Thursday, February 29, 2024

-->

इतिहास र संस्कृतिसँग जोडिएको गोरखा दरबारको पर्यटन

५०० भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। दरबार पुनःनिर्माणपछि पूर्ववत् स्वरूपमा फर्किएको छ।

इतिहास र संस्कृतिसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी– २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरूपमा फर्किएको छ। पुनः निर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको संख्या बढेको छ।

भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनः निर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना अधिकारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाइँपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी आदि पुनः निर्माण भइसकेका छन्। बडादशैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी, गेटजस्ता केही काम मात्रै बाँकी रहेको जानकारी दिँदै उनले ९९ प्रतिशत काम सम्पन्न भएको बताए। 

झन्डै ५०० भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त अवस्थामा समेत गोरखा दरबार क्षेत्र र गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको संख्या नघटेको बताउँदै मूल पुरोहित भट्टराईले गोरखकाली मन्दिरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासका कारण यसको महिमा र गरिमा चुलिएको बताए। 

दैनिक पूजाआजा हुने मन्दिरमा विशेषतः बडादशैँ र चैतेदशैँमा भव्य पूजा गरिन्छ। नेपाल एकीकरणको गौरवशाली इतिहासको शुरूआत गोरखा दरबारबाटै भएका कारण पनि देशका विभिन्न स्थानबाट यसको अवलोकन गर्न पर्यटक आउने गरेका छन्। गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा यसको पर्यटकीय आकर्षण बढेको भट्टराईको भनाइ छ।

मन्दिर परिसरमा नै रहेका १६१६ सालअघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन्। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोसाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ।

चिटिक्क कालो दौरा सुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुकसहित सजिएका सुरक्षाकर्मीलाई आउने पर्यटकसँग फोटो खिचाउन भ्याइ नभ्याइ हुन्छ। उक्त दरबारमा आफूसहित नौजना सुरक्षाकर्मी पालैपालो परम्परागत पोसाकमा खटिने गरेको सिपाही रामशरण ढकालले बताए। 

“बिहानदेखि बेलुकासम्म ठूलै संख्यामा आउने पर्यटकले फोटो र हामीसँग सेल्फी खिचाएर जाने गरेका छन्,” उनले भने, “यो पोसाक पृथ्वीनारायण शाहकालीन इतिहासको चिनारी हो।” तत्कालीन समयको पोसाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको छ।

यहाँस्थित गोरखनाथ मन्दिरमा भक्तजनलाई ‘ताई रोट’ (घ्यूमा पकाइने एक प्रकारको रोटी) प्रसादस्वरुप वितरण गरिने गोरखनाथ मन्दिरमा बस्दै आएका सन्त खिमनाथ योगीले जानकारी दिए। भक्तजनको उपस्थितिअनुसार दैनिक १५ मुरी चामलसम्मको रोट पकाएर प्रसादस्वरुप वितरण गर्ने गरिएको उनले बताए। 

परापूर्वकालमा शाह वंशका राजपरिवारले गुरु गोरखनाथलाई सवा लाख रोट चढाउने परम्परा रहिआएको थियो। गोरखाका तत्कालीन राजा राम शाहको पालामा १६८६ सालमा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो। करिब ४०० वर्ष पुरानो दरबार भूकम्पले क्षतिग्रस्त भएपछि जगदेखि नै पुनः निर्माण गरिएको हो। पुरातात्त्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीन स्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनः निर्माण गरिएको हो।

मन्दिर र दरबारमा आएका पर्यटक तल बजारमा रहेको गोरखा दरबार संग्रहालय हेरेर मात्रै फर्किने गर्छन्। संग्रहालय भवनको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपलाई हेर्दै भवनमा प्रवेश गर्ने पर्यटकले त्यहाँभित्र राखिएका गोरखाका शाह राजाको परिचयात्मक कक्ष, जन्म कुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिलाई एकएक गरेर नियाल्छन्। 

तत्कालीन गोरखा राज्यको क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्व राख्ने सामग्रीको खोजी, संकलन, संरक्षण र प्रदर्शन गरी ऐतिहासिकताको चिनारी गराउने उद्देश्यका साथ २०६५ जेठ १९ गते सर्वसाधारणका लागि खुला गरिएको हो। 

सुन्दर बगैँचा, बालउद्यान तथा विश्रामस्थल भएको ६८ रोपनी क्षेत्रमा फैलिएको पार्कसहितको संग्रहालयमा गोरखाली राजाको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्म कुण्डली तथा उपदेश कक्ष, हातहतियार तथा सैन्य कक्ष, ग्रन्थ कक्ष आदि छन्। त्यस्तै धार्मिक, सामाजिक तथा आर्थिक कक्ष, कलात्मक भाँडावर्तन कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्ष छन्। संग्रहालयभित्र रहेका दरबारको चोक र दलान, पृथ्वी पार्क, जातजातिको झाँकी आदि यहाँका थप आकर्षण हुन्।

यहाँ आउने पर्यटकमध्ये विदेशीका लागि १००, सार्क राष्ट्रका पर्यटकका लागि ५०, नेपाली सर्वसाधारणका लागि २५ र विद्यार्थीका लागि १० प्रवेश शुल्क निर्धारण गरिएको कर्मचारी हरि कोइरालाले जानकारी दिए। पछिल्ला समयमा विभिन्न संघसंस्थाले ऐतिहासिक र धार्मिक महत्वको गोरखा दरबार क्षेत्रको अवलोकनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन्।

पोखरा– ३२ तल्लो गगनगौडामा क्रियाशील नवीन टोल विकास संस्थाले यही माघको पहिलो हप्ता गोरखाको प्रवर्द्धनात्मक भ्रमण गरेको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए। नेपालको एकीकरणसँग जोडिएको गोरखा दरबार र सँगैका धार्मिक पर्यटकीय महत्वका स्थलको पर्यटकीय प्रवर्द्धनका लागि संस्थामा आबद्ध ६९ जनाको समूहले गोरखा दरबारसँगै संग्रहालय र लिगलिगकोटसम्मको भ्रमण गरेको उनले बताए। 

“ऐतिहासिक एवं धार्मिक महत्वका यस्ता स्थलहरूको संरक्षणसँगै प्रवर्द्धन गर्न सकेमा पर्यटकीय विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउँछ,” उनले भने।


सम्बन्धित सामग्री