हाल चलचित्र घरहरूमा प्रदर्शन भइरहेको चलचित्र घरज्वाइँले अठार मगरातको कथा भनिरहेको छ। विशेषगरी पाल्पा र गुल्मीको सिमानामा अवस्थित रिडीखोला पश्चिमदेखि भेरी नदी पूर्वको क्षेत्रमा सघन बस्ती रहेको खाम मगर भाषी मगर जातिको लोप भएको घरज्वाइँ बस्ने संस्कृतिलाई मूल विषयवस्तुका रूपमा उठान गरिएको यस चलचित्रमा नायक नायिकाको प्रेमसम्बन्धपश्चात् सिर्जित द्वन्द्वात्मक पारिवारिक अवस्था र अन्य मुद्दालाई पनि जबरजस्त तवरले उठाएको पाइन्छ।
जनयुद्ध पछिको संक्रमणकालीन राजनीतिक अवस्थाको कालखण्ड, पहिलो संविधानसभा अर्थात् २०६३ सालको अवधिको तत्कालीन सामाजिक परिवेशको यथार्थ चित्रण यो चलचित्रले उतार्न खोजेको देखिन्छ। हालको रूकुमपूर्वमा अवस्थित साबिकको तकसेरा गाविसको तक, सेरा र बाछी गाउँको क्षेत्रको कथा भएकोले सोही स्थानलाई केन्द्रित गरेर यो चलचित्र छायांकन गरिएको छ। जनयुद्धमा समावेश हुनु पर्ने संत्रासले शहरमा बढ्ने र पढ्ने अवसर पाएको सोरो अर्थात् दयाहाङ राई र गाउँमै हुर्केकी बिन्जुरी अर्थात् मिरुना मगरबीच झाँगिएको प्रेमसम्बन्ध र विवाहले सिर्जित प्रतिकूल सामाजिक परिस्थितिसँग उक्त जोडीले गरेको संघर्षमय कथाले चलचित्रलाई डोर्याएको छ।
मगर जातिमा महिला स्वतन्त्रता र समानता
नेपालको शासक वर्गमा भन्दा सापेक्षित रूपमा उत्पीडित राष्ट्र अर्थात् जनजाति समुदायमा महिला समानता र स्वतन्त्रता बढी रहेको तथ्य हामीलाई अवगत नै छ। उक्त समुदायमा पितृसत्तात्मक उत्पीडनको घनत्व कमजोर देखिन्छ। यो चलचित्रमा देखाइएका दृश्य र बोलिएका संवादले यही तथ्यलाई जोड दिन्छ। दिनानुदिनको बोलीचालीको क्रममा गाउँका सबै मानिस एकअर्कालाई 'तिमी' शब्दले सम्बोधन गर्छन्। विशेष अवसरमा पाहुनासँग हजुर/तपाईं र रिसाउँदा तँ शब्द प्रयोग गरेता पनि दैनिक रूपमा एक अर्कालाई साझा शब्द 'तिमी' नै भन्दछन्। अझै रोचक पक्ष त महिलाले पुरुषलाई तिमी नै भनेर सम्बोधन गर्छन्, जुन खसआर्य समुदायमा वर्जित र असहज देखिन्छ। अर्को प्रसंगमा चलचित्रकी मूल पात्र 'बिन्जुरी'लगायत गाउँका छोरीहरूलाई तत्कालीन अवस्थामा समेत भलिबल खेल्ने अवसर र सुविधा दिइएको छ।
त्यसैगरी घरज्वाइँ राखेर ज्वाइँको क्षमता, दक्षता र कार्यशैलीको परीक्षा लिने रैथाने परम्पराले छोरीको भविष्य सुरक्षण गर्ने, आत्मबल वृद्धि गर्ने जस्ता महिला समानतामा आधारित कार्य वर्तमान समयमा पनि प्रासंगिक नै देखिन्छ जुन परम्परा भने लोप भइसकेको छ। तर यो चलचित्रमा भने नायिकाको दाजुभाइ नभएकोले नायक आफ्नो इच्छाविपरित घरज्वाइँ बसेको यथार्थ हामीले भुल्नु हुँदैन। जसरी खस आर्य समुदायमा पुरुषलाई केन्द्र बनाएर 'ससुराली'को अवधारणा बनाइन्छ, ठीक त्यसैगरी मगर समुदायमा महिलालाई केन्द्र बनाएर 'माइती'को अवधारणाबाट सोच्ने गरिन्छ।
प्रेम विवाहको पक्षमा वकालत
मामाचेली-फुपुचेला बिहे गर्ने संस्कृति अवलम्बन गरिने मगर समुदायमा बिन्जुरी र सोरोको प्रेमसम्बन्धले निम्त्याएको पारिवारिक अन्तरसंघर्ष यो फिल्मको मुख्य कथा हो। मगर संस्कृतिअनुसार बिन्जुरीको फुपूको छोरा चैते र सोरोको मामाकी छोरी सम्झनाको एक आपसमा हुनुपर्ने स्वाभाविक विवाहलाई नायक र नायिका दुवै पात्रले अस्वीकृत गर्दै प्रेम सम्बन्ध राख्नु र सोरोको विवाह गर्ने निर्णय क्रान्तिकारी कदम हो। भलै बिन्जुरीको मन्जुरीबिना सोरोले तानेर जबरजस्त बिहेको गर्नु मानव अधिकारको बर्खिलाप हुन्छ। अन्ततोगत्वा पितृसत्ताको हिमायती साथै भिलेन पात्र दानबहादुरले समेत उनीहरूको सम्बन्ध अगाडी बढाउन खेलेको सहयोगी भूमिकाले परम्पराको नाममा गराइने साली भेनाको जबरजस्त विवाह संस्कारलाई निस्तेज गर्दै समताउन्मुख प्रेम विवाहलाई बलशाली बनाएको प्रस्ट देख्न सकिन्छ।
शहर पसेको जनजाति युवाको मनोदशा
सोरोमार्फत फिल्मले आधुनिक शिक्षा प्रणालीको पाठ्यक्रमले जनजातिको परम्परागत एवं मौलिक सीप र ज्ञानलाई कसरी युवा पुस्तामाझ अपरिचित बनाउँदै लगेको छ भन्ने बोल्छ। नायकले घरज्वाइँको परीक्षामा काठ बोक्ने, ढाकर बुन्ने, जोत्ने, लुगा धुने आदि काममा अभ्यस्त व्यस्त र पारङ्गत नहुँदा खेप्नु परेको झन्झटले आम युवाको हालको समस्याग्रस्त अवस्था चित्रण गरेको छ।
नेपाल सरहदभित्र बसोबास गर्ने सबै जातिको परम्परागत ज्ञानलाई पिछडा र अविकसितको बिल्ला भिराएर पश्चिमा ज्ञानलाई मात्रै आधुनिक भन्ठान्ने र युवा पुस्तामा लाद्ने शासक वर्गीय रवैया र प्रवृत्ति विरुद्ध शालीनतासाथ सोरो पात्रमार्फत कथाले प्रहार गरेको देखिन्छ। साथै उन कात्न र रोदी बस्दा दोहोरीको सवालजवाफ फर्काउन नसक्दा नायक अन्य पात्रभन्दा अस्वाभाविक र अपरिचित मनोभावले ग्रसित भएको भेटिन्छ, जुन अहिलेको पुस्ताको वास्तविक ट्रेजेडी हो। राज्यले उत्पादन गरेको कथित शिक्षित युवा जमातको आफ्नै रैथाने सिप,कला र ज्ञानप्रतिको अनदेखा र उपेक्षाको परिणति समेत हो।
लाहुरे परम्पराबारे
कथाकी नायिका आफूलाई लाहुरे पटक्कै मन नपर्ने बिन्जुरीको अभिव्यक्तिले जनजाति महिलामा नवीन जागरणको शुरूआतको संकेत गर्छ। चाउरे 'मास्तर साप' अर्थात् सोरोलाई प्रेम र लाहुरे 'भेना' चैतेलाई घृणा गर्ने बिन्जुरीको पात्रताले शिक्षा र देशभक्तप्रतिको आकर्षण साथै अज्ञानता र परदेश प्रतिको विकर्षणलाई प्रस्ट्याएको छ। आम्दानीको एउटा मुख्य आधार बनी वर्ग उत्थान गराएको लाहुरे परम्पराले पारिवारिक र व्यक्तिगत जीवनमा पारेको नकारात्मक असरबारे बिन्जुरी जानकार देखिन्छे। " .... न लाहुरे हुने हुती छ त्यो नाथेले बुढी कसरी पाल्छ?" भनेर कुर्लिने र आफ्नो लाहुरे चैते भान्जालाई छोरी दिन भरमग्दुर प्रयास गर्ने दानबहादुर पात्रले चलचित्रको उत्तरार्द्धमा निजी स्रोतकै सामान्य आम्दानी भएको शिक्षक सोरोकै पक्षमा उभिनुले पनि लाहुरे बन्ने परम्परालाई क्रमशः उपेक्षा गर्दै गएको बुझ्न कठिन पर्दैन। समग्रमा बिन्जुरीमार्फत जनजाति युवाले असमान गोर्खा भर्ती सन्धिलाई आलोचनात्मक प्रश्न तेर्साउने प्रयास गरेको बुझिन्छ।
अठार मगरात क्षेत्रको चित्रण
व्यापक फलक र लगानीसहित अठार मगरातको संस्कृतिमा आधारित भई निर्माण भएका चलचित्रमध्ये 'घरज्वाइँ' अग्रदस्ताको चलचित्र हो। चलचित्रमा प्रस्तुत गरिएका त्यहाँको सामाजिक क्रिया अन्तरक्रिया जस्तै: सामूहिक श्रम संस्कृति र जीवन पद्धति, जनबोली, लवज, लोक साहित्य, विवाह र मृत्यु संस्कार, मेला, मनोरञ्जन, भेसभुसा आदिले चलचित्रलाई मात्रै जीवन्त तुल्याएको छैन, त्यो समाजबारे खोज, अध्ययन र अनुसन्धान गर्न चाहने संसारभरका भावी पुस्तालाई ज्ञानको संग्रहरूपी दस्ताबेजसमेत बन्न पुगेको छ फिल्म।
केही सुझाव
धेरै सकार पक्ष हुँदाहुँदै पनि केही नकार पक्ष र कमजोरीहरू चलचित्रमा भेटिन्छन्। चलचित्रमा उक्त भूगोललाई दर्साउन यानीमाया भाकाले नै पर्याप्त भूमिका खेल्दथ्यो। अन्य गीतहरू आवश्यक नै पर्ने थिएन।
बिन्जुरी पात्रले स्थानीय बोलीको लवज सिक्न राम्रै मिहिनेत गरेको देखिन्छ जति सोरोको भेटिँदैन। तर उनले समेत ‘मास्तर साप’ भन्ने शब्द अस्वाभाविक रूपमा बढी प्रयोग गरेको भान दर्शकलाई हुन्छ। बिनाकारण पहिलो नजरमै नायकले नायिका मन पराउनु त्यति व्यावहारिक लाग्दैन। चलचित्रको कथा ६० को दशकको पूर्वार्द्धकै भएकोले बिन्जुरीको अनुहारमा ग्रामीण भेगको छनक अलि भेट्न गाह्रो हुन्छ, मेकअप ध्यान नपुगेको नै लाग्दछ। डम्बरेले बकेको ‘फकाएर पनि भएन भने लतार्ने हो’ भन्ने भाष्यले स्वाभाविक रूपमा पितृसत्ताको हुँकार बोल्छ।
महिला स्वतन्त्रता एवं समानता सापेक्षित रूपमा केही बढी भएको उक्त समाजमा देखिए तापनि मूल रूपमा पुरुष नै निर्णायक देखिन्छ। जस्तो बिन्जुरीको विवाह गर्ने नगर्ने निर्णय कि उसको बाकी सोरो (प्रेमी) को इच्छामा निहित छ। र सम्पूर्ण चलचित्र दुई पक्षका पुरुष पात्रको द्वन्द्वमै फसेको स्थिति छ। क्रान्तिकारी विचार बोक्ने कमरेडको भूमिका बेलाबखत बाक्लै देखिए पनि चलचित्रमा उनीहरूले नाम पाउन सकेका छैनन्। उनीहरूलाई नाम दिन किन यति साह्रो कन्जुस्याइँ गरिएको हो, ठम्याउन गाह्रो पर्छ।
बेलाबखत जनयुद्धबारे नकारात्मक टिप्पणी गर्ने पात्र खडा गरिएको भए पनि त्यसको खण्डन गर्ने पात्र नउठाउनुले कतै शोषित र उत्पीडित जनताको पक्षमा लडिएको जनयुद्ध गलत थियो भन्ने विचारलाई बलशाली त बनाउँदैन, यो विचारणीय प्रश्न दिमागमा नाचिरहन्छ। यस्ता सांस्कृतिक धारालाई उठान गरिएका चलचित्र निर्माण गर्दा आफ्नै भाषाको प्रयोगमा जोडबल गर्नु, चलचित्रको नाम र लिपिलाई आफ्नै भाषामा ढाल्ने प्रयत्न गर्नु साथै संवादलाई सोही भाषामा समेत डबिइङ गर्नु संरक्षणको दिशामा एक पाइला अघि बढ्ने काम हो।
निष्कर्ष
कुनै पनि चलचित्रको आधारशिला कथा हो। कथाले मानवीय भावावेग र घटनाक्रममात्रै बक्दैन, यसको गर्तमा विचारधारा निहित हुन्छ। विचारधाराले नै कथाको अस्थिपन्जर निर्माण गर्छ। सोही अस्थिपन्जरमा निर्देशनले मांसपेशी भर्छ र कलाकारिताले सौन्दर्य। यस चलचित्रका कथाकार तथा निर्देशक अनिल बुढा मगरले आफूले तयार पारेको कथामा आफ्नै निर्देशकीय भूमिका सहज र सरस ढंगले निर्वाह गरेको देखिन्छ।
यद्यपि उनी आलोचनाबाट मुक्त भने छैनन्। ५० को दशकमा निर्माण गरिएको चलचित्र ‘नुमाफुङ’ले पूर्वी नेपालका लिम्बू जातिमा रहेको पितृसत्ता र वर्गीय असमानता जोगाउने ‘सुनौली-रूपौली’ परम्परालाई प्रहार मात्रै गरेन, जनजातिको सौन्दर्य चेतलाई समेत उजागर गर्यो। केबल भारतीय चलचित्रको नक्कलमा अलमलिएको अभिजात वर्गको मुठ्ठीमा कुण्ठित नेपाली चलचित्र उद्योगलाई विशाल जनघनत्व भएका जनजातिको सौन्दर्य दृष्टिबाट हेर्न सकिन्छ र पर्छ भन्ने चेत प्रवाह नुमाफुङले गर्यो। सोही धारबाट चलचित्र निर्माण गर्ने प्रयत्नअनुरूप घरज्वाइँ पनि बनेको देखिन्छ र घरज्वाइँहरू बन्ने प्रक्रिया निरन्तर रूपमा जारी रहनु पर्दछ।