Friday, April 19, 2024

-->

‘जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ भने हाम्रो सभ्यता संकटमा पर्छ’

संयुक्त राष्ट्रसंघ आबद्ध एक संस्थाको रिपोर्टमा संसारभर जलवायु परिवर्तन हुने तथा भोकमरी लाग्ने निष्कर्ष निकालिएको छ। रिपोर्टका अनुसार, एक अर्ब जति मानिस विस्थापित हुन सक्छन्।

‘जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ भने हाम्रो सभ्यता संकटमा पर्छ’

जीवन क्षेत्री पेसाले चिकित्सक हुन्। उनी चिकित्सा क्षेत्रमा मात्रै सीमित छैनन्। उनका नेपाली साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेखहरू प्रकाशित हुने गरेका छन्। आर्थिक, राजनीतिक, सामाजिक, भ्रष्टाचार, हिंसा र अस्थिर तालगायतका विषयमा प्रखर रूपमा प्रस्तुत हुने गर्छन्। चिकित्सा शिक्षामा मौलाएको बेथितिविरुद्धको अभियानमा सक्रिय क्षेत्रीको हालै ‘नुन–तेल’ नामक प्रकाशित भएको छ। यसै सन्दर्भमा क्षेत्रीसँग उकालोले गरेको कुराकानी :

तपा‍ईंको पुस्तक केही साताअघि प्रकाशित भयो। जलवायु संकटका विषयमा बहस उठिरहँदा पुस्तकको सान्दर्भिकतालाई कसरी लिनु भएको छ?
यसलाई संयोग मात्र नभनौँ। जलवायु संकटका विषय केही दशक यताको चर्चा र बहसको विषय हुँदा सान्दर्भिकता मिल्न गएको हो। २०७३ सालमा बागलुङ, पर्वत, गुल्मी हुँदै बुटवलसम्मको पदयात्रा गरेको थिएँ। त्यतिखेर नियात्रा लेखेँ। मेरो गाउँ, मेरो बाल्यकालको कथा थियो त्यो।

त्यतिखेर दुई कुरा समानान्तर भयो। मेरो हजुरबुबा, आमा हुँदै मेरो पालाका बारेमा लेख्दै गर्दा मेरो छोराको जन्म भयो। यसो हुँदा उसको पालासम्म आइपुगेँ। मैले मेरो तीन पुस्ताको कुरालाई जोड्न पाएँ। 

५–६ वर्षअघि जलवायु संकटका विषय हो कि होइन, पृथ्वी ताते पनि कति तात्ने हो भन्ने एक प्रकारको द्विविधा जस्तै थियो। तर, पछिल्ला दिनमा हामी संकटको संघारमा रहेको, सन् २०१६ को पेरिस क्लाइमेट एग्रिमेन्ट नामक कार्यक्रमले निर्णय निकालेको छ। 

इन्टर गभर्मेन्टल प्यानल अफ क्लाइमेट चेन्ज भन्ने संयुक्त राष्ट्र संघले बनाएको एक संस्था छ जसका पछिल्लो रिपोर्टमा संसारभर जलवायु परिवर्तन हुने तथा भोकमरी लाग्ने निष्कर्ष निकालेको छ। रिपोर्टका अनुसार, एक अर्ब जति मानिस विस्थापित हुनसक्छ। हामीले जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ र व्यवहारमा परिवर्तन ल्याउन सकेनौँ भने हाम्रो सभ्यता नै संकटमा छ। 

यी दुई विषयमा किताबको अन्तिम एक भाग घनिभूत रूपमा केन्द्रित भएर लेखेको छु। शुरूमा जलवायु संकटका विषय खास प्राथमिकता थिएन, किताब लेखनको प्रक्रिया ७–८ वर्ष लम्बिएपछि पछिल्ला अध्यायमा ती विषय टड्कारो भएर आएका हुन्।

जलवायुकै विषयमा लेख्नुपर्ने स्थिति किन पर्‍यो होला?
सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल जस्तो देशमा जलवायुको संकट निम्त्याउने कार्बन उत्सर्जनमा नेपाल परक्यापिटा सबैभन्दा कम गर्नेमा पर्छौँ । तर, उत्सर्जनबाट हुने जोखिममा हामी पनि पर्छौँ।  यसले गर्दा यो विषय नेपालका लागि एकदम महत्त्वपूर्ण छ। यसबाहेक म पुस्तक लेख्ने मात्र गर्दिनँ। यसको विषयमा वकालत पनि गरिरहेको हुन्छ। अभियानमा भाग लिन्छु। पछिल्ला दिन यिनै विषयमा केन्द्रित भएर लेखेको छु। आफ्नो देशमा वातावरणीय परिवर्तन जोखिम उच्च हुनुले यो विषयमा म केन्द्रित भएँ। 

विश्वव्यापी समस्या समाधानमा व्यक्तिगत स्तरबाट लेखिएका पुस्तकले कसरी सहयोग पुग्ला?
पछिल्लो समय तत्काल लेखिने, पढिने, होस् वा पत्रकारिता, जलवायु परिवर्तनका विषयले सशक्त प्रवेश पाएको छ। हामीले सुनाउन पर्ने, सुन्नु पर्ने भनेको यस्तै विषय हुन्। 

तर, यस्ता विषयमा लेखन, पठनमा रुचि कम हुँदै गएको हो कि भन्ने लाग्छ। आजकल मोबाइल, फोन सोसल मिडियामा मानिसहरूको ध्यान गएको जस्तो लाग्छ। त्यसले गर्दा जागरण ल्याउन चाहने मान्छेका लागि यी विषयमा कसरी सरल सरस भाषामा लेख्ने होला भन्ने समस्या छ। त्यसबाहेक, हाम्रो युवा पुस्तालाई सोसल मिडियामार्फत यी कुरालाई बुझ्ने गरी कसरी पुर्‍याउने होला भन्ने समस्या छ।  

मेरो पुस्तकमा त्यो प्रयास गरेको छु। पुस्तक प्रकाशन गर्नुअघि मैले अनलाइन न्युज पोर्टलमा ५ हजार लामो शब्दको निबन्ध लेखेको छु। मानिसहरूलाई जलवायु परिवर्तनका विषयमा वातावरणीय साक्षरताबारे सुसूचित गरेँ। यस्ता विषयमा सकेसम्म सरल र सरस भाषामा कसरी लख्ने होला भन्ने चुनौती पुस्तक लेखनमा पनि थियो र अन्यमा पनि छ। 

पाठकबाट प्रतिक्रिया कस्तो आइरहेको छ?
सबैभन्दा राम्रो प्रतिक्रिया भनेको पुस्तक विमोचन भएको तीन दिनमा कतिपयले किताब पढिसकेको बताए। यसमा पहिलो भागमा पपुलर साइन्स क्याटागोरी र विज्ञानका थुप्रै विषय छन्। आख्यानमा जस्तो बुझ्न मानिसलाई सहज हुँदैन। त्यो हुँदा पढ्ने गति केही ढिला हुन्छ। 

दोस्रो मैले अनुभव गरेको मेरो पुस्तक प्रकाशित हुनुअघि टुक्राटाक्री पढेर थाहा पाएकाहरू, जसलाई यो विषयमा रुचि छ, उनीहरूले बेलैमा पढेर राम्रो प्रतिक्रिया दिनुभयो। त्यसभन्दा हाम्रो जुन पढ्ने ठूलो जनसंख्या छ त्यहाँ खास यस्ता विषयमा अलिक कम पढ्ने हो कि भन्ने लागेको छ। 

नेपालमा विज्ञान विषयलाई लिएर पढ्ने संस्कृति कम नै छ। त्यसले गर्दा केही चुनौती छन् भन्ने लाग्छ। मेरो उद्देश्य बुझिसकेको भन्दा पनि बुझ्न बाँकी रहेको जमातलाई बुझाउने प्रयास हो। त्यसो हुँदा पुस्तक प्रकाशित भएपछि पनि थप केही काम गर्दै छु। जस्तो कि पहिलो पाठ छ, जुन विशुद्ध  विज्ञानमा आधारित त्यसलाई खास गरी स्कुले बालबालिका र प्लस टु अन्तर्गत किशोरकिशोरीका लागि उनीहरूलाई सचित्र पुस्तक प्रकाशित गर्ने कि भन्ने सोचिरहेको छु। पुस्तक धेरैले पढून् भन्ने इच्छा छँदै छ। त्यसबाहेक, मैले दिन खोजेको सन्देशलाई धेरै मानिससम्म पुर्‍याउने प्रयास जारी छ। 

जलवायु परिवर्तन सबैको समस्या हुँदा पनि किन मानिसहरू यस्ता विषयमा ध्यान दिँदैनन्?
यो सबैको अस्तित्वसँग जोडिएको विषय हो। जलवायु संकटले कसैलाई धेरै र कसैलाई कम जोखिम होला, तर कोही पनि जोखिम रहित छैनन्। नेपालको सन्दर्भमा सर्वसाधारणबाट आन्दोलन, चक्काजाम, दबाब नदिएसम्म नीतिगत सुधार हुन गाह्रो हुने देश हो।

कार्बन उत्सर्जन बढी गर्ने देशहरूको टाउको दुखाइको विषय हुनु पर्ने हो। विडम्बना त्यो भइरहेको छैन। नेपालजस्तो देशले यस्ता जटिलताबाट कसरी बच्ने भनेर ठूलो गृहकार्य गरिसक्नु पर्ने हो। नेपालमा यो समस्या छ। 

केही समय अगाडि वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य संकट भनेर लिएका थियौँ। आम मानिसदेखि मिडियामा यो विषयले निकै स्थान पायो। दैनिक जीवनमा कुराकानी हुँदा सरकारमाथि दबाब परेको थियो। तर केही दिनमै मौसम सफा हुन थालेपछि मिडियाको प्राथमिकतामा पर्न छाड्यो। 

अबको वर्षा यामपछि हामीले जोखिमयुक्त हावामा सास फेर्नु पर्छ। त्यो अवस्था रोक्न सरकारको वार्षिक बजेटमा यो विषयलाई समावेश गर्ने, प्रदूषण घटाउने, प्लास्टिक प्रयोग हटाउने, फोहोर व्यवस्थापन गर्नेबारे सोच्नु पर्ने हो। 

त्यो कुरा जलवायु परिवर्तनसँग कसरी जोडिन्छ भने अन्य देशले गरेको कार्बन उत्सर्जनको भार हामीले बोक्नु हुँदैन, हामी किन गाडी चढ्न नहुने, कार्बन उत्सर्जन कमीमा हामी पनि लाग्नु पर्ने भन्ने मनोभाव उच्च छ।  तर, त्यसको जवाफमा, नेपालले यी कुरालाई बिर्सने हो भने हाम्रो जनस्वास्थ्य संकटमा पर्छ।

वायु प्रदूषणमा मात्र ध्यान दिने हो भने हाम्रो तत्काल आवश्यकताका लागि हुनुपर्छ। आममानिसले आफ्नो तहबाट त गर्नैपर्छ, साथै राज्यले नीति निर्माणको तहमा यसलाई हेर्नु पर्छ। यही सन्देश दिने प्रयास मैले पुस्तकमा गरेको छु। 

तपाईंलाई कस्ता खालका विधा र लेखनशैलीका पुस्तक मन पर्छ?
रुचि भन्ने कुरा समयसँग परिवर्तन हुँदै जाने रहेछ। पहिले आख्यान पढ्न सजिलो लाग्थ्यो। पढ्न मन पर्थ्यो। आजकल आफ्नो काममा सहयोग गर्ने विषयले प्राथमिकता पाउन थालेको छ। 

गैरआख्यान, त्यसमा पनि  इतिहाससम्बन्धी र जलवायुसम्बन्धी भेटेको जति पुस्तक पढ्छु। मैले पढिरहेको विषयभन्दा मलाई नयाँ कुरा सिकाउने, चुनौती दिने विषय बढी मन पर्छ। शैलीलाई म त्यति धेरै वर्गीकरण गर्न सक्दिनँ तर, आख्यान, सिनेमामा पनि ‘रियलस्टिक’, शैलीको मन पर्छ। त्यसबाहेक ‘एक्स्पेरिमेन्ट’ गर्दै जाँदा कहिलेकाहीँ मन पर्दैन भन्दै पढ्दै जाँदा मन पर्न थाल्छ। जीवन्त चित्रण भएको मन पर्छ।

पुस्तक लेखनमा समय लाग्ने कारण के होला?
मेरो हकमा शुरूमा ६०/७० हजार शब्द लेखिसकेको थिएँ। लेख्दालेख्दै किताबै बनेन भन्ने लाग्यो। लेखाइको कुरा थपिँदै गयो, तर निबन्धमाथि तालमेल नमिलेको जस्तो लाग्यो। त्यसैले गर्दा पुनः लेख्नु पर्‍यो। नयाँ लेख्ने पुरानो हटाउने, स्रोतहरू खोज्दै जाँदा जानकारीका लागि थप पढ्नै पर्‍यो। आख्यान भएको भए आफ्नो प्लटअनुसार लेख्न सकिन्थ्यो होला। तर, गैरआख्यानमा यस्तो जानकारी दिन धेरै सूचना राख्नुपर्ने हुँदा, संकलन, अनुसन्धान तथा पुनः लेखनमा समय लागेको हो।

हाल केमा व्यस्त हुनुहुन्छ, आगामी योजना के छ?
चिकित्सक भएका कारण पेशागत व्यस्तता छँदै छ। लेखनको हिसाबले यो प्रकाशित पुस्तकको पहिलो भागलाई सचित्र पुस्तक बनाउने योजना छ। यसबोहक, वातावरणीय परिवर्तनका विषयमा वकालत गर्न क्लब हाउस पनि चलाउँछु। तत्कालका लागि केही छैन। नयाँ पुस्तक लेख्न अझै समय लाग्छ होला। यो प्रक्रियाले सिकाएको कुरा हो। 


सम्बन्धित सामग्री