पल्टनमा छँदा बुवाले आमालाई पनि साथै लैजानुहुन्थ्यो। मेरो जन्म भारतमै भएको हो। हाइस्कूलको पढाइ उतै पूरा गरेँ। २०४२ सालपछि हाम्रो परिवार स्वदेश फर्क्यो। मेरो पुर्ख्यौली बागलुङ भए पनि बुवाका धेरै नम्बरीहरू झापातिर हुँदा उतै बसेरा बसाउनुभयो।
हाइस्कूलमा पढ्दा नै मलाई अभिनयमा विशेष रूचि थियो। शिक्षकहरूले पनि हौसला दिनुहुन्थ्यो। २०४२ सालमा नेपाल फर्किएपछि नाटकमा सक्रिय हुन थालेँ। तर नाटक एमदमै कम हुन्थ्यो। हामी धरानमा बसेर नाटक गर्थ्यौँ र प्रतियोगिताहरूमा भाग लिन विभिन्न ठाउँ पुग्थ्यौँ। २०४३ सालमा ‘अनाम नाट्य जमात’ स्थापना गर्यौँ, जुन अझै चलिरहेको छ। नाटक गर्नेहरूलाई फिल्ममा त्यति महत्व दिइन्नथ्यो।
२०४६ सालको आन्दोलनपछि म काठमाडौँ छिरे। त्यसबीचमा पनि काठमाडौँ आउजाउ भइरहन्थ्यो। २०४७ सालदेखि अभिनयको क्षेत्रमा नयाँ फड्को हालेँ। म काठमाडौँ छिर्दा टेलिभिजन सिरियलको जमाना शुरू भएको थियो। मलगायत समकालीन साथी त्यतै लाग्यौँ।
टेलिभिजनमा देखाइने कार्यक्रममा नेपाली भाषाको मात्रै प्रभुत्व थियो। एकल भाषा, एकल भेषभुषा थियो। त्यसलाई चिरेर पहिलोचोटि ‘तरेवा’ नामक लिम्बू भाषाको टेलिफिल्म बनाउने पहल थाल्यौँ। यो विषयले राजनीतिक चर्चा पनि पायो। नेपालीबाहेक अन्य भाषाभाषीमा पनि टेलिफिल्म बन्नुपर्छ भनेर भाषाविद् र संस्कृतिविद्सँग पनि राय लिइयो। अन्ततः सबै खर्च नेपाली टेलिभिजनले नै गर्ने सहमतिमा ‘तरेवा’ तयार भयो।
लिम्बु भाषाको चलचित्र बनेपछि बहुभाषी समाजमा अन्य भाषामा पनि कथा भन्नुपर्छ भन्ने लाग्यो। २०५० सालमा ‘कन्सेप्ट’ तयार भयो। सञ्जोग लाफा मगरले कथा लेख्नुभयो। अनि हामी फिल्म सुटिङमा निस्कियौँ। त्यतिबेला क्यामेराको क्वालिटी एकदमै कमजोर थियो। मगर भाषाको पहिलो टेलिफिल्म ‘लङ्घन’ बन्यो। यसमा मैले मुख्य भूमिकामा अभिनय गरेको छु। यो टेलिफिल्म पनि नेपाल टेलिभिजनले नै प्रशारण गर्यो।
अनि धेरै भाषामा फिल्म बने। म पनि फर्किएर धरान आएँ। त्यहाँ प्रसिद्ध निर्देशक नवीन सुब्बासँग भेट भयो। हामीले सहकार्य गर्न थाल्यौँ। यही सिलसिलामा ‘नुमाफुङ’ बन्यो। यसमा मैले अभिनेता र ‘प्रोडक्सन डिजाइनर’को काम गरेँ। नुमाफुङअघि कुनै पनि फिल्ममा प्रोडक्सन डिजाइनिङ हुँदन थियो। प्रोडक्सन डिजाइनिङ, कास्टिङ डिरेक्टर, स्टोरी बोर्ड, आर्ट, वर्कशप भनेको नेपाली फिल्ममा हामीले नुमाफुङबाट शुरू गरेका हौँ। जुन फिल्म आदिवासीको कथन गरेर बनेको माइलस्टोन नै बनिदियो।
ठूलो क्यानभासमा बनेको चलचित्रमा ‘नुमाफुङ’ महत्त्वपूर्ण उपलब्धि हो। त्यसकै कारण अहिले आदिवासी जनजातिको कथा भन्ने लहर नै चलेको छ। यही धारका कबड्डी, जारी, घरज्वाइँ जस्ता फिल्म बने।
भाषागत रूपमा काम गर्दा समुदाय सानो छ। मगर र तामाङ समुदाय केही ठूलो भए पनि समग्रको तुलनामा सानै हुन्छ। त्यसैले लगानीदेखि अन्य धेरै आधारमा कामको सीमितता हुन्छ। लगानी सानो हुँदा प्रविधि पनि कमजोर प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। फिल्म बनाउनेले पारंगत हिसाबले बनाइरहेका छैनन्। कतिपयमा साउथ इन्डियन र बलिउडको नक्कल गर्न खोजिएको देखिन्छ।
आदिवासी–जनजातिको आफ्नै संस्कृति छ। कथा छ। त्यो कथा भन्न थाल्यौँ भने पो संवाद गर्ने शैली फरक आउँछ। द्वन्द्व गर्ने पनि आफ्नै शैली छ। मगरको चर्या नृत्यमा युद्धकला छ। त्यो कलालाई हामीले फिल्ममा उतार्न खोजेनौँ। ‘सुपर हिरो’को जस्तो गाडी उचालेर फाल्ने दृश्य देखाउन थाल्यौँ। भाषिक फिल्ममा प्रयोग गर्नुपर्ने यी संस्कृतिबारे हामीले खोजी नै गरेका छैनौँ। हाम्रो समाजमा नभएको दृश्य पस्किँदा फिल्मको व्यापारलाई असर परिरहेको छ।
एक त आदिवासी समुदायमा फिल्म हेर्ने संस्कार कम छ। अहिलेसम्म घरदैलो गरेर फिल्म देखाइँदै आइएको छ। यसरी फिल्म कसरी थेग्ने? फिल्म बनाउन त्यत्रो उर्जा लगाउनु पर्छ। पूँजी लगाउनु पर्छ। त्यसपछि घरदैलोमा ‘मेरो फिल्म हेरिदिनोस्’ भन्दै गएर भएन। अलि ठूलो लगानीमा सबै दर्शकले हेर्ने फिल्म बनाउनुपर्छ।
आदिवासीको कथा चलेको उदाहरण पनि छ। ‘नुमाफुङ’ हेरिएकै हो। हामीले शुरूआतमा काम थाल्दा नै मूलधारको चलचित्रमा हाम्रो अनुहार बिक्न सक्छ, हाम्रो कथा पनि रुचिकर बनाउन सक्छौँ भनेर अठोट गरेर थालेका थियौँ। कोही स्टार छैन। सबै नेप्टो नाक, चिम्सो आँखा भएका थिए। फिल्म त चल्यो। मुख्य कुरा कथ्य रहेछ। दृश्य र भाषामार्फत कथा भन्ने शैली बनाउनुपर्ने रहेछ।
अहिले जति फिल्म बनिरहेको छ परम्परागत भयो। यसले पनि घाटा भइरहेको छ। गीत गाउनै पर्ने, नाच्नै पर्ने। द्वन्द पनि हलिउडमा जस्तो हुनुपर्ने गर्न थाल्यौँ।
कथा भन्ने, लेख्ने शैली पनि हाम्रो कमजोर छ। खिच्ने ‘क्राफ्ट स्क्रिप्टाइजेसन’को शिल्प कमजोर छ। त्यसको विज्ञान हामीले पढेका छैनौँ। ‘मार्केटिङ’को पनि विज्ञान छ, त्यसलाई हामीले बुझेका छैनौँ। यी यावत चिजको अन्तरघुलनबाट एउटा मिक्स चिज बन्ने हो। यसमा हामी चुकिरहेका छौँ। चलचित्र भनेको ठूलो विधा हो। त्यसका विभिन्न भाग हुन्छ। अभिनेता, निर्देशक, लेखक, कला, संगीत सबै अब्बल हुनुपर्छ।
नेपाली फिल्ममा पनि बजारको आवश्यकता अनुसार काम भइरहेको हो। बजारलाई नै अर्कोतर्फ मोडौँ भनेर काम भएको होइन। स्तरीयताको कुरा नै छैन। जसरी इन्डियन फिल्मलाई चाइनाले वा जापानले हेर्छ त्यसरी बजार विस्तारमा जोड दिनुपर्छ। खाडीतिर हिन्दी गीत गाउँछन्, रसिया, अफ्रिकामा बलिउडका फिल्म हेर्छन्। अमेरिकामा पनि हेर्छन्। उनीहरूले हेर्न बाध्य बनाए। हामीले पनि त्यो स्तरतर्फ लैजानुपर्छ।
अहिले समाचार पढ्दा बलिउड पनि हैरान भइसकेको छ। साउथ इन्डियामा जसरी फिल्म बनिरहेको छ, त्यसरी बनाउन बलिउडमा सकिरहेका छैनन्। आइडिया नै सकिइसक्यो। उनीहरूको फिल्म पनि ‘किन हेर्ने’ भन्ने सवाल उठ्न थालिसक्यो।
‘नुमाफुङ’ इन्टरनेशनल वितरण ‘ट्रेगन फिल्म डिस्ट्रिब्युसन’ले हलहरूमा वितरण गरेको थियो। अहिले ‘गाउँ आएको बाटो’मा पनि कुरा भइरहेको छ। त्यसलाई निरन्तरता दिनुपर्यो।
नुमाफुङ आएको २४ वर्षपछि हामीले काम गरेको हो। त्यसलाई निरन्तरता दिन अर्को निर्देशक पनि आउनुपर्यो। दुई चार जना राम्रो निर्देशक पलायन हुनुभयो। यस्तो पलायन रोकिनुपर्छ।
बजारमा हाम्रो कथा आउँदै छ। त्यो राम्रो कुरा हो। हाम्रो कथा पनि खोजिँदो रहेछ भन्ने पुष्टि हुँदै छ। त्यही कथालाई कसरी कलात्मकता दिने भन्ने विषयले अर्थ राख्छ। कथा वाचन शैली बलियो नबनुञ्जेल फिल्म बलियो हुँदैन। आफूले बनाएको फिल्ममा गम्भीर भएर काम गर्नुपर्छ। आफूले दिएको विषय र वस्तु नयाँ हो भन्नेमा पहिला आफू नै विश्वस्त हुनुपर्छ। आफू इमानदार भएर बनाएको छ भने त्यस्तो फिल्म यो बजारमा नचले पनि अर्को बजारमा पक्कै चल्छ।
प्रस्तुति : श्याम राना मगर