Thursday, April 25, 2024

-->

उनीहरूलाई सम्झनुको अर्थ

जेठ पहिलो साता तीन कविको सम्झना गरियो। गोकुल जोशी र सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती तथा कृष्ण सेन 'इच्छुक'को स्मृति दिवस मनाइरहँदा उनीहरूले प्रतिरोधी चेतना फैलाउन गरेको योगदान पनि सम्झनुपर्छ।

उनीहरूलाई सम्झनुको अर्थ

प्रतिरोध चेतना नेपाली कविताको एक महत्त्वपूर्ण विशेषता हो। जेठ ८ गते प्रतिरोध चेतनाका कवि गोकुल जोशीको सम्झना गरियो। जोशी प्रगतिशील कविता परम्पराका महत्त्वपूर्ण प्रतिभा हुन्। वि.सं. १९८७ मा जन्मिएका उनी धेरै लामो समय जीवित रहेनन्।

२०१८ असार ४ गते मृत्यु हुँदा उनी ३१ वर्षका थिए। छोटो जीवनकालमा उनले साहित्यको क्षेत्रमा दिएको योगदान उल्लेखनीय छ। सरल, सरस र क्रान्तिकारी भावनाले भरिएका कविता लेखेका कारण उनलाई जनकवि भनियो। उनका पाठक एवं माया गर्ने जनताले यो सम्मान दिएका थिए। नेपाली साहित्यका क्षेत्रमा गहकिलो योगदान दिएकै कारण उनलाई नेपाली साहित्यका महत्त्वपूर्ण काव्य प्रतिभाका रूपमा सम्मान गरिन्छ।

जोशी प्रतिरोध चेतनाका कवि हुन्। उनको प्रतिरोध चेतना प्रगतिशील दृष्टिकोणबाट डोरिएको छ। नेपाली साहित्यमा प्रतिरोध चेतना प्राथमिककालदेखि नै पाइन्छ। प्राथमिक र माध्यमिककालमा पाइने प्रतिरोध चेतनाका युगजन्य सीमा छन्। यस समयको प्रतिरोध चेतना सामान्य आलोचना एवं सुधारको चेतनाभन्दा माथि उक्लन सकेको पाइन्‍न। 

आधुनिककालको आरम्भपछि प्रतिरोध चेतना नेपाली समाजको आधारभूत परिवर्तनको तहसम्म पुग्यो। प्रगतिशील स्रष्टाहरूको सिर्जनामा यसले सबैभन्दा सुस्पष्ट रूपमा अभिव्यक्ति पाएको छ। उनीहरूले सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववादलगायत सबै प्रकारका विभेद एवं उत्पीडनको विरोध गर्दै आफूलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायको पक्षमा उभ्याएका छन्। उनीहरूका रचनामा नवीन समाज निर्माणको स्वप्नलाई साकार पार्नका निम्ति संघर्षको आह्वान पाइन्छ। यस्तो विचार एवं भावनालाई अभिव्यक्ति दिने अग्रणी कविका रूपमा जोशीलाई लिइन्छ।

जोशी सामान्य परिवारमा जन्मिए। उनको जीवन संघर्षपूर्ण रह्‍यो। १३ वर्षको उमेरमा उनी कामका निम्ति मुग्लान भासिए। मुग्लानको बसाइ पनि सजिलो रहेन। २००७ सालपछि नेपाल फर्किए। 

राजनीतिक परिवर्तन भएकाले मुलुकमै काम गरेर जिउन सकिएला भन्‍ने उनको सोचाइ थियो। तर, उनले सोचेजस्तो भएन। राज्यबाट काम र सम्मान दुवै पाएनन्। जीवन कष्टपूर्ण नै रह्यो। अनि, नेपालका विभिन्‍न गाउँहरू घुम्दै कविता सिर्जना गर्न थाले। 

झ्याउरे लयका उनका कविता मानिसले निकै रूचाए। स्वाभिमान र आत्मसम्मानलाई उच्च महत्त्व दिने र चाकडी नरुचाउने जोशी आफ्नो समयलाई सफल काव्यात्मक अभिव्यक्ति दिने कवि हुन्। उनका रचनामा तत्कालीन समाजको विसंगति र विकृतिको तिखो आलोचना पाइन्छ।

वर्गीय विभेद र उत्पीडनको आलोचना, साम्राज्यवादको प्रतिवाद, देशभक्तिको भावना, जातीय र लैंगिक असमानता र शोषणको विरोध, अन्धविश्‍वास एवं रूढीहरूको आलोचना, संघर्ष र नयाँ समाज निर्माण उनका कविताका विशेषता हुन्। उनी आफ्नो रचनामा सर्वहारा वर्गका पक्षमा उभिएका छन् र उनीहरूको मुक्तिको गीत गाएका छन्। वर्गीय प्रेम र मुक्तिको चाहना उनका कवितामा पाइन्छ। 

जोशी स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं देशभक्तिको भावनाका  प्रखर प्रगतिशील कवि हुन्। प्रगतिशील कविता परम्परालाई समृद्ध गर्न उनले महत्त्वपूर्ण योगदान दिएका छन्। प्रतिरोध चेतनाले भरिएका उनका रचना र संघर्षले भरिएको उनको जीवनले आज पनि हामीलाई प्रेरित गर्छन्। तल उल्लिखित उनका कविता पंक्तिहरूले हामीलाई गम्भीर, संवेदनशील र आक्रोशित बनाउँछन। आज पनि हामी यस्तै परिस्थितिका बीचमा छौँ।
नेपालको टाकुरामा दिन उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन।
रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा?
भोक भोकै मर्न थाले कवि कलाकार
तड्पाएर नमारिदेऊ झुण्डाएर मार।

सिद्धिचरण श्रेष्ठ आधुनिक नेपाली कविताका अर्का बिर्सनै नसकिने विद्रोही चेतनाका विशिष्ट स्रष्टा हुन्। जेठ ९ गते जन्मजयन्ती पारेर उनको सम्झना गरियो। सिद्धिचरण लामो समय नेपाली कविताका फाँटमा सक्रिय रहेर महत्त्वपूर्ण योगदान दिए। वि.सं. १९६९ मा जन्मिएका उनको निधन २०४९ जेठ २२ गते भयो। उनी कविता सिर्जनामा साढे ६ दशक सक्रिय रहे। मूलतः स्वच्छन्दतावादी धाराका कवि भए पनि उनका कैयौँ रचनामा विद्रोही चेतना पाइन्छ। उनका कविताहरूको विशेषता पनि प्रतिरोध चेतना हो। 

नेपाल भाषामा पनि कलम चलाउने श्रेष्ठ राणाशाहीका कटु आलोचक थिए। ‘क्रान्तिबिना यहाँ हुदैन शान्ति‘ भनेर लेखेकै कारण उनलाई सर्वस्वसहित १८ वर्षको जेल सजाय दिइएको थियो। उनी १९९५ सालतिर बाटै राणाशाहीका विरुद्ध लागेको पाइन्छ। यसै वर्ष फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपाल विहार‘ नामक कविता सङ्‍ग्रह प्रकाशित भयो। यो नेपाल भाषाको कविता सङ्‍ग्रह थियो। यसमा रहेको उनको ‘वर्षा‘ कवितामा माथिको पंक्ति रहेको छ। 

युगको भावनालाई रचनामा अभिव्यक्ति दिएकाले उनलाई ‘युग कवि‘ का रूपमा उल्लेख गरिन्छ। उनका ‘उच्छवास', ‘खास नेपाली‘, ‘कुनै असफल दिनको सम्झना', ‘चम्क युवक',  ‘दुई शब्द', ‘विश्व व्यथा‘ आदि कवितामा प्रतिरोध चेतना पाइन्छ। उनको प्रतिरोध चेतनालाई तलका कविताका पंक्तिहरूमा नियाल्न सकिन्छ-
तिम्रो मेरो धिपधिप सबै एक मुस्लो भए त 
वाधा कस्तो कुन अघि सरी भन्न सक्थ्यो नलम्क 
आओ आओ मिलिजुलि सबै मुक्तिज्वाला उकासौँ
थोत्रो पापी चलन सब ती ध्वस्त पारेर फोरौं। (मुक्तिज्वाला)

स्वतन्त्रता र समानताका निम्ति उच्च साहस देखाउँदै साहित्य सिर्जनामा सक्रिय रहेकै कारण उनी राणा शासकहरूबाट दण्डित भएका  थिए। २००७ सालपछिका उनका कतिपय कवितामा पनि आफ्नो समयप्रति  असन्तुष्टि र आक्रोश पाइन्छ। उनले स्रष्टाका रूपमा नेपाली साहित्यलाई महत्त्वपूर्ण योगदान त दिए नै संस्थागत रूपमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याए। उनले ‘शारदा‘ ‘दैनिक आवाज‘ ‘कविता‘ जस्ता पत्रिकाहरूको सम्पादन पनि गरे। ‘कविता‘का उनी  संस्थापक प्रधान सम्पादक नै थिए। उनकै पालादेखि कविता प्रधान यो पत्रिका प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुन थालेको हो।

२००७ सालपछि भने उनमा प्रतिरोध चेतना कम हुँदै गयो। यो उनको उल्लेखनीय विशेषताका रूपमा रहेन। प्रकृति प्रेम, जीवनका सुख-दुख, उकाली-ओराली उनका कविताका प्रमुख स्वरका रूपमा रहेका छन्। श्रेष्ठलाई पढ्नु मूलतः एक स्वच्छन्दतावादी कविलाई पढ्नु हो। मूलतः स्वच्छन्दतावादी कवि भए पनि उनमा गम्भीर मानवीय र सामाजिक सरोकार पाइन्छ। उनको संवेदना समय, समाज र माटोसँग गहिरो गरी जोडिएको छ।

कृष्णसेन इच्छुक प्रतिरोध चेतनाका अर्का महत्त्वपूर्ण स्रष्टा हुन्। जेठ १३ गते उनको सम्झना गरियो। प्रतिरोध चेतनाकै कारण प्रहरी हिरासतमा उनको हत्या गरिएको थियो। शब्द र कर्मका बीचमा सुन्दर संगति भएका इच्छुक नेपाली समाजको आमूल परिवर्तन चाहन्थे र यसका निम्ति सिर्जनात्मक एवं संस्थागत रूपमा निरन्तर संघर्षरत् रहे। 

जनयुद्धसँग उनको संलग्नता र सक्रियता तत्कालीन सत्ताका निम्ति सैह्य भएन। त्यसको मूल्य उनले जीवनको आहुति दिएर चुकाउनु पर्‍यो। सत्ताको विरोधमा लागेकै कारण उनले पटकपटक गरेर वर्षौं जेल जीवन बिताएका थिए। उनी लामो समय जेलमा बिताउने नेपाली स्रष्टाहरूमा पर्छन्।

नेपाली समाजको यथार्थलाई इच्छुकले आफ्ना कवितामा सुन्दर काव्यात्मक अभिव्यक्ति दिएका छन्। उनका कवितामा वर्गीय समाजको द्वन्द्व, उत्पीडित वर्गमाथि उत्पीडक वर्गको थिचोमिचो, जातीय एवं लैंगिक उत्पीडन, साम्राज्यवादी एवं प्रभुत्ववादी हस्तक्षेप, देशभक्तिको भावना, संघर्ष एवं परिवर्तनका चाहनाले अभिव्यक्ति पाएका छन्। इच्छुक सबै प्रकारका उत्पीडनको अन्त्य र स्वतन्त्रता, समानता, सामाजिक न्यायका निम्ति कवितालाई धारिलो बनाउनुपर्छ भन्‍ने कवि हुन्। उनको स्रष्टा जीवन आदर्श, निष्ठा र त्यागको पर्यायको रूपमा रहेको छ।

जनताको मुक्तिप्रति प्रतिबद्ध कविका रूपमा उनको स्मरण उनको प्रतिबद्ध लेखन र बलिदानकै कारण गरिन्छ। नेपाली साहित्यको इतिहासमा उनी एक बिर्सनै नसकिने प्रेरक स्रष्टा हुन्। २०५८ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका इच्छुक २०१३ कात्तिक ३ गते देहरादुनमा जन्मिएका थिए। उनी जम्माजम्मी ४५ वर्ष बाँचे।

झण्डै तीन दशकको काव्ययात्रामा उनले महत्त्वपूर्ण कृतिहरू सिर्जिएका छन्। उनले कविताबाहेक निबन्ध, समीक्षा आदिमा पनि कलम चलाएका छन्। उनी माझिएका पत्रकार, संगठक र वैचारिक व्यक्तित्व पनि थिए। सरल, सहृदयी र जुझारू इच्छुकको संघर्षमय जीवन र बलिदानले नेपाली साहित्यको जीवनमुखी धारालाई पछिसम्म प्रभावित गर्नेछ। उनका तलका कविताका पंक्तिहरूले उनको प्रतिबद्धता र उद्देश्यलाई देखाउँछन् तथा अग्रीम जीत न्यायका निम्ति लड्नेहरूकै हुनेछ भन्छन्-
कसिरहन्छौं हामी तिम्रा विरूद्ध विद्रोहका मुट्‍ठीहरू
‍ओ अत्याचारका पहरेदार! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झण्डा गाड्दै 
हामी भने अथक र अविचलित 
अन्तिम युद्ध लडिरहनेछौं। (प्रतिबन्ध)

प्रतिरोध चेतना नेपाली साहित्यको महत्त्वपूर्ण विशेषता हो। समकालीन साहित्यमा प्रतिरोध चेतना अझ समृद्ध बनेको छ। प्रतरोध चेतना सामान्य आलोचनात्मक विवेक र विरोधभन्दा माथि उठ्न भने आवश्यक छ। यो सामान्य सुधार र परिवर्तनमा खुम्चन हुन्‍न। 

प्रतिरोध चेतना आमूल परिवर्तनसम्म पुग्नुपर्छ। यी तीनै जना स्रष्टाहरूको जीवनले समकालीन स्रष्टाहरूलाई आफ्नो प्रतिरोध चेतनालाई अझ धारिलो बनाउन सन्देश दिन्छ। हामी सत्ताको व्यभिचारले प्रताडित समयमा छौँ र यसमाथि सशक्त हस्तक्षेपको खाँचो छ। उनीहरूलाई सम्झिनुको अर्थ प्रतिरोध चेतनालाई अझ धारिलो बनाउनु हो।


सम्बन्धित सामग्री