काठमाडौँ– पूर्वी पहाड ताप्लेजुङको सुन्दर गाउँ हाङदेवाबाट निस्किएकी सुनीता केदेम लाबुङलाई काठमाडौँ आइपुग्न झन्डै दुई दिन लाग्यो ।
आफ्नो जातीय संस्कृति र पहिचान सम्झाउने पालम भाकाको नयाँ भिडियो रेकर्ड तयार भएपछि त्यो सुनाउन र धाननाच देखाउन राजधानी आएकी उनी बुधबार बेलुका पनि उस्तै हतारोमा थिइन्– आफ्नै भिडियोको रमिता हेर्न र अरूलाई देखाउन।
“हाम्रो रीतमा चल्ने लय र भाका (इक्ला) र बजाउने बाजा (मुक्ला) पनि अहिले सम्झिरहेकी छु। आफ्नो जन्म–कर्मका हरेक पाइलामा सुन्दै, बुझ्दै र गाउँदै आएका भाकालाई कसरी पुस्तौँपुस्तामा जोगाएर राख्न सकिएला भन्ने चिन्तामा अहिले ‘याक्थुङ इक्ला’ लिएर आएकी छु,” जावलाखेलमा भेटिएकी सुनीताले सुनाइन्, “स्वर मात्रै रेकर्ड गरेर सुनाउनुभन्दा पालम वा हाक्पारेसँग जोडिएको लिम्बू दैनिकीलाई देखाउनै पनि माथि ताप्लेजुङमै लगेर भिडियो खिचेका हौँ।”
ताप्लेजुङ सान्थाक्रामा जन्मे–हुर्केकी सुनीता पछिल्ला वर्षमा हाङदेवामा आफ्नो घरपरिवार सम्हालेर बसेकी छन्। उनका अनुसार १४ मिनेटको पालमको स्थानीय स्वाद खोज्ने क्रममा यो भाकालाई हाङदेवादेखि तमोर खोलासम्मको दृश्यमा छायांकन गरिएको छ।
“पालम, हाक्पारे भनेको हाम्रो पितापुर्खाको नासो हो। बाजेबोजुले जे जसरी आफ्नो समयको दुःखसुखलाई गाएर–नाचेर सुनाए र देखाए, हामी पनि आज त्यही गरिरहेका छौँ। अलिकति प्रविधि फेरियो होला, कति कुरामा परिस्कार आयो होला। तर त्यो भाका, शैली र तौरतरिका भने उही हो,” उनी भन्छिन्, “हाम्रो लिम्बू जातिमा प्रचलित पालम, ख्याली, हाक्पारे, तुहा, ताम्के र केसाङ्ला सबै विधामा म गाउन सक्छु। कतै पढेर वा सिकेरभन्दा पनि यो सीप मैले जन्मसँगै लिएर आएकी छु।”
तीन वर्षअघि विश्वव्यापी अनलाइन पालम प्रतियोगितामा उत्कृष्ट तीनमा परेकी सुनीता यसपाला हाङदेवा गाउँको घरपरिवार सम्हाल्न जाने हतारोमा उसैगरी छटपटाइरहेकी देखिन्थिन्। आफूसँग कला, गला वा सीप भए पनि ठाउँ, भूगोल र अवस्थाले निम्त्याउने कठिनाइमा उनी सचेत थिइन्।
“म पालम, हाक्पारे तीन दिन तीन रात पनि गाउन सक्छु, आफ्नै मौलिक शब्द कथेर,” सुनिता भन्छिन्, “तर, त्यो सबै पानीको फोकाझैँ हो, छिनछिनमै पलाएर आइरहने–हराइरहने। बरु यो रगतमै गढेको आफ्नो संस्कार र संस्कृतिलाई पन्छाउन नसकेर म हाङदेवामै रमेर बसिरहेकी छु। ताप्लेजुङ नाघेर तल धरान वा यता काठमाडौँ आएमा अलिक बढी काम देखाउन सकिने थियो होला। तर म मेरो मौलिकता र आफ्नोपना हराइहाल्छु कि भनेर पनि डराउने गर्छु। त्यही भएर मलाई हाङ्देवा प्यारो छ।”
सुनीताका अनुसार, पालममा मायाप्रीति र दुःख जताउने अलग खालको शब्द/भाका हुन्छ। हाक्पारे भने मुन्धुम खेल्ने ठाउँ हो जहाँ जातीय उत्पत्तिका कथाहरू बढी आउँछन्। त्यस्तै, केसाङ्ला भने घरपैँचो वा बिहाकर्म आदिमा गाइन्छ।
ख्याली भनेको दोहोरीजस्तै हो, ओठे जवाफ फर्काइहाल्ने भाका। ताम्के भनेको थाकेको अनुभव नहोस् भनेर काम गर्दा गाइने एकखालको भाका हो। यी सबैमा निपूर्ण अथवा पारंगत हुन सके मात्रै आफ्नो जातीय चेतना र सभ्यताको व्याख्या गर्न सजिलो हुने सुनीताको बुझाइ छ।
हाङदेवाबासी प्रतिभा सुनीता केदेम लावुङलाई बाहिरी संसारमा रहेका लिम्बू जातीय समुदाय तथा शुभेच्छुकमाझ चिनाउन ताप्लेजुङकै अर्की गायिका झुमा लिम्बूले काठमाडौँ ल्याएकी हुन्। आफ्नै अवधारणा र खर्चमा सुनीताको श्रव्यदृश्य पालम रेकर्ड तयार भएको र यसमा चिली देशबाट आएका गिटारिस्ट मोवाँ एडमन्ड ग्वेभाराले साउन्ड डिजाइन (अरेन्जमेन्ट) को काम गरेको झुमाले सुनाइन्।
सुनीताले गाउने पालममा भाव (शब्द) भने उनकै श्रीमान् केबी किरातीले लेखेका रहेछन् जो हाङदेवा गाउँमै मिस्त्री काम गरेर जीविकोपार्जन गर्छन्। घरेलु शिक्षाबाट साक्षर मात्रै बनेकी सुनीता यही पालम–हाक्पारे उत्सवमा भाग लिन जीवनमा एक पटक मात्रै अलिक ठूलो समारोहमा पुगेकी रहिछन्, सिक्किमको गान्तोकसम्म।
“आज मलाई निकै हतार छ। उता गाउँमा सुँगुर, बाख्रा, कुखुरा खोरमा थन्क्याएर आएकी छ। जतिसक्दो चाँडो हाङ्देवा फर्कनु छ,” ४० वर्षीया सुनीताले आफ्नै लिम्बू लवज र शिल्पमा मुश्किलको अनुवादसहित पालम सुनाइन्, अनुवादमा सुनिन्थ्यो–
“चिनाबुङ भन्ने ठाउँ,
याक्साको घर रुँङ्दा...
इतिहास सम्झँदा बिरह चल्छ,
गुराँस फुल्छ है खालखालको
सम्झेको छु है धेरै धेरै!”