काठमाडौँ– शनिबार दिउँसो २ बज्दै गर्दा गुञ्जायमान थियो भक्तपुरको मध्यपुरठिमीस्थित बोडेको पाचो गणेश मन्दिरको प्राङ्गण। डबली (मञ्च)मा थिए २७ वर्षीय सुजन बाग श्रेष्ठ। र, थियो जिब्रो छेड्ने जात्राको उल्लास।
हरेक वर्ष वैशाख २ गते बोडेमा जिब्रो छेड्ने जात्राको रौनक उच्च हुन्छ। यस पटकको जात्रा अझ उल्लासमय थियो। कारण २७ वर्षीय सुजन बाग श्रेष्ठ थिए। जो पहिलोचोटि जिब्रो छेडाउँदै थिए।
यसअघि उनका बुबा बुद्धिकृष्ण बाग श्रेष्ठ, ठूलोबुवा–काकाहरूले पटक पटक जिब्रो छेडिसकेका छन्। यसअघि उनको बुवा बुद्धिकृष्णले नौ, ठूलोबुवा कृष्णचन्द्रले १२ र जुजुभाइ बाग श्रेष्ठले आठ पटक जिब्रो छेडिसकेका छन्।
शिरमा सेतो फेटा अनि सेतै पहिरनमा सजिएका सुजन जब मञ्चमा उक्लिए मन्दिर परिसर धिमे, झ्यालीलगायतका बाजाले गुञ्जायमान भयो। युवा जमात रोमाञ्चित बन्यो। ठूलाबुबा कृष्णचन्द्रले सुजनको जिब्रो छेडिदिए। जिब्रो छेडिएसँगै चारैतर्फ फर्किएर उनले नमन गरे। त्यसपछि महादीप बोकेर बोडे नगर परिक्रममा लागे।
पाचो गणेशबाट शुरू हुने नगर परिक्रमा बोडेकै महालक्ष्मी मन्दिरमा पुगेपछि समाप्त हुन्छ। महालक्ष्मी मन्दिरमा जिब्रोबाट सियो निकालिन्छ र मन्दिरको माटो जिब्रोमा दलिन्छ। मन्दिरको माटोले जिब्रोको घाउ निको हुने जनविश्वास छ।
महालक्ष्मी मन्दिर परिसरभन्दा सय मिटरजति पर ५९ वर्षीय कृष्णचन्द्र बाग श्रेष्ठ आराम गर्दै थिए। पसिना निधारबाट तपतप चुहिइएको थियो। उनी थकित देखिन्थे। यद्यपि, प्रफुल्लित थिए, किनकि उनैले भतिज सुजनको जिब्रो छेडिदिएका थिए।
नगर परिक्रममा गएका भतिजको प्रतीक्षामा रहेका उनले जिब्रो छेड्दिँदाको अनुभव सुनाए, “उसलाई भन्दा धेरै डर मलाई लागेको थियो। भतिज पनि आफ्नै छोरो न हो।”
आफ्नो पुस्तासरह सहन गर्न र चलनलाई निरन्तरता दिन सक्ने नसक्नेमा शंका, उनीहरूप्रतिको माया र डरको मिश्रित भाव उनीमा देखिन्थ्यो। किनकि, यो वर्षदेखि कृष्णको पुस्ताका दाजुभाइबाट पालैपालो चल्दै आएको जिब्रो छेड्ने चलन छोरा पुस्तामा सरेको छ।
कृष्णले पहिलोचोटि २०४९ सालमा जिब्रो छेडेका थिए। उनी आफूले पहिलोपल्ट जिब्रो छेड्दाको क्षण स्मरण गर्छन्, “त्यतिबेला म २४ वर्षको थिएँ। के कस्तो होला भन्ने थोरै डर त थियो, तर खास केही भएन।” उनले यो प्रचलनलाई निरन्तरता दिँदै त्यसयता १२ पटक जिब्रो छेडाए। उनले अगाडि थपे, “त्यसपछि भाइहरूले चलनलाई निरन्तरता दिए।”
उनका अनुसार जिब्रो छेड्ने र छेडिदिने व्यक्तिहरूले परम्परागत रूपमा मान्दै आएका नियमहरूलाई पालना गर्नुपर्ने हुन्छ। छेडिदिने व्यक्ति एक दिन र छेडाउने व्यक्ति चार दिन अघिदेखि व्रत बस्छन्। “छेड्ने व्यक्ति चार र छेडिदिने व्यक्तिले एक दिन अघिदेखि व्रत बस्नु पर्छ”, उनी भन्छन्, “जिब्रो छेड्ने सियो एक फुट जति लामो हुन्छ, जसलाई अघिल्लो रातदेखि तेलमा भिजाएर राखिन्छ।”
जिब्रो छेड्दा दुख्छ भन्ने प्रश्नमा उनी छोटो उत्तर दिन्छन्, “अब हामीले दुख्यो, दुखेन भन्दा तपाईंहरूले नपत्याउनु होला। त्यो छेडाउने व्यक्तिलाई नै थाहा हुन्छ।”
खुशी छन् पुराना पुस्ता
बोडेको जात्रामा जिब्रो छेडाउने श्रेष्ठ परिवारका तस्वीर तथा नामसहितका फ्लेक्स बोडेका टोल टोलमा टाँगिएका थिए। कतिपय फ्लेक्समा भने पहिलोपटक जिब्रो छेडाउँदै गरेका सुजनको तस्वीर र उनीप्रति कृतज्ञता व्यक्त गरिएका हरफ लेखिएका थिए। जुसलाई नवपुस्तालाई प्रोत्साहनका लागि चालिएको कदमका रूपमा लिन्छन् स्थानीयवासी।
आफ्नो परिवारमा जिब्रो छेडाउनेको संख्या थपिएकोमा बुद्धिकृष्ण बाग श्रेष्ठ हर्सित छन्। यसपालिको जात्रामा बुद्धिकृष्णले जिब्रो नछेड्न घोषणा गरेसँगै परम्परा धान्न उनका कान्छा छोरा सुजन अघि सरेका थिए।
सुजन जिब्रो छेडेर नगर परिक्रममा निस्किएलगत्तै जात्राका पमाः (नाइके) माइला भासिको श्रेष्ठ र जलकृष्ण पिला श्रेष्ठ महालक्ष्मी मन्दिरतर्फ लागे। यसपालिको जात्रामा नयाँ पुस्ताको सहभागिताले उनीहरू पनि खुशी छन्। लामो समयदेखि बुबा, काका, ठूलोबुवा पुस्तामै घुमिरहेको जिब्रो छेड्ने जात्रा नयाँ पुस्तामा सर्दा आफूलाई निकै खुशी लागेको माइलाले बताए। “परम्परादेखि चल्दै आएको चलन नयाँ पुस्तामा सर्दा खुशी छु,” उनी भन्छन्।
रथपूजा आयोजक समितिका अध्यक्ष गणेशमान चित्रकार सुजनले देखाएको अग्रसरताले युवा पुस्तालाई प्रेरित गर्ने बताउँछन्। पढाइ तथा रोजगारीका लागि बिदेसिने युवा पुस्तालाई सुजनको अग्रसरताले आफ्नो कला संस्कृतिप्रति सम्मान र यसलाई निरन्तरता दिनुपर्छ भन्ने बोध गराउनेमा उनी आशावादी छन्।
जात्राका कहिलेबाट शुरू भयो भन्ने तथ्य अध्यक्ष चित्रकारलाई ठ्याक्कै याद छैन। तर, कुनै समय बोडेमा भूतले दुःख दिँदा उक्त भूतलाई समातेर जिब्रो छेडी नगर परिक्रममा गराएको कथन सुन्दै आएको उनी बताउँछन्।
यस्तो छ किंवदन्ती
किंवदन्तीअनुसार बोडेको जिब्रो छेड्ने जात्रा, मानिसलाई दुःख दिने एउटा पिशाचको सम्झनामा मनाइने जात्रा हो। कुनै समय बोडेनजिकैको बुदेस्थित नीलबाराही देवीको दायाबाया बस्ने ख्याक, कवन, भूत, पिशाचहरूले त्यहाँ बसोबास गर्नेहरूलाई दुःख दिन थालेपछि त्यहाँका बासिन्दाहरू गाउँ छोडेर बोडेमा बस्न थाले। तर, त्यहाँ पनि त्यतिकै दुःख दिएपछि बुँदेवासीले ग्वल (देवपाटन)को मन्त्रतन्त्र जान्ने भीमादत्त आचाजु (आचार्य)लाई दुःख पोखे। तन्त्रमन्तद्वारा आचाजुले उनीहरूलाई समाउन खोज्दा एउटा पिशाच मात्र समाउन सफल भए।
सोही पिशासलाई बोडेवासीले जिब्रोमा सियो घोपी, महादीप बोकाएर नगर परिक्रमा गराए। पिशाचले अबदेखि दुःख दिन्न र भनेको कुरा मान्छु भनी बोडेकै महालक्ष्मी मन्दिरमा वाचा गरेपछि जिब्रोको सियो झिकी दिए। सोही घटनाको स्मृतिमा हरेक वैशाख २ गते पिशाचलाई दिएको सजायकै रूपमा यो जात्रा मनाइने गरिन्छ।
तस्वीर : गोविन्द खत्री/भिडियो : किसन पाण्डे