काठमाडौँ– वसन्तपुरका अनिलसिंह प्रधान २०४६/४७ सालताका महांकाल मन्दिर परिसरमा रहेको पुस्तक पसल एजुकेशनल इन्टरप्राइजेजमा दैनिकजसो जान्थे। त्यहाँ पुस्तक किन्न मात्र नभई छानीछानी पढ्न पनि पाइन्थ्यो। पुस्तक पसल नै कम भएको त्योबेला सबै पुस्तक किनेर पढ्ने उनको क्षमता थिएन। त्यसमाथि विदेशी पुस्तक पाउने पसल त काठमाडौँमा एउटै हातका औँलामा गन्न पुग्ने थिए।
तर केही वर्षपछि त्यो पसलमा अनिलको आउजाउ पातलियो। अन्य ठाउँमा पनि पुस्तक पसल खुले। त्यति मात्र नभई पुस्तकहरू अनलाइनबाटै बिक्री हुन थाल्यो। उनी भन्छन्, “विविध पुस्तक पाइने अन्य पसल खुले। अनलाइनको जमाना आयो। त्यसपछि त त्यही पुस्तक पसल जानुपर्ने भन्ने भएन।”
अब भने उनी चाहेर पनि महांकालस्थित एजुकेशनल इन्टरप्राइजेज जान सक्ने छैनन्। ६३ वर्षअघि स्थापना भएको यो पसल अहिले बन्द भएको छ। गत जेठमा काठमाडौँ महानगरपालिकाले मन्दिर परिसरका पसलहरू हटाउन निर्देशन दिएपछि यसका सञ्चालक मोहन श्रेष्ठले पुस्तकहरू सारिसकेका छन्। ती पुस्तक उनले गैह्रीधारास्थित आफ्नै निवासमा लगेका छन्। उनी भन्छन्, “अहिले पनि करोडौँ मूल्यका पुस्तक स्टकमा छन्। पछि अवस्था हेरिकन बिक्री पसल खोल्ने योजना छ।”
महानगरले महांकाल मन्दिर पुनर्संरचनाका लागि त्यहाँ रहेका पसल हटाउन निर्देशन दिएको हो। त्यहाँ ४५ वटा कवल (दुई खाँबा वा पिल्लरबीचको भाग)मा पसल थिए। एजुकेशनल इन्टरप्राइजेज १४ वटा कवलमा थियो। अरू कवलमा कृषि सामग्रीलगायत पसल थिए। यी कवल मन्दिरको गुठीले भाडामा लगाएको थियो।
आफूले गुठी संस्थानलाई मासिक डेढ लाख रूपैयाँ भाडा तिर्ने गरेको श्रेष्ठ बताउँछन्। स्थापनाकालदेखि महांकाल परिसरमै रहेको पसल सार्नुपर्दा दुःख लागेको उनको भनाइ छ।
यद्यपि, एक दशकयता व्यापार निकै खस्किएको र भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगिसकेको श्रेष्ठ बताउँछन्। “म दुःखी पनि छु र जे भयो ठीकै भयो भन्ने पनि लागेको छ। यहीँ स्थापना गरेर संघर्ष गरियो, त्यो पुस्ताले अझै पनि महांकालको पुस्तक पसल भनेर चिन्छन्,” उनी भन्छन्, “एक्कासि सार्नुपर्दा चाहिँ राम्रो लागेको छैन। तर व्यापार खस्किएको छ, जहिले भए पनि सार्नु नै थियो।”
एक दशक अघिसम्म पुस्तक पसल भरिभराउ हुन्थ्यो। तर प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा व्यापार घट्दै गएको श्रेष्ठ बताउँछन्। “अहिले त रिफ्रेन्स प्रयोजनका लागि पुस्तक लिन आउने ग्राहक मात्र थिए, त्यो संख्या थोरै छ,” उनी भन्छन्।
पुस्तक पसलको इतिहास
एजुकेशनल इन्टरप्राइजेज २०१८ सालमा स्थापना भएको हो। सुब्बा आनन्दबहादुर श्रेष्ठको अध्यक्षतामा प्रोफेसर युवराज सिंह प्रधान तत्कालीन बौद्धक व्यक्तित्वहरू प्रोफेसर चन्द्रधर उप्रेती, प्रोफेसर गोपालमान श्रेष्ठ, प्रोफेसर शरणहरि श्रेष्ठ, प्रोफेसर डा.राम प्रसाद राजवाहकलगायतले संस्थागत शेयरबाट शुरूआत गरिएको थियो। आनन्दबहादुर श्रेष्ठ अहिलेका सञ्चालक मोहन श्रेष्ठका ठूलोबुबा पर्छन् भने युवराजसिंह भिनाजु हुन्।
पसल खोल्दा पाठकले विदेशी पुस्तकहरू इच्छाअनुसार पढ्न र किन्न सक्ने उद्देश्य थियो। पढ्नसमेत दिइने गरी खोलिएको यो पसल नेपालकै पहिलो भएको श्रेष्ठको भनाइ छ।
अंग्रेजी पुस्तक पनि पढ्न पाइने भएपछि यो पसल पाठकका लागि लोकप्रिय हुन थाल्यो। यसरी जानेमा साहित्यकार ध्रुवचन्द्र गौतम पनि थिए। उनले त कुनै समय एक वर्ष यहाँ कामसमेत गरेका थिए। गौतम भन्छन्, “त्यस बेला सबै बौद्धिक अनि पुस्तक पारखीहरू आउने गरेका थिए। धेरैजसो लेखकहरू आउँथे। हामी त्यस पसललाई व्यापारिकभन्दा पनि ज्ञान बाड्ने थलोका रूपमा लिन्थ्यौँ।”
समयसँगै पसलले आफ्नो भूमिका बढाएर विद्यालयका पाठ्यपुस्तक छाप्ने अनुमति पनि लिएको थियो। नयाँ शिक्षा योजनाको परीक्षण स्वरूप २०२३ सालमा केही जिल्लामा लागू हुँदादेखि नै कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छाप्न थालेको थियो। विद्यालयका सबैजसो पुस्तकको बिक्री थालेपछि ग्राहक पनि बढेका थिए।
पाँच वर्षपछि नयाँ शिक्षा योजना परिमार्जन भएर लागू हुँदा प्रकाशनको काम बन्द भएको सञ्चालक श्रेष्ठ बताउँछन्। त्यसअघि आईए र बीएका एकदुई पुस्तक नेपाली भाषामा छाप्ने गरेको थियो। २०२८ सालपछि उक्त पसलले त्यही कामलाई महत्त्वका साथ निरन्तरता दियो। “त्यस बेला कक्षा १२ (आईए) माथिका पुस्तक नेपाली भाषामा प्रकाशन नहुने हुँदा पहिलो पटक हामीले नै शुरू गरेका हौं। त्यसपछि विश्वविद्यालयमा पनि विद्यार्थीको संख्या बढ्न थाल्यो। पसलबाट पुस्तकको माग पनि बढ्यो।” श्रेष्ठ भन्छन्।
उक्त पसलले पुस्तक छाप्नुका साथै लेखकस्व दिनसमेत शुरू गरेको श्रेष्ठ बताउँछन्। “त्यस बेला पुस्तक लेखेर भनसुन गरी छाप्ने र लेखकले सीमित रूपैयाँ पाउने चलन थियो। हामीले लेखकलाई १५ प्रतिशत रोयल्टी दिने व्यवस्था गरेका थियौँ। पछि अन्य प्रकाशनले पनि बाध्य भएर दिन थाले। अहिले पनि त्यही नियम छ,” उनी भन्छन्।
२०५५ सालपछि क्रमश: नयाँ प्रविधिसँगै भौतिक पुस्तकको विकल्प पनि शुरू भएपछि व्यापार खस्किन थालेको श्रेष्ठ बताउँछन्। त्यस बेलासम्म पनि पसल सञ्चालक युवराज सिंह प्रधानसहितका व्यक्ति थिए। उनीहरूले २०५९ वैशाखमा छाडेपछि पसल उनले चलाउन थालेका हुन्। “स्थापनाकालदेखि नै सहयोगीका रूपमा काम गरिरहेको थिएँ। पुरानो टोलीले छाडेपछि प्रकाशनको काम कम भयो, नयाँ योजना अघि बढ्न सकेन। पुरानो ढंगबाटै चलाइरहेका थियौँ,” उनी भन्छन्।
काठमाडौँ उपत्यकाका कुनै पसलमा नपाएको पुस्तक यहाँ पाइन्छ भनेर सम्झेर आउने पाठक पनि भएको उनी बताउँछन्। आफ्ना ती पाठकका लागि छिटै कुनै स्थानमा पुस्तक पसल खोल्ने श्रेष्ठको भनाइ छ।