Wednesday, April 24, 2024

-->

अबिच्युरी
उमाशंकर द्विवेदीः इन्जिनियरिङबाट नेपाली साहित्यमा फड्को, भोजपुरी लेखनमा योगदान

उच्च शिक्षाका लागि काठमाडौँ उमाशंकर द्विवेदी इन्जिनियरिङ् क्याम्पसमा भर्ना भए। फर्किँदा नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए। तर, उनको कलम भोजपुरी भाषामा चल्यो।

उमाशंकर द्विवेदीः इन्जिनियरिङबाट नेपाली साहित्यमा फड्को भोजपुरी लेखनमा योगदान

काठमाडौँ- उमाशंकर द्विवेदी ‘दधिची’ को पहिलो कृति भोजपुरी भाषामा लेखिएको खण्डकाव्य ‘बिदगरी’ २०३८ सालतिर प्रकाशित भएको थियो। त्यसपछि उनी सरकारी जागिरे भए। ३० वर्ष जागिरमा बिताउँदा उनका कृति आउन सकेनन्। तर अवकाश भएपछि पुनः साहित्यमा फर्किए।

२०६८ मा भोजपुरी कथा संग्रह ‘चुरइन’ प्रकाशित भयो। अनि उनी भोजपुरी भाषा र साहित्यको उत्थानमा निरन्तर लागिरहे। उपन्यास लेखे। अनुसन्धानात्मक लेखहरू लेखे। विभिन्न संघसंस्थामा सक्रिय भए।

तर उनले एक दशकभन्दा बढी साहित्यमा सक्रिय हुन पाएनन्। साहित्यकार एवं भोजपुरीका अनुसन्धानकर्ता द्विवेदीको गत चैत १८ गते निधन भयो। 
नेपाली भाषामा लेखिएको उनको पहिलो कथा ‘माइला दाइ’ २०३४ सालतिर गोरखापत्रमा छापिएको थियो। त्यसपछि साहित्यतिर उनको लगाव बढेको थियो। काठमाडौँका समकालीन नेपाली साहित्यकारहरूसँग घुलमिल हुन थालेका थिए।

उच्च शिक्षाका लागि काठमाडौँ आएका उनी पुल्चोक इन्जिनियरिङ् क्याम्पसमा भर्ना भए। फर्किँदा नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए। सिभिल इन्जिनियरिङमा ओभरसियर गरेपछि उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली साहित्य पढेका थिए। तर, उनको कलम भोजपुरीमा चल्यो।

पर्सा जिल्लाको तत्कालीन बहुआरी गाउँ पञ्चायत (हालको वीरगन्ज महानगरपालि–२४) घर भएका द्विवेदी ७० वर्षको उमेरमा दिवंगत भए। उनले खण्डकाव्य, उपन्यास, निबन्ध, कथा संग्रहजस्ता फरक विधामा कलम चलाएका छन्। 

काठमाडौँबाट वीरगन्ज फर्किएपछि उनले लेखेको ‘बिदगरी’ खण्डकाव्य नेपालको भोजपुरी भाषीमा सर्वाधिक चर्चा प्राप्त गर्न सकेको कृति हो। करिब ३० वर्ष द्विवेदीसँग संगत गरेका भाषा आयोगका सदस्य तथा साहित्यकार गोपाल अश्क सरकारी जागिरका क्रममा पुस्तक प्रकाशन नगरे पनि अध्ययन अनुसन्धानमा लागेको त्यसपछि प्रकाशित उनका कृतिबाट प्रमाणित हुने बताउँछन्।

“उहाँ लेखनबाट टाढा हुनुभएको सत्य हो, तर यसबीचमा उहाँले अध्ययन गर्नुभएको रहेछ। समाजका विभिन्न विषयवस्तुको गहन र सुक्ष्म जानकारी थियो उहाँसँग,” अश्क भन्छन्, “द्विवेदीजीको साहित्यमा नेपालको भोजपुरीभाषी समाजको संस्कृति, रहनसहन र मौलिक संवादको प्रचुरता पाइन्छ।” 

वीरगन्जका युवा साहित्यकार ऋतुराज पनि द्विवेदी सिँचाइ विभागको जागिरे भएपछि साहित्यमा अल्पविराम लागेको बताउँछन्। तर, तीन दशकपछि धमाकेदार पुनरागमन गरेको उनको भनाइ छ। द्विवेदीले चुरइन प्रकाशन भएको अर्को वर्ष २०६९ सालमा ‘हमरागाँव के लोग’ भोजपुरी उपन्यास प्रकाशन गरेका थिए।

मौलिक शब्द संयोजन, रैथाने शैलीका वाक्य संरचना र भोजपुरी क्षेत्रको ग्रामीण जीवनको चित्रणको लागि यो उपन्यासले प्रसिद्धि पायो। “केही औँलामा गन्न सकिने उपन्यासहरूको श्रेणीमा ‘हमरागाँव के लोग’ भोजपुरी उपन्यासलाई सामेल गर्न सकिन्छ,” आख्यानकार ध्रुवचन्द्र गौतमले उक्त उपन्यासमा लेखेको ‘दुई शब्द’मा भनेका छन्, “उपन्यासमा कथानकको गठनदेखि लिएर चरित्र चित्रणको सुगठित प्रस्तुतिले पाठकलाई यसमा डुबुल्की लगाउन र प्रशंसा गर्न बाध्य पार्छ।”

साहित्यकार निर्मोही व्यासले उनलाई यौन मनोविज्ञानको चित्रण गर्न सक्ने र विद्रोही चरित्रका पात्रहरूको सिर्जना गर्न सक्ने साहसिक इच्छाशक्ति भएको उपन्यासकार भनेका छन्। 

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले द्विवेदीपछि उनको शैली पछ्याउन सक्ने भोजपुरी साहित्यकार नेपालमा नदेखिएको बताए। “नेपालका भोजपुरी भाषी गाउँहरूमा बोलिने बोली, शब्द, विशेषण र क्रिया विशेषण उहाँको साहित्यको सुन्दरतम पक्ष हो। लोकजीवनलाई साहित्यमा उतार्ने अद्भुत सामर्थ्य थियो उहाँमा,” डा. ठाकुरले भने, “उहाँको लेखनमा स्थानीय माटोको सुगन्ध थियो, शब्द र शैली अग्राखजस्तो विशुद्ध थियो।”

साहित्यमा पुनरागमनपछि एक दशक द्विवेदीले सक्रिय लेखनमा समय बिताए। २०७६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उनको ‘कुछ नेपाली कथा भोजपुरी में’ पुस्तक प्रकाशन भएको छ। भेजपुरीमै उनको ‘गदबेर’ कथा संग्रह २०७८ मा प्रकाशित भएको छ। भोजपुरी प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपालीय भोजपुरी के प्रतिनिधि कथा’ पुस्तक र पण्डित दीपनारायण मिश्रद्वारा लिखित ‘पाण्डुलिपि अजामिल’ खण्डकाव्यको सम्पादन उनले गरेका छन्। 

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको भोजपुरी प्रतिष्ठानको द्विवेदी संस्थापक अध्यक्ष थिए। द्विवेदीको निधनले साहित्य र संस्कृतिको एउटा धरोहर गुमेको वीरगन्ज महानगरपलिका प्रमुख राजेशमान सिंह बताउँछन्।

श्रद्धान्जली सभामा बोल्दै वीरगन्जका मेयर सिंह।

“भाषा, साहित्य र संस्कृतिमा गहिरो अध्ययन राख्ने व्यक्तित्वका रूपमा परिचित द्विवेदीको निधनले नेपालीय भोजपुरीमा र समग्र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको छ,” भोजपुरी प्रतिष्ठानको पदेन संरक्षक रहेका नगरप्रमुख सिंहले भने, “भाषा, साहित्य र कलाको उत्थानका लागि उहाँको अपूरो कामलाई अगाडि बढाए मात्र प्रतिष्ठानको सार्थकता हुन्छ।” 

द्विवेदीको नेतृत्वमा प्रतिष्ठानले भाषा साहित्य, कला र संस्कृतिको लागि काम गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका भोजपुरी प्रतिष्ठानका सदस्य अजमत अलीले बताए। नेपाली भाषामा पनि बलियो पहुँच भएका द्विवेदीका एक हजारभन्दा बढी स्तम्भ÷लेख प्रकाशित भएको अलि बताउँछन्। 

धर्म, संस्कृति र शास्त्रीय मान्यता तथा प्रसंगहरूको वर्णन गर्ने गरेकाले उनी संस्कृतिविद्को रूपमा पनि चिनिन्थे। उनले नेपाल प्रज्ञा प्रतिष्ठान र अरू संस्थाहरूको लागि अनेक साहित्यिक अध्ययन तथा कार्यपत्र प्रस्तुत गरेका छन्।

प्रायः प्रत्येक भाषाको आफ्नो एक स्वतन्त्र समाज, परिवेश तथा संस्कृति हुने र संस्कृतिको अर्थ मुख्यरूपले परापूर्वकालदेखिको मान्यतामा आधारित दैनिकी भएको ‘भोजपुरी भाषाको उत्पत्ति, नामकरण, सीमा, वर्गीकरण तथा नेपालमा यसको प्रवेश’ नामको अध्ययनमा उनले उल्लेख गरेका छन्। त्यस आलेखमा उनले लेखेका छन्, “प्रत्येक समाजको आफ्नो एक विशेष स्थिति हुन्छ, जसमा समाज व्यवस्था, पारिवारिक जीवनको ढंग, शिष्टाचार, संस्कार तथा आफ्नो अलग रहनसहन, विश्वास, जीवनप्रतिको धारणा र रुचि हुन्छ, जसको समन्वित रूप संस्कृति हो। छोटकरीमा दैनिक जीवनमा पारम्परिक मूल्यहरूको सिद्धान्त एवं प्रयोगलाई संस्कृति भन्न सकिन्छ।” 

स्तम्भकार चन्द्रकिशोरले उनलाई साहित्यकारसँगै भोजपुरी लोकजीवनको जानकारको रूपमा सम्झिनु पर्ने बताउँछन्। गत चैत १८ मा वीरगन्ज–२४ बहुअरीस्थित निवासमा द्विवेदीको हृदयघात भएको थियो। उपचारका लागि अस्पताल लैजाँदैगर्दा दिउँसो करिब साढे ३ बजे उनको निधन भएको थियो।


सम्बन्धित सामग्री