काठमाडौँ– निर्देशक मीनबहादुर भामको सिनेमा ‘शाम्बाला’ हलहरूमा दोस्रो हप्तामा चलिरहेको छ। प्रिमियरमा बलिउडका हस्ती अनुराग कश्यप र नवाजउद्दिन सिद्दिकीको उपस्थितिले शाम्बालाको प्रचार जोडतोडसँग भयो। यसबाट दर्शकमाझ ‘बज क्रिएट’ नै भयो।
यो फिल्मले उपत्यकाभित्र राम्रै व्यापार गरिरहे पनि उपत्यकाबाहिर चाहिँ ठिकठाकै भएको सीडीसी सिनेमा हलका सञ्चालक जीवन शाक्य बताउँछन्। तर यसअघि नै अन्तर्राष्ट्रियस्तरका विविध माध्यमबाटै लगानी सुरक्षित गरिसकेको छ।
बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा प्रतिस्पर्धाको लागि मनोनीत शाम्बालामार्फत लोकार्नो फिल्म फेस्टिभलमा अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड हात पारेकी थिइन्। आगामी असोज २९ र ३० गते लन्डन फिल्म फेस्टिभलमा स्पेशल प्रिमियर हुँदैछ।
निर्माणको पूर्वार्द्धमै १५ करोड बराबरको अन्तर्राष्ट्रिय अनुदानसमेत पाएको यो सिनेमाले लोकार्नोमा ‘ओपन एयर स्क्रिनिङ’ पाएको थियो। फेस्टिभलमा छानिएकामध्ये २–३ वटा उत्कृष्ट सिनेमाले मात्र यस्तो स्क्रिनिङको मौका पाउँछन्। फेस्टिभलमा छाप छाडेको शाम्बालाले नेपाली दर्शकको साथ कति पायो भन्ने बक्स अफिसको अन्तिम कलेक्सनले देखाउनेछ।
शाम्बाला हलमा चलिरहँदा भदौ १३ गते भेनिस फिल्म फेस्टिभलमा निर्देशक दीपक रौनियारको ‘पूजा सर’ले १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ पायो। सौरभ घिमिरेको सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ पनि बर्लिनमा सहभागी भइसकेको छ। अभिनेता दयाहाङ राई र पशुपति राईको अभिनय रहेको फिल्मले टोरन्टो फिल्म फेस्टिभलको चक्कर लगाइसकेको छ। ‘गाउँ आएको बाटो’ समीक्षकहरूको वाहवाही पाउन सफल रह्यो।
त्यस्तै, सुजित बिडारीको निर्देशनमा बनेको फिल्मले सन् २०२२ को ढाका फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको उपाधि हात पारेको थियो। बुसान फिल्म फेस्टिभल मुख्य विधामा सहभागी हुने पहिलो नेपाली चलचित्र हो। हुर्कंदो उमेरमा दिदीभाइबीचको सम्बन्धमा केन्द्रित ‘ऐना झ्यालको पुतली’ले राम्रो ‘वर्ड टू माउथ पब्लिसिटी’ पाएको थियो। भलै, सीडीसीको हलमा दुई महिना चलेको सिनेमाले लगानीअनुुसार रकम संकलन गर्न नसकेको निर्माण पक्षको गुनासो छ।
त्यसअघि, ‘नो विन्टर होलिडे’ डकुमेन्ट्री कुनै वितरकबिनै सीडीसीमा एक महिना चलेको थियो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो छुट्टै स्थान बनाएका ‘द रेड सुटकेस’ र ‘द सिक्रेट अफ राधा’ विगत पाँच वर्षयता चर्चामा रहेका फिल्म हुन् जुन फेस्टिभलमा मात्र नभई नेपाली सिनेमा हलको पर्दामा उत्रिए।
विदेश सयर गरेका सिनेमा
अलि अघिसम्म छिरिङ रितार शेर्पा, केसान छेतेन, नवीन सुब्बा र रम्यता लिम्बू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुनिने नेपाली नाम थिए। रितारको ‘मुकुण्डो’ २०५९ सालमा अस्करका लागि नेपालबाट उत्कृष्ट विदेशीभाषी फिल्ममा मनोनयन भएको थियो। मुकुन्डोले सनफ्रान्सिस्को, फ्रिबर्ग गोटेबर्गलगायतका २५ भन्दा बढी फेस्टिभलको सयर गर्यो।
रम्यता लिम्बूको ‘ड्रइङ द टाइगर’ले फिल्म साउथ एशिया युनिसेफसहित चार वटा अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो। छितेनको ‘हु विल बि गोर्खा’चाहिँ ‘द इन्टननेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल अफ अम्स्टर्डम’को फिचर डकुमेन्ट्री प्रतिस्पर्धामा छानिएको थियो। अलजजिरामा पनि प्रसारण भयो। उनको ‘डोरबहादुर विष्ट, द कास्ट म्यान’ पनि अवार्ड जितेको फिल्म हो।
२०५२ सालमा ट्रेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेको ‘खाङग्री’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सयरमा पुग्ने नेपाली निर्देशनको पहिलो सिनेमा थियो। टेलिसिरियलतर्फ भने दीपेन्द्र गौचनको उजेली थियो। त्यसो त नेपालको कथा, अभिनेता भई यहीँ शुटिङ गरिएको एरिक भ्यालीको ‘क्याराभान’ सन् २००० मा अस्कारको मनोनयमा परेको थियो। नवीन सुब्बाको नुमाफुङ (२०६०) सिंगापुर र फ्रिबर्गसमेत गरी २० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनी भयो। त्यस वर्षको अस्कारका लागि नेपालबाट प्रस्तावित पनि भएको थियो।
यही लाइनमा मिसिन पुगे मीन भाम र दीपक रौनियार। रौनियारको ‘हाइवे’, ‘सेतो सूर्य’ र भामको ‘कालो पोथी’ले अन्तर्राष्ट्रियस्तरमा उचाइ थपे। हाइवे (२०७०) बर्लिन फिल्म फेस्टिभलमा छानिएको थियो भने कालो पोथी (२०७२)ले भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘क्रिटिक अवार्ड’ जित्यो।
अन्तर्राष्ट्रियस्तरमा पुगे पनि फिल्म केबल समाचारमै सीमित हुन्थे। फेस्टिभलमा सकेसम्म टेलिभिजन तथा अरू संस्थालाई स्क्रिनिङको लागि बेचिने गरिन्थ्यो। “फेस्टिभलमै बेच्न सकियो भने बेचियो नत्र हार्डड्राइभमा थन्किन्थे,” छिरिङ रितार सम्झन्छन्, “सिनेमा हलमै पुर्याउनेतिर त सोच्दा पनि सोचिन्थेन।”
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बजेको ताली नेपाली दर्शकमाझ त समाचारमार्फत मात्रै गुन्जन्थ्यो। सन् २०२२ मा अस्करको ‘सर्ट मुभी’मा अविनाशविक्रम शाहको ‘लोरी’ मनोनयनको ‘सर्ट लिस्ट’ पर्यो। यसअघि कान्स फिल्म फेस्टिभलमा जुरी स्पेसल अवार्ड पाउनु नेपाली फिल्मको उच्चतम सफलता हो। अविनाश शाम्बालाका सहलेखक हुन्।
सन् २०१९ मा केदार श्रेष्ठको सर्ट मुभी ‘जुनुको जुत्ता’ विश्वकै पुरानो सर्ट फिल्म फेस्टिभल ओभरहड्सनमा मनोनीत भएको थियो। यो मुभीले अरू फिल्म फेस्टिभलसमेत करिब २१ अवार्ड बटुल्नुसाथै ४० वटामा मनोनयनमा परेको थियो। “जुनुको जुत्ता छनोट हुँदा मलाई त थाहा पनि थिएन, निर्माता सुशान्तले आवेदन दिएका रहेछन्,” निर्देशक श्रेष्ठ सुनाउँछन्।
बाल मनोविज्ञानमा बनेको यो सर्ट मुभीले स्पेशल जुरी अवार्ड प्राप्त गरेको थियो। बच्चाहरूकै जुरीले जुत्ता लगाउँदाको समस्याको समाधान आफैले गर्न सकेको भनेका थिए। काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा ‘बेस्ट फिक्सन’को अवार्ड पाएको जुनुको जुत्ता सन् २०२१ देखि पोल्यान्ड र बेल्जिमयका केही विद्यालयहरूमा अतिरिक्त अध्यापन सामग्रीका रूपमा समावेश भएको निर्देशक श्रेष्ठ बताउँछन्।
ओभरहड्सनबाट पाएको सर्टिफिकेट कोरोनाको कारण नेपालसम्म आइपुगेन। यद्यपि, उक्त अवार्डले देशविदेशबाट ‘फिल्म स्क्रिनिङ’को अनुमति आउँछन्। त्यहाँ फिल्मलाई ‘स्क्रिनिङ फि’ दिन्छ।
मुम्बाइ फिल्म फेस्टिभल (मामी)मा ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’ फिचर फिल्मसँगै छोटा फिल्म विधामा आयारुख पौडेलका ‘हेलेना’ र ‘विन्ड हर्स’, सौरभ राईको ‘गुराँस’, विदुषी गिरीको ‘चिसो घर’ गरी पाँचवटा नेपाली फिल्म छनोटमा परे। सन् २०२२ को बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘फोर नाइट्स’ र सूर्य शाहीको ‘ह्विल अन द बस’ले राम्रै चर्चा पाए। ‘फोर नाइट्स’ले मुख्य विधामै प्रतिस्पर्धा गर्यो।
सोही वर्ष नेदरल्यान्डको रोट्रेडममा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निरञ्जन भेटवालको ‘अन्हद’ र सुनील पाण्डेको ‘बाघथान’ मनोनीत भए। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ख्याति कमाएका सर्ट फिल्मबारे मात्रै चर्चा गर्ने हो भने पनि यो लिस्ट अझ लामो हुन्छ।
फेस्टिभलका फरक पाटा
अन्तर्राष्ट्रिय फेस्टिभललायक फिल्म बनाउनु कुनै साधनाभन्दा कम नहुने निर्देशक राजन कठेत बताउँछन्। पाँच वर्ष लगाएर ‘नो विन्टर होलिडेज इन ढोरपाटन’ बनाएका उनी फेस्टिभललक्षित फिल्म निर्माणको शुरूआती चरणसँगै हल्लाखल्ला गर्नुपर्ने बताउँछन्। “छायांकनको लागि फ्लोरमा जाँदाजाँदै विभिन्न फोरममा पिच गर्नुपर्छ,” उनी भन्छन्, “हामीले पनि यूके, ताइवान, कोरियामा पिच गरेका थियौँ।”
फिल्मले यूकेको सेफिल्ड डकफेस्टमा प्रिमियर भएपछि आत्मविश्वास त आयो नै फ्रान्सेली सेल्स एजेन्ट फिल्म किन्न आए। बुढेसकालमा एक्लोपनमा बाँचेका दुई महिलाको कथा डकुमेन्ट्रीको मुख्य सार हो। सन् २०२३ मा काजकस्तानको ‘अल्टरनेटिभ फिल्म अवार्ड’ र अजरबैजान डोकुबाकु इन्टरनेसल डकुमेन्ट्री फिल्म फेस्टिभलमा ‘स्पेशल मेन्सन अवार्ड’ जितेको थियो। नेपालको ह्युमन राइट फिल्म फेस्टिभल–२०२३ मा भने ‘बेस्ट फिल्म अफ फेस्टिभल’ भयो।
भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्नमा ‘उत्कृष्ट सबकन्टिनेन्टल फिल्म’ अवार्ड पायो जहाँ भारतबाट किरण रावको ‘लापता लेडिज’ (भख्खरै अस्करका लागि मनोनित) फिल्म सहभागी थियो। खाडी मुलुक पुगेका नेपाली कसरी नेपाल फर्कन्छन् भन्ने कथामा आधारित फिल्मको आधिकारिक प्रसारण अधिकार सिनेमा देखाउने टेलिभिजन च्यानल एचबीओ युरोपसँग छ। बेलायतमा सेल्स एजेन्टले राम्रै प्रवद्र्धन पनि गरिरहेको छ।
फिल्म र फेस्टिभल परिपूरक हुने छिरिङ बताउँछन्। फेस्टिभलहरूलाई फिल्म चाहिएको हुन्छ भने फिल्मलाई फेस्भिल। फेस्टिभलका लागि आह्वान हुँदा सर्ट फिल्मलाई न्यूनतम १०० युरो र फिचर फिल्मलाई ५००–६०० युरो खर्च लाग्छ। निर्देशक तथा निर्माताको रोजाइ ठूला फिल्म फेस्टिभलमा सहभागी हुँदै क्रमशः स–सानोमा सहभागिता हुने हुन्छ।
फेस्टिभलमा प्रभुत्व जमाउन लबिङ र मार्केटिङ पनि चुस्त–दुरुस्त हुनपर्छ। ठिकठाकै बने पनि उच्च बजेट फिल्मका सेल्स एजेन्टको लबिइङ दह्रो हुन्छ भने राजनीति पनि हुन्छ। गाउँ आएको बाटोका निर्माता आमोद राई टोरन्टो फिल्म फेस्टिभलमा छानिए पनि मार्केटिङ गर्न नसक्दा पछि परेको बताउँछन्। राईका अनुसार अन्तर्राष्ट्रियस्तरको प्रोडक्सनको ज्ञान र जनशक्ति नहुँदा लबिइङ सोचजस्तो सशक्त हुनसकेको छैन।
फरकधारका फेस्टिभलहरू
फेस्टिभलमा सहभागिताका लागि तयार हुँदा यसका अन्तर्य बुझ्न सक्नुपर्ने हुन्छ। कठेतका अनुसार कुनैले ‘पोलिटिकल’, कुनैले ‘आर्टिस्टिक’ र ‘एक्सपेरिमेन्टल’ धारका फिल्मलाई अधिक चयन गर्छन्। कुनैले ‘सेक्सुअलिटी’ र ‘लिब्रलिजम’लाई प्रोत्साहन गर्छन्। “भन्न त उनीहरू सबै राम्रो चलचित्र लिन्छौँ भन्छन् तर अजेन्डा तय गरेका हुन्छन्,” कठेत भन्छन्, “कुनै वर्ष महिला निर्देशकलाई सपोर्ट गर्ने अजेन्डा हुन्छ भने कहिले द्वन्द्वग्रस्त देशका फिल्ममेकरलाई।”
छिरिङ रितारका अनुसार ताजा कथा नै बिक्रीयोग्य हुन्छ। “नेपालको कथालाई हिमालको भनेर बुझ्ने गरिन्छ,” उनी भन्छन्, “मिडलइस्ट भए युद्ध, संघर्षका फिल्म भन्ठान्छन्।” जलवायु परिवर्तनको मुद्दामा विश्वकै चासो भएको कारण पनि हिमालका कथा प्राथमिकतामा परेका छन्। ग्रामीण क्षेत्रका सर्भाइभलका कथा पनि फेस्टिभलमा हेरिन्छ। दीपक रौनियार मधेशका कथा बनाइरहेका छन्।
फेस्टिभलमा राजनीतिक चासोको पाटो पनि हुन्छ। प्रख्यात फिल्म फेस्टिभलहरू पश्चिमा देशमा हुन्छन्। उनीहरूले कम्युनिष्टको समर्थन मन पराउँदैनन्। बर्लिन फेस्टिभलमा सरकारी लगानी हुने भएकाले सरकारको स्वार्थ पनि सँगै आउँछ।
“हरेक फेस्टिभलको आफ्नो पोलिटिकल थट छ,” नाम उल्लेख नगरिदिन आग्रह गर्दै एक निर्देशक भन्छन् “पारासाइटले किन अवार्ड पायो? कोरियामा भइरहेको पोलिटिक तथा आर्थिक प्यारोडाम सिफ्ट यसको सूचक हो।”
दर्शक तान्न तिकडम
बलिउडका दुई हस्तीको आगमनले शाम्बालाको शाख र निर्देशक भाम नै छायाँमा परेको पत्रकार नारायण वाग्लेले एक लेखमा उल्लेख गरेका थिए। फिल्म चलाउन लगाइने यस प्रकारको शैलीलाई आपत्तिजनक मान्न नहुने निर्माता आमोद राई बताउँछन्। फिल्म आउँदै छ भन्ने सन्देश दर्शकको दिमागमा बसाउन अनेकन् तिकडम लगाउनु नै पर्छ।
गाउँ आएको बाटो टोरन्टोमा भन्दा नेपालका हलमा रिलिज गर्न गाह्रो परेको राईको अनुभव छ। त्यसका लागि कबड्डीको फ्रेन्चाइज बाँसुरीसँग समन्वय गर्नुपर्यो। बाँसुरी फिल्मको ब्यानरअन्तर्गत फिल्मको प्रचार भयो। ठूला मिडिया हाउसदेखि सानातिना अनलाइनसम्मै ‘गाउँ आएको बाटो’ छायो।
दर्शकलाई हलसम्म तान्न निर्देशक र निर्माताले अनेक ‘तिकडम’ लगाउनुपर्ने अवस्था अहिले पनि रहेको निर्देशक केदार श्रेष्ठ बताउँछन्। “धानको बाला (अवार्ड जितेको लोगो)ले ध्यान ताने पनि आमदर्शकले त्यसको महत्त्वलाई ग्रहण गरिहाल्दैनन्, तिकडम लगाउनुपर्छ,” श्रेष्ठ भन्छन्।
निर्देशक कठेत ‘बोक्सीको घर’ फिल्मको ‘बुझिन मैले’ बोलको गीतको उदाहरण दिएर फिल्म चलाउन लगाइने ‘ट्रिक’ अनेक हुने बताउँछन्। उनी भन्छन्, “मेनस्ट्रिम फिल्ममा गीत, ट्रेलर, प्रोपागाण्डामार्फत फिल्म आउनुअघि नै दर्शकको दिमागमा छाप बनाएको हुन्छ। वृत्तचित्र चलाउन त लिटरेचर क्लबका हस्ती, मिडियाका साथीभाइमाझ पुग्नैपर्छ।”
उनका अनुसार प्रिमियरको दिन आफन्त, साथीभाइ र फिल्म क्षेत्रका मानिसले हल भरिए पनि दोस्रो दिनबाट हल कसरी भर्ने भन्ने समस्या निर्माता निर्देशकलाई हुन्छ। फेस्टिभलमा गएका फिल्मले ‘ब्लकबस्टर’ व्यापार बिरलै गर्छन्। इन्डिपेन्डेन्ट फिल्म, डकुमेन्ट्रीको ध्येय नै अन्तर्राष्ट्रियस्तरमा बेच्नु हो। जल्दोबल्दो मुद्दा र सशक्त कथनशैलीमा बनेका डकुमेन्ट्री भने अलजजिरा, आर्ते टिभीमा जान्छन्। नत्र फिल्म बनाउने र ‘हार्ड ड्राइभ’मा थन्क्याउनेबाहेक उपाय हुँदैन।
“फेस्टिभलमा गएका चलचित्र लामा, सुस्त र बोरिङ हुन्छन्, त्यति चल्दैनन्,” द रेड सुटकेसका निर्माता रामकृष्ण पोखरेल भन्छन्, “मिडियाले यस्तै भाष्य बसाइ दिएका हुन्।”
प्राय: फिल्मकर्मीको मिडियासँग यस्तै गुनासो छ। भेनिस फिल्म फेस्टिभलमा अवार्ड जितेको द रेड सुटकेस एचबीओ युरोपले किनेको छ। उचित शो नपाउँदा हलबाट भने उत्रिहाल्यो। पोखरेलका अनुसार यस्ता फिल्मलाई दिउँसो १२ बजेको शो दिन्छन् जुन बिदाको दिनबाहेक थोरै दर्शक पुग्ने समय हो। सरकारले पनि यस्ता फिल्ममा अपनत्व लिँदैन, कुनै सहुलियत दिदैन। वर्षमा तीनचार वटा बनेर देशको प्रतिनिधित्व गर्ने यस्ता फिल्मका लागि वर्षमा १ करोडको बजेटसमेत विनियोजन हुँदैन। “चलचित्र विकास बोर्डको परिभाषा बक्स अफिस, रेड कार्पेटमै सीमित छ,” पोखरेल भन्छन्।
शाम्बालाका निर्देशक मीनबहादुर माभ फिल्म फेस्टिभलमा पुगेका चलचित्र पर्दामा नचल्ने विषय आफैमा जटिल भएको बताउँछन्। फेस्टिभलमा मनोनीत हुने फिल्म प्रायः नवीन कथनशैली, कलात्मक प्रयोग र सांस्कृतिक झाँकीले भरिपूर्ण हुन्छ जुन मूलधारका सिनेमाको प्रकृतिसँग नमिल्नसक्छ। “अवार्ड, उपाधि जितेका र जित्ने क्षमता राख्ने फिल्म सूक्ष्म थिममा हुन्छन्। दर्शकको गहिरो ध्यान आवश्यक पर्छ,” भाम भन्छन्, “जुन विशुद्ध मनोरञ्जनका लागि आउने दर्शकको लागि बाधक हुनसक्छ।”
बजार नै सुस्त
बलिउडले खर्लप्प खाएको बजारमा फिल्म भन्ने बित्तिकै नाचगान, डाङडुङ, रोमान्स, रोनाधोनाको प्याकेज बुझिन्छ। सीडीसी हलका सञ्चालक जीवन शाक्यका अनुसार नेपाल र भारतमा स्थापित फिल्म हेर्ने परम्पराले पनि यस्ता फिल्मलाई सहयोग गर्दैन। यसमा ‘सिने लिटरेसी’ अर्थात् चलचित्र साक्षरताको पाटोलाई केलाउनु पर्ने शाक्यको भनाइ छ।
“युरोपियन मुलुकमा सानैदेखि डकुमेन्ट्री देखाइन्छ। फिल्मका विविध जनराको ज्ञान दिइन्छ। हाम्रोमा त्यो अभ्यास छैन,” उनी भन्छन्। धनगढी, हेटौँडा, पर्साका सीमित हलमा छाउपडी प्रथामा आधारित ‘जुना’ फिल्म चलाउँदा कक्षा ६–१० का विद्यार्थीले उत्सुकताका साथ हेरेको उनी बताउँछन्।
अहिले हलको व्यापार १५ प्रतिशतभन्दा माथि नभएको शाक्यले जानकारी दिए। बजार सुस्त हुँदा यस्ता ‘स्लो फिल्म’ले व्यापार अझै सुस्त गर्ने उनी बताउँछन्। स्लो आर्ट मुभि एकदमै बलियो कथा भए मात्र चल्ने उनको अनुभव छ। फिल्मको माया गरिहँदा हल सञ्चालनको मूल्य र समयको पनि हेक्का राख्नुपर्ने उनी बताउँछन्।
शाम्बालाबाट स्थानीय भेगको कथाले विश्वमञ्चको ध्यानाकर्षण गर्नसक्ने साबित भएको निर्देशक मीनबहादुर भाम बताउँछन्। तर मार्केटिङ र वितरणका तौरतरिकामा मूलधारको फिल्मबाट फरक हुने कारण हलमा दर्शकको कमी हुने उनको भनाइ छ। “फेस्टिभलमा ध्यान तानेका फिल्म घर फर्कंदा उही स्तरका दर्शक पाउँदैनन्,” उनी भन्छन्, “फलस्वरूप फिल्मले अन्तर्राष्ट्रियस्तरमा पाएको माहोल यहाँ हुँदैन।”
यद्यपि, नेपाली दर्शकमाझ बढ्दो फिल्म लिटरेसी आशाजनक रहेको निर्देशक छिरिङ रितार शेर्पा बताउँछन्। “फेस्टिभलमा जाने चलचित्र लामो र स्लो पेसको हुने भए पनि एक पटक हेरुम न भन्ने जमात बढेको छ,” उनी भन्छन्, “पहिले एउटा सिंगुलर खालका दर्शक थिए जो बलिउड थिमको चलचित्रबारे जानकार थिए।”
यस खालको फिल्मले हल र दर्शक पाउनु नै उत्साहजनक भएको रितार बताउँछन्। फिल्मले कति व्यापार गर्यो भन्दा पनि कति प्रतिशत दर्शक यस्ता फिल्ममा रुचि राख्न थाले भन्ने विषय मुख्य भएको उनको भनाइ छ।