Friday, December 01, 2023

-->

भृकुटीमण्डपमा मंगलबारदेखि दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकले सहभागिता जनाउने आयोजकको भनाइ छ।

भृकुटीमण्डपमा मंगलबारदेखि दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

काठमाडौँ– काठमाडौँमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ को आयोजना गरिँदै छ। प्रदर्शनी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको र यसको तयारी अन्तिम चरणमा रहेको आइतबार आयोजकले जानकारी गराएको हो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीको उद्घाटन मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने महासंघका महासचिव शिवसागर शर्माले बताए। 

सामाजिक रूपान्तरणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता जनाउने छन्। महासचिव शर्माले प्रदर्शनीमा १८० भन्दा बढी स्टल राखिएको बताए। यी स्टलहरूमा देश तथा विदेशमा प्रकाशित पुस्तकका साथै शैक्षिक सामग्री प्रदर्शनमा राखिने उनको भनाइ छ।

“प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एशियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एशियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ,” उनले भने। उनले १५ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको बताए।

महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्थाहरू, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवं आम पाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको माध्यम बन्ने अपेक्षा आयोजकको छ। 


सम्बन्धित सामग्री