Wednesday, April 24, 2024

-->

रातो मत्स्येन्द्रनाथको रथ बांगिदा गुठी संस्थान र समुदायबीच एकअर्कालाई दोषारोपण

२०३१ सालमा पुल्चोकमा रथ ढल्दा ३१ जना घाइते भए, एक जनाको ज्यान गयो। २०६१ सालमा सुन्धारामा रथ पल्टिएर ४१ जना घाइते भए। भविष्यमा दुर्घटनाबाट जोगिन सावधानी अपनाउनुपर्ने विगतका घटनाहरूले देखाएका छन्।

रातो मत्स्येन्द्रनाथको रथ बांगिदा गुठी संस्थान र समुदायबीच एकअर्कालाई दोषारोपण 
रातो मच्छिन्द्रनाथको बांगिएको रथ। तस्वीर: सुप्रिन्स शाक्य/फेसबुक

काठमाडौँ– काठमाडौँ उपत्यकामा हरेक वर्ष मनाइने परम्परागत जात्रा अन्तर्गत धेरै मानिसले एकैसाथ बल लगाएर रातो मत्स्येन्द्रनाथको रथ तान्ने गरिन्छ। तर १६ सय वर्षभन्दा पुरानो इतिहास बोकेको जात्रामा यसवर्ष अस्वाभाविक दृश्य देखियो। 

वैशाख १८ गते पाटनको थापाहिटी टोल पुग्दा रथलाई सन्तुलन मिलाउँदै क्रेनको सहायताले तान्नुपरेको थियो। परम्परागत शैलीमा बनेको रथलाई मानिसहरूले तानेर लैजानुपर्नेमा क्रेन प्रयोग भएको देखेपछि पाटनका सुप्रिन्स शाक्यले भिडिओ खिचेर फेसबुकमा राखे र क्याप्सन लेखे, ‘बिजोग’।

‘जेनेरेशन जी’ अर्थात् सक्रिय नवपुस्तामा पर्ने सुप्रिन्स जात्रा, चाडपर्वमा रुचि राख्छन्। पाटनमा हुने कात्तिकनाच, भैरव नाचजस्ता विभिन्न चाडपर्वमा सहभागी हुँदै आएका उनलाई रातो मत्स्येन्द्रनाथको जात्राले अझ विशेष चाख जगाउँछ। किनभने उनी मत्स्येन्द्रनाथको पानेजु (पूजारी) हुँदै आएको शाक्य कुलका हुन् जो आफ्ना कुलका ज्येष्ठ पानेजुसँग रथमा बसी पूजाआजा गर्छन्। यद्यपि, यसपटक रथको बिजोग देख्दा भने उनलाई खिन्न लागेको छ।

उनीजस्तै अन्य पाटनबासीलाई पनि त्यो दृश्यले आँखा बिझायो। पाटन दरबार परिसरकै पुख्र्यौली घरबाट हाल बालकुमारी बसाइँ सरेका ६२ वर्षीय बुद्धिकृष्ण महर्जन रथको अवस्था देखेर रिसले कड्किए। “मन्त्रालयहरूमा सचिव, सहसचिवलाई ८० लाखको गाडी हुन्छ। तर, एउटा रथ पनि गतिलो बन्ने रकम छुट्ट्याउन सरकारले किन सक्दैन?” अर्थ मन्त्रालयमा सवारी चालक भएर ३० वर्ष बिताएका उनले भने। 

त्यसो त जात्रामा रथ ढल्किएको, बिग्रिएको उनले यसअघि पनि नदेखेका होइनन्।तर, यसरी जोखिमपूर्ण रथजात्रा गर्दा कतिपय अवस्थामा जनधनको क्षति भएको उनलाई सम्झना छ। “२०२५ सालमा सुन्धाराको सौगोलमा यसपालिजसरी नै ढल्केको रथ ढल्दा एउटा घरको धुरी नै भत्किएको थियो,” उनले भने।

२०२२ सालमा ढल्किएको रातो मत्स्येन्द्रनाथको रथ । तस्वीर: ओल्ड फोटोज् अफ नेपाल/फेसबुक

यसपालि ढल्केर असन्तुलित भएको रथ तानेर थापाहिटी टोल हुँदै लगनखेलसम्म पुर्‍याउन क्रेनको प्रयोग गर्नुपरेको थियो। जात्राकै बेला पश्चिमी वायुको प्रभावले पानी पर्दा थप सास्ती बेहोर्नुपर्‍यो। 

वैशाख १५ गते शुरू भएको रातो मत्स्येन्द्रनाथको रथजात्रामा पाटनका विभिन्न टोल परिक्रमा गर्ने क्रममा पुल्चोक हुँदै मंगलबजारसम्म जसोतसो रथ तानिएको थियो। त्यसपछि ढल्किएको रथलाई वरपरका अग्ला घरहरूको कौसीमा जंघा (डोरी)ले बाँधेर सोझ्याउँदै तान्नुपरेको थियो। ती भिडिओले पनि सामाजिक सञ्जालमा धेरैको ध्यान तान्यो। 

हाल रथ लगनखेल नजिकैको थटि टोलमा छ। थटिबाट जावलाखेलसम्म साइत हेरेर मात्र रथ तान्ने चलन छ। यसपालि त्यस्तो साइत जेठ आठ गते (सोमबार) परेको श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले जानकारी दिएको छ। त्यसको तीन दिनपछि अर्थात् जेठ ११ गते भोटोजात्रा गरी यसपालिको रातो मत्स्येन्द्रनाथको जात्रा समापन हुँदैछ। 

मानिसको भीडमात्र होइन जात्रा
यतिबेला रातो मत्स्येन्द्रनाथको रथ रोकिएको लगनखेलस्थित थटि टोल नजिकैको सत्तल स्थानीय टोलीको भजनकीर्तनले बिहान–साँझ गुल्जार हुन्छ। रथको दर्शन र पूजा गर्न मानिसहरूको भीड लाग्छ।

लगनखेलको थटिटोलमा राखिएको रातो मत्स्येन्द्रनाथको रथ। तस्वीर: प्रबिता/उकालो

काठमाडौँको नयाँ बसपार्कमा बस्दै आएका मोहम्मद युनुस रातो मत्स्येन्द्रनाथको जात्रामा मुरली, बाँसुरी बेचिरहेका थिए। जन्मथलो भारतमा भए पनि तीन दशकयता उनको बसाइ नेपालमा छ। यस अवधिमा नेपालका विभिन्न स्थानमा हुने जात्रा, पर्वमा उनी पुगेका छन्।

बनेपा, काभ्रे, पनौती, भक्तपुरजस्ता जात्रामय स्थानमा आफू पुग्ने गरेको उनी बताउँछन्। साबिकको समयभन्दा जात्रामा मानिसको भीडभाड बढी हुने कारण व्यापार पनि फष्टाउने उनी बताउँछन्। अरू दिनको तुलनामा जात्राको समयमा प्रतिदिन ५०० देखि ६०० रुपैयाँसम्म बढी व्यापार हुने उनले बताए।

थटि टोलको रातो मत्स्येन्द्रनाथ रथ नजिकै पूजा सामग्री बेच्ने गर्छन्, अभिषेक शाही। उनको घर बुङ्मती हो। उहीँदेखि पूजा सामग्री बेच्न आएका शाही दिनमा १० देखि २० हजारसम्मको कमाइ हुने बताउँछन्। उनको परिवारले अन्य दुईतीन स्थानमा पूजा सामग्रीको पसल राखेका छन्। 

“देउताको पूजामा धेरै नाफा खाएर कमाउन मनले पनि दिँदैन। यहाँ साँझ–बिहानमा मत्स्येन्द्रनाथलाई पूजाआजा गर्न आउने दर्शनार्थीको राम्रै भीड हुन्छ,” शाही भन्छन्, “त्यसो हुँदा अरू बेलाभन्दा अहिले हाम्रो व्यापार राम्रो हुन्छ।”

ढल्केको रथमुनि व्यापार व्यवसाय गरिरहेका मोहमद र अभिषेक दुवैलाई हामीले प्रश्न गर्‍यौँ, “नजिकै यस्तो ढल्किएको रथ छ, डर लाग्दैन?” उनीहरूको जवाफ एउटै थियो, “यसरी रथ त पहिलेपहिले पनि ढल्किएको देख्थ्यौँ। अहिले पनि भगवानको कृपाले त्यस्तो केही नभइहाल्ला।”

मच्छन्द्रनाथको रथजात्रामा मुरली बेच्दै मोहम्मद युनुस। तस्वीर: कृष्पा/उकालो

सामान खरिद गर्नेहरूलाई जात्रापर्वले एकै ठाउँमा जोड्ने गरेको छ। उनीहरू पूजाआजाका सामग्री, लत्ताकपडा र घरायसी सरसामान यस्तै अवसरमा किनिरहेका हुन्छन्। यसो हुँदा यस्ता अवसरहरू सांस्कृतिक उत्सवसँगै आर्थिक कारोबारको केन्द्र पनि बनिरहेका छन्, जसले जात्रालाई मानिसको भीडमा मात्र सीमित गरेको छैन। धेरै मानिस जमघट हुने कारण सम्भावित भवितव्यका घटनाबाट जोगिन सावधानी अपनाउनुपर्ने विगतका घटनाहरूले पनि देखाएका छन्। 

रवि शाक्यको नेपाल भाषामा लेखिएको पुस्तक बुंगदेवया घटनावलीमा उल्लेख भएअनुसार, बुंगद्यको जात्रा जोखिमपूर्ण भएको कारण बेलाबेला मानिसको ज्यान जाने गरेको थियो। नेपाल संवत् ७८७ मा जावलाखेलमा रथ तान्ने क्रममा पाङ्ग्राले किचेर तीन जनाको ज्यान गएको थियो भने अन्य १३ जना घाइते भएका थिए।

यस्तो घटना अघिपछि पनि भइरहने स्थानीय रत्नकाजी महर्जन बताउँछन्। जात्रामा रातो मत्स्येन्द्रनाथका पुराना फोटोहरू बेच्ने गरेका उनीसँग १९०० सालदेखिका फोटो छन्। यसबीचका कैयौँ पटक रथ ढल्दा मानिसकै मृत्यु भएको प्रत्यक्ष देखेका पनि छन् उनले। रथ बनाउने बेला गह्रुँङ्गा काठ बाँधिएका बन्धनहरू खुकुलो हुँदा र तान्ने बेलामा सन्तुलन नमिल्दा रथहरू ढल्ने, बिग्रने गरेको उनी बताउँछन्।

२०३१ सालमा पुल्चोकमा रथ ढल्दा ३१ जना मानिस घाइते भएको र एक जनाको ज्यान गएको महर्जनलाई सम्झना छ। त्यस्तै, २०६१ सालमा सुन्धाराको एकपाटेमा ढल्किएको रथ सन्तुलन नमिल्दा पल्टिएर ४१ जना घाइते भएको देख्ने प्रत्यक्षदर्शी हुन् उनी। 

“चिसो काठ र छिटो कामले रथ बांगियो” 
गत चैत ३१ गते बनाइँदै गरेको रथ बिग्रियो। बल्ल बल्ल आइपुगेको सामानले रथ चाँडै तयार गर्नुपर्ने दबाब परिरहेका बेला काम अझ थपियो। यसले रातो मत्स्येन्द्रनाथको रथ बनाउने टोलीका नाइके दिलकुमार बाराहीलाई झनै चिन्तित बनायो। धेरैले रथ बिग्रिएको कारण क्षमापूजा गर्नुपर्ने धारणा पनि राखे। सोहीअनुसार पूजा गरिएपछि रथ बनाउने काम अघि बढ्यो। 

यद्यपि, रथ बन्ने क्रममा बिस्तारै ढल्किँदै गयो र बांगियो। बांगिएको रथमा सबैको आँखा जानु र प्रश्न उठ्नु स्वाभाविक थियो। यसअघि पनि रथ नबांगिएको वा नभाँचिएको होइन। तर, यसपटक बाराहीलाई यो प्रश्नले धेरै नै पछ्यायो। रथ बिग्रिरहेको कारण उनी धेरै दिनसम्म तनावमै थिए। 

कुराकानीका लागि जेठ दुई गते दिउँसो हामी निवासमै पुग्दा उनी फुर्सदिला देखिन्थे। रथको अवस्थाको विषयमा वार्तालाप शुरू भयो। बाराहीले गत वर्षको साउनमा गुठी संस्थानबाट आएको चिठी सम्झिए। चिठीमा आगामी वर्ष रातो मत्स्येन्द्रनाथको रथ बनाउन चाहिने सामानको अन्दाजी रकमसहितको विवरण मागिएको थियो।

बाराही समुदायका नाइके दिलकुमार बाराही। तस्वीर: प्रबिता/उकालो

साबिकको आयव्यय विवरण सहित उनले जवाफ पठाए, जसमा उनले मागिएका सामान पुस मसान्तसम्ममा नआए रथ बनाउन ढिलो हुने चेतावनी दिएका थिए। तर चैतको दोस्रो हप्तापछि मात्र काठ आइपुग्यो। 

“वैशाखमा हुने जात्राको लागि सामान आइपुगेको बेलासम्ममा त हामीले रथ तयार पारिसक्नुपर्ने थियो। तर, सामान नै ढिला आएपछि दिन–रात नभनी काम गर्न थाल्यौँ,” उकालोसँगको कुराकानीमा उनले भने, “हतार हतारमा गरेर जात्रा शुरू हुनुअघि मुश्किलले रथ निर्माण सकियोे।” 

ढिलो आएकाले घाममा राम्ररी सुक्नुपर्ने काठ सुक्नै नपाएको र त्यही कारण रथको वजन साबिकभन्दा बढी हुँदा यसपटक ढल्किएको हुनसक्ने उनको अनुमान छ।

३२ फिट लामो रथ तयार भएपछि त्यसलाई बाहिरबाट टेवा दिन लसिं (लामा काठ)ले घेरिन्छ। “तर, यसपालि पहिलो लटमा आएको लसिं रथ बनाउन खासै उपयोगी भएन,” बाराही भन्छन्, “अर्को पटक आएको लसिंको काठ आवश्यक साइजभन्दा ठूलो थियो। तैपनि हामीले त्यसलाई तास्दै मिलाउँदै दुई दिनमा काम सकायौँ। चिसो काठ र छिटो काम गर्नुपर्दा साबिकमा भन्दा गह्रुँगो लसिंको वजन रथले थाम्न सकेन अनि रथ बांगियो। मुख्य कारण यही हो,” उनी भन्छन्। 

यद्यपि, बेतबाँसले बाहिरबाट तान कस्दा बाँगिएको रथ केही हदसम्म भए पनि सिधा होला भन्ने आशा उनलाई थियो। तर, सोचेजस्तो भएन। गुठी संस्थानबाट रथ निर्माणको निरीक्षण गर्न पहिले २४ घण्टा नै मानिस खटिने गरेकोमा कोभिड पछिको समयमा फोन गरेर पटकपटक बोलाउनुपरेको नमीठो अनुभव पनि बाराहीसँग छ। 

संस्थानले जात्रा, पर्वका हरेक काम ठेक्कापट्टाबाट गराउँछ। पछिल्लो समयमा यस्ता कामको गुणस्तर खस्किँदै गएको लामो समयदेखि मत्स्येन्द्रनाथको रथ निर्माणलाई नजिकबाट नियाल्दै आएका स्थानीयहरू बताउँछन्। 

सबैभन्दा कम दररेटमा काम गर्न तयार हुने व्यक्तिले ठेक्का पाउँछन्। यसले गर्दा सामान र कामको गुणस्तरमा ध्यान नपुगेको रथ निर्माणमा अगुवाइ गर्दे आएका बाराहीको भनाइ छ। उनी भन्छन्, “उदाहरणको लागि राँगाको मासुको मूल्य अहिले किलोकै ४०० देखि ५०० रुपैयाँ पर्छ। ठेक्कापट्टा लिनेले एक धार्नीको ३५० मा उपलब्ध गराउँछु भनेर कबोल गर्छन्, जबकि बजारमा त्यो भाउमा मासु आउँदैन। यसरी किनिएको सामान कसरी गुणस्तरीय होस्? हामीसँग अरू विकल्प पनि छैन।”

के भन्छ, गुठी संस्थान?
रातो मत्स्येन्द्रनाथको रथ निर्माणसम्बन्धी काम गुठी संस्थानको पाटनस्थित मच्छिन्द्र बहालमा रहेको शाखा कार्यालयले हेर्छ। कार्यालय प्रमुख लछुना काफ्ले यस्ता घटनालाई ‘भवितव्य’ मान्छिन्। यद्यपि, प्राविधिक विषय भएकाले कसरी रथ बांगियो त्यसको जवाफ आफूसँग नभएको उनी बताउँछिन्।  

सामान ढिला आउँदा रथ बांगिएको मान्न उनी तयार छैनन्। “हामीले दिने बजेट र सामानमा कुनै कमी गरेको छैन। आवश्यक पर्नासाथ हामीले तुरुन्तै सामान पठाएका छौँ” कार्यालय प्रमुख काफ्ले भन्छिन्, “यति गर्दा पनि रथ बांगिन्छ भने यो त प्राविधिक विषय भयो। उहाँहरूले बनाउँदा के गर्नुभयो, अहिले बिग्रेको दोष हामीलाई लगाउन मिल्दैन।” 

सामाजिक–सांस्कृतिक मान्यता अनुसार ललितपुरकै गोदावरी जंगललाई रातो मत्स्येन्द्रनाथको जंगल मानिन्छ। त्यहाँ वर्षेपिच्छे रूख काट्न जाँदा स्थानीयको अवरोधका कारण धेरै सास्ती खेप्नुपरेको काफ्लेको भनाइ छ। 

वन मन्त्रालय हुँदै सम्बन्धित जिल्लाको वन कार्यालयमा पत्र बुझाएपछि मात्र रूख काट्ने अनुमति पाइने भएकाले रथ बनाउने काठ ल्याउन समय लागेको उनी बताउँछिन्। कार्यालय प्रमुख काफ्ले भन्छिन्, “सामान ल्याउन सहज छैन। हाम्रा व्यावहारिक समस्या चाहिँ कस्ले बुझ्ने?”

गुठी संस्थानको पाटन, मच्छिन्द्रबहाल स्थित शाखा कार्यालयकी प्रमुख लछुना काफ्ले। तस्वीर: कृष्पा/उकालो 

काफ्लेका अनुसार, विगतका वर्ष पनि सामान आइपुग्ने समय फरक थिएन। तर, यस वर्षको जस्तो समस्या पहिले परेको आफूलाई थाहा नभएको उनले बताइन्। 

“जहाँसम्म रथ निर्माणको विषयमा कर्मचारी नगएको कुरा छ, एक–दुई दिन त्यस्तो भयो होला”, उनी भन्छिन्, “कार्यालयमा कर्मचारी अपुग हुँदाहुँदै पनि अवकाश पाइसकेका कृष्ण बहादुर थापालाई बोलाएर हामीले त्यहाँ खटाएका थियौँ।”

यद्यपि कर्मचारी अभावको कारण कार्यालयका कामलाई प्राथमिकता दिनुपर्दा कहिलेकाहीँ कमीकमजोरी भएको हुनसक्ने उनी स्वीकार्छिन्। 

बोसी समुदायलाई पाखा लगाइयो
रातो मत्स्येन्द्रनाथको रथ निर्माण बाराही र यंवाल समुदायले मिलेर गर्छन् भने रङ लगाउने काम नेकु समुदायको जिम्मेवारीमा पर्छ। त्यस्तै, रथ बनाउने रूखको चयन र चिरानको काम बुङ्मतीको बोसी समुदायले गर्दै आएको छ। 

यसपटक भने परम्परादेखि गर्दै आएको कामबाट आफूहरूलाई गुठी संस्थानले पाखा लगाएको बोसी समुदायका प्रतिनिधि दीपक महर्जन बताउँछन्। आफ्नो पुर्ख्यौली पेसालाई यसरी ‘बाइपास’ गरेकोमा दुःख लागेको उनले बताए।  

“गुठी संस्थानका प्रमुख तथा अन्य कर्मचारीसहित हामी गोदावरीको फूल्चोकीमा बोसी समुदायका नाइकेसहित गयौँ,” महर्जन भन्छन्, “तर, हामी रूख काट्न जाने दिनभन्दा अगाडि नै त्यहाँको रूख काटिसकेको रहेछ।”

गुठी संस्थानकै केही कर्मचारीले आफ्नै गाउँका मानिस ल्याएर रूख कटाएको उनको आरोप छ। “हामीले चयन गरेर पूजा गरेको दोस्रो दिनमा गोदावरी पुग्दा रूख कटाइसकिएको थियो,” उनले उकालोसँगको फोनवार्तामा भने। 

बोसी समुदायले मागेजति बजेट उपलब्ध गराउन सकिने अवस्था नरहेकाले यसपटक रूख काट्ने काम उनीहरूभन्दा बाहिरको समुदायलाई दिइएको गुठी संस्थानकी कार्यालय प्रमुख काफ्ले बताउँछिन्। 

यद्यपि, यस्ता विषयमा परम्परागत रूपमा काम गर्दै आएको समुदायलाई त्यत्तिकै पाखा लगाउन नमिल्ने संस्कृतिविद् डा. गोविन्द टण्डन बताउँछन्। “यदि सम्बन्धित समुदायले अनिच्छा देखाउँछ भने पनि उनीहरूसँग मौखिक अथवा लिखित सहमति गराएर मात्र अन्य व्यक्ति वा समुदायलाई दिने विकल्पमा जानुपर्छ,” उनले भने। 

रातो मत्स्येन्द्रनाथको जात्राबारे समीक्षा हुने आगामी बैठकमा छलफल गरेर आगामी दिनमा यस्ता कुरालाई ध्यान दिने संस्थानकी कार्यालय प्रमुख काफ्ले बताउँछिन्। “बीचमा सरोकारवालासँग राम्रो समन्वय नहुँदा वादविवाद सिर्जना भएको सत्य हो,” काफ्ले भन्छिन्, “यसपटकलाई सम्झाइबुझाई गरेपछि अर्को वर्षदेखि यस्तो नहुने विश्वास उहाँहरूलाई दिलाइसकेका छौँ। आगामी वर्ष यस्तो त्रुटि हुँदैन।

अनुभवबाट पाठ सिकेर कमीकमजोरीहरू सच्याउँदै जान तयार रहेको प्रतिबद्धता जनाउँदै उनले भनिन्, “जात्राको खर्च एक्लै धान्दै आएको संस्थानलाई मात्र दोषारोपण गर्नु न्यायोचित हुँदैन।” रथ निर्माणमा मात्र हरेक वर्ष ७० लाख रुपैयाँ लाग्छ। यो सबै खर्च गुठी संस्थानले बेहार्दे आएको छ।


सम्बन्धित सामग्री