सबै सेनानायक तथा बाइसी राज्यको नालीबेली पनि वस्तुनिष्ठ भई गरिएको छ। यी वर्णनबाट लेखक उपन्यासकार मात्र नभएर कुशल इतिहासकारसमेत भएको प्रतीत हुन्छ।
पृथ्वीनारायण शाहले उठान गरेको विजय अभियानलाई विस्तार गरी नवनेपाल निर्माण गर्ने श्रेय बहादुर शाहलाई जान्छ। यस तथ्यलाई उपन्यासमा सरल तथा सरस शैलीमा वर्णन गरिएको छ। पश्चिमतिरको धावनमार्गमा आएकाहरू एकपछि अर्को गर्दै विलुप्त हुँदै जाँदा बहादुर शाहको महत्त्वाकांक्षामा पनि अभिवृद्धि हुँदै गयो।
ठीक यसै समयमा भोटसँगको खटपटले सन् १७८८ मा युद्ध नै हुन गयो। यसको कारणबाट पश्चिमी विजय अभियानले विश्राम लियो। सन् १७८९ को सन्धिबाट नेपालले एकतर्फी रूपमा धेरै सुविधा प्राप्त गर्यो तर उक्त सन्धिको पालनालाई लिएर युद्धको पुनरावृत्ति भयो। नेपाली सेनाले डिगर्चा मठ लुटपाट गरेको घटनाले चीन रिसायो। अतः नेपाललाई तह लगाउन फौज नै पठायो।
आफ्नो बलबर्कतले चीनको आक्रमण रोक्न नसबिने आकलन गरी नेपालले कम्पनी सरकारसँग गुहार माग्यो। चतुर अंग्रेजले सन् १७९२ को व्यापार सन्धि गर्यो तर नेपाललाई सहायता गरेन। चीनसँग सुलह गरी सन्धि गर्न नेपाल बाध्य भयो जुन सन्धि नेपालका लागि प्रत्युत्पादक बन्न पुग्यो। भोट–चीनसँग युद्ध गर्ने निर्णय बहादुर शाहको ठूलो भूल थियो। यसको वस्तुनिष्ठ मूल्यांकन उपन्यासमा पनि गरिएको छ। केरुङ तथा कुती क्षेत्र यो सन्धिले गुमाउनु परेको तथ्य होइन कथ्य हो।
बहादुर शाहको पतन गराउने तत्कालीन कारण पनि सोही युद्ध हुन पुग्यो। रणबहादुर शाहको उमेर पुग्नु, भारदारी षड्यन्त्रको कारण बहादुर शाहका विरोधी सक्रिय हुनु, आफ्ना मातापितासँग काकाको विगतको सम्बन्धबाट रणबहादुर पूर्वाग्रही हुनु जस्ता घटना उपन्यासमा रोचक ढंगले केलाइएको छ। यी कारणबाटै बहादुर शाह नजरबन्दमा परेको र कैदमा नै उनको मृत्यु भएको हो।
के बहादुर शाहको निधन कालगतिले भएको हो? उनले मृत्युदण्ड पाएको हो अथवा देहत्याग गरेका थिए? यी प्रश्न अनुत्तरित छन्। उपन्यासमा भने बहादुर शाहले मृत्युदण्ड पाएको अर्थमा वर्णन गरिएको छ। त्यसबेला मृत्युदण्ड दिइँदा अपनाइने विधिविधानको राम्रो चित्रण गर्न लेखक सफल छन्। यसरी पृथ्वीनारायणको मृत्युदेखि बहादुर शाहको पतनसम्मको राजनीतिक घटनाक्रममा उपन्यासको कथानक घुमेको छ।
यद्यपि, कान्तवतीको विवाहमा बहादुर शाहको दृष्टिकोण ऐतिहासिक तथ्यसँग मेल खाँदैन। बहादुर शाह त रणबहादुरलाई रसरङमै भुलाउन चाहन्थे।
ऐतिहासिक प्रसंगलाई सरस बनाउन नरेन्द्रलक्ष्मीले सिंहप्रताप शाहलाई, बहादुर शाहले आफ्ना दाजु राजा प्रतापसिंह शाहलाई, सिंहप्रतापले बहादुर शाहलाई, राजेन्द्रलक्ष्मीले महोद्दामकीर्ति शाहलाई, बहादुर शाहले सल्यानकी दिदीलाई पठाएका पत्रहरूमा तथ्य र कथ्यको मिश्रण पाइन्छ। यी पत्रलाई त्यसबेलाको भाषामा ढालेको भए अझ बढी पाठक रमाउने थिए। बहादुर शाहले चीन जाने इच्छा जाहेर गरेको र बहादुर शाहको कुकर्मबारे चीनका बादशाहलाई ल्हासास्थित चिनियाँ अम्मानमार्फत जानकारी गराउने प्रपञ्चको वर्णन तत्कालीन दस्ताबेजमै आधारित छ। यसबाट चिनियाँ बादशाहप्रति नेपाली शासकहरूको झुकाव बुझ्न सकिन्छ।
पृथ्वीनारायण शाहको मृत्युपश्चात् भारदारी षड्यन्त्रकारी राजनीतिले प्रश्रय पाउँदा राजपरिवारका सदस्यहरूकै द्वन्दात्मक सम्बन्ध वर्णन गर्दा धेरै ठाउँमा तथ्यभन्दा कथ्यलाई महत्त्व दिई कृतिलाई उपन्यासमै ढाल्ने लेखकको शैली गजब छ।
राजा प्रतापसिंहको तन्त्रप्रति झुकाव देखाउँदा तन्त्रका अनेक भेदको सुन्दर विवेचना गरिएको छ। विभिन्न चक्रको चर्चा गरिएको छ। यसबाट तत्कालीन समाजको तन्त्रमन्त्रप्रति विश्वास देखिन्छ र लेखकको पनि तन्त्रसाधनामा गहिरो अध्ययन भएको आभास पाइन्छ। बहादुर शाहको विवाहको प्रसंगले त्यस समयमा हुने विवाह संस्कृतिमा यथेष्ट प्रकाश पारेको छ। शाहकालमा गरिने भारदारी सभाको स्वरूप, शासकको निर्णय नै सर्वोपरि मान्य हुने तत्कालीन रीति, चाटुकदार भारदारहरूले आफ्ना ख्वामितलाई प्रसन्न बनाउन गरेको कुटिल चालमाल, आफ्नो इच्छा विपरीत कार्य गर्नैपर्ने त्यसबेलाको संस्कृति, दरबारिया पण्डितहरूको चर्तिकला, राजगुरुको स्थान, शासकहरूको दिनचर्या र चरित्र जस्ता विविध ऐतिहासिक जानकारी उपन्यासमा छ।
प्रतापसिंह, राजेन्द्रलक्ष्मी, रणबहादुर शाह, बज्रनाथ पण्डित, मैजुरानी, स्वरूपसिंह कार्की जस्ता केही ऐतिहासिक पात्रहरूका सन्दर्भमा आवश्यकताभन्दा बढी नकारात्मक पक्ष देखाइएको छ। पृथ्वीनारायण शाह, बहादुर शाह, अमरसिंह थापा, दामोदर पाडे जस्ता केही पात्रको बढी नै तारिफ गरिएको छ। ऐतिहासिक घटनालाई उपन्यास बनाउँदा गरिने विन्यासका कारण यसो हुन गएको हो। यो उपन्यास इतिहास दर्शनको विपरीत भए पनि उपन्यासका मान्यतामा आधारित भएको अनुमान हुन्छ।
कान्तवतीको रूप–लावण्य र रणबहादुर शाहको उनीप्रतिको आशक्तिलाई तथा कान्तवती विवाह गर्दा दरबारिया पण्डितको भूमिका, सौताको छोरा राजा हुनुभन्दा कान्तवतीको छोरो राजा बनाउने राजराजेश्वरीको चाहना, दरबारको आन्तरिक चलखेल र धाई तथा सुसारेको क्रियाकलापको चर्चाबाट पाठकले इतिहासका असल खुराक पाएका छन्। नेपालको आन्तरिक राजनीतिको सफल शल्यक्रिया प्रस्तुत कृतिमा छ। तर विदेश सम्बन्ध विषयमा कमै चर्चा छ। बहादुर शाहको चीन तथा कम्पनी सरकारसँगको सम्पर्क र दृष्टिकोणका विषयमा संक्षेपमा मात्र चर्चा भएको छ।
लोकगाथाबाट अतीतका घटना सुरक्षित हुन्छन् भन्ने कुरा गोर्खालीको आक्रमणबाट तहसनहस भएका बाइसी राज्यमा प्रचलित देउडा गीतबाट प्रष्ट हुन्छ। यी देउडा गीत संकलन गर्न लेखकको प्रयास सह्रानीय छ। साथै यी गीतहरूबाट तत्कालीन समय बुझ्न सहज पनि भएको छ।
यो उपन्यास पृथ्वीनारायण शाहको मृत्युपश्चात् आशौचमा रहेका बहादुर शाहको समयदेखि दुःखान्तसम्म उनैको जीवनको सेरोफेरोमा घुमेको छ। यसलाई ऐतिहासिक उपन्यास भनिए पनि बहादुर शाहको जीवनी हो, तत्कालीन नेपालको राजनीतिक र सामाजिक चित्रण हो। अर्थात्, तिथि र मितिबिनाको त्यस बखतको नेपाल हो। तथ्य र कथ्यको मिश्रण हो। इतिहास र कथा दुवै हो।
ऐतिहासिक तथ्यमा आधारित हुँदा हुँदै पनि उपन्यास बनाउन काल्पनिक वर्णन पनि छ, यो शैली पाठकको मन छुने मात्र नभएर ज्ञानवर्धक पनि लाग्छ। पुस्तक पढ्दा लेखकले बहादुर शाहसँग सम्बन्धित सबै इतिहासका ग्रन्थ र तत्कालीन दस्तावेज सांगोपांगो अध्ययन गरेको तथा ऐतिहासिक तथ्यलाई इतिहास दर्शनकै आधारमा विश्लेषण गरेको पाइन्छ। उपन्यासका तत्त्व हुँदाहुँदै पनि यो इतिहासको महत्त्वपूर्ण स्रोत बन्न पुगेको छ। बहादुर शाहलाई नायक बनाउँदा यदाकदा अन्य व्यक्तिहरूलाई अवमूल्यन गर्न खोजिएको देखिन्छ।
चिरञ्जीवी वाग्लेको राजनीतिमा के कति योगदान छ? उनको राजनीतिबाट नेपालले के कति प्राप्त गर्यो? उनी राजनैतिक रूपमा के कति सफल भए वा भएनन्? यो अर्कै पाटो हो। हेक्का रहोस्, राजनीतिबाट प्राप्त हुने मान प्रतिष्ठा क्षणिक हुन्छ तर यस्ता अब्बल कृतिले व्यक्तिलाई अमर बनाउँछ।