Thursday, April 25, 2024

-->

पोस्टकार्डस् फ्रम द पास्ट : तीन पुस्ताले देखेको काठमाडौँ

कसिसदासका तीन पुस्ताले काठमाडौँलाई नजिकबाट नियाले, अनि तस्वीरमा दृश्यहरू कैद गर्दै गए। यी तस्वीर कसिस मात्र नभइ उनका हजुरबा र बुबासमेतले आ–आफ्नो समयमा देखेका काठमाडौँको परिवर्तनका अभिलेख हुन्।

पोस्टकार्डस् फ्रम द पास्ट  तीन पुस्ताले देखेको काठमाडौँ
तस्वीरहरू: प्रबिता/उकालो

कल्पना गर्नुहोस् त, ६०–९० को दशक।

यदि, कोही पर्यटक काठमाडौँ आए भने उसले नेपालमा देखेको दृश्य, प्राकृतिक सौन्दर्य कसरी आफ्नो परिवारलाई देखाउँथे, भन्थे होलान्?

त्यति बेला अहिलेजस्तो सामाजिक सञ्जाल थिएनन्। त्यो समयका पर्यटकबाट आउन सक्ने एउटा उत्तर हुनसक्छ– पोस्टकार्डस्।

गत शुक्रबारदेखि झम्सिखेलस्थित विन्ड हर्स ग्यालरीमा प्रदर्शनी भइरहेको ‘पोस्टकार्डस् फ्रम काठमाडुज पास्ट’ यसको उत्तर हुनसक्छ। फोटोग्राफीमा विरासत सम्हालिरहेका कसिसदास श्रेष्ठका तीन पुस्ताले लेन्समा कैद गरेका नेपालकोे परिवेश प्रदर्शनीमा देख्न सकिन्छ।

हजुरबा द्वारिकादास श्रेष्ठले खिचेका ‘बसन्तपुर’, ‘स्वयम्भू’, बुबा ज्ञानेन्द्र ‘टप अफ द वल्ड’, ‘फेवाताल’ लगायतका तस्वीरका पोस्ट कार्ड अझ पनि विभिन्न पर्यटकीय क्षेत्रमा खरिद–बिक्री भइरहेको उनले देखेका छन्। त्यसले उनलाई एकैपटक चकित र खुशी तुल्याउँछ।

“नेपालमा व्यावसायिक रूपमा पोस्ट कार्ड नै मेरो हजुरबा द्वारिकादास श्रेष्ठले शुरु गर्नु भएको हो,” कसिसदास भन्छन्, “मेरो बुबा ज्ञानेन्द्रदासको पालासम्म आउँदा एरोग्राम चल्न थाल्यो।”

हरियो झोलाबाट उनले ‘एरोग्राम’ निकाले। उनीसँग उक्त डिजाइनको एरोग्राम अबका लागि १५–२० वटा मात्रै रहेछन्। कुनै समय उनका बुबाको ‘दास कलर ल्याब’मा सोही ‘एरोग्राम’ को माग उच्च हुन्थ्यो, विशेषतः विदेशमा चिठी पठाउनको लागि।

उकालोसँगको कुराकानी पोस्ट कार्ड हुँदै एरोग्रामतर्फ धकेलिन थालेको थियो। पोस्टकार्ड र एरोग्रामको कुराकानीमा उनी आफैँ पनि ‘नोस्टाल्जिक’ भए।

“एरोग्राम रेडिमेड लेटरजस्तै हो, जसको एक भागमा केही तस्वीरसहित प्रेषक र प्रापकको नाम हुन्छ भने अर्को भागमा चिठी लेख्नका लागि खाली स्थान,” कसिस भन्छन्, “एरोग्राममा स्ट्याम्पको छाप लगाएपछि हुलाकमार्फत देशविदेशमा पुग्थ्यो।”

उनका अनुसार त्यो बेला नेपालमा राम्रो हुलाक सेवा थियो, सन् २००२ सम्म पनि एरोग्राम राम्रै चल्यो। एरोग्रामअघिको पोस्टकार्डप्रति पर्यटकको रुचि व्यापक थियो। विदेशीमाझ अझै पनि पोस्टकार्ड रुचिको विषय भएको उनी बताउँछन्। 

कसिसदासका तीन पुस्ताले काठमाडौँलाई नजिकबाट नियालेका छन्। ती हेराइ क्यामेराका लेन्स हुँदै नेगेटिभभरि र तस्वीरको रूपमा कैद भए, जुन तीन पुस्ताका समकालीन समयमा देखिएको परिवर्तनको अभिलेख पनि हो।

प्रदर्शनीमा रहेका तस्वीरले कुनै बेला ‘भिन्टेज–भाइब’ दिन्छ भने, कुनै बेला आफ्नो समयको आभास दिन्छ। तस्वीरहरूले समयको सयर गराउँछन्। “प्रदर्शनीको एउटा ध्येय नै त्यही थियो, त्यस्तै प्रतिक्रिया पाउँदा खुशी छु,” कसिस भन्छन्, “यससँगै शहरी दिगोपन देखाउनु यस प्रदर्शनीको अर्को ध्येय हो।”

फोटोग्राफीको उक्त अभ्यास पोस्टकार्ड, एरोग्राम हुँदै हाल सोसल मिडिया ह्यान्डलसम्म पुगेको उनी बताउँछन्। उनका अनुसार, सामाजिक सञ्जालमा ‘अटेन्सन–स्पान’ छोटो अवधिको छ। सामाजिक सञ्जालमा पुराना फोटाहरू बेलाबखतमा देखिने गरेका छन्। जसले मानिसहरूको ध्यान तानिरहेको हुन्छ। 

यो ट्रेन्डलाई नियालिरहेका उनमा आफूसँग भएको तीन पुस्ताका पुराना–नयाँ तस्वीरलाई प्रदर्शनीमा ल्याउने सोच आयो। उनी भन्छन्, “मानिसहरू पुरानो समयसँग नजिकिन खोजेको सामाजिक सञ्जालमा देखिन्छ। मसँग मेरो हजुरबा, बा र मेरो गरी तीन पुस्ताको तस्वीर छन्। यस प्रदर्शनीमार्फत त्यो बेलाको समयमा यात्रा गराउन चाहेको हुँ।”

पोस्ट कार्डमा सदाबहार ती तस्वीर
हजुरबा द्वारिकादासले पोस्टकार्डलाई नेपालमा व्यावसायिक बनाएको दाबी कसिसको छ। दार्जीलिङमा हुर्केबढेका द्वारिका केही समयपछि स्थायी रूपमा बस्ने गरी काठमाडौँमा आएका थिए। जहाँ ज्ञानेन्द्र हुँदै कसिससमेतको जन्म र हुर्काइ भयो। बुबा र आफ्नो बाल्यकाल स्टुडियोमै बितेको उनी बताउँछन्। 

टप अफ द वर्ल्ड, फेवाताल, स्वयम्भू, वसन्तपुरका ख्यातिप्राप्त पोस्टकार्ड अझै पनि विभिन्न पर्यटकीय स्थलहरूमा खरिद–बिक्री हुने गरेका छन्। ती तस्वीर कसले खिचे भनेर धेरैलाई थाहा नहुन सक्छ। त्यो आवश्यक नरहेको उनी पनि बताउँछन्। यद्यपि, पोस्टकार्डमा तस्वीरलाई देख्दाको उनको खुशी बेग्लै हुन्छ। 

दार्जीलिङ रहँदा हजुरबाको राजारानीसँग नजिकको सम्बन्ध रहेको कसिसले बताए। त्यति बेला द्वारिकाले खिचेका राजारानीका कतिपय तस्वीर देख्न पाइन्छ। नीलो पर्दामा राजा वीरेन्द्र र रानी ऐश्वर्यको एउटा बेग्लै तस्वीर उनका बुबाले खिचेका थिए, जुन अझै पनि धेरैको घरका भित्तामा टाँगिएका हुनसक्छ। 

प्रदर्शनीमा बेलायतकी महारानी एलिजावेथ द्वितीयदेखि जवाहरलाल नेहरूसम्मका तस्वीर राखिएका थिए। त्यस्तै, हिमालमा यात्रा गरेका यात्रीका तस्वीर पनि थिए।

शहरको साख बचाएका सदाबहार सम्पदा
तीन पुस्ताले खिचेका तस्वीर प्रदर्शनीमा सदाबहार देखिने अर्को पक्ष हो, उपत्यकाको सम्पदा।

तीन पुस्ताका क्यामेरा, लेन्समध्ये दुई पुस्ताले स्वच्छ हावापानी, खोला, खुल्ला फाँटको बीचमा रहेको बौद्ध, स्वयम्भु देखे। कसिसको समयसम्म आइपुग्दा काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहरमा पहिलो नम्बरमा पर्‍यो। केही हप्ताअघि मात्रै उनले वसन्तपुरबाट तस्वीर लिएका थिए, जसलाई उनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)बाट प्रदूषणरहित बनाएका छन्। वातावरणीय परिवर्तनको महसुस उनी र उनको क्यामेरोले गरे।  

उपत्यकाको बढ्दो आवादी, वातावरण परिवर्तनलगायतका धेरै परिवर्तन तीन पुस्ताको तस्वीरमा कैद भएका छन्। तर, शहरका सम्पदाको सदाबहार सौन्दर्य भने उस्तै छ। “शहरको साख नै सम्पदाले बचाएको छ,” उनी भन्छन्, “भूकम्पको जोखिममा रहेको नेपालमा सम्पदाहरू बेलाबखतमा भत्किए। मौलिक कलाकौशल र सीपको पुस्तान्तरण हुँदा यी संरचना पूर्खादेखि नै भत्कँदै बन्दै आए र आफ्नो साख कायम गर्दै आए।” 

यसलाई उनी आफूले खिचेको ‘अनब्रोकन डिभोसन’ उपमा दिएको तस्वीरसँग जोड्छन्। नेपाल आउँदा कसिस पहिलेदेखि नै बौद्ध पुग्ने गर्थे। त्यहाँ हरेक दिन ४ बजे प्रार्थना हुन्थ्यो, जसको तस्वीर उनको ‘फेथ’ नामक सिरिजमा छ। २०७२ सालको भूकम्पपछि कस्तो भयो भन्ने उत्सुकताले उनलाई डोर्‍यायो। बौद्धको स्तुपा जीर्णोद्धार गर्नुपर्ने थियो।

त्यसका लागि स्तुपाको माथिल्लो भाग पूर्णरूपमा निकालिएको थियो। ‘बौद्धको मुख्य भाग नै नरहँदा त्यहाँको दैनिक प्रार्थनामा रोक लाग्यो होला’, सोही सोचले उनलाई बौद्धसम्म डोर्‍यायो। कसिस पुग्दा त्यहाँ जसरी पहिले प्रार्थना हुन्थ्यो, त्यसैगरी भइरहेको थियो। प्रार्थना रोकिएको थिएन।

“सम्पदा भनेको कुनै संरचनाको आर्किटेक्चर मात्र होइन जीवित संस्कृति रहेछ। ती संरचनाको कुनै दिन स्थल, चाडपर्व रितिरिवाज जोडिएको कारण जिवन्त हुनेरहेछन्,” उनले भने। 

एउटा चक्र: केही छुट्दै–केही थपिँदै
प्रदर्शनीमा रहेका केही तस्वीरको क्रम निकै सान्दर्भिक छन्। द्वारिकादासले सन् १९६४ मा खिचेको तस्वीरमा नार्गाजुन र शिवपुरीको डाँडा पूर्णरूपमा नांगो छ। सन् २०२३ मा कसिसको तस्वीरमा ती डाँडा भरिभराउँ छन्। 

“त्यस समयमा डाँडाकाँडा नांगो थियो। हुनसक्छ त्यसबेला घाँसदाउरा, काठ नै मानिसको जीवन थियो। यसले त्यस समयको सामाजिक–आर्थिक जीवनको पाटो पनि दर्साउँछ,” उनी भन्छन्, “हाल नार्गाजुन–शिवपुरी क्षेत्र संरक्षित छन्, सामाजिक जीवनमा आएको परिवर्तन ठूला-ठूला भवनले पनि दर्साउँछ।”

सन् १९६० मा द्वारिकादासले खिचेको भक्तपुर दरबार स्क्वायर धेरैका लागि अर्को नौलो तस्वीर हुनसक्छ। तस्वीरमा दरबार परिसरमा घाँस उम्रिएको, केही बाख्रा र एक जना मानिस देख्न सकिन्छ। भक्तपुरमा जर्मन परियोजना आउनुअघिको यस खालको परिवेश आजका पुस्तालाई शायद कम मात्र थाहा होला।  

सन् १९६० मै पनि, न्यातपोल मन्दिरमा फलामे गेट रहेछ, जुन नेगेटिभ रिलमा नियाल्दा देखिन्छ। 

कसिसका तीन पुस्ताले खिचेको एकै स्थानको तीन वटा तस्वीर हो, पाटन दरबार क्षेत्र। हजुरबाले सन् १९६४ मा खिचेको तस्वीरमा पाटन क्षेत्रमा केही भिन्टेज कार पार्क गरिएको देखिन्छ। उनको बुबा ज्ञानेन्द्रको तस्वीरमा उक्त क्षेत्र हाटबजारको रूपमा परिवर्तित भएको छ। उनले कैद गरेका तस्वीरमा उक्त स्थान ‘पब्लिक प्लाजा’ भएको छ, जहाँ मानिसहरू बस्छन् र गफिन्छन्। एकै स्थानमा थपिँदै, बदलिँदै जाने यो क्रम यी तस्वीरले बोलेको छ।

कसिसलाई आफ्नै चुनौती!
तीन पुस्तादेखिको लिगेसीलाई धान्नु पक्कै पनि सहज काम हैन। हजुरबाले स्वयम्भूको दक्षिणतर्फको फ्रेम र एंगलमा खिचेको तस्वीरमा अझै पनि कतिपय टिकटक, तस्वीर बनिरहेको कसिस बताउँछन्। “आजसम्म पनि फोटोग्राफरहरूले सोही फ्रेममा खिचिरहेका हुन्छन्। यसबारे सबैलाई थाहा नहुनसक्छ। तर, कहीँकतै देखेर नै उक्त फ्रेम रिक्रियट भइरहेको हुन्छ, त्यो देखेर खुशीका साथै चुनौती पनि महसुस हुन्छ,” उनी भन्छन्, “हजुरबा र बुबाका यस्ता धेरै फोटो छन्। मलाई पनि उहाँहरूको जस्तै परिचय स्थापित गर्ने काम गर्नु छ।”

कसिस आफैँलाई चित्त बुझेको एउटा यस्तो तस्वीर छ, जुन सामाजिक सञ्जालमा धेरै रुचाइए र रिक्रियट पनि भए। “मैले बालाजुदेखि नागार्जुन डाँडा हुँदै शिवपुरी, लाङटाङ हिमाल र आकाशको पाँच वटा लेयर रहेको फ्रेममा एउटा तस्वीर खिचेको थिएँ,” उनी सम्झन्छन्, “सन् २०११ र २०१५ गरी एउटै स्थानबाट एउटै फ्रेममा उक्त फोटो दुई पटक लिएको थिएँ।”

तर, सन् २०१५ को महाभूकम्पपछि तस्वीर लिएको उक्त स्थान रहेन। सोही फ्रेम र एंगलका लागि उनी आफैँले पनि रिक्रियट गर्न नसकिने एउटा नमिठो रिक्तता तस्वीरसहित उनको सँगालोमा छ।


सम्बन्धित सामग्री