काठमाडौँ– थापाथलीस्थित बागमती पुल तरेपछि ललितपुर महानगर शुरू हुन्छ। यहाँबाट मुख्य सडक हुँदै पुल्चोक, त्यहाँबाट देब्रेतर्फ गाःबहाल, मंगलबजार, सुन्धारा, ग्वार्को रुटमा टेम्पो चल्छ। कतिपय व्यक्ति यही रुटमा हरेक दिन कार्यालय, विद्यालय वा कलेज जान्छन्। घरबाट यदाकदा निस्किएर यो रुट प्रयोग गर्ने पनि छन्। तर वैशाख २९ गतेयता यो सडकमा टेम्पो चलेको छैन।
अहिले यहाँ निजी सवारी साधानलाई पनि निर्बाध आवतजावत सहज छैन। सबैभन्दा लामो समय चल्ने रथ यात्रा मानिने रातो मत्स्येन्द्रनाथ (बुंगद्यः)को जात्रा शुरू भएको छ। रथ यही रुट भएर तानिन्छ।
पुल्चोकस्थित योगम्बरको शक्तिपीठ रहेको स्थानमा निर्माण भएको रथ वैशाख २९ गते पुल्चोक हुँदै गाः बहाल निस्कियो। रथले पुल्चोक छाडेर गाः बहाल हुँदै भित्री पाटन क्षेत्र प्रवेश गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा शुरू हुन्छ। १४ सय वर्ष पुरानो मानिने यो जात्रा हाल सुन्धारामा पुगेको छ। यहाँबाट चक्रबहिल हुँदै लगनखेल पुग्नेछ।
जात्राको यो रुट ६ दशकमा धेरै परिवर्तन भएको छ। सामाजिक सञ्जाल फेसबुकमा राखिएको २०२२ सालको गाः बहाल क्षेत्रको तस्वीरमा पातलो बस्ती, बस्तीमा दुई तले घर र खाल्डाखुल्डी बाटो देखिन्छ। तर अहिले पुल्चोकको अशोक थुरदेखि गाः बहालसम्म व्यवसायिक भवन, तुलनात्मक फराकिलो सडक, पार्किङ स्थल, रथभन्दा उचाइका घर र ठूला प्रशासनिक भवन बनिसकेका छन्।
‘बुंगद्योया बाखं’ पुस्तकका लेखक ज्योतिरत्न शाक्य भन्छन्, “पहिलेका बाटो जात्रापर्वमा रथ गुडाउने योजनाले बनाइएका थिए। रेलको पट्टीजस्तै गरी घचा (पाङग्रा) गुड्नको लागि खाल्डोजस्तो गरी निर्माण भएको थियो। जात्राबाहेक अन्य समयमा ढल बगाउनको लागि प्रयोग हुन्थ्यो।”
यो वर्ष जात्रा शुरू भएर गोधुली साँझमा मत्स्येन्द्रनाथको रथ गाः बहालस्थित नः टोल पुग्ने क्रममा सुप्रिन्य शाक्यका काकाको घरको कौसीमा ठोकियो। गत वर्ष पनि उनैको घरको कौसीमा रथ ठोकिएको थियो। त्यति बेला कौसीमा रहेको गमला फुटेर छरियो। “धन्न कौसीबाट बाहिर खसेन, त्यति ठूलो कुरा भएन,” सुप्रिन्यले भने।
देवताको रथले घर छुए ‘भाग्यमानी’ हुने जनविश्वास छ। यो जात्रामा सम्पूर्ण पाटनबासी उल्लासमा मग्न हुने सुप्रिन्स बताउँछन्। यसमा युवाको सहभागिता पनि उत्साहजनक हुन्छ। “मेरो हजुरबाको पालामा अहिलेजस्तो ठूला भवन संरचना थिएनन् रे। रथ ढल्के पनि रथलाई नै क्षति हुने गर्थे, घर कम थिए। देवताको भन्दा ठूलो घर बनाउन नहुने मान्यता थियो रे,” उनी भन्छन्।
रथ यात्राको रुट
वर्षा र सहकालको देवता मानिने बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को मूतिलाई हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन रथारोहण गराइन्छ। त्यसपछि वैशाख शुल्क चतुर्थीका दिन रथ यात्रा गरी जात्रा थालिन्छ।
मत्स्येन्द्रनाथको जात्रामा ४२ फिट लामो रथलाई पुल्चोकबाट गाः बहाल पुर्याएपछि विधिवत् रूपमा जात्रा शुरू हुन्छ। गाः बहाल हुँदै रथलाई नगरका विभिन्न टोल तथा पीठमा परिक्रममा गराएर अन्त्यमा जावलाखेलमा भोटो देखाएपछि जात्रा सकिन्छ। नगर परिक्रमाको लागि सामान्यतः आठ दिन लाग्छ। तर रथको अवस्था बिग्रिए वा ढल्किए कुनै स्थानमा एकभन्दा बढी दिन पनि रथ रोकिन्छ।
जात्रा इटी टोलबाट जावलाखेल पुर्याउन भने साइत हेरिन्छ। साइत नजुरे एक हप्तादेखि महिनौँ दिनसम्म पनि लम्बिन सक्छ।
यसपटक जात्राका लागि वैशाख १३ गते (वैशाख कृष्ण प्रतिपदा) पुल्चोकमा रथ बनाउन शुरू गरिएको थियो। वैशाख २७ गते रातो मत्स्येन्द्रनाथको मूर्तिलाई रथारोहण गरेपछि वैशाख २९ गते यात्रा थालिएको थियो।
पहिलो विश्राम गाः बहाल
जात्राको पहिलो दिन रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट तानेर गाः बहाल पुर्याइन्छ। गाः बहाल पुगेपछि त्यस रात उक्त टोलमा ‘छ्वय्ला भू’ अर्थात् छोयलासहितको सानो भोज गरिन्छ। दोस्रो दिन भुज्याः अर्थात् ठूलो/मुख्य भोज हुन्छ।
यस दिन टोलबासीले आफ्ना नखट्या अर्थात् ‘जात्रा चाडपर्वको भोज’ मनाउँछन्। यो दिन विवाहित छोरीचेलीलाई बोलाएर भोज खुवाइन्छ। गाः बहालमा करिब नौ टोल छन्। भुज्याःको दिन बिहानै टोलटोलमा गुठीबाट बाजासहित भजन गाएर देव परिक्रमा पनि हुन्छ।
स्थानीयका अनुसार गाः बहालको जात्रा काठमाडौँबासीको जात्राको रूपमा मानिन्छ। भुज्याःको दिन काठमाडौँबाट गएका मानिसहरूले पूजा आराधना गर्छन्।
दोस्रो विश्राम मंगलबजार
जात्राको दोस्रो दिन साँझ ४ बजेबाट गाः बहाल हुँदै मंगलबजारसम्म रथ यात्रा गरिन्छ। गाः बहालमा जस्तै यहाँ पनि टोलबासीले पूजाआजा तथा भोज गर्छन्।
तेस्रो विश्राम सुन्धारा
तेस्रो दिन मंगलबजारबाट रथ सुन्धारासम्म पुर्याइन्छ। सुन्धारा रथ पुगेको अर्को बिहान भुज्याःको दिन भक्तपुरबासीको चाडका रूपमा मानिन्छ।। भक्तपुरका बासिन्दा पता (झण्डा) लगायतका पूजासामग्रीसहित आउँछन्। यहाँ करिब १२ वटा टोल छन्।
सुन्धारामा रथलाई १८० डिग्रीमा घुमाएर मुख्य भाग उत्तरबाट दक्षिणतर्फ फर्काइन्छ।
चौँथो विश्राम चक्रबहिल
चौथो दिन सुन्धाराबाट चक्रबहिलसम्म रथ तानिन्छ। यो दिन रथलाई सुन्धाराबाट लगनखेलसम्मै लैजान पनि सकिन्छ। यद्यपि, सुन्धाराबाट लगनखेलको दूरी लामो भएको र रथको सहजता हेरेर चक्रबहिलमै राखिने गरेको स्थानीय बताउँछन्।
पाचौँ विश्राम लगनखेल
पाँचौ दिन रथ चक्रबहिलबाट लगनखेलसम्म तानिन्छ। चार मुख्यमध्ये तेस्रो पीठ यहाँ पर्छ। यसलाई मत्स्येन्द्रनाथको आमाको (डोला अजिमा) पीठ मानिन्छ। लगनखेलमा अन्य स्थानको तुलनामा बढी विधि हुने कारण रथलाई दुई दिन यहाँ राखिन्छ। १९ वटा टोल भएको लगनखेलमा भुज्याःको दिन ललितपुरबासीको जात्रा मानिन्छ।
छैटौँ विश्राम इटी टोल
लगनखेलबाट रथ तानेर छैटौँ विश्रामस्थल इटीसम्म पुर्याइन्छ। इटी टोलबाट थटी टोल लैजानुअघि रथको माथिल्लो भागबाट नरिवल खसाल्ने चलन छ।
सातौँ विश्राम थटी टोल
थटी टोलमा महिलाहरूले रथ तान्छन् जसलाई याकः मिसाया जात्रा पनि भनिन्छ। यसको अर्थ एकल रूपमा महिलाहरूको मात्र जात्रा भन्ने हुन्छ। थटीमा रहेको रथलाई जावलाखेल पुर्याउन साइत हेरेर मात्र तान्नुपर्छ। साइत नजुरेसम्म एक हप्ताको अन्तरालमा हेरिन्छ। शुभ साइत जुरेन भने हप्ता दिनदेखि महिनौँसम्म पनि रथ थटीमै हुन्छ।
जावलाखेलमा भोटो जात्रा
थटी टोलबाट जावलाखेलमा रथ पुर्याएको दिन भोटो जात्रा हुन्छ। जावलाखेलमा अर्को महत्वपूर्ण पीठ भएको मानिन्छ। रथ परिक्रमाको यो अन्तिम बिन्दु हो। त्यसपछि रातो मत्स्येन्द्रनाथलाई रथबाट निकालेर खटमा राखिन्छ। जावलाखेलको जात्रालाई कीर्तिपुरबासीको जात्रा पनि मानिन्छ।
जावलाखेललाई रातो मत्स्येन्द्रनाथको मूर्ति नगरबाट बाहिर लैजाने बिन्दुको रूपमा मानिन्छ। मूर्तिलाई खटमा राखेपछि एकान्तकुना, नख्खु खोला हुँदै बुंगमतीस्थित मत्स्येन्द्रनाथको मन्दिरमा ६ महिनाको लागि राखिन्छ।
भित्री शहरको बाटो र मुख्य पीठ
पुल्चोकबाट शुरू भइ गाःबहाल, सुन्धारा लुहिटी, लगनखेल र जावलाखेल गरी रथ परिक्रममाको चार वटा प्रमुख अध्याय भएको लेखक ज्योतिरत्न शाक्य बताउँछन्। यसलाई ‘पेयाँ’ भन्छ।
यी चार पीठमा योगाम्बर हुने उनले बताए। “खाल्डो परेको पीठमाथि नै रथलाई टेकाउने गरिन्छ,” उनी भन्छन्, “मत्स्येन्द्रनाथको रथ निर्माण पनि ठ्याक्कै पीठमाथि चार वटा खम्बा गाडेर हुने गर्छ।”
चार प्रमुख अध्यायमा पनि उनै योगाम्बरको पीठ भएको कारण ती स्थानमा रथ रोकिने शाक्यको भनाइ छ। हाल सडक कालोपत्रे भएको कारण यस्ता पीठको अस्तित्व हराउन थालेको छ। उनी भन्छन्, “गाः बहालमा पिच बाटोको कारण पीठ देखिँदैन। बुढापाकाले आफ्नो स्मृति र अनुभवको भरमा रथलाई निश्चित पीठमा रोक्ने गर्छन्।”
मुख्य चार स्थानबाहेक मंगलबजार, सुन्धारा, चक्रबहिलमा रोकिने क्रममा रुट थपिँदै गएको शाक्यले बताए। “पुल्चोक हुँदै गाः बहालतर्फ जाने रुट परम्परादेखि नै भित्री शहर जाने बाटो हुन्। जात्रामा देवताको दर्शनको लागि मानिसको बस्तीमा नै रथ परिक्रममा गराइन्छ,” उनले भने।
यसबाहेक १२ वर्षको जात्रामा बुंगमतीबाट सैबुं, नख्खु, यम्पी (झम्सिखेल) हुँदै पुल्चोकमा रथ ल्याइन्छ। “बुंगमतीबाट पाटन प्रवेशका लागि यम्पी (झम्सिखेल) भन्ने ठाउँमा रोकिन्छ। उक्त जग्गा अहिले चौधरीहरूले हडपेको स्थान हो,” शाक्य भन्छन्, “कथनअनुसार, मत्स्येन्द्रनाथलाई फर्काउन उनका आमाबुबा मायावी रूपमा त्यही लुकेर बसेका थिए।”