देवकोटाले उधारो पुस्तक लगेको एउटा सूची (बायाँ) र पुरानो खाता देखाउँदै रत्न पुस्तकका प्रबन्धक गोविन्द श्रेष्ठ।
काठमाडौँ– कहिलेकाहीँ कतै थन्क्याइएका र च्यात्तिएका इतिहासका पानामा समेत निकै रोचक कुरोकन्थो फेला पर्छ। ७८ वर्षअघि स्थापित रामदास एन्ड सन्स (कालान्तरमा रत्न पुस्तक भण्डार)को कन्तुरमा यो साता यस्तै खजाना फेला पर्यो।
“पुराना चिजबिजको छानबिन र संरक्षण गर्नुपर्यो भनी बुबा (रत्नप्रसाद)को पालाको कागजात हेर्दै थिएँ, त्यहाँ विभिन्न लेखकहरूले रत्न पुस्तकबाट (उधारो) लगेका पुस्तक र मूल्य लेखिएको रहेछ,” रत्न पुस्तक भण्डारका प्रबन्धक गोविन्दप्रसाद श्रेष्ठले भने, “लेखकहरूसँग यस्तो हिसाबकिताब चलिरहन्छ। तर (लक्ष्मीप्रसाद) देवकोटा, (माधव) घिमिरे, (गोविन्द मल्ल) गोठाले जस्ता प्रख्यात लेखकले लगेका पुस्तकको सूची हेर्दैमा रमाइलो लाग्ने रहेछ।”
देवकोटाले २०१२ देखि ०१४ सालभित्र आफ्नै खण्डकाव्य ‘मुनामदन’देखि ‘बीए पोएट्री’ र ‘पोएट्री नोट’ रत्न पुस्तकबाट लगेका थिए। त्यसबेला ‘मुनामदन’को मूल्य १ रुपैयाँ २५ पैसा थियो। महाकवि देवकोटाले धेरैजसो अंग्रेजी पुस्तक लैजान्थे। उनले बनारसबाट मगाएर पनि अंग्रेजी क्लासिक पुस्तकहरू लैजाने गरेको आफूलाई बुबा रत्नप्रसादले बताउने गरेको गोविन्दले सुनाए।
केही वर्षको अन्तरमा देवकोटाले झण्डै १५ सय रुपैयाँका पुस्तक उधारोमा लगेकोबारे राजा महेन्द्रले समेत थाहा पाएपछि उक्त रकम दरबारले तिरिदिएको आफूले थाहा पाएको श्रेष्ठ बताउँछन्।
यस्तै, निबन्धकार जनकलाल शर्माले १ रुपैयाँ ३५ पैसा पर्ने ‘ल्यांग्वेज अफ केमेस्ट्री’ र धर्मराज थापाले ‘रत्न जुनेली’, ‘पहाडी संगीत’सहित सादा कपी पनि लिएर गएको रेकर्ड रत्न पुस्तक भण्डारमा छ। कवि माधव घिमिरेले अंक गणित, महाभारतसहितका पुस्तक लगेको देखिन्छ भने लेखक गोविन्द गोठालेले आफ्नै पुस्तक र सादा कपी लगेको सूची छ। “यो सबै इतिहासलाई सकेसम्म डिजिटलाइज गर्ने वा संग्रहका निम्ति कतै दिने सोच बनाएको छु,” प्रबन्धक श्रेष्ठ भन्छन्।
इतिहासमा रत्न पुस्तकको आर्थिक साखलाई जोगाउने उपन्यासको भिन्नै संग्रह तयार गर्ने श्रेष्ठको योजना छ। ती उपन्यास त्यस बेला लेखकहरूको कमाइको राम्रो स्रोत पनि बनेको उनी बताउँछन्। छद्मनामी लेखक बालकृष्ण पोखरेलसहित प्रेमा शाह, सुवास घिसिङ, श्रीधर खनाल, विजय चालिसे आदिको इतिहासलाई पनि ‘अर्काइभ’ गर्ने सोच भएको उनी बताउँछन्।
भाषाशाश्त्री बालकृष्ण पोखरेलले वत्सल, वसन्त, रुपाबासी, गढतिरे साहिँलो, केकेमनुक्यो, हिमालपाने बराल आदि नाममा झण्डै दुई दर्जन उपन्यास रत्न पुस्तकबाटै छपाएका छन्। दीर्घबाहुका नाममा श्रीधर खनालका उपन्यास ‘नांगिएकी सुन्दरी’, ‘बाह्र बजेको घन्टी’जस्ता करिब दर्जन उपन्यास छापिएका थिए।
“अहिले डिजिटल जमाना आइसक्यो, दैनिक पत्रपत्रिकामा आउने समाचार त अनलाइनमा हेर्न थालेका छौँ,” प्रबन्धक श्रेष्ठ भन्छन्, “हामीले अरू गम्भीर पुस्तक पनि छाप्न छाडेका छौँ, बरु पुरानै चिजबिजलाई संग्रह गर्ने, पुराना चिजबिज खोतल्नेतिर म लागेको छु। सस्ता वा हलुका खुराक दिने पुस्तक पनि बिक्री हुन छाडेको छ, सबै कुरा हातहातमा भएको मोबाइलमैं अँटाउन थालेको छ।”
एकताका विश्वविद्यालयको अंग्रेजी शिक्षामा खुबै चलेका दर्जनौँ गाइड बुक लेख्ने ‘भट्टराई एन्ड श्रेष्ठ’का कृति संग्रह प्रकाशन गर्ने योजना पनि श्रेष्ठले बनाएका छन्। ‘भट्टराई एन्ड श्रेष्ठ’ नाममा गाइड र अन्य पाठ्यसामग्री लेख्ने गोविन्दराज भट्टराई (प्राडा) र स्वयं गोविन्दप्रसाद श्रेष्ठको साझा नाम रहेको कथा पनि त्यही संग्रहमा खुलाउने उनले बताए।