प्रा. कृष्ण गौतमको उपन्यास अद्वैत र पवनकुमार चामलिङ
काठमाडाैँ– विक्रम सम्वत २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ।
संक्षिप्त सूचीमा परेका पाँच पुस्तकमध्ये अद्वैतलाई उक्त पुरस्कार दिने निर्णय भएको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पुरस्कारका लागि प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक परेका थिए। प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
यस्तै, प्रतिष्ठानले भारतीय राजनीतिज्ञ तथा साहित्यिक अभियन्ता पवनकुमार चाम्लिङलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेको छ। चाम्लिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री रहेका थिए।
साथै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार दिने निर्णय गरेको छ। यी पुरस्कारको राशी जनही ३ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ।
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई प्रदान गरिएको थियो।