काठमाडौँ– कालो–रातो टिकटिके बुट्टाको छिरबिरे नेवाः पहिरनमा सजिएका दुई युवाले नागराजको मूर्ति श्री शंकर कृति महाविहारको प्रवेशद्वार हुँदै बिस्तारै प्राणप्रतिष्ठा गर्न पोतिएको मण्डपमा राखे। मूर्ति र मण्डपसँगको दूरी केही मिनेटको लाग्छ। नक्सालको भगवानबहालबाट उक्त मूर्ति ४२ वर्षअघि हराएको थियो।
मूर्ति हराएको स्थानमा पुनः प्रतिस्थापित गर्न प्राणप्रतिष्ठा गर्नुपर्छ। पृष्ठमा धिमे बाजा बजिरहेको थियो। एक फोटो र भिडियो खिच्न तम्तयार एउटा लस्कर उक्त दृश्य कैद गर्न तँछाडमछाड गर्दै थियो। छेउमा मूर्ति राख्नेबित्तिकै एक पाका व्यक्तिले भने, “मूर्ति राख्ने जलहरी उल्टो भयो।”
मूर्तिलाई छाउनीदेखि ल्याएका प्रतिनिधि मनोज ताम्रकार तथा अन्य दुई युवकले जलहरीको दिशा सही भएको जवाफ दिए। कतापट्टि फर्काउनु सही हो भन्नेबारे केही बेर छलफल भयो। अग्रपंक्तिमा रहेका युवाले मूर्तिको पुरानो फोटो देखाउँदै जलहरीको स्थान र दिशाको प्रमाण देखाएपछि सम्भावित् मतभेद सोही समय साम्य भयो।
आखिर एउटा मूर्तिको दिशाको लागि किन स्थानीयबीच भनाभन भयो? किनभने अघिल्लो पुस्ताको पालामा हराएको नागराजको मूर्ति पुनः प्रतिस्थापन हुँदै गर्दा कतिपयको स्मृति धुमिल भइसकेको हुनसक्छ। मल्लकालको १२–१३औँ शताब्दीमा निर्मित मूर्तिबारे लैनसिंह बाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ को पेज नम्बर १८३ मा उल्लेख छ। मूर्ति ‘सुखासन’ मा रहेको पनि पुस्तकमा लेखिएको छ। यो मूर्ति चोरिएर अमेरिका पुगेको थियो।
नन्देश्वर बगैँचा (नारायणचौर), ठूलो सग्ला भवन, प्रहरी हेडक्वार्टर समेत रहेको ‘प्राइम लोकेसन’का बीच श्री शंकरकृति महाविहारबाट हराएको मूर्ति सोमबार प्रतिस्थापन हुने क्रममा महाविहारमा बिहानैदेखि चहलपहल थियो। मूर्ति लिन जाने साइतमा राष्ट्रिय संग्रहालय छाउनीका लागि निस्कँदै गरेका स्थानीय मनोज ताम्रकार मूर्ति ल्याउन उत्साही भएको बताउँदै थिए।
विहार आसपासका बासिन्दा मूर्ति पुनस्र्थापित गर्न लालायित देखिन्थे। यद्यपि ४२ वर्ष र थप केही घण्टाको पर्खाइ दिउँसोको साँढे दुई बजेपछि अन्त भयो जतिबेला युवाको समूहले मूर्तिलाई बाजागाजासहित बिहार परिसरमा भित्र्यायो।
चोरी भएको मूर्तिको वास्तविक स्थान विहारको मूल ढोकाको मुखैअघि थियो। डेढ वर्षअघि विहार पुनर्निर्माणको क्रममा नागराजको उक्त स्थान केही मिटरमा स्तानन्तरण भयो। यसले गर्दा स्थानीयमाझ केही समय अन्योलपूर्ण वातावरण बन्यो।
“पहिले नागराजको मूर्ति ढोकाको नजिकै थियो, अहिले थोरै पर सरेको छ,” स्थानीय आशामाया डंगोलले भनिन्। प्राणप्रतिस्ठा गर्नुपर्ने कारण मूर्तिलाई पहिलेको स्थानबाट केही पर राखियो। त्यसै बेला जलहरीको दिशाबारे मत–अभिमत प्रकट भएको थियो।
विहार अव्यवस्थित रहँदा मूर्ति चोरी
मूर्तिको चोरी कतिबेला भयो थाहा भएन, तर बिहान विहारमा पूजा गर्न आउँदा मूर्ति नभएको ८१ वर्षका स्थानीय राजकृष्ण महर्जन सम्झिन्छन्। त्यसो त विहारबाट हराएको यो एउटा मात्र मूर्ति भने होइन। “विहारको प्रमुख मूर्तिको रूपमा रहेको बुद्धको मूर्ति अझै पनि अज्ञात अवस्थामा छ। उक्त मूर्ति ‘बेत’बाट बनेको ६ फुटको थियो,” उनी भन्छन्, “बुद्ध भगवान् हराएपछि नागराज हराउनुभयो।”
विहारको प्रमुख मूर्तिको स्थानमा त्यसको रेप्लिका अर्थात् प्रतिमूर्ति नभई पुरानो तस्वीर राखिएको छ। नागराजलाई उक्त मूर्तिको रक्षकको रूपमा मानिएको महर्जनले बताए।
विहारको नजिक पहिले महांकालको मन्दिर थियो। त्यहाँ महांकालको मूर्ति पनि चोरी गर्ने प्रयास भएको थियो। तर चोर्न नसकेको उनी बताउँछन्। महर्जनका अनुसार मूर्ति हराउने बेला विहारको अवस्था पनि राम्रो थिएन। यसमा आशामाया डंगोल र मनोज ताम्राकार पनि सहमति जनाउँछन्।
“मेरो बिहे भएको चार–पाँच वर्षपछि मूर्ति हराएको थियो। यहाँ वरपर पर्खाल भए पनि राम्रो थिएन। कतै प्वाल परेको, कतै भत्किएको थियो,” डंगोल भन्छिन्, “विहारको आँगनअघि खेतैखेत थियो। यसबीच सिस्नु र अरू झारले विहारलाई पनि ढाक्न थालेको थियो। त्यस्तो अवस्थामा नागराजको मूर्ति हरायो।” हराएको ‘भगवान्’ घर फिर्ता आउँदा धन्य महसुस भएको उनले बताइन्।
“पुरानो फोटोबाट पनि थाहा हुन्छ, विहार क्षेत्र फोहोर र अव्यवस्थित थियो,” ताम्राकार भन्छन्, “फेरि त्यो बेला अहिलेजस्तो सम्पदा संरक्षणको लहर थिएन। जनचेतनाको कमी नहुँदा पनि चोरीका घटना बढे होलान्।” अहिले ढोकादेखि पर्खालसम्म सुरक्षा मजबुत भएको र स्थानीयसमेत चनाखो भएका कारण अब पहिलेजसरी चोरी हुन नदिने उनको दृढता छ।
यद्यपि नागराज मूर्ति फिर्ता अभियान एक महिनाको अवधिमा पूर्ण भएको ताम्राकारले बताए। छाउनीस्थित संग्रहालयमा नागराजको मूर्ति भएको थाहा पाएपछि प्रमाणको रूपमा पुराना फोटो संकलनमा स्थानीय जुटेका थिए।
“हाम्रो लागि प्रमाणको रूपमा पुरानो फोटो आवश्यक थियो। फोटो खोज्ने कार्यलाई हामीले तीव्रता दियौँ,” उनले भने, “लिच्छविकालीन पुरानो बस्ती बाहिरबाट हेर्दा शहरी पाटो मात्र देखिए पनि यहाँ बाँकी रहेका ऐतिहासिक अवशेष सहितको नक्सालको मौलिक परिचय स्थापित गर्न लागिपरेका छौँ।”
नक्सालको पुराना बस्ती क्षेत्र सम्पदा मार्ग बनाउने पहलमा यस्ता पुराना मूर्ति फिर्ता हुनु ‘प्लस पोइन्ट’ भएको ताम्राकार बताउँछन्।
अझै चार मूर्ति फिर्ता आउन बाँकी
विहारका प्रतिनिधिले कानूनी प्रक्रिया पूरा गरेसँगै मूर्ति हस्तान्तरण गरेको राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। मूर्तिलाई रीत पुर्याएर दैनिक हुने पूजापाठलाई निरन्तरता दिने प्रतिबद्धतासहित हस्तान्तरण गरिएको उनी बताउँछन्। तीन वर्षअघि पद्मपाणि लोकेश्वरको मूर्ति पनि संग्रहालयबाटै फिर्ता लगिएको उनले बताए।
स्थानीय मनोज ताम्राकारले उकालोलाई जानकारी दिएअनुसार अझै पनि संग्रहालयमा रहेको सूर्य नारायण, नारायण, उमामहेश्वर र भैरवको गरी चार वटा मूर्ति फिर्ता ल्याउनु पर्नेछ। जसको प्रमाण संकलनमा स्थानीय लागिपरेका छन्। यसबारे संग्रहालय प्रमुख श्रेष्ठलाई प्रश्न गर्दा बाँकी रहेको मूर्तिको सवालमा प्रमाणसहितको माग दाबी आए मात्र औपचारिक रूपमा बोल्न मिल्ने जवाफ उनले दिए।
फिर्ता भएको मूर्ति सुरक्षित हुनेमा रामकृष्ण महर्जन विश्वस्त देखिन्छन्। “अब पहिलेजस्तो विहारको अवस्था जीर्ण रहेन, वरपर पर्खालले घेरिएको छ,” उनी भन्छन्, “तीन वर्षअघि पुनर्स्थापना गरिएको पद्मपाणि सुरक्षित रहनु यसको उदाहरण हो।”