Saturday, October 05, 2024

-->

भोजपुरी गीत ‘ललिपप लागेलु’को कथा, जुन घन्कियो अम्बानीको विवाह समारोहमा

विहारका पवन सिंहले २१ वर्षको उमेरमा २००७ अप्रिलमा गाएको गीत ‘ललिपप लागेलु’ भोजपुरी भाषी स्रोताभन्दा बाहिर पनि लोकप्रिय बन्यो। यही गीतबाट पवनले ख्याति र सम्मान कमाए।

भोजपुरी गीत ‘ललिपप लागेलु’को कथा जुन घन्कियो अम्बानीको विवाह समारोहमा

काठमाडौँ– भारतका खर्बपति व्यापारी मुकेश अम्बानीका छोरा अनन्त र राधिका मर्चेन्टको विवाह समारोह पटकपटक गरी धेरै दिन चल्यो। गत असार २८ गतेको समारोहमा भोजपुरी गायक पवन सिंहले पनि प्रस्तुति दिए। उनले आफ्नो लाकप्रीय गीत ‘ललिपप लागेलु’ गाएर दुनियाँभरबाट आएका विशिष्ट पाहुनाहरूलाई पनि नचाए।

अम्बानीको बिहेमा गुञ्जिएर पाहुनाहरू झुमेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त गीत फेरि चर्चामा आएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बेहुला अनन्तको चाहनाअनुसार नै उक्त गीत गायकबाटै विवाह समारोहमा प्रस्तुत गर्न लगाइएको हो। विवाह समारोहमा आकर्षक पारिश्रमिक दिएर विश्वभरिबाट निम्त्याइएका कलाकाहरूमाझ पवन भोजपुरीका एक्ला कलाकार भए।

यो गीत भारत र विश्वमा भोजपुरी भाषी रहेका सबै स्थानमा हुने कार्यक्रममा बज्ने साझा गीत भएको छ। अफ्रिकादेखि युरोपसम्मका मुलुकमा यो गीतले सांगीतिक समारोह, डिस्को र पार्टीहरूमा ठाउँ पाउँछ। गीतको मुखडाले भन्छ– तु लगावेलु जब लिपस्टिक, हिलेला आरा डिस्ट्रिक, जिला टप लागेलु, हो जिला टप लागेलु।

भोजपुरी भाषा र संस्कृतिका अभियन्ता आनन्द अस्तित्वका अनुसार यो गीत काठमाडौँमा पनि बिहे पार्टी, रिसेप्सन वा अन्य समारोमा घन्किने गरेको छ। आनन्द भन्छन्, “भोजपुरी गीतसंगीत निकै सम्मृद्ध र विस्तृत छ, यो गीतले भने गैरभोजपुरीभाषी क्षेत्रमा पनि विशिष्ठ पहिचान बनाउन सफल भएको छ।” 

उनका अनुसार अंग्रेजी शब्दहरू ‘लिपिस्टिक’, ‘डिस्ट्रिक’, ‘ललिपप’लाई गीतमा प्रयोग गरेर अन्य भाषीको पनि ध्यान तानिएको छ। संगीतको बिटले यस गीतलाई पार्टी र डिस्कोका लागि उपयुक्त बनाइएको छ। भोजपुरी भाषाले अरू भाषाका शब्दहरूलाई सजिलै भोजपुरीकरण गर्ने गरेकाले पनि यो गीत अन्य भाषीले पनि मन पराएको आनन्द बताउँछन्।

१७ वर्षदेखि निरन्तर लोकप्रिय 
आफैमा फराकिलो मञ्च र आयाम समेटेको हिन्दी साहित्य तथा संगीत जगतका प्रमुख साहित्यकार र गीतकारहरू धेरैजसो भोजपुरीभाषी क्षेत्रका छन्। भोजपुरी भाषाको मुख्य आधार क्षेत्र भारतको विहार र उत्तर प्रदेश हो। तर त्यहाँ भोजपुरीभन्दा हिन्दी भाषाकै प्रभाव धेरै छ।

भोजपुरीको मूलथलोमध्येको विहारको आरा जिल्लाको जोखरी गाउँमा १९८६ मार्च ६ मा जन्मेका गायक तथा अभिनेता पवन सिंह ‘पावरस्टार’ भनेर चिनिन्छन्। उनले २००७ अप्रिलमा गाएको गीत ‘ललिपप लागेलु’ त्यसयता निरन्तर लोकप्रिय छ। यही गीतको कारण गायक तथा अभिनेता सिंहले ख्याति कमाएका छन्।

भोजपुरी भाषा बोल्नेहरू भारतमा मात्र नभई नेपाल, सुरिनाम, मरिसस, फिजी, ट्रिनिडाड, नेदरल्यान्ड र दक्षिण अफ्रिकामा पनि उल्लेख्य छन्। बेलायती, फ्रन्सेली र डच शासकहरूको उपनिवेश आजको भारतका विभिन्न हिस्सामा थियो। उपनिवेशकालमा शासक देशहरूले भारतको विहार र उत्तर प्रदेशबाट लगेका श्रमिक नै समुद्रपारिका ती देशहरूमा आजका भोजपुरी भाषी हुन्।

नेपालमा धेरै मानिसले बोल्ने भाषाको तेस्रो स्थानमा भोजपुरी छ। मधेश तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यो भाषा बोलिन्छ। भोजपुरी गीतहरू भारतको विहार, उत्तर प्रदेश र नेपालको सीमावर्ती क्षेत्रमा सुनिन्छ।

भोजपुरीका गीतहरू सशक्त हुनुको कारण भाषा भावप्रधान हुनु नै भएको भोजपुरी साहित्यकार ऋतुराज बताउँछन्। तर भोजपुरी गीतमा बढी अश्लीलता हुने आरोप पनि लाग्छ। पवनमाथि समेत दोहोरो अर्थका र अश्लील गीत गाएको आरोप लाग्ने गरेको छ। ‘सानिया मिर्जा के नाथुनियाँ जान मारे ला’ गीत निकै विवादमा पनि पर्‍यो।

“अरू भाषाहरूमा त्यस्तो अर्थ लाग्ने शब्द भोजपुरीमा सामान्य हुन्छ, तर अन्य भाषीले अश्लील मान्छन्,” ऋतुराज भन्छन्, “यसकारण भोजपुरीको चर्चा बढी हुन्छ। केही गीत भने साँच्चै उच्छृंखल पनि छन्, यो नै समग्र भोजपुरी संगीत होइन।”

चर्चाको चुली र जीवनको उतारचढाव
यो गीतले गायक पवन सिंहको जीवन नै बदलिदिएको छ। उनलाई भोजपुरीको ‘सुपरस्टार’भन्दा पनि ‘पावरस्टार’का रूपमा चिनिन्छ। भोजपुरी भाषीहरूमाझ उनका अरू गीत पनि लोकप्रिय छन्। तर लामो समयसम्म लोकप्रियता हासिल गरेको र भोजपुरी भाषी क्षेत्रभन्दा निकै टाढासम्म पुगेको गीत यो मात्र हो।

पवन राम्रो आवाजको धनी भएको र उनको गीत गैरभोजपुरी भाषीमाझ पनि लोकप्रिय रहेको रंगकर्मी अनिल कुर्मी बताउँछन्। “भोजपुरीका लोकगीत र संगीत आफैमा सम्मृद्ध छन्। आधुनिक कन्टेन्टको पनि कमी छैन। भोजपुरीका लोकप्रिय कन्टेन्टहरूमध्ये ललिपप लागेलु गीत निकै व्यापक छ,” कुर्मी भन्छन्, “जिब्रोमा झुन्डिने खालका शब्दहरू यसमा छन्। नाच्नका लागि प्रेरित गर्ने संगीतसँग समायोजन भएको छ।”

गायक र अभिनेता मात्र नभई पवन भोजपुरी सिनेमा उद्योगका निर्माता र संगीतकार पनि हुन्। बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने पवनका काका अजित पनि गायक थिए। काकाबाटै उनले गायन सिकेको जानकारी कतिपय भारतीय सञ्चारमाध्यमहरूमा भेटिन्छ। पवनले सानै उमेरमा ‘स्टेज शो’ गर्न थालेका थिए। केवल ११ वर्षको उमेरमा उनको पहिलो एल्बम ‘ओढनिया वाली’ सन् १९९७ मा रिलिज भएको थियो। उनले सन् २००४ मा फिल्म ‘रंगिली चुनरिया तोहरे नाम की’ बाट आफ्नो अभिनय शुरू गरे।

पवन बिस्तारै चर्चा कमाइरहका थिए। २००७ अप्रिलमा उनको म्युजिक एल्बम ‘ललिपप लागेलु’ रिलिज भएपछि भने करियरले नयाँ मोड लियो। यो गीतले उनलाई रातारात ‘स्टार’ बनायो। उनले हालसम्म १०० भन्दा बढी भोजपुरी एल्बमहरूमा गायन र अभिनय गरिसकेका छन्। 

पवनको औपचारिक शिक्षा धेरै छैन। तर संगीतको मामिलामा उनी कसैभन्दा कम छैनन्। साढे दुई हजारभन्दा बढी गीत गाइसकेका पवन प्रसिद्ध अवार्डहरूबाट सम्मानित छन्। भर्खरै उनले फिल्म ‘क्यार्‍क फाइटर’ का लागि १ करोडमा अनुबन्ध भएपछि भोजपुरीको सबैभन्दा महँगो कलाकार बनेका छन्।

पवनको निजी जीवन भने विवादमुक्त छैन। उनकी पहिलो श्रीमतीको नाम नीलम सिंह हो, जसले २०१५ मार्च ८ मा आफ्नै घरमा आत्महत्या गरेकी थिइन्। आत्महत्याको कारण पवन नै रहेको आरोप पनि लाग्यो। 

सन् २०१८ मा उनले बिहारको बलिया जिल्लाकी ज्योति सिंहसँग दोस्रो बिहे गरेका छन्। भर्खरै भारतीय जनता पार्टी प्रवेश गरेर राजनीतिमा होमिएका पवन आफू प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो प्रशंसक भएको बताउँछन्।


सम्बन्धित सामग्री