Saturday, October 05, 2024

-->

प्रहरी चौकीभित्र ४० वर्षदेखि बेवारिसे ब्रह्मा मूर्ति, किन हुँदैन पुनर्स्थापना?

लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।

प्रहरी चौकीभित्र ४० वर्षदेखि बेवारिसे ब्रह्मा मूर्ति किन हुँदैन पुनर्स्थापना

काठमाडौँ– प्रहरी वृत्त गौशालाको एक कुनामा पुराना मोटरसाइकलहरू राखिएका छन्। ती मोटरसाइकलकै बीचमा सिमेन्टको घेराबन्दीमा ब्रह्माको एउटा मूर्ति राखिएको छ। झट्ट हेर्दा मूर्तिलाई सानो पोखरीभित्र राख्न खोजेको देखिन्छ। वृत्तमा तैनाथ प्रहरीले मूर्तिलाई दैनिक पूजा पनि गर्छन्।

डीएसपी केशवकुमार थेबे मूर्ति लामो समयदेखि गौशाला प्रहरी वृत्तकै सुरक्षामा रहेको बताउँछन्। यद्यपि, मूर्ति कहिलेदेखि प्रहरी वृत्तको संरक्षणमा रहेको उनलाई पनि थाहा छैन।

लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख भएअनुुसार ब्रह्माको उक्त मूर्ति छैटौँ शताब्दीको हो (पृष्ठ २९६)। कुनै समय यो मूर्ति जयबागेश्वरीबाट करिब ५०० मिटर उत्तरतर्फ सिफल पेट्रोल पम्पपछाडि थियो। त्यस ठाउँमा अझै मन्दिरको भग्नावशेष छ। अहिले मन्दिर र मूर्ति दुवै बेवारिसे छन्।

वाङ्देलको पुस्तकमा उक्त मूर्ति चोरिएको र पछि खुला स्थानमा भेटिएको उल्लेख छ। तर यो मूर्ति चोरिएको नभई मन्दिरबाट निकालेर बेवारिसे रूपमा फालिएको स्थानीय बताउँछन्। स्थानीयसमेत रहेका बागमती प्रदेशसभाका पूर्वसदस्य नरोत्तम वैद्य भन्छन्, “खासमा मूर्ति हराएको नभई कोही व्यक्तिले स्थानान्तरण गरेको थियो। त्यो मूर्ति चोर्ने, बेच्नेभन्दा पनि राखिएको स्थानबाट निकालेर टाढा लगिएको थियो।”

मन्दिर भएको स्थल।

मन्दिर र मूर्ति भएको ठाउँका जग्गा बेच्न अप्ठ्यारो भएपछि स्थानीयले नै मूर्तिलाई पन्छाएका उनको भनाइ छ। त्यही कारण मन्दिर र मूर्ति दुवै बेवारिसे बनेका हुन्। “जग्गा किन्ने मान्छेले अगाडि मठमन्दिर देख्दा हिच्किचाउँछन् नि, विवाद नआउने पक्का रैकर जग्गा किन्न खोज्छ नि! त्यही भएर मूर्ति र मन्दिर पन्छाइयो,” उनी भन्छन्।

को–को मिलेर मूर्तिलाई बाहिर निकालियो भन्ने बारे वैद्य खुलाउन चाहँदैनन्। “यस विषयमा विस्तृतमा नजाऔँ,” उनी भन्छन्, “कसले बेच्न लगेको, फाल्न लगेकोतिर नजाऔँ आरोप–प्रत्यारोपतर्फ नलागौँ।”

तर ४० वर्षअघि उक्त घटना भएको वैद्यले सुनाए। मन्दिरबाट मूर्ति कति बेला निकालियो र लगियो थाहा नपाएको तर हराएको हल्लापछि खोजी गर्दा बालाजुको पुलमुनि भेटिएको उनी बताउँछन्। त्यहाँबाट स्थानीयले मूर्ति लिएर आएका थिए। तर राख्ने ठाउँको अभावमा बेवारिसे बनाइयो।

उक्त मूर्ति फिर्ता ल्याएपछि पहिलाकै ठाउँमा राख्न नसकेको वैद्य बताउँछन्। “भेटिएको मूर्ति सुरक्षाकै हिसाबले पनि सोही मन्दिरमा राख्ने सवाल नै भएन,” उनी भन्छन्, “मूर्तिको सुरक्षार्थ प्रहरी चौकीमा राख्ने वा पुरातत्त्व विभागमा राख्ने निर्णय हुन सकेन।” कहाँ राख्ने निर्णय नभएसम्म प्रहरी चौकीमा राखिएको थियो। तर ४० वर्षसम्म पनि मूर्ति प्रहरी कार्यालयमै रह्यो। मूर्ति निकालिएपछि मन्दिर बिस्तारै जीर्ण भयो।

४० वर्षअघि मन्दिरसम्म पुग्ने बाटो फराकिलो थिएन। वरिपरि मानवबस्ती पनि थिएन। उक्त मन्दिर जयबागेश्वरीको बस्तीबाट छुट्टै एकलासमा भएको स्थानीय अक्कलमान संगत बताउँछन्। मन्दिर नजिकै बाँसको झ्याङ थियो। मानिसहरूको उस्तो आवातजावत हुँदैन थियो। 

संगतका अनुुसार मन्दिरमा प्रसव पीडामा भएका महिलालाई गाह्रो भएमा उक्त ब्रह्माको मूतिमाथि तेल लगाइदिए व्यथा सहज हुने र बच्चा सजिलै जन्माउने जनविश्वास थियो। आफ्नै घरपरिवारले यसरी तेल लगाएको आफूले थाहा पाएको उनी बताउँछन्।

बागमती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्य पनि मूर्तिमा तेल लगाएपछि उक्त तेल दाहिनेबाट खसे छोरा र देब्रेबाट खसे छोरी हुने मान्यता रहेको बताउँछन्। त्यसबाहेक विशेष तिथि वा पर्व पारेर पूजा भने हुँदैन थियो। 

यो मन्दिरलाई राजा महेन्द्रले २०१५ सालमा जीर्णोद्वार गरेको वैद्य बताउँछन्। मन्दिर कति वर्ष पुरानो हो भन्ने जानकारी नभएको पनि उनले बताए। मन्दिर नजिकै रहेको शिलालेख हराइसकेको उनको भनाइ छ। यद्यपि, छैटौँ शताब्दीको मूर्ति मन्दिरमा रहँदा मन्दिर पनि त्यही समयको हुनुपर्ने उनको अनुमान छ। 

“मन्दिरको वास्तविक स्वरूप विशाल हुनसक्छ। उक्त मन्दिरको अवशेषको रूपमा रहेको जग अनुपम देखिन्छ,” उनले भने, “मन्दिरको महत्त्व देखेर नै त होला राजाले मन्दिरलाई त्यस बेला जीर्णोद्धर गरिदिए।” 

काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत मूर्तिको सुरक्षाको लागि हालसम्म प्रहरी कार्यालयमा राखिएको बताउँछन्। मन्दिर पुनर्निर्माणका लागि डिजाइन पास भइसकेको र टेन्डर प्रक्रियाको लागि अघि बढेको उनले जानकारी दिए। 

मन्दिर पुनर्निर्माणमा संलग्न सम्पदा संरक्षणविद् विनिता मगैया मन्दिर मूर्तिको समकालीन समयकै हुन सक्ने बताउँछिन्। “शुरूमा अनुसन्धान गर्दा भग्नावशेष पर्खाल ढलानका थिए। तर मन्दिरको जग उत्खननको क्रममा जगका अवशेष, इँटाका आकार, आकृति र बनोटले पुरानै मान्न सकिन्छ,” मगैया भन्छिन्।

पुरातत्व विभागकी पुरातत्व अधिकृत सरिता सुवेदी प्रहरी कार्यालयमा भएको मूर्तिलाई सहजै विभागमा हस्तान्तरण गर्न सकिने बताउँछिन्। “मूर्तिलाई यति सालमा यसरी उद्धार गरियो भन्ने उल्लेख गरेर विभागमा पठाइदिनु भए हुन्छ,” सुवेदी भन्छिन्, “चौकीमा भन्दा विभागमा मूर्तिको अभिलेख तथा संरक्षण हुन्छ।”

मूर्तिको उद्गमस्थलमा पुनर्स्थापना नभएसम्म संग्रहालयमा राखिने सुवेदीले बताइन्। चौकीबाट आएका धेरै मूर्ति हाल संग्रहालयको संरक्षणमा रहेको उनी बताउँछिन्।


सम्बन्धित सामग्री