Friday, December 13, 2024

-->

फर्केर हेर्दा : विविध विधाको इतिहास स्रोत

आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन, दर्शन तथा इतिहास अवगत गराउँछन्।

फर्केर हेर्दा  विविध विधाको इतिहास स्रोत

गएको असार ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा कृष्ण पोखरेलको फर्केर हेर्दा आत्मकथा कृति सार्वजनिकीकरण भयो। कार्यक्रम यस अर्थमा ‘भव्य’ भयो कि, मञ्चमा अतिथि कुनै पनि पदका कारण प्रतिष्ठित व्यक्तित्व थिएनन्। मन्त्री, कुलपति, उपकुलपतिजस्ता उच्च पदमा आसीन मठाधीशहरू कोही थिएनन्। पूर्वहरू र अझै पूर्वहरू मात्र थिए। पूर्वमन्त्री, पूर्वराजदूत, पूर्वन्यायाधीश, पूर्वकुलपति, संवैधानिक आयोगका पूर्वसदस्य आदि। 

नेपालका बहुविधा क्षेत्रमा स्थापित नाम हो कृष्ण पोखरेल। उनी प्राध्यापक, राजनीतिक विश्लेषक, सिद्धहस्त लेखक, निष्पक्ष पत्रकारिताका हिमायती, कुशल शैक्षिक प्रशासक, प्रशासनविद्, नागरिक समाजका अगुवा तथा वामपन्थी राजनीतिका ज्ञाता हुन्। यस्ता व्यक्तित्वले नेपाली पाठकलाई आफ्नो जीवन कहानी फर्केर हेर्दा कृति ‘उपहार’ दिएका छन्। यो कृति कृष्ण पोखरेलको जीवनको आरोह अवरोह सुखदुःख सङ्घर्ष सम्झौताको कथा मात्र होइन, नेपालकै विगत ८० वर्षको इतिहासको दस्तावेज पनि हो। नेपालको आत्मकथा लेखन विधाको क्षेत्रमा प्रस्तुत ग्रन्थले आफ्नो अलग पहिचान कायम गरेको छ।

आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन दर्शन तथा इतिहास अवगत गराउँछन्। अमेरिकी राष्ट्रपति रुजबेल्टले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्, “टेल मि एन्ड आई फरगेट, टिच मि एन्ड आई रिमेम्बर, अन्डरस्ट्यान्ड मि एन्ड आई लर्न।” 

जीवनको उत्तरार्धको समय सदुपयोग गर्दै आफ्ना अनुभवबाट इतिहास, समाज र संस्कृति बुझ्न योगदान होस् भन्ने मनसायबाट आत्मवृत्तान्त लेखिन्छ। श्रुति परम्परा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा आत्मकथाको महत्त्व बढेको छ। विश्वमा आत्मकथा लेख्ने प्रचलन धेरै प्राचीन हो तर नेपालमा भने श्रुति परम्पराको कारण आत्मकथा लेखेर भावी सन्ततिका लागि कोसेली छाड्ने परम्परा फस्टाएको देखिँदैन। आत्मवृत्तान्त लेखनको शुरू कहिलेदेखि भएको हो यकिन साथ भन्न सकिँदैन। विभिन्न हस्तलिखित ग्रन्थ तथा वंशावलीकारले आफ्नाबारे यदाकदा लेख्ने गरेको पाइन्छ। तर आत्मकथाकै स्वरूपमा कृति प्रकाशन हुन लागेको धेरै पछाडि मात्र हो। पृथ्वीनारायण शाहको उपदेशलाई पनि उनको आत्मकथाकै रूपमा लिन सकिन्छ।

नेपालमा २०औँ शताब्दीदेखि आत्मकथाहरू प्रकाशनमा आउन थालेका हुन्। यद्यपि, खेताला लगाएर पनि लेखाउने लहड चलेको टिप्पणी यदाकदा सुन्न पाइन्छ। राममणि आदि, सागरमणि आदि, चिरञ्जीवी पौडेल, बालकृष्ण सम, भीमबहादुर पाण्डे, टुकराज मिश्र, बीपी कोइराला, ऋषिकेश शाह, मातृकाप्रसाद कोइराला, रेवतीरमण खनाल, नयनबहादुर खत्रीलगायतका आत्मकथा त इतिहासका स्रोत हुन पुगेका छन्। सेवानिवृत्त प्राध्यापक, प्रशासक, प्रधानसेनापति, जनरलहरू, प्रहरी प्रमुख, न्यायाधीश, पत्रकार तथा राजनेताहरूका धेरै आत्माकथा जनसमक्ष आएका छन्। यही ऐतिहासिक पृष्ठभूमिमा कृष्ण पोखरेलको आत्मवृत्तान्तले आफ्नो उपस्थिति जनाएको छ।

२०२८ सालदेखि सम्पर्कमा रही सँगै उठबस गरेका, पटकपटक घन्टौँसम्म प्रेमालाप भएका, सुखदुःखमा सहभागी भएका, मलाई भाइकै रूपमा स्नेह दिने कृष्ण पोखरेलज्यूलाई मैले अहिलेसम्म पढ्न सकेको रहेनछु। ५५ वर्ष संगत गरेको व्यक्तिलाई यस कृतिले दुई दिनमा नै पूर्ण परिचित गराइदियो। यस कृतिमा बाल्यकाल, अध्ययन, विद्यार्थी राजनीति, वामपन्थी आन्दोलन र यसका गतिविधिको नालीबेली, विश्वविद्यालयभित्र रहँदा र लोकसेवा आयोगमा कार्यरत हुँदाका अनुभव, पारिवारिक संगठन तथा ‘आफ्नो जीवन आफ्नै दृष्टिकोण’बाट प्रक्षेपण जस्ता विषयवस्तुमा कृति घुमेको छ। संक्षेपमा यस कृतिमा कृष्ण पोखरेलको इतिवृत्तका अतिरिक्त तत्कालीन नेपालको तस्वीर पनि हेर्न पाइन्छ। 

माम्खाका प्रसिद्ध पोखरेल कुलका सन्तति हुन्, लेखक कृष्ण पोखरेल। जंगबहादुरका छोरा रणवीरजंगको छोराको आन्दोलनपछि बिर्ता खोसिएको थियो, माम्खाली पोखरेलको। जुन कालान्तरमा आंशिक रूपमा फिर्ता पनि भयो। यिनै माम्खाली पोखरेलको बिर्ता थियो, सप्तरीको कोशी पश्चिमी तटमा। आफ्नै बिर्तामा बसाइँ सरेका पोखरेलका अकंलालको चौथो पुस्ताका हुन्, उनी। कोशीको बाढीको चपेटामा परी २००१ सालमा हरिनगर मोरङ (हाल सुनसरी)मा बसाइँ सरेका नारायणप्रसाद र तीर्थकुमारीका पुत्रका रूपमा उनको जन्म २००४ कात्तिकमा भएको हो। उनले प्रारम्भिक शिक्षा हरिनगरमा लिए भने हाइस्कुल अध्ययन गर्न विराटनगर पुगे। 

पुस्तकमा त्यसबेलाको शिक्षा प्रणाली, कडा दण्ड दिने तत्कालीन पद्धति, गुरु–चेलाको सम्बन्ध जस्ता विषयले सो समयको शैक्षिक स्थितिको चित्रण गरेको छ। हरिनगरमा लेखकले नेपाली पनि हिन्दीमा पढेको प्रसंगले हामीले धनकुटा कलेजमा २०२३ सालमा अंग्रेजी हिन्दीमा पढ्नु परेको सम्झना गरायो। त्यस बेला विराटनगरमा मात्र होइन त्यसताका खुलेका प्रायः स्कुलमा शिक्षक भारतीय नै हुन्थे। विराटनगरमा कलेज पढ्दाका र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न गरेको संघर्ष तथा सूर्यकुमारीको प्रेरणाले राजनीतिशास्त्र पढ्न पुगेको प्रसंग रोचक छन्।

हरिनगर, विराटनगर र काठमाडौँ अध्ययन गर्दाको समयमा पढाउने शिक्षक, तत्कालीन शिक्षण विधि तथा विद्यार्थी राजनीतिको प्रसंगको स्मरण गरिएको छ। उक्त समयमा पञ्चायत विरोधी गतिविधिमा विद्यार्थीहरूले भूमिका खेलेको कुरा सुन्दर रूपमा चित्रण गरिएको छ। एमए अध्ययन गर्दा नवौँ ‘पेपर’ हुन्छ भन्ने हेक्का नहुँदा प्रथम श्रेणी प्राप्त नगरेको र सो कारणबाट आफ्नो प्राज्ञिक जीवनमा परेको प्रभाव पनि स्मरण गरिएको छ। यी प्रसंगबाट सो समय आन्तरिक मूल्यांकनमा हुने व्यक्तिभेद बुझ्न सकिन्छ। विद्यार्थी अवस्थादेखिकै राजनीतिक चेतका कारण पाएको हन्डरको आकलन पुस्तकबाट पाठकले गर्न सक्छन्।

विश्वविद्यालयको अध्ययन, विराटनगर र कीर्तिपुरमा गरेको शिक्षणसेवा, विराटनगरमा विद्यार्थीहरू सिनेमा हल जाँदा पनि कठोर दन्ड दिने गरेको तथा कीर्तिपुरमा चुरोट खान शिक्षकसँग अनुमति मागेको जस्ता प्रसंगका माध्यमबाट शिक्षक र विद्यार्थीको सम्बन्ध बुझ्न सकिन्छ। स्कुल–कलेज र विश्वविद्यालयमा पढ्दाका आफ्ना साथीहरूको स्मरणबाट उहाँको विशुद्धि चक्र सवल भएको आकलन गर्न सकिन्छ।

शिक्षणबाट प्रारम्भ भएको लेखकको जागिरले निरन्तरता पनि सोही पेसामा पायो। प्राथमिकदेखि स्नातकोत्तर तहसम्म आफूले पढाएका विद्यार्थीहरूले प्राप्त गरेको सफलतामा गौरव र सन्तोष गरेको स्मरणबाट एक शिक्षकले प्राप्त गर्ने आत्मसन्तुष्टिको झलक मिल्छ। मेची महाविद्यालयमा सेवा गर्न गरेको अथकित प्रयास, सरकारको वक्रदृष्टिबाट उम्कन गरेको भगीरथ प्रयत्न, अन्तर्वार्ता र पढाउने कला परीक्षणको परिवेश, सफलताबाट प्राप्त भएको आनन्दको स्मरणलगायतका घटनाबाट पञ्चायतकालमा पनि मेची महाविद्यालयमा योग्यताको कदर हुने गरेको दृष्टान्त पाइन्छ। 

मेची महाविद्यालयमा त्यसबेला शिक्षक–विद्यार्थी सम्बन्ध, विद्यार्थी राजनीति, सरकारको उच्च शिक्षाप्रतिको दृष्टिकोण, कलिलो उमेरमा नै कलेजको प्रोफेसर हुँदा कतिले पत्यार नगरेको जस्ता प्रसंग रोचक छन्। २०३० सालमा उच्च शिक्षामा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि विराटनगरमा सरुवा गराउन गरेको पहल, राधाकृष्ण घिमिरेको सदासयता, महेन्द्रमोरङ क्याम्पसमा प्राज्ञिक उन्नयनका लागि गरेको संघर्ष जस्ता विवरणले पाठकलाई असल खुराक प्रदान गरेका छन्। त्यसबखत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्रमोरङ क्याम्पसमा घटेको अप्रिय घटनाको प्रसंग रोचक मात्र होइन घोचक पनि छ। नगनिएका मतपेटिका मैदानमा थुपारेर जलाउने कार्यको नेतृत्व गर्ने व्यक्ति नै इतिहासको कालखण्डमा मुलुकको गृहमन्त्री बनेको र टेलिफोन भुइँमा बजारेर क्याम्पस प्रशासनलाई बाहिरी सम्पर्कबाट वञ्चित गराउने नै सञ्चारमन्त्री बनेका दृष्टान्त (पृष्ठ ११९) दिइएको छ। ती व्यक्ति चाहिँ को हुन् भनेर पहिचान गर्ने दायित्व भने लेखकले पाठकलाई नै सुम्पनुभएको छ। क्षमता हुँदाहुँदै पनि, चाहना गर्दागर्दै पनि र सोही प्रयोजनका लागि विराटनगरबाट काठमाडौँ आउँदा पनि विद्यावारिधि प्राप्त गर्न नसकेकामा नजानिदो किसिमले दुःखमनाउ गर्नुभएको देखिन्छ। 

२०४६ सालको आन्दोलनपछि लेखक निकै उत्साहित हुनुभएको थियो। आफ्नो सोच, मान्यता र कार्यअनुसार अनुकूल वातावरण सिर्जना भएको महसुस गर्नुभयो। पुस्तकमा पछिल्लो समय विकसित राजनीतिबाट पीडित भएका घटनाहरूको पनि सविस्तार वर्णन गरिएको छ। हिजो अरूबाट पेलिनुपरेको र आज आफ्नैबाट थलिँदा नमिठो मानेको यथार्थ पनि पुस्तकमा उजागर गरिएको छ। आफ्नो स्वार्थका लागि उहाँको परोक्ष रूपमा ईष्र्या गर्ने तथा खुट्टा तान्नेहरू केही भए तापनि उहाँको योग्यताको परख गर्ने पनि त्यत्तिकै थिए। त्यसमध्येका एक देवीप्रसाद ओझा थिए, जसले उहाँलाई पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाएका थिए। सेवा आयोगमा आफूले चाहे जति कार्य गर्न नसकेको भए पनि जेजति भए त्यसमा लेखक सन्तुष्ट भएको प्रतीत हुन्छ।

कृष्ण पोखरेलले आफ्नो जीवनको हालसम्म पाएको सबैभन्दा प्रतिष्ठित पद लोकसेवा आयोगको सदस्य हो। सो पदमा नियुक्ति हुँदाको प्रसव वेदनाको पनि रोचक टिप्पणी पुस्तकमा पाइन्छ। अब हुँदैन भनेर छोराछोरी भेट्न अस्ट्रेलिया पुगेपछि नियुक्ति भएबाट ‘देर है अधेर नहीँ’ भन्ने उखान चरितार्थ भएको तथ्य भेटिन्छ। लोकसेवा आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालय सेवा आयोगको पदेन सदस्य हुँदा भएका घटनाहरूको शल्यक्रिया पनि पुस्तकमा गरिएको छ। अति राजनीतिकरणबाट ग्रसित भएको कारण दुवै विश्वविद्यालयबाट अपेक्षित कार्य हुन नसकेको राजनीतिक पार्टीका मठाधीशहरूको स्वार्थका कारण विश्वविद्यालय शिक्षाको केन्द्र हुनुपर्नेमा राजनीतिको क्रीडास्थल हुन पुगेको घटना चर्चा गरिएको छ। लोकसेवा आयोगको छवि राम्रो हुँदाहुँदै पनि पार्टीका नेताहरूको स्वार्थ पूर्तिमा लागेका केही मठाधीशका कारण सचिवको नियुक्तिमा चलखेल हुने गरेको कूटिल चालको भण्डाफोर पुस्तकमा गरिएको छ। 

कृष्ण पोखरेल साहित्यकारसमेत भएको परिचय पनि पुस्तकमा पाठकले पाएका छन्। एमए पढ्दा कविता प्रतियोगितामा प्रथम भएको प्रसंगले यस तथ्यलाई उजागर गरेको छ। तर, साहित्य सिर्जना चाख र लगाव हुँदाहुँदै पनि भद्रपुरबाट विराटनगर आउँदा रेलका यात्राका क्रममा चोरिएको झोलामा उनको कविताको डायरी पनि चोरियो। ती सामान चोरिएको मात्र नभई त्यस घटनाबाट लेखकको मन नै चिरियो। साहित्य लेखनमा पूर्णविराम लाग्यो। त्यस सामान्य घटनाले लेखकलाई असामान्य बनायो, स्थापित साहित्यकार हुनबाट वञ्चित गरायो। त्यस्तै रेल यात्राको क्रममा साहित्यको मोहनी हराएका कृष्णप्रसाद पोखरेलसँग २०२८ सालको घटस्थापनाका दिन मेरो मोहनी प्रारम्भ भएको थियो।
लेखकको पारिवारिक जीवन तथा प्रेम प्रसंगको भावना पनि पुस्तकमा यत्रतत्र पाइन्छ। अथक् प्रयास गर्दागर्दै सम्भव भए जति सबै प्रकारका उपचार सेवा पुर्‍याउने क्रममा माताश्री गुमाउनु परेको र कोरोनाले आफ्नो कान्छो भाइ शम्भुलाई लगेको घटना पढ्दा पाठकका नयन रसिला हुन पुग्छन्। यस्ता अनेकौँ बज्रपातयुक्त घटना पर्दा पनि धैर्य नगुमाउनु उनको एक आलोकित चारित्रिक विशेषता हो।

नेपाल कम्युनिस्ट पार्टीको हालसम्म प्रकाशमा नआएका कतिपय सूचना यस कृतिमा पाइन्छ। डा. सुरेन्द्र केसी तथा डा. राजकुमार पोखरेलले नेपालको कम्युनिस्ट पार्टीको विषयमा विद्यावारिधि गरी अनुसन्धानका कृतिहरू नै प्रकाशित गरेका छन्। ती ग्रन्थहरूको महत्त्व आफ्नै ठाउँमा छ तर ती कृतिमा पाउन नसकिएका तथ्य यस पुस्तकमा पाइन्छ। झापा आन्दोलनको उद्भव, विकास र भूमिगत मालेले सञ्चालन गरेका गतिविधिको सूक्ष्म मूल्यांकन कृतिमा गरिएको छ। सो समय झापामा नै रहेका र कम्युनिस्टहरूसँग उठबस भएका कारण सबै सूचना लेखकलाई प्राप्त हुन्थ्यो। 

पुस्तकमा मालेका गतिविधिप्रति असन्तोष पनि प्रकट गरिएको छ। ज्यामिरगढीका कर्णबहादुर गौतमबाट शुरू भएको सफाया आन्दोलनमा विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुँडाल, भुटन चौधरी, उग्रकान्त चौधरी, धर्मप्रसाद ढकाल र ज्ञानी ढकालको हत्या भएको काण्डमा संलग्न भएको आरोपमा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई सुखानी जंगलमा सरकारद्वारा हत्या गरिएको, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, खड्ग ओली, सिपी मैनाली, लीला कट्टेल तथा सीता खड्का समातिएको र सीपी मैनालीको नेतृत्वको कारण शक्तिशाली कम्युनिस्ट पार्टी उदय हुन सकेको जस्ता सूचनाहरू यस पुस्तकमा पाइन्छ।

नेपालमा कम्युनिस्ट आन्दोलनको उद्भव आपसी खिचातानी, जुँगाको लडाइँ, टुट्ने र जोडिने शृंखलाको नालीबेली पुस्तकमा उतारिएको छ। नेताहरूमा आएको विचलन सिद्धान्तभन्दा स्वार्थपट्टि ध्यान दिने सत्ता प्राप्त गर्ने दिशामा भएका रस्साकस्सीको अन्तर्य उद्घाटन गरिएको पाइन्छ। २०४६ सालपश्चात् कम्युनिस्टहरूमा भएको विचलनको सन्दर्भमा लेखकले निर्भीक भई आफ्नो विचार अभिव्यक्त गर्नुभएको छ। महाकाली सन्धिको सन्दर्भमा उहाँको भनाइ बास्तवमा भन्ने हो भने नेपालको कम्युनिस्ट पार्टीभित्र पनि भारत पक्षधरताको लबी प्रवेश गर्‍यो। त्यसअघि प्रायः नेपाली कांग्रेसका नेताहरू मात्र बेलाबखतमा त्यसरी आरोपित हुने गर्थे। त्यसपछि यस मामिलामा उनीहरूको एकाधिकार समाप्त भयो (पृष्ठ १५०)। 

हिजोआज आत्मकथामा आफ्नै बखान गरी आफूलाई अब्बल देखाउने कसरत गरिएको पाइन्छ। यसबाट लेखक जोगिएका छन्। आफूले गरेका कार्यहरूको स्मरण त गरेका छन् तर आत्माप्रशंसा कतै छैन। राजनीति गर्दा परेको सकस, खाएको हन्डर र आफ्ना भनाउँदाबाटै छिर्के हानेका घटनाहरू नलुकाई प्रकाशमा ल्याउनुभएको छ। हो, कतिपय प्रसंगमा खुल्न नसकेको पनि देखिन्छ। प्रेम प्रसंगमा निकै लामो संस्मरण त छ तर कहिले, कहाँ र कसरी विवाह भयो भन्ने रहस्यमै राख्नुभएको छ। कम्युनिस्ट नेताहरूको क्षमता आचरण र व्यवहारमा भएको परिवर्तनको संकेत मात्र छ। 

दुःखमा नआत्तिने र सुखमा नमात्तिने धनसम्पत्ति, मानमर्यादा र पदप्रतिष्ठाका लागि मरिहत्ते नगर्ने आत्मसम्मानमा आघात पर्न नदिने स्वभाव तथा चुनौतीलाई अवसरमा बदल्ने अठोट र परिवारको समर्थन जस्ता कारणबाट लेखकको जीवन सफल भएको देखिन्छ। कृष्ण पोखरेललाई कृष्ण पोखरेल नै बनाउन ‘सर र सरु’ दुवैमा समझदारी र सहकार्य उत्तिकै स्तुत्य रहेको तथ्य बुझ्न सकिन्छ। 

मनमोहन, भरतमोहन, सिपी मैनाली जस्ता नेताहरूप्रति लेखकको आस्था देखिन्छ भने खड्ग ओली, माधव नेपाल जस्ता नेताहरूप्रति भने क्रिटिकल नै देखिन्छ। जे होस्, नेपालको कम्युनिस्ट गतिविधिको समीक्षाबाट उहाँले आफूले पढेको विषयको धर्म निभाउनुभएको देखिन्छ।

खोला तर्‍यो लट्ठी बिर्सियो भन्ने उखानलाई चरितार्थ पार्नेहरूको बाहुल्य भएको वर्तमान सन्दर्भमा आफूलाई गुण लगाउनेप्रति कृतज्ञ हुनु लेखकको सुबानी मान्न सकिन्छ। आफूसँग सम्पर्कमा भएका नेता, साथी, नातागोता र विद्यार्थीहरूको उज्ज्वल पक्षको स्मरण गर्नु यस पुस्तकका धेरै विशेषतामध्ये एक हो। मनमोहन अधिकारी, भरतमोहन अधिकारी, पद्मरत्न तुलाधर, महेश उपाध्याय, कमल कोइराला तथा मोहनचन्द्र अधिकारी जस्ता नेता; भक्तराज आचार्य तथा द्रोणाचार्य क्षेत्री जस्ता मित्र; नन्दकुमारी तथा शम्भु जस्ता आफन्त र मितेन्द्र बस्नेत जस्ता विद्यार्थीप्रतिको दृष्टिकोण पुस्तकमा यथार्थपरक ढंगले व्यक्त गरिएको छ। 

विराटनगरकै गहनाका रूपमा रहेको एलिट क्लबको इतिहास, विराट क्याम्पसको स्थापना र यसको प्रगति र यसबाट महत्त्वाकांक्षी जमातको सृजना भएबाट परेको प्रभाव, विराटनगरमा फुटबल खेलको लोकप्रियता जस्ता प्रसंगले तत्कालीन विराटनगर र आजको विराटनगर बीच तुलना गर्न पाठकलाई सहयोग मिलेको छ। 
आत्मकथा सरल मार्गमा सलल बगेको छ, इन्द्रावती जस्तै। यसमा प्रयोग भएको भाषा र शैली पनि रोचक छ। गुल्टेको मनुवा, टेकोपुँडो, पिछलग्गु, रौसे, पित्ताम, ट्युसनवीर जस्ता शब्दको बान्कीले अभिव्यक्तिमा मिठास थपेको छ। यो कृति नेपालको विविध पक्षको इतिहासको स्रोत भएको छ।


सम्बन्धित सामग्री