Saturday, September 21, 2024

-->

गाउँ आएको बाटो: विकाशको परिभाषा फेर्ने कि?

हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।

गाउँ आएको बाटो विकाशको परिभाषा फेर्ने कि

“ऊ गइगयो भने खेत कल्ले खन्छ?
सन्चो बिसन्चोमा के छ कल्ले भन्छ?
को कलिया बन्छ, को मलामी हुन्छ?
एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ?
उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ?
बिन्ती रोक उसलाई घडी फुलले भन्छ?”

‘गाउँ आएको बाटो’ चलचित्रका लागि श्रवण मुकारुङले लेखेको यो ‘प्रमोसनल गीत’ले समकालीन नेपाली समाजबारे धेरै कुरा भन्छ। सन्चो बिसन्चो सोध्ने कुरा, कलिया बन्ने कुरा, मलामी जाने तथा कसैले गाउँ छाड्दा सँगै गीत पनि लिएर जाने कुराले सुन्नेलाई भावुक बनाउँछ। 

नेपाली समाज (अरू समाज पनि) यति छिटै बदलिइरहेका छन् कि हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छेहरू एकैछिनमा विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको महसुस हुन्छ अचेल। 

परिवार, गाउँ, समाज, साथीभाइ र विगतलाई एकाएक मानसपटलमा ल्याइदिने 'गाउँ आएको बाटो'ले गाउँमा जन्मेहुर्केका धेरैलाई साँच्नै नै 'नोस्टाल्जिक' बनाउँछ। चलचित्र हेर्दा गाउँघरमा हुर्किएर बढेकालाई चाहिँ चलचित्रका पात्रहरूले निर्वाह गरिरहेको भूमिका कुनै समय आफैँले भोगेको अनुभव हुन्छ। ग्रामीण जीवनका संघर्ष र सामाजिक दृश्य चलचित्रमा भेटिन्छ। यसमा ग्रामीण जीवनका दैनिकी, सामाजिक संरचना, परम्परा र आधुनिकताबीचको द्वन्द्व, बसाइँसराइ र शहरीकरणको प्रभाव तथा महिलाको अवस्थाजस्ता विषयलाई प्रमुखतासाथ प्रस्तुत गरिएको छ। चलचित्रमा समाजको विभिन्न पाटा उजागर हुन्छन्: 

ग्रामीण जीवनशैली र संघर्ष
गाउँमा हुर्किएकाले कमसेकम गाउँ, गाउँले र त्यहाँको परिवेश तथा मनोविज्ञानको अनुभव छ। आमा बुवाले सन्तानका इच्छा/ आवश्यकता पूरा गर्न गर्ने त्याग, संघर्ष र विपन्न भएकै कारण आफूमाथि हुने भेदभावको अनुभव थियो। फिल्म नसकिँदासम्म दयाहाङ राईले आफ्नो छोराको रहर पूरा गर्ने गरेका हरेक क्रियाकलापमा बुबा नै सम्झिएँ।

अभावमा जिन्दगी चलाउनुपर्दा कस्तो हुन्छ भन्ने राम्रोसँग बुझेको मलाई गरिबीकै कारण गाउँ छाड्नुपर्ने बाध्यता स्वाभाविक लाग्छ। विपन्न र केही हदसम्म मध्यम वर्गीय परिवारमा जन्मिएकाका समेत धेरै सपना सपना नै भई बिलाउँछन्। त्यसो हुँदा फिल्मको बालक पात्र ‘बिन्द्रे’ खासमा मै हुँकी झैँ लाग्थ्यो। कथामा देखाइएझैँ बल (भकुन्डो) बनाउनका लागि बिन्द्रे सियो माग्न जान्छ। सूचिकार दाइको पावरवाला चस्मा देख्छ र सो लगाउँछ। सियो लिएर फर्कँदै गर्दा बाटोमा भेटिने पहेँलो लहरोको चस्मा बनाई लगाउँछ। पानी फोटोको चस्मा बनाई लगाएर साथीहरूका अगाडि आफूलाई 'हिरो' देखाउने चेष्टा गर्छ। 'पापा'को धेरै संघर्षपछि मात्र उसले 'रियल' चस्मा पाउँछ। 

चलचित्रमा ‘बिन्द्रे’ले निर्वाह गरेको भूमिका गाउँले निम्न मध्यम/निम्न परिवारमा जन्मेकाहरूको कथा हो, जहाँ एक जोर कपडा फेर्नकै लागि दशैँ कुर्नुपर्छ/पर्थ्यो। मिठो र मसिनो खान चाडबाड नै कुर्नुपर्छ/पर्थ्यो। गाउँमा आधुनिकीकरणसँगै आएको परिवर्तनले पुर्ख्यौली पेसा, सिप र स्थानीय उत्पादन विस्थापित भएको र त्यसबाट सिर्जित संघर्ष र समस्यालाई हामीले नसोचिएको पाटोबाट चलचित्रमा विस्तृत रूपमा उजागर गरिएको छ।

कथा सरल छ। राई माइलो पुर्ख्यौली स्थानीय सिप कौशल बेचेर जीविकोपार्जन गर्ने काम गर्छ। बाँस काटी चोयाबाट विभिन्न वस्तु बनाउँछ। तिनको माग बढिरहेकै बेला गाडी गाउँमा पुग्छ र बजारिया सामानको प्रवेशले गाउँमा उत्पादित बस्तुको माग घट्न थाल्छ। सडक र गाडी नै आशावादी माइलाको संसार भताभुंग बनाउने एउटा कारण बन्छ। आफ्नो सीपले बजार भाउ पाउला, त्यससँगै ‘बिन्द्रे’को सपना पूरा गर्न सजिलो होला र बिन्द्रेक आमालाई सुख दिउँला भन्ने राई माइलाको सपना भत्कन्छ। 

ग्रामीण जीवनमा मानिसहरूले दैनिक जीविकोपार्जनका लागि गर्नुपर्ने संघर्ष, खेतीपाती र पशुपालनप्रतिको निर्भरता र आधुनिक सुविधाको प्रयोगले उत्पन्न हुने समस्यालाई चलचित्रले उजागर गर्न खोजेको छ। गाउँमा उत्पादित सामानभन्दा छिटोछरितो र सहज बजारिया सामानको प्रयोगले स्थानीय उत्पादन प्रतिस्थापन गरिदियो। यसो भएपछि जीविका गुम्यो, त्यसपछि गाउँघर छोड्नुको विकल्प पनि रहेन। बाँच्नै कठिन भएर नै कतिपयले गाउँ छाडेको सत्य हो। बिस्तारै बिस्तारै गाउँ छोड्नेको लर्को लाग्दै छ।

ग्रामीण क्षेत्रमा मानिस खेतीपाती र पशुपालनमा निर्भर छन्। आधुनिक प्रविधिको अभाव र सरकारी संयोजन, सहजीकरण र सहयोगको कमीले गर्दा किसानको जीवनस्तर उठ्न सकेको छैन। चलचित्रले गाउँको माटो, खेतीको संघर्ष र कृषि उत्पादनमा पर्ने विभिन्न समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। 

सामाजिक संरचना र वर्ग
नेपाली समाजको संरचना र वर्ग विभाजन जटिलता र विविधतायुक्त छ। यो मुख्यतः जातीय, सांस्कृतिक, आर्थिक र लैङ्गिक आधारमा निर्मित हुन्छ। त्यससँगै समाजमा वर्ग विभाजन र सामाजिक असमानता स्पष्ट रूपमा देख्न सकिन्छ। बिन्द्रेले टुकी बत्तीमा पढिरहँदा, टेलिभिजन हेर्न अर्काको घर धाइरहँदाका दृश्यले त्यस परिवारको विपन्नता देखिन्छ, वर्ग प्रस्टिन्छ। 

राई माइलाले बिन्द्रेको लागी टेलिभिजन जोडिदिन गरेका संघर्षलाई नियाल्दा भावुक हुन बाध्य गरायो। चलचित्रमा उच्च वर्गीय मानिसको प्रभुत्व र निम्न वर्गीय मानिसहरूको दयनीय अवस्थालाई पनि जोडदार किसिमले देखाइएको छ। 

आर्थिक अवस्था कमजोर हुँदा र दुखका बेला पैसावालसँग पैसा सापटी माग्नुको पीडामा श्रीमतीले "लोग्ने मान्छे भएर पनि विदेश जान नसक्ने" भन्दै गरिने टिप्पणीले समाज अझै हाम्रो समाज 'पुरुष घरमुली'मै आश्रित छ भन्ने संकेत दिन्छ। 

परम्परा र आधुनिकता
परम्परागत सीप, पेसा र परम्परा पहिलेभन्दा तीव्र दरमा अहिले लोप भइरहेको छ। अधिकांशलाई आधुनिकता मन पर्छ। ‘राई माइला’को फिपी (टोकरी) ले गाडी आएपछि बजार पाएन। पसलेहरूले चोयाको ठाउँमा त्रिपाल प्रयोग गर्न थाले। जसले गर्दा विकासको नाममा आएको गाडिले चोयालाई विस्थापित गरिदियो।

आधुनिकताले परम्परागत सीप र पेसा विस्थापित गर्दैजाँदा आयस्तरमा ह्रास आयो नै, सँगै यसले परम्परा र संस्कृतिलाई पनि मार्दै गएको छ। त्यसो हुँदा आधुनिकीकरणले ग्रामीण समाजमा ल्याएको परिवर्तन, त्यसले परम्परागत मूल्यहरूमा पारेको प्रभाव र यसले उत्पन्न गरेका द्वन्द्व चलचित्रको एक महत्त्वपूर्ण हिस्सा हो। हामी अहिले गुज्रिरहेको समाज खासमा यही नै हो। 

स्थानान्तरण र शहरीकरण
आजभोलि गाउँ रित्तो हुँदै छन्। गाउँमा बुढा भइसकेका बुवाआमाबाहेक अरू भेटिँदैनन्। गाउँमा अवसरको कमी र अवसर सिर्जना हुन नसक्नुले भएभरका युवा शहर या विदेशतर्फ आकृष्ट छन्।

शहर पस्नु र बिदेसिनु रहरभन्दा पनि धेरैको बाध्यता हो। शिक्षामा गुणस्तर नहुनु, पढाइअनुसार जागिर नभेटिनु, श्रमअनुसार ज्याला नपाउनु, भएको सीप लोप हुँदै जानु र उत्पादित वस्तुले बजार भाउ नपाउनुले पनि हामीलाई अर्को अवसर खोज्न र रोज्न बाध्य बनाएको छ।

गाउँका युवा शहर/विदेशतर्फ आकर्षित हुँदै गर्दा गाउँमा जनशक्ति अभाव टड्कारो देखिन थालेको छ, जसले गाउँको परम्परागत जीवनशैलीमा ठूलो परिवर्तन आएको  छ। गाउँमा जनसंख्या घट्दै जाँदा खेतीपाती र अन्य परम्परागत क्रियाकलाप लोप हुने क्रममा छन्। 

ग्रामीण महिलाको अवस्था 
चलचित्रकी हिरोइन (नायिका) भन्नेबित्तिकै हाम्रो दिमागले एउटा आकृति तयार गर्छ। गोरी, अग्ली, छुँदै मयल लाग्लाझै र चटक्क मिलेको शरीर (परम्परागत सुन्दरताको परिभाषाकी सुन्दरी) मानसपटलमा आउँछ। यस चलचित्रले नायिकाप्रतिको परम्परागत भाष्यलाई गलत साबित  गर्छ। नायिका पशुपति राईको अभिनय 'अर्ग्यानिक' र अब्बल छ। ग्रामीण महिलाको भूमिकामा खरो उत्रेकी छन् उनी।  

नेपाली समाजका धेरैजसो महिला सदस्यलाई खुसी के हो भनेर सोध्दा तिनले  "छोराछोरीको राम्रा जागिर होस्, आफ्नो खुट्टामा उभिएको देख्न पाए, परिवार सन्चो आराम भए,   खुसी त्यही हो" भन्छन्। पशुपति पनि आफ्नो व्यक्तिगत खुसीबाट सधैँ आफूलाई टाढा राख्दै घरपरिवार सम्हालेको बुझिन्छ सिनेमामा। 

घरबाट टाढा भइसकेको लगभग १२ वर्ष भइसक्यो। तर चलचित्रका दृश्यहरूले सानो बेलाको आमाको गाली अनि मायाको स्पर्श गराइदियो। आमाबाले हाम्रो रहरको लागि आफ्ना खुशी मारेका क्षणको याद आए। च्यातिएको फरिया र बुस्कोट (सर्ट)मै सन्तानको भविष्य कोर्न गरेका संघर्षका कुराले मन बिझायो। 

आजभन्दा चार वर्षअघि कोभिडका कारण बुवा गुमाएँ। चलचित्रमा देखाइएको अन्तिम दृश्य ‘पापा तिमी घर फर्की आऊ, मलाई टिभी चाहिँदैन’ भनेर बिन्द्रेले संसार छाडेको दृश्यले छोयो, मलाई र भाइलाई आफूभन्दा माथि उकास्न हरक्षण संघर्ष गर्ने बालाई सम्झायो। बाले हाम्रो उन्नति कहिल्यै हेर्न नपाउने हुनुभयो।  

चलचित्र हेरेपछि विकासमा हाम्रा मोडालिटीमा पक्कै कमी छन् भन्ने लाग्यो। विदेश या शहरबाट रासका रास सामान गाडीमा बोकिएर गाउँ जाने, तर गाउँबाट भने गाडी रित्तै फर्कने यो अभ्यास समस्याग्रस्त लाग्यो। विकासको सूचीमा भौतिक संरचना मात्रै राख्ने हाम्रो अभ्यास सारमै गलत छझैँ लाग्यो। फिल्मबारे अनेक कोणबाट व्याख्या हुन सक्ला तर हाम्रो विकासको वर्तमानको दर्शन र अभ्यास बदल्न यस फिल्मले पक्कै हाम्रो नीतिनिर्माताहरूलाई प्रेरणा दिओस्। 


सम्बन्धित सामग्री