Saturday, September 21, 2024

-->

बाबु, बिन्द्रे–बाँस र बाटो

'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।

बाबु बिन्द्रे–बाँस र बाटो

नवीन सुब्बा प्रायः आदिवासी र जनजाति समुदायका कथा सुनाउने गर्छन्। यस पटक उनले राई समुदायको कथा मुख्य धारमा ल्याउने प्रयास गरेका छन् 'गाउँ आएको बाटो' चलचित्रमा। 

दयाहाङ राईले सधैँ एउटै प्रकारको अभिनय गर्छन् भन्ने धारणालाई यस फिल्मले चुनौती दिन्छ। यसअघि राईले विभिन्न चलचित्रमा विभिन्न जातीय पात्रहरू; जस्तै: 'कबड्डी'मा थकाली र 'नाङ्गो गाउँ'मा तामाङको भूमिका निर्वाह गरेका थिए। तर 'गाउँ आएको बाटो'मा उनले आफ्नै थरको प्रतिनिधित्व गर्ने पात्रका भूमिका पाएका छन्। यसले उनको अभिनयको नयाँ पक्ष देखाउँछ र गहिरो रूपमा उनको जरा (मूल)सँग जोड्छ।

'गाउँ आएको बाटो'मा दयाहाङ राईले एउटा बुबाको भूमिका निभाएका छन्, जो आफ्नी श्रीमती र एउटा छोरासँग दुःखसुख गर्दै, बाँसको चोयाको डोको, गुन्द्री आदि बनाएर गाउँमा जीविकोपार्जन गरिरहेको छ। गाउँमा बाटो भित्रिएपछि उनीहरूको जीवन र सम्बन्धहरूमा के कस्तो परिवर्तन आउँछ, यो सबै कुरा चलचित्रले सूक्ष्म तरिकाले केलाएको छ।

बाबु
गाउँ आएको बाटो एउटा बाबुको दृष्टिकोणबाट भनिएको कथा हो। गाउँमा सडक भित्रिएसँगै बाबुले परिकल्पना गर्छ कि पुर्खाले सिकाएका काम; जस्तै: बाँसको चोया, डोको आदि बनाउने काम झनै सजिलो हुनेछ र अब बजार उसकै दैलोसम्म आइपुग्नेछ। बजार आँगनमा आइपुग्दा माइलाले सपना देख्न थाल्छ कि उसको कमाई दोब्बर हुनेछ, उसको सीपले उसको छोरालाई पढाएर ठूलो मानिस बनाउन मद्दत गर्नेछ। बढेको कमाइले आफ्नो श्रीमतीलाई चाहेको कुरा किनिदिने र खुशीसाथ बाँकी जीवन बाँच्ने सपना देख्छ ऊ।

राई परिवारका लागि दुःख सामान्य कुरा हो। कहिलेकाहीँ प्रियजन गुमाउनुको पीडा, आवश्यक पर्दा कहिलेकाहीँ गाउँलेसँग पैसा माग्नुपर्दाका संघर्ष। यी सबै कष्टका बाबजुद पनि माइला आफ्नो इमानदारीमा दृढ रहन्छ। ऊ आफ्नो परिवारको खुशी, विशेष गरी आफ्नो छोरा बिन्द्रेको खुशीमा केन्द्रित छ। 

यी चुनौतीका अतिरिक्त, राई माइलोले सडकले ल्याएको नयाँ परिवर्तनमा अनुकूलन र दबाबको सामना गर्छ। सडकले भौतिक सम्पर्क मात्र होइन, नयाँ अवसर र चुनौतीको आगमनलाई पनि प्रतिनिधित्व गर्छ। राई माइलोले यसलाई आफ्नै परिवारलाई पुस्तौँसम्म सताइरहेको गरिबी र कष्टको चक्रबाट मुक्त हुने अवसरका रूपमा देख्छ। उसका सपना फैलिँदै जान्छन्, जब ऊ आफ्नो परिवारको उज्ज्वल भविष्यको कल्पना गर्छ, जहाँ उसको छोराले गाउँभन्दा बाहिर शिक्षा र अवसर पाउन सक्छ, पत्नीले पहिले पाउन नसकेका आराम र सुख पाउन सक्छिन्।

माइलाको यात्रा आशा र दृढताको हो। ऊ निरन्तर परिश्रम गर्छ, ताकि उसको परिवारले नयाँ सडकको फाइदा लिन सकोस्। उसको कथा ग्रामीण क्षेत्रमा बस्नेहरूको संघर्ष, दृढता र आकांक्षाहरूको प्रमाण हो, जसले पूर्वाधार विकासको प्रभावलाई उजागर गर्छ। आफ्ना सपना र प्रयासहरूमार्फत माइलाले प्रगतिको भावना र आफ्ना प्रियजनहरूको लागि राम्रो भविष्यको चाहनालाई मूर्त रूप दिने यत्न गर्छ।

बिन्द्रे
फिल्मको शुरूकै दृश्यमा सियो पइँचो मागेर फिर्फिरे बनाएर उडाउने बिन्द्रे जब डाँडाको टुप्पोमा गएर ‘पापा’ भन्दै दुई हात फिँजार्दै कराउँछ, तब टाइटनिकको ज्याकले ‘आइएम् द किङ अफ् द वर्ल्ड’ भनेको या सत्याको भिकु  माहत्रेले  ‘मुम्बईका किङ कौन’ भनेर कराएको झल्को दिन्छ। ज्याक र भिकु माहत्रेजस्तै महत्त्वाकांक्षी बिन्द्रे जति चञ्चल छ, त्यति नै चलाख पनि। 

आफूलाई कोक नदिएको रिसपछि ऊ सिंगै बोतल किनेर कोकको एक्लो बादशाह बनेर त्यसको प्रतिक्रिया दिन्छ। आफूलाई सताउने 'बुल्ली'लाई त्यसको कडा जवाफ पनि दिन्छ। बिन्द्रेको आँखामा रहने चस्माले उसको भित्री महत्त्वाकांक्षा प्रस्ट्याइरहँदा सोही चस्माले स्क्रिनमा एउटा सुन्दर ‘मेटाफोर’ पनि दिइरहेको हुन्छ। आफ्नो चस्माको सोख पूरा गर्न बिन्द्रे लहरोले बनेको चस्मा लगाउँछ र जतिजति उसको महत्त्वाकांक्षा बढ्दै जान्छ, उसको चस्माको स्वरूप पनि परिवर्तित हुँदै जान्छ। उसभित्रको आधुनिकताको चाहना अब लहरो र कागजले बनेको चस्माबाट प्रकट हुन थाल्छ। बिन्द्रेको चस्मा लगाउने इच्छा तब मात्रै पूरा हुन्छ, जब गाउँमा बाटो आइपुग्छ र उसको 'पापा'ले उसको निम्ति चस्मा किनेर ल्याइदिन्छ।

गाउँमा आधुनिकता पुग्नुभन्दा अगाडि बिन्द्रेको आँखा ढाक्ने चस्माले नै आधुनिकताको बिगुल फुक्छ। बिन्द्रेलाई दुःख गरेर बाँसकै काम गर्ने माइलो बन्नु छैन। आफ्नो छोरालाई बाँसको काम होइन, पढाएर ठूलो मान्छे बनाउने माइलाको सपना हुन्छ।

बाँस
बाँसको महत्त्व माइलाका लागि यो चलचित्रमा त्यति नै हुन्छ, जति बिन्द्रेका लागि नयाँ टिभी। माइलाले आफ्नो पुर्खादेखि सिकेको सीपलाई जीविकोपार्जन गर्ने दैनिकीको रूपमा बदलेको हुन्छ। जब आधुनिकताको जालोले माइलाको जीवनमाथि पनि अतिक्रमण गर्छ, तबदेखि बाँसको काम नगर्ने प्रण लिएको माइला धेरै ठक्कर खाँदै र भौँतारिँदै फेरि उही पुरानो बाँससँगै नाता गाँस्न बाध्य हुन्छ। यो पटक फरक थियो त माइलाको दृष्टिकोण। अब माइलाले समय अनुसार चल्न सिक्छ, बाटोले शहरको ढोका खुलेसँगै आधुनिकतामा कसरी ग्रामीण सीपलाई ढाल्न सकिन्छ भनेर माइलाले बुझ्छ। यी सबै तत्त्वजस्तै बाँस, बुबा, बिन्द्रे, र बाटोले चलचित्रमा सूक्ष्म र अन्वेषणात्मक रूपकहरूलाई सुदृढ गर्छन्।

बाटो
हरेक चलचित्रमा एउटा 'म्याकगफिन' हुन्छ, जसले कथालाई मोड्न उत्प्रेरकको काम गर्छ। उदाहरणका रूपमा ट्यारेन्टिनोको 'पल्प फिक्सन'मा ब्रिफकेस र 'लर्ड अफ द रिंग्स'मा औँठी। परम्परागत रूपमा म्याकगफिनलाई एक भौतिक वस्तु मानिन्थ्यो, तर समयसँगै यो अवधारणा बदलिएको छ र यसले कथा अघि बढाउने कुनै पनि कुरा—व्यक्ति, शहर वा वस्तु— हुन सक्छ भन्ने अवधारणा आएको छ।

म्याकगफिनको उपस्थितिले हाम्रा पात्रहरूको चरित्र विकास र उनीहरूले लिने निर्णयहरूमा महत्त्वपूर्ण प्रभाव पार्छ। हिचककले म्याकगफिनलाई ‘कथामा पात्रहरूले चासो राख्ने, तर दर्शकले वास्ता नगर्ने कुरा’ भनेर परिभाषित गरेका छन्। यसले म्याकगफिनको भूमिका कथाको उपकरणको रूपमा देखाउँछ, जसले दर्शकको ध्यान केन्द्रित गर्दैन।

'गाउँ आएको बाटो'मा, बाटोले नै म्याकगफिनको रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि। यो बाटो केवल पृष्ठभूमि मात्र होइन, बरु परिवर्तन, प्रगति र परम्परागत जीवनमा आधुनिकताको प्रभावको संकेत हो। 

गाउँ आएको बाटोले गाउँको जीवनलाई गहिरो रूपमा परिवर्तन गर्छ। बाटो आउनुअघि, गाउँ पुरानो परम्पराहरूमा टाँसिएको थियो। बाटोको आगमनले गाउँलाई बाहिरी संसारसँग जोड्छ। नयाँ प्रभाव, अवसर र चुनौतीहरू ल्याउँछ। यस परिवर्तनले पात्रहरूलाई अनुकूलन गर्न, डरहरूको सामना गर्न र जीवनको दिशा परिवर्तन गर्ने निर्णय गर्न बाध्य बनाउँछ। बाटोले प्रगति र समयको अनिवार्य गतिलाई प्रतिनिधित्व गर्छ, पात्रहरूलाई विकास गर्न वा पछाडि परिरहने जोखिममा पार्छ।

अझै, बाटोको आगमनले युवापुस्ताको महत्त्वाकांक्षालाई प्रज्वलित गर्छ। जो पात्रहरूले आफ्नो भविष्य गाउँको सीमाभित्र मात्र देखेका थिए, उनीहरू नयाँ सम्भावनाहरू देख्न थाल्छन्। बाटो उनीहरूको आकांक्षाको प्रतीक बन्छ, विस्तृत क्षितिजको मार्ग। यसले पुरानो पुस्तालाई परिवर्तनशील संसारको मागसँग समायोजन गर्न चुनौती दिन्छ।

सारांशमा, 'गाउँ आएको बाटो'मा बाटो केवल भौतिक संरचना मात्र होइन; यो कथालाई अगाडि बढाउने र पात्रहरूको यात्रा र विकासलाई आकार दिने एउटा कथात्मक उपकरण हो। यो म्याकगफिनको गतिशील प्रकृतिलाई उदाहरण दिन्छ, देखाउँछ कि साधारण देखिने तत्त्वले कथाभित्र गहिरो महत्त्व बोकेको हुन सक्छ, कथाको दिशा र पात्रहरूको विकासलाई प्रभाव पार्छ।


सम्बन्धित सामग्री