Thursday, April 25, 2024

-->

रिङभित्र संघर्षरत एक कलाकारः सफल हुन 'माइकल चेखव' विधि

हाम्रो शरीर जन्मसँगै अनेकौँ अणुहरूले बनेको छ। हामीलाई चाहिने चरित्रहरू ब्रह्माण्डबाट लिन्छौँ। त्यो चरित्रलाई अगाडि खडा गर्छौं। र त्यसभित्र प्रवेश गर्छौं, हातमा पन्जा लगाएजसरी।

रिङभित्र संघर्षरत एक कलाकारः सफल हुन माइकल चेखव विधि

सिमसिम पानी परेको छ। चिसो चिसो दिन छ। लिजा डाल्टन नेपाल फिल्म क्याम्पसको अतिथि गृहमा बसेकी छन्, अर्कातिर होस्टलमा छन् श्रीलंका र भारतबाट आएका प्रशिक्षार्थी। कार्यशाला शुरू हुनुपूर्वको अघिल्लो दिन। ममा तयारीको चिन्ता छ, अतिथिहरूले नरमाइलो नमानुन्। तर लामो यात्रा गरेर आएकी लिजा धेरै थाकेकी छैनन्, ‘विलिङ फोर्स’ले जितेको छ। थिंकिङ फोर्स, फिलिङ फोर्स, विलिङ फोर्स, ‘माइकल चेखव’ विधिका मुटु रहेछन्! हाम्रो शरीरको अनुहारदेखि माथिल्लो भागले थिंकिङ फोर्स, छातीले फिलिङ फोर्स र कम्मरदेखि तलको भागले विलिङ फोर्स जनाउने रहेछ ! लिजालाई अवलोकन गर्दा पनि थाहा हुन्छ। ७० वर्षको उमेर, जीवनमा नौ वटा दुर्घटना तर पनि ऊर्जाले भरिएकी छन्।

सिमसिम पानीको साइड इफेक्टले होला होस्टलमा बसेका प्रशिक्षार्थीहरू सुतेछन्। हिँड्ने इच्छा देखाएनन्। उमेरको हिसाबले पनि लिजालाई हिँडडुल, व्यायाम चाहिन्छ, आफूले बुझेको कुरा। उनको इच्छा जान्न खोज्दा बर्सादी तयार पारेर उनी हिँड्न तयार भइन्। भिजाउने पानी हैन, सिमसिम सिमसिम मात्रै। 

माइकल चेखव चिनाउने हुटहुटी अमेरिका नछाड्दै अनुभूत गरेको हुँ। उनले माइकल चेखवतिर डोर्‍याइन मैले पशुपतितिर। कुरा गर्दै गौशालाको मुख्य सडकमा निस्कियौँ। यतिमै बाटो पछ्याउन उनलाई कठिन पर्‍यो, साँघुरो अप्ठ्यारो बाटो, भिडभाडले गर्दा। उनको भनाइ छिचोलेर मि. चेखवको तस्वीर कुँद्न मलाई पनि हम्मेहम्मे परिरहेछ! धुम्म थियो वातावरण तर उनी भित्रैबाट उज्यालिएकी। उनले मलाई माइकल चेखव स्तानिस्लाभास्किका प्रिय विद्यार्थी र एन्तोन चेखवको भजित हो भनेर उनीहरूको सम्बन्धको डोरो देखाउन खोज्दा यता पशुपति परिसरको जंगल देखियो। विश्व सम्पदा सूचीमा रहेको पशुपतिबारे चिनाउने उचित शब्दहरू केलाउन थालेँ। विद्यार्थी रहँदादेखि ‘माइकल चेखव’को संघर्ष चिनाउन थालिन् उनी। भीडलाई छल्न शरीर लचिलो बनाउँदै हिँडिरहेँ। उनले बालक जसरी पछ्याइन्। हामी गौशाला चौकीनेरबाट पशुपति परिसरभित्र पस्यौँ। अलिक बाटो पार गरेपछि बाँदरहरू देखिन थाले। मोबाइल निकालेर फोटो खिचिन् बाँदरको। हाँस्दै उनी बाँदरको नजिक नजिक गइन्। बाँदरप्रतिको निडरता देखेर उब्जिएको मेरो प्रश्नमा उनले जवाफ दिइन्, ‘हाम्रोतिर बाँदर हुँदैनन्।’

नजिकैको पूजाका विभिन्न सामानहरू बेच्ने पसलमा ध्यान केन्द्रित गरिन्। उनको आवश्यकताबारे बुझ्न केही समय लाग्यो। पसलभित्र सामान हेर्न थालेपछि पानी दर्कियो। उनले नरम बर्सादी ओढिन्। बर्सादीभित्र झन् बालक जस्ती लागिन्। उनलाई चाहिएको रहेछ तामाको चुरा! जुन आफ्नो नाडीमा टम्म मिलोस्। पसलेले जुन चुरा दिए पनि उनको चित्त बुझेन। चुराको खोजीमा लागेपछि बाटो मोडियो। अरू धेरै पसल भएको ठाउँलाई लक्ष्य बनाएँ। पसलका छाप्राहरूमा टाउको हुलेर पानी छल्दै हिँडे। उनले ओडेको पातलो बर्सादीले थाम्न सक्ने थियो पानी। सात वर्षकी बालिकाले लगाउने आकारको चुरा पो रोजिन् उनले। नभन्दै ठिक भयो। बुढाबुढी र बालबालिका एकै हुन् भन्ने भाष्य त्यसै बनेको हैन रहेछ ! उनलाई अवलोकन गर्दा मलाई त्यस्तै लाग्यो।

‘यो चुरा किन लगाएको? के हुन्छ यो लगाएपछि?’ प्रश्न गर्दा पक्कै फरक विश्लेषण होला उनीसँग भन्ने अपेक्षा थियो।

‘तामाको चुरा लगाएको ठाउँमा हरियो हुन्छ नि थाहा छ?’ उनले भनेको कुरा बुझे नबुझेको जाँच्न केही समय पर्खिन्। मैले बुझेको थाहा पाएपछि थप कुरा बताइन्। ‘छालामा लागेको हरियोले शरीरको त्यही भागमा भएको दुखाइलाई सोच्छ। दुखाई कम हुन्छ।’ 

उनी आफ्नो शरीर र दुर्घटनाबारे बताउन थालिन्। फिल्मका लागि ‘स्टन्ट’ गर्दा भएका थुप्रै दुर्घटनाले शरीरको कुन कुन भागमा स्टिल छ, टाउकाको हड्डीहरू कसरी सही ठाउँमा ल्याएको सबै बताइन्। यति सुनेपछि उनको अवतार अच्चमको लाग्यो। 

यतिन्जेल हामी फेरि गौशाला सडकमा निस्किसक्यौँ। उनको उमेर अनि ऊर्जासँग जोडिएर प्रश्न गरेँ। उनले दुवै हात आकाशतिर फर्काएर कप जस्तो बनाउँदै ‘माइकल चेखव’ को नाम लिइन् अनि बताउन थालिन् मि. चेखवबारे। मम खाने प्रस्ताव मन परेपछि हामी लाग्यौँ गौशालाबाट कालो पुलतिर। उनी बताउँदै गइन् ‘माइकल चेखव’बारे। पहिलो दिन सुनेका जति सबै कुरा बुझ्न गाह्रो परिरहेको थियो। म बीचमै रोकेर अरू प्रश्नतिर लागेँ। पानी रोकिइसके पनि उनले रेनकोट खोलिनन्। मेरो उद्देश्य उनलाई वरिपरिको ठाउँहरू चिनाउनु थियो। उनको उद्देश्य मलाई ‘माइकल चेखव’ चिनाउनु हो पक्कै। हामी दुवै जना ‘चिनारी’को पहिलो तहमा भयौँ। 

संसारमा माइकल चेखव विधिमा काम गर्ने कलाकारहरू सफल छन्। हाम्रो शरीर जन्मसँगै अनेकौँ अणुहरूले बनेको छ। हामीलाई चाहिने चरित्रहरू हामी ब्रम्हाण्डबाट लिन्छौँ। त्यो चरित्रलाई हाम्रो अगाडि खडा गर्छौ। र हामी त्यो चरित्रभित्र प्रवेश गर्छौं हातमा पन्जा लगाए जसरी। उनी मलाई बुझाइको दोस्रो तहमा लिएर जान खोज्दै छिन्। मलाई सजिलो भएन। गौशालाको भिडभाड, उबडखाबड बाटोमा हिँड्न उनलाई पनि सजिलो भएन। नयाँ परिवेश हर कोहीलाई अप्ठ्यारो लाग्दछ। 

मम पसलमा पुग्दा समेत हामीले कुराकानीलाई निरन्तरता दियौँ। प्लेटमा तातो मम आएपछि उनले रेनकोट खोलिन्। खोर्सानीको अचार नहाली मम खान सुझाव दिएँ। तर उनले दुवै अचार टेस्ट गरिन्। पिरो पनि सामान्य मानिन्। 

मम पसलबाट हामी शैली थिएटरतिर लाग्यौँ। शिल्पीमा उनले विमोक्ष नाटक हेरिसकेकी थिइन्। एउटा थिएटर चिनिसकेपछि अर्को थिएटर देखाउन मन थियो। हाम्रो वरिपरि साना ठुला दश वटा थिएटर छन् भनिसकेको थिएँ। उनले कुराकानीलाई निरन्तरता दिइन्। स्तानिस्लाभास्कि बुझ्नेले मि. चेखवलाई सजिलै बुझ्ने रहेछ ! हाम्रोतिर अभिनयबारे फिटिक्कै थाहा नभए पनि, अभिनय गर्न नजाने पनि स्तानिस्लाभास्किको नाम जान्दा दिग्गज भइन्छ। यस्तै मान्यता छ। 

‘मलाई मेथड एक्टिङ मन पर्छ।’ मेरो यो कुरा सुन्ने बित्तिकै उनी मुस्कुराइन्। अरू अनेक कुरा बताउन थालिन्।

‘बक्सिङ खेल थाहा छ ? बक्सिङको खेलाडी।’ केही समय रोकिएर मेरो अनुहारको भाव नियालिन्। थाहा पाएको सङ्केत दिन म बोलिन अनुहारको भावभंगीमा अनि ‘जेस्चर’को सहायता लिएँ। 

एक छिन उनी बाटैमा उभिइन्। बताउँदै गरेको कुरामा मेरो ध्यान खिच्न रहेछ। म पनि उभिएँ। ‘बक्सिङ खेलाडीले डाङ्डुङ डाङ्डुङ् हान्छ। घण्टी बजेपछि केही समयको लागि रोकिन्छ। अर्को घण्टी बजेपछि पानी पिउँदै गरेको भए पनि फ्याँकेर खेलमा जुट्छ। त्यो क्षण उसलाई संसारका कुनै कुराको पनि वास्ता हुँदैन। अभिनय भनेको यही हो, यस्तै हुन्छ। हामी कलाकार रिङमा पसेका खेलाडी हौँ। मञ्च हाम्रो लागि रिङ हो।’ मुख्य सडकको कोलाहल छल्नलाई शैली थिएटरबाट साँघुरो गल्लीको सहारा लिएँ। अभिनयलाई उनले सजिलो तरिकाले बुझाइदिइन्, यस्तै महसुस भयो। त्यसपछि दैनिक जीवनका तत्त्वहरूसँग अभिनयलाई जोड्न थालिन्। 

हिँडाइ र कुराको गति बराबर थियो। नयाँ बाटो उनलाई हिँड्न अप्ठ्यारो, नयाँ कुरा मलाई बुझ्न अप्ठ्यारो। दुबै जना अप्ठ्यारामा थियौँ। यस्तो बाटो हिँड्दा उनले के सोच्दी हुन्, मेरो अप्ठ्यारो। कुरा सजिलै बुझ्यो कि बुझेन, उनको अप्ठ्यारो ! केही सफल हलिउडका कलाकारको उदाहरण दिन थालिन्। सबैभन्दा पहिला माइकल चेखव विधि अपनाउने र आफूले पनि सँगै काम गरेका कलाकारको नाम लिइन्। उनले लिएका नामहरू मध्ये मेरोल्हड स्ट्रिप र टम ह्याङ्क्सको नाम उनीबाट सुनेपछि म झन् हौसिएँ। माइकल चेखव विधिमा काम गरेका हुनाले नै उनीहरू सफल भएका हुन्। ‘कलाकारले निर्वाह गर्ने चरित्र दुःखी, खुसी, उत्साहित वा रिसाहा हो कलाकार हैन। मञ्चमा दुःखी चरित्र निर्वाह गरे पनि कलाकारको मन हर समय नाचिरहेको हुन सक्छ। आहा, त्यो मञ्चमा रोएको चरित्र मै हुँ, नाटक सकिएपछि पार्टी छ, वाउ! मैले आज रोएको अभिनय राम्रो गरेँ, स्याबास म !’ उनी बोलिनन् मात्रै, बोलीलाई शरीरमार्फत व्यक्त गरिन्। उनको अभिव्यक्तिले म रोमाञ्चित भएँ। 

मैले केही सफल कलाकार र चलचित्रहरूको नाम लिएँ। ‘डानियल डे लुइसले किन चाँडै संन्यास लियो। म उसको फिल्म अझै हेर्न चाहन्छु।’

उनले तत्कालै जवाफ दिइन्। जवाफ दिनुअघि रोकिइन्। हामी रोकिएपछि दुई जना वटुवाले हामीलाई उछिने। ‘ऊ बिरामी भइसक्यो। उसले अब काम गर्नै सक्दैन। किनभने ऊ मेथड एक्टर हो। कलाकारले आना विगत कल्पेर अभिनय गर्ने होइन। कलाकार आफू दुःखी हुने हैन। दर्शकलाई दुःखी महसुस गराउने हो। आफ्ना जीवनका अनुभूतिहरू कल्पेर अभिनय गर्नु सधैँ सम्भव हुँदैन। यो आवश्यक नै छैन। काठ वा ढुङ्गाको मूर्ति वा कागजमा बनेको चित्र हेर्दा पनि त दर्शक दुखी, खुसी, वा रोमाञ्चक हुन्छन्। तर ती मूर्ति वा कागजमा बनेको चित्र आफैँले कुनै अनुभूति गरेको हुन्छ र ? बर्ड आइ भ्युबाट आफूले निर्वाह गर्दै गरेको चरित्रलाई हेर्ने र कलात्मक रूपमा दर्शकसामु प्रस्तुत गर्नु पर्दछ। कल्पनाशीलताको प्रयोग गर्दै इमेजहरू निर्माण गर्ने र आफ्नो लागि उत्कृष्ट इमेज छनौट गर्नु गर्दछ।’ माइकल चेखव र मेथड एक्टिङ वा रियालिस्टिक एक्टिङ बुझाउन यतिबेला उनी गहिराइमा पुगिन्। 

हामी उनको बासस्थान नजिकै आइपुग्यौँ, जहाँबाट हिँडेका थियौँ। त्यहाँ दुई वटा गल्ली थिए।

‘तपाईंलाई यो ठाउँ थाहा छ ? कलेज पुग्ने बाटो कुन हो ?’ मेरो प्रश्नमा रनभुल्ल परेको बुझाउन दुवै आँखालाई निकैबेर बाटोतिर निर्देशित गरिन्। उनको शारीरिक ‘जेस्चर’ नियालेपछि मलाई उत्तर मिलिहाल्यो। उनले भेटेदेखि नै कल्पना र विश्वासको जगमा उभिएको माइकल चेखवबारे दिएको प्रारम्भिक ज्ञानले म पनि ठ्याक्कै यही चरणमा थिएँ।


सम्बन्धित सामग्री