Saturday, June 22, 2024

-->

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा, गुरुङ वा मगर किन छानिएनन्?’

‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा गुरुङ वा मगर किन छानिएनन्’

नेपाली फिल्मवृत्तमा नवीन सुब्बा फरक शैलीको निर्देशकका रूपमा परिचित छन्। फिल्मको ‘अनुहार’ मौलिक हुनुपर्छ भन्ने विचार राख्ने सुब्बाको नयाँ फिल्म गाउँ आएको बाटो प्रदर्शनको संघारमा छ। यसअघि बुसान, टोरन्टोलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा देखाइएको यो फिल्म जेठ २५ देखि नेपालका हलमा लाग्दैछ। यो फिल्मसहित समग्र नेपाली फिल्मबारे निर्देशक सुब्बासँग उकालोका लागि श्याम राना मगरले गरेको कुराकानीः

एक दशकपछि तपाईंको नयाँ फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शन हुँदैछ। यो फिल्मको विषयवस्तु के हो? 
यो फिल्म समकालीन समयको चित्रण हो। नेपाली फिल्ममा समकालीन समयको चित्रण त हुन्छ तर धेरै काल्पनिक बनाइन्छ। गाउँ आएको बाटो यथार्थको अलि नजिक छ। त्यसको अर्थ डकुमेन्ट्री जस्तो पनि होइन, कल्पनाशीलता यथेष्ट छ। यो फिल्म नेपाली दर्शक साथै अन्तर्राष्ट्रिय दर्शकको समेत रुचिलाई एक ठाउँमा ल्याउने कोशिश हो। पहिला ‘नुमाफुङ’ धेरै जनाले हेर्नु भएको छ। यो फिल्म नुमाफुङको विस्तार हो। नुमाफुङमा टेक्निकल्ली समस्या थिए। राम्रो प्रविधि उपयोग गर्न पाइएन। 

त्यसैगरी, नेपाली फिल्मवृत्तमा राईहरूको कथा पहिलोचोटी आउँदै छ। राईको भूमि, जीवनशैली, रहनसहन पहिलोचोटी पर्दामा आउँदै छ। राई समुदायको सामाजिक र सांस्कृतिक अध्ययन, मुन्धुम, उनीहरूको परम्परागत ज्ञान र शिल्प फिल्ममा देखाइएको छ। तर यो राईहरूको मात्रै कथा होइन। सबै बाबुहरूले छोराप्रति गरिरहेको जुन संघर्ष छ, त्यसको चित्रण हो। विदेशका फिल्म फेस्टिभलमा ‘यो हाम्रै कथा हो’ भनेर धेरै जनाले प्रतिक्रिया दिनु भएको छ।

हामीले दयाहाङ (राई)लाई बारम्बार अभिनय दोहोरियो भनेर आलोचना गर्ने गरेका छौँ। यो फिल्ममा उहाँले आफ्नो जीवनकालकै उत्कृष्ट अभिनय गर्नुभएको छ।

फिल्ममा मौलिक कथा वाचनको पक्षमा तपाईं पहिलेदेखि नै वकालत गर्दै आउनुभएको छ। तपाईंको फिल्ममा मौलिकपन देख्न पाइन्छ? 
नेपाली चलचित्र मौलिक हुनुपर्छ, यसको अनुहार आफ्नो हुनुपर्छ भनेर त मैले बारम्बार भन्दै आइरहेको छु। नेपाली सिनेमा विश्वबजारमा मात्रै होइन घरेलु बजारमै टिक्ने हो भने पनि आफ्नो अनुहार खोज्नुपर्छ। हामी बलिउड अथवा मद्रासको सिनेमा हेर्छौं। त्योभन्दा भिन्न भएन भने उनीहरूसामु टिक्न सक्दैनौँ। एक त फिल्ममा उनीहरूको लगानी ठूलो हुन्छ। अर्को, उनीहरूको प्रभाव हामीमाथि छ, त्यो कारणले गर्दा उनीहरूको जस्तै सिनेमा बनायौँ भने दर्शकले छुट्याइ हाल्छन्। समाजसँग जोडिएर दृश्य र भाषामा हाम्रो कुरा गर्न सक्यौँ भने मात्रै नयाँ हुन्छ।

गाउँमा बाटो पुगिसकेपछि बाबुछोराको सम्बन्धमा आउने दरारको कथा फिल्ममा देखाइएको यसको टिजरबाट बुझिन्छ। नेपाली समाजमा बाटोको बिम्ब कस्तो हो? फिल्ममा कसरी प्रयोग भएको छ?
बाटोलाई सबै क्षेत्रसँग जोड्नुपर्छ। शिक्षाको विषय पनि फिल्ममा छ। बच्चा स्कूल जान्छ। स्कूलको प्रणाली के छ भन्ने विषयलाई यसले छुन्छ। अहिले शिक्षाप्रणाली नै आधुनिक शिक्षासँग जोडिइसकेको छैन। अझै परम्परागत पाठ्यक्रम छ। आधुनिक शिक्षण पद्धति गाउँ पुर्‍याउन सकिरहेका छैनौँ। सडक आइसकेपछि सडकले ल्याउने भनेको सूचना हो। बजार हो। त्यो बजारसँग टिक्न आदिवासी वा अन्य समुदायले पनि नयाँ परिस्थितिमा अनुकूलन हुनुपर्छ। तर हाम्रो सामाजिक, आर्थिक र राजीतिक संरचनाले भुईंमान्छेलाई बाहिर धकेलिदिन्छ। 

चीनबाट रेल ल्याउने कुरा बेलाबेला उठ्छ। चीनबाट रेल ल्याउँदा विकास भए जस्तो देखिएला। चीनबाट रेल आउँदा बजार मात्रै आउँछ कि यताबाट हाम्रो केही जान्छ? हाम्रो उत्पादन केही पनि गएन भने त गरिबी थप्ने काम मात्रै भयो। त्यसको अर्थ सडक, भौतिक संरचना निर्माणको विरोध होइन। रेलले जे सामान भरेर ल्याउँछ त्यस्तै सामान यताबाट पनि पठाउनुपर्‍यो। त्यसले मात्रै सन्तुलन मिलाउँछ। जस्तो, सडक पुगेर पनि गाउँमा विकास किन पुगेन त? गाउँ किन रित्तो हुनु परेको हो? यो पक्षलाई ‘गाउँ आएको बाटो’ले प्रश्न गर्छ। फिल्मको मूल विषय बाबुछोराको सम्बन्धमा सडकले कसरी दरार ल्याउँछ भन्ने हो। 

बुसान, टोरन्टो जस्ता प्रतिष्ठित फेस्टिभलमा फिल्म देखाइसक्नु भयो? नेपाली विषयबस्तुले विश्वपरिवेशका कस्ता कथासँग प्रतिस्पर्धा गर्नुपर्दोे रहेछ?
टोरन्टो फिल्म फेस्टिभलमा चार–पाँच हजार फिल्म प्रतिस्पर्धामा उत्रिन्छन्। त्यसबाट छानिएर ३०–४० फिल्म मात्रै देखाइन्छ। ‘गाउँ आएको बाटो’ नयाँ कथा हो। त्यस कारणले छानियो। बुसान पनि त्यस्तै खालको प्लाटफर्म हो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा संसारकै उत्कृष्ट फिल्महरू आउने हुँदा हाम्रो फिल्म पनि त्यो कोटीमा पर्‍यो भनेर मान्नुपर्छ। यसले हाम्रो सिनेमाबारे बहस सिर्जना गराउने र सञ्चारमाध्ययममा परिचर्चा हुने गर्छ।

पहिले नेपालबाट फेस्टिभलमा सिनेमा जानै मुस्किल थियो। अहिले सकारात्मक टिप्पणी हुन थालेको छ। बिस्तारै हामी घेरा नाघ्दैछौँ। यो एउटा उपलब्धि हो। तर बीचमा हरायौँ भने त्यसलाई पूरा गर्न समय लाग्छ। हामी मेनस्ट्रिम सिनेमा जसलाई भन्छौँ, जुन घरेलु बजारलाई मात्रै लक्षित गरेर बनाउछौँ, ती फिल्मलाई अलिकति शिल्प र प्याकेजिङमा मिहिनेत गर्ने हो भने फेस्टिभलमा जान सक्छन्। जस्तो केही समयअघि प्रदर्शनमा आएको ‘डिग्री माइला’ले शिक्षा पद्धतिमाथि प्रश्न गरेको छ। संसारभरि नै शिक्षा पद्धतिमाथि प्रश्न खडा भइरहेका छन्। युरोपियनहरू पनि आफ्नो शिक्षा प्रणालीसँग खुशी छैनन्। त्यसैले यस्ता फिल्म फेस्टिभलमा जान सक्छन्। तर क्राफ्टमा जति मिहीन काम गर्नुपर्ने हो नगरी हतारो गर्ने बानी छ। 

फिल्मको गुणवत्ता मापन गर्ने अन्तर्राष्ट्रिय बजार फेस्टिभल मात्रै हुन् त?
गुणवत्ता मापन गर्ने त फेस्टिभल, अवार्डहरू नै हो। कस्तो फेस्टिभलमा जान्छ, कस्तो अवार्ड पाउँछ भन्ने हो। विश्वभर ४० हजारभन्दा बढी फेस्टिभल आयोजना हुन्छन्। तर महत्वपूर्ण फेस्टिभलमा सहभागी हुनु ठूलो कुरा हो। कान्समा जित्ने फिल्मले बजार विस्तार गर्छ। अस्कर जित्यो भने २५ देखि ५० प्रतिशतसम्म त्यसकोे बजार हुन्छ। यो पटक फेस्टिभलमा भुटानका निर्देशक पावोको एउटा फिल्म थियो हाम्रो फिल्मसँगै। अघिल्लो वर्ष उनको फिल्म अस्करमा थियो। उनले अर्को फिल्म ‘द मन्क एन्ड गन’ बनाएका छन्। त्यो फिल्म हामीसँगै थियो। क्रिटिकहरूले त्योभन्दा हाम्रो फिल्मको राम्रो तारिफ गरे। तर त्यो फिल्म धेरै मान्छेहरूले खोजिरहेका थिए। अस्कर पुगिसकेको फिल्मले त्यत्रो प्रभाव पार्छ। 

जापानी निर्देशक कोरेइदा, हामागुछीको सिनेमा आउने बित्तिकै हेर्नैपर्छ भनेर युरोप, अमेरिका, पूर्वी एशियाका देशहरूमा बजार पाइहाल्छ। निर्देशकको इमेजले पनि फरक पार्छ। मुख्यतः हाम्रो सन्दर्भमा फेस्टिभल नै हो। फेस्टिभल भनेको कलाकार पनि विश्वबजारमा पुग्ने प्लाटफर्म हो। हाम्रा कलाकार कोरियन फिल्ममा किन काम नगर्ने? हाम्रो एक्सपोजर नै छैन। जति धेरै फेस्टिभलमा काम गर्‍यो कलाकार एक्सपोज हुन पाउँछन्। अमेरिकन, जापानीज सबै खाले फिल्ममा काम गर्ने अवसर आउँछ। अहिले त नेपालीहरू विश्वका सबै कुनामा जोडिइसके। नेपालमै आएर फिल्म बन्नुपर्छ भन्ने होइन। 

अर्को, हाम्रो क्षमताको अभाव पनि हो कि! अहिले तेन्जिङ नोर्गेमाथि फिल्म बन्दैछ। त्यसमा शेर्पा छान्नुपर्ने, शेर्पा नछाने गुरुङ, मगर छान्नुपर्ने। किन छानिएनन्? हाम्रा एक्टरले नै पो त्यो क्षमता विकास गरेनन् कि!

मौलिक कथा भन्ने जमर्को समुदायगत रूपमा हुँदै आएको छ। तर सफलता उन्मुख देखिँदैन। उनीहरू कहाँ चुकिरहेको देख्नुहुन्छ?
यो त फिल्म मेकरमै भर पर्छ। सामुदायिक कथा भन्नकै लागि दशकभन्दा बढी समय खर्चिनुभएको छ धेरै मेकरहरूले। नीतिगत तहमा घचघच्याउने काम पनि भइरहेको छ। धेरै साथीहरू हुनुहुन्छ, संघसंस्था पनि छन्। तर कहाँ चुक्यौँ? मलाई लाग्छ हामीले सानो सपना देख्यौँ, समुदायभित्र मात्रै देखाउने। मेरो सिनेमा समुदायले मात्रै हेर्ने होइन, समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राइहरूले पनि हेरुन् भनेर सोचेनौँ। 

ग्लोबल्ली जानुपर्छ भनेर पनि सोचेनौँ। सानो लेभलमा फिल्म बनाएर प्रविधि कमसल भए पनि हाम्रो प्रकारको फेस्टिभल पनि त छ। समुदायको फेस्टिभल। आदिवासीले बनाउने सिनेमाको लागि अलग्गै सेक्सन छ। टोरन्टो र बर्लिनमा पनि अलग्गै सेक्सन छ। तर त्यसमा हाम्रो प्रयास भएन। भाषामा पहुँच कम हुँदा पनि आत्मविश्वास जागृत भएन कि! त्यसको लागि अरू कसैको सहयोग लिन पनि सकिन्छ। त्यसरी नसोचेको कारण पनि होला अघि बढ्न नसकेको।

तपाईंको फिल्म लामो अन्तरालपछि आउँदैछ। कठिन साधनामा लाग्नुभएर हो कि बजारसँगको डरले कम फिल्म बनाउनुहुन्छ?
पहिला आफ्नो लागि फिल्म बनाउने हो। आफूलाई मन पर्ने सिनेमा बनाइसकेपछि दर्शकले पनि मन पराउँछन्। नेपाली सिनेमामा मौलिकताको खोज सजिलो छैन। विश्वबजारमा हेर्दा वर्षौं लगाएर उनीहरूले फिल्म बनाइरहेका छन्। एक्लो प्रयास होइन, सामूहिक प्रयासले। हामीले त्यसरी बुझेनौँ। पहिला डेट एनाउन्स गर्ने, अनि स्क्रिप्ट लेख्न शुरू गर्ने। २०–२२ दिन सुटमा जाने। त्यसरी कस्तो फिल्म बन्छ? घरेलु दर्शकको लागि फिल्म बनाउनुहुन्छ भने ती दर्शकलाई ठगी रहनुभएको छ। 

विश्वमा ‘ओपन हाइमर’ जस्ता फिल्म आइरहेका छन्। हाम्रो फिल्म मेकरहरू पनि क्षमता नै नभएका होइनन्। त्यति छोटो समयमा फिल्म बनाउँदा ठिकठिकै, कहिले एकदमै चलेका पनि छन्। कुनैबेला कमसल बनिरहेको छ। 

विभिन्न भागहरू, कस्टुम डिजाइन, आर्टमा अलिकति काम गर्ने हो भने राम्रो प्रतिफल आउँथ्यो। अहिले जुन नेपाली फिल्म सफल भइरहेका छन्, ती फिल्मको पाँच ड्राफ्ट थप काम गरेको भए अर्कै हुन्थ्यो। मनसरा, डिग्री माइला, महाजात्रा, बोक्सीको घर चर्चित भए। यी फिल्ममा थप १० ड्राफ्ट काम गरेको भए सबै डिपार्टमेन्टमा ध्यान दिएको भए योभन्दा राम्रो व्यापार हुन्थ्यो। मैले पाँच वर्ष लगाएँ भने दुई वर्ष त लगाउनुपर्‍यो।

बलिउडमै पनि एक जना डाइरेक्टरको फिल्म ६–६ महिनमा त आउँदैन। ‘रामायण’ झण्डै १ हजार करोड रूपैयाँ लगानी गरेर बन्दैछ। त्यसमा कहिलेदेखि को–को अभिनय गर्नेदेखि स्टारकास्ट, स्क्रिप्टमा कसरी काम गरिरहेका छन्। मैले सुनेको झण्डै एक वर्ष यता उनीहरू त्यसैमा लागिरहेका छन्। अहिले पनि फ्लोरमा गएको छैन। ‘कल्की’ भन्ने सिनेमा करिब दुई वर्ष भइसक्यो निर्माण गर्न लागेको, अझैसम्म रिलिज डेट तोकिएको छैन। समय लिनुपर्छ।


सम्बन्धित सामग्री