Tuesday, April 22, 2025

-->

अन्तर्वार्ता
बन्द उद्योग खोल्ने बहस थालनीका लागि नाटक बनाएँ: टंक चौलागाईं

‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’

बन्द उद्योग खोल्ने बहस थालनीका लागि नाटक बनाएँ टंक चौलागाईं

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारदेखि नाटक ‘युगको साँचो’ मञ्चन हुँदैछ। अंग्रजी नाटक ‘चार्ली एन्ड चक्लेट फ्याक्ट्री’को भावानुवाद गरेर ‘युगको साँचो’ बनाइएको हो। नाटकले रोजगारीका लागि बिदेसिएकालाई नेपालमै फर्काउन बन्द उद्योगधन्दा चलाउनुपर्ने र नयाँ उद्योगहरू खोल्नुपर्ने बहस गरेको छ। यो नाटकको निर्देशन टंक चौलागाईंले गरेका छन्। नाटकको सन्देशबारे रंगकर्मी तथा निर्देशक चौलागाईंसँग उकालोका लागि मेनुका लम्सालले गरेको कुराकानीः

‘युगको साँचो’ कस्तो नाटक हो? के कारण यो नाटक बनाउनुपर्‍यो?
नेपालका अधिकांश उद्योग तथा कारखाना अहिले बन्द अवस्थामा छन्। तर रोजगारको खोजीमा हामी विभिन्न मुलुकमा भौतारिइरहेका छौँ। नेपालमै उपयुक्त ढंगबाट उद्योग सञ्चालन गर्न सके मुलुकलाई फाइदा पुग्ने सन्देश यस नाटकले दिन्छ। अंग्रजी नाटक ‘चार्ली एन्ड चक्लेट फ्याक्ट्री’को भावानुवाद र परिमार्जनसहित मैले निर्देशन गरेको हुँ। यस नाटकमा एक सफल ‘मुन नमूना उद्योग’ देखाइएको छ। उक्त उद्योग सक्षम र इमान्दार नागरिकलाई हस्तान्तरण गर्न मुन मिसले कपडामा ‘युगको साँचो’ पठाएकी हुन्छिन्। विभिन्न वर्ग, समुदायका युवा र बालबालिकाले त्यो साँचो पाउँछन्। साँचो पाउनेहरूले मुन मिसको नमूना उद्योग घुम्न पाउँछन्। त्यहाँसम्मको यात्राकै सेरोफेरोमा नाटक बुनिएको छ। यो विशेषगरि १३ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर तयार गरिएको हो।

अहिले बर्सेनि ६ देखि ८ लाख मानिसहरू विदेश जाँदैछन्। किन जान्छन् भन्ने हामी सबैलाई थाहा छ। मुलुकमा नियमित काम गर्ने ठाँउ छैन, काममा पनि सन्तुष्टि छैन। आधारभूत आवश्यकता पूरा गर्नै मुस्किल छ। वास्तवमा त्यस्ता आवश्यकता पूरा गर्ने उद्योगधन्दा नभएर हो। भएका पनि बन्द भए। हेटौँडा कपडा उद्योग खुल्ने भनेर २०७३ सालदेखि बजेट हालिएको छ तर खुल्न सकेको छैन। यस प्रसंगमा बुझ्दा चीन, भारतलगायत देशबाट सस्तो सामान आएकाले प्रतिस्पर्धा गर्न नसक्ने भन्ने रहेछ। तर त्यसो भनेर उद्योगधन्दा नै नचलाउने त! यो नाटक सकारात्मक आशासहित तयार पारिएको हो।

नाटकले दिने सन्देशजस्तै उद्योगधन्दा खुलेमा रोजगारीका लागि बिदेसिनेहरू साँच्चै राकिएलान् त? 
तत्काल त नरोकिएलान् तर कालान्तरमा रोकिन्छन्। कतारमा ८० हजार रूपैयाँ कमाउनेले यहाँ ६० हजार पायो भने गइरहनु पर्दैन। कोही नयाँ ठाउँ हेर्न र अनुभवका लागि जालान्, तर बाध्य भएर जाँदैनन् भन्ने हाम्रो अपेक्षा हो। नाटकले दिनसक्ने सन्देश यही हो। विदेश गएकाले पनि दुईचार वर्षपछि आफ्नै देशमा आएर सीपलाई प्रयोग गर्छु भन्ने हो भने ठाउँ पाउँछन्। मुलुकमा विकल्प नै केही नहुँदा जसरी गाउँ खाली भएका छन्, त्यसरी त अब १०/१५ वर्षमा शहर पनि खाली हुन्छन्। अनि देशमा जेष्ठ नागरिक मात्र बाँकी रहने डरलाग्दो स्थिति भइसक्यो। जसरी शुरूआतमा रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, त्यसरी आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाँउ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।

यस नाटकबाट प्रेरित भएर बन्द भएका वा नयाँ उद्योग खुल्ला वा बहस शुरू होला त?
हामीले अध्ययन गर्दा ‘सस्तोमा सामान पाइरहेकै छ भने किन उद्योग खोल्ने’ जस्तो लाचारीपन देखिएको छ। ‘विदेश जाँदा राम्रै पैसा आइरहेको छ, सरकारलाई पनि राम्रै रेमिट्यान्स आइरहेको छ भने किन रोक्ने?’ भन्नु पनि लाचारीपन नै हो। अन्यथा गर्न नसक्ने भन्ने हुँदैन। औपचारिक रूपमा नाटक शुरू भएपछि विभिन्न सरोकारवाला व्यक्ति र विज्ञसँग अवस्था, समस्या र सम्भावनाबारे छलफल र बहस पनि गर्ने छौँ। बन्द भएका वा नयाँ उद्योगधन्दा नाटकका कारण चलिहाल्ला भन्ने अपेक्षा छैन तर यस विषयमा छलफल र बहस सिर्जना गर्ने छ।

नेपालमा बर्साैंदेखि उद्योगधन्दा बन्द छन्। यी उद्योग सञ्चालनमा आउन नसक्नुमा कसको कमजोरी छ?
यसमा एउटा पक्षलाई दोष दिन मिल्दैन। मलाई लाग्छ, हाम्रो चेतनाको कमी हो। अर्काे चाहिँ, उपयुक्त नीति नहुनु हो। उद्योगी, व्यवसायी, किसानका हितमा नीति छैन। नीति बने पनि राम्रोसँग लागू भएको छैन। उद्योगी, व्यवसायी, किसानका हितमा नीति चाहिन्छ भनेर सोचिदिने नेतृत्व नहुनु मुख्य समस्या हो।

बन्द भएका र नयाँ उद्योगधन्दा खोल्न राजनीतिक नेतृत्वको इच्छाशक्ति कस्तोे पाउनुहुन्छ?
बन्द कलकारखाना नखुल्नु त राजनीतिक नेतृत्वको इच्छाशक्ति नभएकै कारण हो नि। २०७३ सालदेखि हेटौँडा कपडा उद्योग खुल्ने भनेर प्रत्येक वर्ष बजेट विनियोजन भइरहेको छ। तर अहिलेसम्म खुल्ने टुंगो छैन। कहिले सशस्त्र र कहिले आर्मीले चलाउने गरेरै जेलिइरहेको छ। मलाई त खोल्ने मानसिकता नै छैन जस्तो लाग्छ। विदेशबाट आयात गरेरै चलिरहेकै छ, शुरू गरेर घाटा हुन्छ वा भार किन थप्ने भनेर नेतृत्वले शुरू नगरेको जस्तो देखिन्छ।

बिदेसिएका नेपालीहरू नेपालमै केही गर्छु भनेर फर्किए भने भएका उद्योगधन्दा पर्याप्त छन् त?
पर्याप्त त छैन। नाटकको सिलसिलामा हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग घुम्यौँ। काठमाडौँको बालाजु औद्योगिक क्षेत्र पनि घुम्यौँ। यसरी हेर्दा प्रदेश सरकारले आफ्नो प्रदेशमा भएका उद्योगलाई राम्रोसँग सञ्चालन गर्ने हो र केही उद्योग थप्ने हो भने केही नागरिकलाई रोजगार दिने माध्यम बन्छ। इच्छुक नागरिक नेपाल फर्किने हो भने यो संरचना पर्याप्त छैन। तर सिकेको सीप लिएर आफैँ सञ्चालन गर्छु भन्ने हो भने सक्छन्।

नाटक तयारीका क्रममा औद्योगिक क्षेत्रहरू घुम्दा कस्तो अवस्थामा रहेको पाउनुभयो?
केही समयअघि संसद् भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यको घटनाबाटै यो क्षेत्र कस्तो अवस्थामा छ भनेर बुझ्न सक्छौँ। खासमा हामीले यो नाटक त्यही बेला गर्ने सोचेका थियौँ। लामो समयदेखि चलिरहेका उद्योगको अवस्था पनि अप्ठ्यारोमा छ। कामदारलाई तलब दिन नसक्ने, विदेशी समग्रीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ। यद्यपि, कसैले राम्रै पनि गरिरहेका छन्। अहिले नेपाली उत्पादनले पनि विदेशमा बजार पाइरहेका छन्। तर चलेका राम्रा उद्यमीलाई मात्र उदाहरणमा लिएर मूल्यांकन गर्न मिल्दैन। औद्योगिक क्षेत्रको अवस्था नाजुक छ, ती राम्रा बनुन् भन्ने हाम्रो नाटक टिमको चाहना हो। 

उद्योग त जेसुेकैको हुनसक्छ, नाटकमा किन कपडा उद्योग नै रोज्नुभयो?
बास्तवमा यो नाटकको अंग्रेजी भर्सनमा चक्लेटको उद्योग थियो। यो विषय हाम्रो लागि सुहाउँदो भएन। हामी अहिले गाँस, बास र कपासमै संघर्ष गरिरहेका छौँ। त्यसैले मैले कपडा उद्योग लिएको हुँ। यो विषय हेटौँडा कपडा उद्योगसँग जोडियोस् भन्ने पनि थियो। नाटकमा देखाइएको मुनको कपडा उद्योग हेटौडामै छ। नाटकमा झैँ साँच्चै कपडा उद्योग शुरू हुने हो र नाटकमा देखाइएको झैँ दृढ संकल्पसहित स्वच्छ छवि बनाएर काम गर्ने हो भने हामी सफल हुन्छौँ। 

एउटा भावनात्मक पाटो पनि छ। नेपालभरि नै कपडा सप्लाई गरिरहेको उद्योग बन्द भएको देख्दा राम्रो लागेन। सरकारी प्रयोजनका लागि आवश्यक कपडा यही उद्योगबाट उत्पादन गर्ने नीति ल्याइदिए धेरै राम्रो हुने थियो। तर त्यसो भएन।

‘युगको साँचो’ नाटक कुन विधा वा कस्तो प्राविधिक पक्षमा तयार छ?
यो सांगीतिक नाटकका रूपमा पनि शुरू गरिएको छ। नेपालमा सांगीतिक नाटक त्यति छैन। पहिले मुनामदन मञ्चन हुन्थ्यो। सांगीतिक नाटकलाई पनि विस्तार गर्न यो विधा छानेको हुँ।


सम्बन्धित सामग्री