Wednesday, July 24, 2024

-->

‘हजुरआमाका कथा’मा छुटेका कथा

नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोत साधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ।

‘हजुरआमाका कथा’मा छुटेका कथा

जूनकिरी नारीवादी पुस्तकालय (वसन्तपुर, काठमाडौँ)ले गत मार्चमा सञ्चालन गरेको ‘दृष्टि: राइटिङ् लाइक अ फेमिनिस्ट’ लेखन कार्यशालामा ‘हजुरआमाको कथा’ पुस्तक पढ्ने अवसर जुट्यो। २०७६ सालमा अक्षर क्रियसन प्रकाशनबाट प्रकाशित पत्रकार अमृता लम्सालको यो किताब नामैले आख्यानजस्तो लागे पनि पुस्तकमा समावेश सबै कथा वास्तविक जीवन अनुभव हुन्। पुस्तकमा २३ हजुरआमाका र तीन नातिनी पुस्ताका कथा समावेश छन्।

२३ वटा कथाका पात्रमध्ये ११ जना महिला काठमाडौँबाहिर पूर्वी पहाड र मध्य पहाड (गण्डकी क्षेत्र) मा जन्मिएका हुन्। नौ जना महिला काठमाडौँ उपत्यकामै र तीन जना देशबाहिर (दार्जिलिङ, सिक्किम र बर्मा) जन्मिएका हुन्। यसमा समावेश सबै हजुरआमाको जन्म विक्रम संवत‍्को दुई हजारभन्दा अगाडि नै भएको छ। यी कथामा हजुरआमाहरूको निजात्मक जीवन मात्रै झल्कँदैन, बरु नेपालको राणाकालीन अन्तिम समयदेखि करिब करिब २०२० सालसम्मको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक इतिहास पनि मज्जाले झल्किन्छ। तत्कालीन नेपाली समाजको सम्पत्ति सम्बन्ध, पुरुष र महिलाबीचको सम्बन्ध, विवाह सम्बन्ध र महिलाको सामाजिक स्थितिबारे पनि कथामा जानकारी पाइन्छ। 

तत्कालीन नेपाली समाजमा रक्त शुद्धतामा आधारित वंशीय परम्परालाई अगाडि बढाउन पुरुषलाई धेरै महत्त्ववान् र महिलालाई महत्त्वहीन बनाइन्थ्यो भन्ने कुरा पनि कथाहरूले बोल्छन्। हुन त, संविधानले महिलाका लागि केही प्रगतिशील व्यवस्था गरे पनि सम्पत्ति सम्बन्ध र त्यसले निर्माण गर्ने सामाजिक चेतनामा अझै नेपाली समाजको आधारभूत चरित्रमा खासै परिवर्तन भएको देखिँदैन। तर, पुस्तकमा प्रस्तुत नेपाली समाज र आजको नेपाली समाजमा केही परिवर्तन अवश्य भएका छन्। ती परिवर्तनहरूलाई तुलनात्मक अध्ययन गर्ने र सामाजिक जीवनमा काम गर्न खोज्ने हरेकका लागि सन्दर्भ सामाग्री भने पुस्तक अवश्य हुनेछ।

मूलतः इतिहास वर्चस्वशाली विचारको लेखिने गरेको छ, जसबाट नेपाल टाढा रहने कुरै भएन। सोही कारण महिला नेपाली इतिहासको रङ्गमञ्चमा कहिल्यै देखा परेको देखाइएन। तर, पत्रकार अमृता लम्सालले नेपाली महिलाको जीवन्त अनुभूतिहरूलाई यस 'कथा'मार्फत लिपिबद्ध गर्ने कोसिस गरेकी छन्। सरकारी इतिहासले छुटाएका हजुरआमाहरूका अनुभूतिमध्ये केहीलाई लम्सालले 'हजुरआमाका कथा'मा लिपिबद्ध गरेकी छिन्। त्यस अर्थमा प्रस्तुत पुस्तक सफल भएको छ।  

पुस्तकले तत्कालीन समाजमा रहेको बालविवाह, बहुविवाह, महिलाप्रतिको हेयपूर्ण दृष्टिकोण जस्तै: महिलाले पढ्दा बोक्सी बन्छ, महिलाले पढिन् भने पोइल जान्छन् भन्ने धारणालगायत आदि नेपाली समाजको महिलाप्रतिको चिन्तनलाई देखाएको छ। साथै, महिलाहरूले अध्ययन गर्न र स्वतन्त्रतापूर्वक निर्णय लिन पाए भने वैयक्तिक जीवनका साथै पारिवारिक र सामाजिक जीवन कति समृद्ध हुँदो रहेछ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ। 'हजुरआमाका कथाहरू' अत्यन्तै विशिष्ट र महत्त्वपूर्ण सन्दर्भ सामग्री हुँदाहुँदै पनि केही विषयमा ध्यान नपुगेको र केही विषयलाई फरक शैलीमा प्रस्तुत गर्न खोजिएको भान हुन्छ, जुन विषयमा यहाँ चर्चा गरिएको छ।    

दक्षिण एशियाली समाज जातको जन्जिरले थिलथिलो छ। खासगरी भारत र नेपालको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक संरचनाहरूको निर्माण जात व्यवस्थाको सोपनतन्त्रमा आधारित छ। जात व्यवस्थाको सोपानतन्त्रमा ब्राह्मण सबैभन्दा माथि र दलित (शूद्र) सबैभन्दा पिँधमा हुन्छन्। ब्राह्मण परिवारमा जन्मनेबित्तिकै सामाजिक हैसियत स्वतः प्राप्त हुने र श्रेष्ठ क्षमताको व्यक्तिको रूपमा गनिने सामाजिक अभ्यास अझै यथावत् नै छ। साथै, दलित समुदाय जन्मेकै आधारमा सामाजिक हैसियत कमजोर हुने र हेयका दृष्टिले हेरिने गरिन्छ। आजको वैज्ञानिक युगमा त यस्तो क्रूर र अमानवीय व्यवहार नेपाली समाजमा यथावत् छ भने आजभन्दा ७०/८० वर्ष अगाडिको अति पिछडिएको धार्मिक समाज (मनुस्मृति र जंगबहादुरको मुलुकी ऐनले काम गरेको समाज) मा जात व्यवस्थाको बर्बरता र क्रूरताको अवस्था सजिलै कल्पना गर्न सकिन्छ।

त्यसमाथि दलित महिलाहरू त पितृसत्ता र जात व्यवस्थाको दोहोरो जन्जिरबाट उत्पीडनमा पर्थे। लम्सालले पुस्तकमा दलित समुदायको महिलाको अनुभूति पनि समावेश गरेकी छन्। उनले कान्छी दुलाल अर्थात् राजनीतिज्ञ तथा साहित्यकार आहुतिको आमालाई प्रतिनिधिको रूपमा राखेकी छन्। एक जनालाई मात्र राखिएकोले रित पुर्‍याउने उद्देश्यले मात्रै राखेकोझैँ देखिन्छ। कथामा कान्छी दुलालको जीवन अनुभूतिमा उनले भोगेको पितृसत्ताको उत्पीडन र जात व्यवस्थाको जन्जिरलाई खासै महत्त्व दिइएको देखिँदैन। अझ कान्छी दुलालले जातीय विभेद नभोगेको भनिएको कुरालाई विशेष प्राथमिकता दिइएको छ। 

उनीहरू आर्थिक रूपले सम्पन्न भएकाले जात व्यवस्थाबाट छुटकारा पाएको तर्क पत्रकार लम्सालले गरेकी छन्, “आर्थिक सशक्तीकरणको पाटोले विभेदलाई कसरी न्यून पार्छ भन्ने उदाहरण पवनलक्ष्मी  (कान्छी दुलालकी जेठी छोरी पत्रकार लम्सालले अन्तरवार्ता लिँदा आमासँगै बसेकी हुन्छिन्) को भनाइबाट देखिन्छ।" (हजुरआमाका कथा-पेज १९) तर, कान्छी दुलालसँगको थप कुराकानीकै क्रममा दलित र गैरदलितको गाउँमा पानीको धारो भने फरक फरक भएको बताउँछिन्। कान्छी भन्छिन्, "उनीहरूको पँधेरो भिन्नै, हाम्रो पँधेरो भिन्नै थियो। हेर्नुस् है, यता चाहिँ हाम्रो, यता पनि भिन्नै भो, उता पनि भिन्नै भो। त्यो बेला दुईथरी नै पँधेरो थियो। हाम्रो धाराबाट हामी पानी लिन्थ्यौँ।" (हजुरआमाका कथा पेज २००) 

लम्सालले यस तर्कलाई थप जोडका साथ उठाइनुपर्छ भन्ने कुरा महसुस गरेकी छैनन्। उनले जति जातीय विभेद नभोगेको भनिएको कुरालाई बल दिएकी छन्, त्यति नै पानीको पँधेरो दलित र गैरदलितबीच फरक रहेको कुरालाई खास महत्त्व दिएकी छैनन्। बरु लम्सालले कान्छी दुलालको पारिवारिक सम्पन्नताका कारण तुलनात्मक रूपले जात व्यवस्थाको जन्जिरबाट कम उत्पीडित हुनु परेको कुरालाई काँध बनाएर ‘जात व्यवस्था भन्ने कुरा कहाँ ठूलो हो र?’ भन्नेतर्फ संकेत गरेझैँ लाग्छ। जात व्यवस्था आर्थिक शोषणको जगमा मात्रै उभिएको छैन कि यसको सांस्कृतिक र राजनीतिक पाटो पनि छ। त्यसैले आर्थिक सम्पन्नताले मात्रै जात व्यवस्थाबाट छुटकारा पाइँदैन। राजनीतिक र सांस्कृतिक संरचना पनि भत्काउनु पर्छ भन्ने आहुतिले पत्रकार लम्सालले लेखेको आफ्नै आमाको अनुभूति पढ्दा के प्रतिक्रिया दिए होलान्?

पुस्तकमा पत्रकार लम्सालले नेपाली समाजको आधारभूत चरित्र र विविधतालाई खासै महत्त्व दिइएको पाइँदैन। कथाका २३ मध्ये खस आर्य समुदायका महिलाका कथा १३ वटा छन्। पाँच जना नेवार समुदाय, तीन जना राई, एक जना गुरुङ र एक जना मुस्लिम समुदायकी महिलाको कथा समाविष्ट छन्। नेपाली समाज अत्यन्तै विविधतायुक्त छ। यहाँका उत्पीडन र सामाजिक असमानताहरू खप्टिएर रहेका छन्। हरेक समुदायका महिलाले फरक फरक खप्टिएका उत्पीडन भोगिरहेका छन्, जसलाई पुस्तकमा ठाउँ दिइएको छैन। एउटै सामाग्रीमा सबै समुदायका महिलाको अनुभूति समावेश गर्न सम्भव छैन र लेखकको आफ्ना सीमितता हुन्छन् भन्ने तर्क आउन सक्छ। तर, न्यूनतम रूपमा पनि केही समुदायका महिलाको कथा लेखकले छुट्याउनुले लेखकको यसप्रति असंवेदनशीलता प्रस्टिन्छ।

नेपालको इतिहासमा तामाङ समुदायलाई राज्य तहबाटै बर्बर र क्रूर व्यवहार भएको थियो। उनीहरूलाई जंगबहादुरको मुलुकी ऐनमा 'मासिन्या मतवाली'मा राख्दै सहजै मार्ने काम भयो। उनीहरूको समग्र वृत्ति विकासमा रोक लगाइयो। उनीहरूले सरकारी तवरबाट काठमाडौँका घर बनाउने र सेनामा पनि भरिया भन्दा माथिल्लो तहमा बसेर काम गर्न पाएनन्। तामाङ समुदाय काठमाडौँ उपत्यकामा नै प्रशस्त बसोबास गर्दछन् र उपत्यका वरिपरि उनीहरूको बसोबासको मुख्य थलो नै हो। लम्सालले तामाङ समुदायको महिलाको जीवन भोगाइलाई हजुरआमाहरूको लस्करमा अटाउन सकेकी छैनन्।  

पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तारको अभियानसँगै गोरखाली राज्यमा गाभिएका केही क्षेत्र वा भूगोल उपेक्षामा परे। गाभिएका राज्यका मान्छेहरूको राज्यको हिस्सेदारीमा स्वामित्व हुन पाएन। त्यो अवस्था अझैसम्म पनि केही हदसम्म यथावत् छ, जसमा तराई-मधेश, राप्ती नदी पारीको कर्णाली र सुदूरपश्चिम पर्छन्। तराई-मधेशका महिलाको कथा पहाडे राष्ट्रवादको ब्लकेडमा अझै कहिलेसम्म पर्ने हो। अहिले पनि कर्णाली र सुदूरपश्चिमका महिलाको हालत मध्यकालीन धार्मिक चङ्गुलबाट बाहिर आउन पाएको छैन। छाउपडी प्रथा, देउकी प्रथा आदि धार्मिक रुढी बाँकी नै छन्। ती महिलाको जीवन अनुभूति यो पुस्तकमा समेटिएको छैन। 

पुस्तकमा समाविष्ट अधिकांश कथा काठमाडौँको सार्वजनिक वृत्तमा चहलपहल भएका व्यक्तिका आमाका छन्। केही त स्वयं नै सार्वजनिक ख्यातिप्राप्त आमाहरूका छन्। साहित्यकार/राजनीतिज्ञ आहुतिकी आमा कान्छी दुलाल, राजनीतिज्ञ विमला राई पौडेलकी आमा इन्द्रमाया पौडेल, व्यापारी तथा एनआरएन नेता जीवा लामिछानेकी आमा हरिकला लामिछाने, जुगल भुर्तेलकी आमा रुद्रकुमारी भुर्तेल, पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलकी आमा चोककुमारी पोखरेल, स्वयं लेखक लम्सालकी हजुरआमा कृष्णकुमारी पोखरेल, कार्टुनिस्ट राजेश केसीकी आमा जानकी केसीलगायत केही ख्यातिप्राप्त मान्छेका आमा छन्। 

त्यस्तै, स्वयं ख्यातिप्राप्त हजुरआमाहरू तुला राणा, रत्ना राई, नारायणदेवी श्रेष्ठ, भगवती उप्रेती, शान्ति ठटालका कथा समेट्दै गर्दा लम्साल आफ्नो पुस्तकको प्राक्कथनमा लेख्छिन्, “यो पुस्तकको उद्देश्य घरमा बसेर परिवारका लागि श्रम र समय खर्चिएका तर सार्वजनिक पहिचान नपाएका हजुरआमा उमेरका महिलाहरूले भोगका अनुभव, समय र समाजका कुरा समकालीन पुस्ताको अगाडि पस्कनु हो।" तर पाठकलाई भने पत्रकार लम्सालको उद्देश्य र कथामा तालमेल नमिलेको अनुभूति हुन्छ। 

नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोतसाधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ। हजुरआमाका कथामा समावेश २३ मध्ये २२ जना आमाले तत्कालीन समाजको कुलीन परिवारको प्रतिनिधित्व गर्छन्। तीमध्ये केहीको त प्रत्यक्ष रूपमा राजदरबारसँग सम्बन्ध भएको र त्यसबाट फाइदा पाएको कुरा कथाबाटै बुझिन्छ। सात जनाले औपचारिक शिक्षा लिएका छन् भने अधिकांशले सामान्य लेखपढ गर्न जानेका छन्। त्यतिखेरको समाजमा यति कुरा नै पनि ठुलो हो। साथै त्यतिखेरको समाजमा उनीहरूले आम आमाले पाउनेभन्दा बढी नै सहुलियत पाएको उनीहरूको कुराकानीबाट प्रस्ट हुन्छ। वास्तवमा यी कथामा आम आमा र भुईँ तहको प्रतिनिधित्व गर्ने कथा एक जनाको मात्रै छ, पशुपति वृद्धाश्रममा बसिरहेकी सान्नानीको। ती सान्नानीले मात्रै तत्कालीन नेपाली समाजको आम महिलाको व्यथा बोकेकी छन्। अधिकांश कथाका आमाले कुलीन परिवारको प्रतिनिधित्व गर्छन्। त्यसैले या त उनीहरू स्वयं या उनीहरूका सन्तानहरू नेपालको सार्वजनिक वृत्तमा रजगज गरिरहेका छन्। 

केही कुलीन महिला, केही मध्य र पूर्वी पहाडी महिला, केही खस/आर्य बाहुन र क्षेत्री, र केही जनजातिभित्रका उच्च वर्गका महिलाहरूको कथालाई देखाएर आमनेपाली महिलाको ७०/८० वर्ष अगाडिको इतिहास यस्तो थियो भनेर देखाउन खोजिएको छ। साथै, रित पुर्‍याउनलाई एक जना सम्पन्न दलित महिलाको प्रतिनिधित्वलाई राखेर दलित महिलाको स्थितिलाई पनि नजरअन्दाज गर्न खोजिएको छ। पुस्तकको प्राक्कथनमा लेखक लम्सालले लेखेकी छिन्, ”मेरो पुस्तक हजुरआमाका कथा कुनै विशेष प्रोजेक्टअन्तर्गत होइन। अनि कुनै आर्थिक सहयोग पाएर गरिएको पनि होइन। अन्तर्वार्ताको कुनै निश्चित मापदण्ड कथा छनोटको कुनै विशेष प्रक्रिया अपनाइएको होइन। साथै चाहँदाचाहँदै पनि आवश्यक स्रोतसाधनको अभावले काठमाडौँ बाहिर गएर संकलन गर्न सकिएन।” (हजुरआमाका कथा, प्राक्कथन, पेज-ग) 

तर, सबै क्षेत्र र समुदायका महिलाको कथालाई समावेश गर्न दृढतापूर्वक चाहेको भए आजका दिनमा काठमाडौँ उपत्यकामा सो सम्भव छ। यहाँ ७७ वटै जिल्लाका मान्छे बसोबास गर्छन्। स्रोतसाधनलाई बिचार्दा पनि काठमाडौँमै बसेर सबै क्षेत्रका हजुरआमाका अनुभूतिलाई समेट्न सकिने अवस्था छ। लम्साल स्वयंले नेपाली इतिहासमा महिलाको स्थान र भूमिकालाई लिपिबद्ध गर्ने कुरामा पुरुषले खास महत्त्व नदिएको र त्यसैले आफूले यो दायित्व उठाउन खोजेको आशय प्राक्कथनमा प्रस्तुत गरेकी छन्। तर, सरकारी पुरुष इतिहासकारकै प्रक्रियालाई महिला संस्करणमा कथामा पछ्याइएको भन्न दुःखसाथ कर लाग्छ। पुस्तकमा समावेश अधिकांश कथा पात्रमा विविधता देखिएझैँ लागे पनि सारमा खास भूगोल, समुदाय र पहिचानकै कथा यसमा समेटिएको छ। 

लम्सालजस्तो प्रस्ट महिलावादी लेखकले समेत महिलाले भोगेको खप्टिएको उत्पीडनलाई पुस्तकमा न्याय गर्न नसकेको महसुस हुन्छ। यस कुरामा ध्यान नदिएको कुरा एक्लो लेखकलाई मात्रै लगाउन सकिन्न। प्रकाशक र प्रकाशनपूर्व यी कथा प्रकाशन गर्ने अनलाइन मिडियाको पनि यसमा ध्यान नपुगेको बुझिन्छ। किताबकै रूपमा प्रकाशन गर्ने भइसकेपछि प्रकाशकले ध्यान दिनुपर्थ्यो।


सम्बन्धित सामग्री