काठमाडौँ– सन् २००८ मा मलायालम लेखक बेन्यामिनको एउटा पुस्तक आयो–‘आडुजीवितम’। सन् २०११ मा यो पुस्तकको अंग्रेजी अनुवाद आयो–‘द गोट डेज’। धेरैपछि यो वर्ष यही कृतिमा आधारित चलचित्र बन्यो– ‘द गोट लाइफ’।
आजभन्दा डेढ दशकअघिको श्रमबजार र त्यो बेलाको साउदी अरेबिया, कतार, ओमान वा समग्र खाडीको श्रमजीवि कथा त्यहीबेला सेलाएर गैसक्नुपर्ने हो तर त्यसो भएन। त्यो अनकन्टार मरुभूमिमा गढेर बसेको अमानवीय र अविवेकी तहको ‘शोषण झिल्को’ फेरि डढेलो बनेर बाहिरिएको छ। फिल्म ‘द गोट लाइफ’ त्यही अवस्थाको कथानक चित्रण हो।
प्रतिव्यक्ति आयका आधारमा संसारकै उत्कृष्ट सूचिमा पुगिसकेका खाडी मुलुकहरूको मानव सभ्यता र श्रमको इतिहास भने त्यति निको थिएन। अझै पनि छैन भन्ने अर्थमा विश्वलाई देखाउन यो फिल्म आएको हुनुपर्छ। यही कारण, पहिले पुस्तक ‘आडुजीवितम’ र ‘द गोट डेज’ पुस्तक तथा अहिले ‘द गोट लाइफ’ फिल्म साउदी अरेबिया, कतारसहितका खाडी मुलुकहरूमा प्रतिबन्धित छ। साउदीको कुरा छाडौँ, प्रतिव्यक्ति आय आधारमा दोहोरिँदै संसारकै ‘उत्कृष्ट देश’मा रहेको कतारभित्र पनि यस्तै ‘द गोट लाइफ’का कथानक कति थिए कति, (शायद अहिले नि होलान।)
‘द गोट डेज’ वा भनौँ बाख्रा कम्पनी र बाख्रे जुनी! बेन्यामिनको यही पुस्तकलाई नेपालीमा पत्रकार दिनेश काफ्लेले ‘खबुज’ नाममा अनुवाद गरेका छन्, जसमा नजिव, हकिम, इब्राहिम खादिरी जस्ता पात्रहरू छन्, जो दुःखको पहाडझैँ उभिएका छन्। चारैतिर बालुवाले घेरिएको धरातल जहाँ कुन पूर्व, कुन पश्चिम पहिल्याउनै मुश्किल पर्छ। यो रेगिस्तानको बीचमा गाडिएको एउटा तम्बुमा एक वा दुई जना गोठाला बस्छन्, भेडाबाख्रा, उँट वा गधाका गोठाला। ५० डिग्रीको तातोमा न पंखा छ न एसी। बिजुली र फोनको सुविधा पनि छैन।
हो, यही भूमिमा हाम्रो देशका समबहादुर विश्वकर्मा (लमजुङ), लोकबहादुर नेपाली (गोर्खा), महम्मद बेचन (सिरहा), शेषनारायण चौधरी(मोरङ), भीमबहादुर परियार(स्याङ्जा), चन्द्रशेखर केवठ(कपिलवस्तु), मोहम्मद सलिमुद्धिन(रूपन्देही), रामु दर्जी(गुल्मी), धनबहादुर राई(संखुवासभा), पूर्णबहादुर गुरुङ(बाग्लुङ), शम्भु शाह सुदी(महोत्तरी), शोभाकान्त लामिछाने(नवलपरासी) र अरुहरू उसैगरी नजीव–भाग्य लिएर दिनरात कटाइरहेका भेटिन्थे। यो एक दशकभन्दा पहिलेको कुरा हो।
‘दुःखबाट उम्कने उपाय भनेकै आफूभन्दा बढी दुःखीको कथा सुन्ने, सुनिरहने!’– यही मन्त्र लिएर उनीहरू आफ्न होइन, अरुका कथा सुनाइरहन्थे। यो कथाको केन्द्रमा थिए समबहादुर जो समाल मरुभूमिमा बस्थे। कतारको दोहा केन्द्रबाट झण्डै १ सय किलोमिटर पूर्वी रेगिस्तानमा। समालबाट राति समुद्रपारको झलमल बहराइन देखिन्थ्यो, यदाकदा माथि आकाशमा उडेका जहाजको चमक आइपुग्थ्यो।
लमजुङ थान्सिङ गाउँघरमा चुरा बेच्दै आउने चुरौटेले ल्याएको कतार जाने आजाद भिसाको कुराका पछि लाग्दै काठमाडौँको एक म्यानपावरलाई १ लाख रुपैयाँ बुझाएर समबहादुर सन् २००९ मा कतार छिरेका थिए। ‘द गोट लाइफ’को नजिव मोहम्मद र हकिमले साउदी अरेबिया (किंग खालिद इन्टरनेसनल) उत्रँदा कफिल (कम्पनी मालिक) नभेटेझैँ दोहा विमानस्थलमा समबहादुर पनि उसैगरी अलपत्र बनेका थिए, कफिल, मुदिर (म्यानेजर) नभेट्दा। अनि उसैगरी कुनै अपरिचित मुदिरले समालको मरुभूमिमा पुर्याएको थियो— दासतायुक्त श्रम गर्न।
समबहादुरका आसपासमा २०० वटा भेडाबाख्रा थिए, ६० वटा कुखुरा, ३०० जति परेवा र एउटा दुहुनो गाई। समबहादुर पनि नजिव र इब्राहिमले झैं पानीमा चोबेर खबुज (एक प्रकारको रोटी) खान्छन्, यदाकदा उसैगरी मरुभूमिको फल खजुरको दानो चुस्न पाउँछन्। बालुवामुनि माटाको भाँडो गाडेर पिउने पानी राखिएको छ। गाउँमा बिहा गरेर ८ महिनामैं परदेश लागेका समबहादुरले दोजिया श्रीमतीलाई छाडेर आएका रहेछन्।
समाल मरुभूमिमा आइपुगेको ६/७ महिना भैसकेको छ। शायद गाउँमा आफ्ना सन्तान जन्मिए होलान्, थाहा छैन। अनि आफू छेउ आइरहने बाख्राको कलिलो सेते पाठोलाई अँगालोमा बेर्दै सन्तानको माया त्यही जन्तुलाई बाँडिरहेका हुन्थे समबहादुर। यता फिल्ममा नजिव र हकिमको हालत जे छ, समालभूमिमा मैले भेटेका समबहादुरको दैनिकी त्यही थियो।
त्यतिबेला लामो समयदेखि कतारमा बस्दै आएका चितवनका दीपक भेटवालसँग मिलेर हामीले समबहादुरको दैनिकी झल्किने भिडियो खिच्ने काम पनि गर्याैँ। तर, त्यो अलिक हतारको काम बन्यो, पूरा भएन। रुसी कथाकार चेखवको ‘ग्रिफ’ कथाको बुढो पात्र ग्रिगोरी पेट्रोभजस्तै लाग्थे समबहादुर, जो प्रत्येक शुक्रबार मरुभूमिको टहरोमाथि चढेर टाढाटाढा नजर लगाइरहेका हुन्थे। कोही आफन्त कुनै खानेकुरा बोकेर आइहाल्छ कि भनेर। अनि हामी पुग्ने गरेका थियौँ।
फिल्म ‘द गोट लाइफ’मा ग्रिगोरी आफ्नो मनको बह र पीडा आफूले पालेको घोडासँग पोखिरहेका हुन्छन्, समबहादुर भने सेते वा खैरे पाठोसँग मनको बह पोख्थे।
पछि यस्तै पात्रलाई लिएर फिल्मकर्मी केसाङ छेतेन र सिद्धार्थ शाक्यले समाल, जमेलिया, सनैयातिर धाउँदै दुई फिल्म बनाएका थिए— इन सर्च अफ रियाल(रियालको खोजीमा) र द डेजर्ट इट्स अस(खाडीले हामिलाई खान्छ)। कतिपय फोरममा यी फिल्मले निकै वाहवाही पनि पाए। अलजजिराले आयोजना गरेको एक फिल्म फेस्टिभलमा यिनै कतारी श्रममा जोडिएका नेपालीको फिल्म देखाउन केसाङ दोहा पुगेका थिए तर, दोहा केन्द्रको कुनै पाँचतारे होटलमा देखाइएको ‘इन सर्च अफ रियाल’ हेर्ने दर्शक एक दर्जन पनि थिएनन्। बाहिर भीडमा देखाउन सक्ने कुरै भएन। अहिले आफ्नै हाइप, प्रविधि र क्षमतामा सबैतिर छाएको ‘द गोट लाइफ’ त्यही कतार वा साउदी अरेबिया र खाडी मुलुकभर प्रतिबन्धित छ।
अहिले चर्चामा आएको ‘द गोट लाइफ’को जीवन्त र दु:खान्त चित्र अहिलेको होइन, पहिलेको हो भन्दै मनशान्ति गर्नेहरू पनि उत्तिकै भेटिन्छन्। तर, आज विश्व मानचित्रमा शान्ति प्रकृया, अहिंसा र मेलमिलापको प्रमुख अभियन्ता बनेर चिनिन थालेको कतारको हिजोसम्मको इतिवृत्ति त्यति राम्रो थिएन भन्ने कुरा यो फिल्मले छताछुल्ल पारेको छ।
खाडीको सपनामा नचाहिँदो भुलभुलैया खेप्दै कुदिरहने जोकोहीका लागि नजिव वा समबहादुर सधैँ सम्झिरहनुपर्ने पात्र हुन्। कहिले फ्रि–भिसा, कहिले तनुवा र हतौडी भिसाका नाममा ‘हमारा कफिल कहाँ गया होगा?’ भन्दै गल्लीगल्लीमा भौंतारिने पात्र कति हुन्थे हुन्थे।
एक अवसरमा, लेखक खगेन्द्र संग्रौला, विमल निभा, अभि सुवेदी, श्रवण मुकारुङसमेतले खाडी (कतार)मा नेपालीको ‘द गोट लाइफ’ हेर्न र नजिकैबाट अनुभूत गर्न पाएका थिए। यसरी अनेक तरतिव मिलाएर लेखक संग्रौला र अरु आगन्तुक लिएर हामी मजरा पुगेका हुन्थ्यौँ। त्यहाँ समबहादुर, लोकबहादुर वा रामु दर्जीहरू हामीलाई पर्खिरहेका हुन्थे। जमेलियामा रामप्रसाद पनेरू बाटो पर्खिरहेका हुन्थे, जोत्दै गरेको गधाको मेलो बिसाएर। अथवा, अल्खोर पुगेका तरकारी बगैंचामा गोर्खाका थुम्कनाथ सिंखडा मालिकले रात कटाउन छाडिदिएको पुरानो गाडीको कोप्चो सिटमा ढल्केर खैनी मोलिरहेका भेटिन्थे। अनि शुरू हुन्थ्यो हँस्सीमजाक। सुलेमानी र खबुज खाँदै, दुःख भुल्ने छिनभरको उपाय।
के थाहा? शुक्रबारे छुट्टीमा पनि छड्के गर्न अरबी मालिक आइहाल्छ कि? ‘ताल ताल’ भन्दै बाख्रा वा मान्छेलाई एकै लयमा बोलाउने कफिल वा मुदिर अलिक नरम मिजासको पर्यो भने बढीमा एक/दुई दाना खजुर र एक बोत्तल पानी दिन्थ्यो। कडा मिजासको पर्यो भने कुटौँला झैं गर्दै बाख्रे टहरोबाट खेदाइहाल्थ्यो, चाहे आएको पाहुना जोसुकै होस्।
यसरी हाम्रो कथा आएको छ अर्कैको भाषा र कथानकमा। पात्र अलग छन्, लेखक र निर्देशक अलग छन्। तर, कथा र यसभित्रको संवेदना उही छ।
भेडीगोठालो इब्राहिम खादिरी, जसले आफ्नै बेहाल अवस्थाका बाबजुद नजीव मुहम्मदलाई त्यहाँबाट भगाएर डिपोर्टेसन सेन्टर ल्याएका छन्। त्यसक्रममा उनीहरूले भोगेको भोक, प्यासलगायत अनेक कठिनाइले दर्शकलाई भावुक बनाउँछ। लाग्छ, यसरी जेनतेन बाँचेर आएका नजीव मुहम्मद होइन, हाम्रै लमजुङे समबहादुर विश्वकर्मा हुन्।