Thursday, March 28, 2024

-->

भक्तपुरको कला संग्रहालयलाई पूर्णरूपमा मल्लकालीन नबनाउने पुरातत्त्व विभागको अडान, सात वर्षदेखि टेकोको भर

२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले  मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।

भक्तपुरको कला संग्रहालयलाई पूर्णरूपमा मल्लकालीन नबनाउने पुरातत्त्व विभागको अडान सात वर्षदेखि टेकोको भर
लाल बैठक (बायाँ) र कला संग्रहालय। तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ– भक्तपुरका प्रेमकुमार श्रेष्ठ राष्ट्रिय कला संग्रहालयका पूर्वकर्मचारी हुन्। २०७२ सालको महाभूकम्पले भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालयमा क्षति पुर्‍याएको सात वर्षसम्म पुनर्निर्माण नहुँदा उनलाई आश्चर्य लागेको छ। जबकि, अन्य सम्पदाको तुलनामा संग्रहालयलाई भूकम्पले आंशिक क्षति मात्र पुर्‍याएको थियो। 

भूकम्पले पूर्ण क्षतिग्रस्त बनाएको संग्रहालय वरपरका वत्सला, शिलु महादेव मन्दिर, सत्तलजस्ता दरबार स्क्वायर क्षेत्रका अन्य सम्पदा मौलिक स्वरूपमा पुनर्निर्माण भइसकेका छन्। यी सम्पदा पुनर्निर्माणमा भक्तपुर नगरपालिकाले अग्रसरता लिएको थियो।

२०७४ को स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै नगरपालिकाले १२४ सांस्कृतिक सम्पदा पुनर्निर्माण गरेको जनाएको छ। दोस्रो कार्यकालमा ६ महिनायता ११ अन्य सांस्कृतिक सम्पदा पुनर्निर्माण भएका छन्। तर दरबार परिसरमै रहेको राष्ट्रिय कला संग्रहालय र लाल बैठकको पुनर्निर्माणमा भने ढिलाइ भएको छ।

संग्रहालय पुनर्निर्माण गर्न २०७२ सालको भूकम्पपछि २०७५ सालमा पुरातत्त्व विभाग र नगरपालिकाले प्रयास गरेका थिए। तर चार वर्ष बितिसक्दा पनि पुनर्निर्माण शुरू हुनै सकेको छैन।

नगरपालिका र पुरातत्त्व विभागबीच शैलीमा मतभेद
पुनर्निर्माणलाई लिएर भक्तपुर नगरपालिका र पुरातत्त्व विभागबीच विवाद छ। कला संग्रहालय र लाल बैठक पुरानो कागजपत्रको आधारमा बनाउने भक्तपुर नगरपालिकाको योजना छ। तर पुरातत्त्व विभाग जस्तो स्वरूपमा ती संरचना क्षतिग्रस्त भएका थिए, त्यही स्वरूपमा बनाउनुपर्ने पक्षमा छ।

संरक्षणको जिम्मा लिने दुई निकायबीचको विवादका कारण कला संग्रहालय अहिले पनि टेकोको भरमा छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार, हाल क्षतिग्रस्त संग्रहालयको एक भाग मल्लकालीन र अर्को भाग राणाकालीन शैलीमा छ। राणाकालीन भागलाई लाल बैठक भनिन्छ।

नगरपालिकासँग रहेका पुराना कागजातले उक्त संग्रहालय नेपाल संवत् ८१८ मा राजा भूपतीन्द्र मल्लको पालामा बनेको पुष्टि हुन्छ। प्रजापतिका अनुसार संग्रहालय त्यति बेलाकै मौलिक शैलीमा बन्नुपर्ने नगरपालिकाको अडान हो। 

(सन् १८५६) १९१३ सालमा बडाहाकिम धीर शमशेरले दरबारको केही भाग हत्याएको र राणाकालीन शैलीमा बनाएको कागजात फेला परेको हुँदा ९० सालको भूकम्पपछि क्षतिग्रस्त अन्य भाग पनि सोहीअनुरूप बनेको उनको भनाइ छ। “स्थानीय सरकार–२०७४ को निर्वाचनअघि पुरातत्त्व विभागले संग्रहालय पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिसकेको थियो। हामीसँग रहेका पुराना डकुमेन्ट हेर्दा लाल दरबारको नभई सिंह ढोका भएको पायौँ,” नगरप्रमुख प्रजापतिले भने, “त्यसपछि, हामीले बैठक बोलाएर उक्त टेन्डर रद्द गर्न भन्यौँ। २०७५ साउन ८ को बैठकले रद्द गर्ने निर्णय गर्‍यो।” 

इतिहासकार पुरुषोत्तम लोचन श्रेष्ठ संग्रहालयको रूपमा सञ्चालन भएको उक्त भवन ‘न्हयकं झ्या’ दरबार राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८१८ मा निर्माण गराएको बताउँछन्। उनका अनुसार, उक्त दरबारलाई मालती चोक दरबार तथा सिंहढोका दरबार भन्ने गरिन्थ्यो। 

लेखक रविन मुनंकर्मीको ‘मल्लकालीन न्हयकं झ्या दरबार’ लेखमा भनिएको छ, “दरबारको आधा भाग भक्तपुरको बडाहाकिम धीर शमशेर राणाद्वारा सन् १८५६ मा, हटाएको थियो। उसले भारतमा श्रृजना भएको अंग्रेज शैलीको लाल बैठकलाई पहिलो तल्लामा र भुईं तल्लामा ६ वटा खम्बा भएको बार्दली रचना गरिएको हालसम्म यथावत् छ।  यो दरबारको पश्चिमतिर बाँकी रहेको संरचनालाई ९० सालका भूकम्पबाट क्षति ग्रस्त हुँदा यसको स्वरूप परिवर्तन गरिएर छानामुनि दोस्रो तल्लामा बीचमा तीनमुखे झ्यालको दायाँबायाँ सानो झ्याल राखी दायाँतिर सानो, ठूलो आँखा झ्याल र बायाँतिर पनि सानो, ठूलो आँखीझ्याल राखिएको छ।”

पुरातत्त्व विभागका प्रवक्ता रामप्रसाद कुँवर दरबार क्षेत्रको सम्पदाले मल्ल र राणाकाल गरी भिन्नाभिन्नै कालखण्डको प्रतिनिधित्व गर्ने हुँदा वर्तमान स्वरूपमै पुनर्निर्माण गर्नुपर्ने बताउँछन्। भक्तपुर दरबार क्षेत्र अहिलेकै स्वरूपमा विश्व सम्पदामा सूचीकृत भएको हुँदा नीतिगत समस्या पर्ने उनको भनाइ छ।

कुनै पनि क्षेत्रमा विभिन्न कालखण्डमा बनेका संरचना सोहीअनुसार बनाउँदा उचित हुने विभागको मान्यता रहेको पनि उनले बताए। “भक्तपुर दरबार क्षेत्र युनेस्को सूचीमा राख्दा सिंहढोका नभई लाल बैठकको रूपमा डकुमेन्ट भएको छ। शैली परिवर्तन गर्न हामीले जानकारी पाउनुपर्ने हुन्छ,” उनले भने।

नगरपालिका र विभागको आ–आफ्नै तर्क
भक्तपुर नगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्त्व विभागको २०७५ साल साउन ८ गते बसेको त्रिपक्षीय बैठकले संग्रहालयलाई मौलिक शैलीमै बनाउने सहमति गरेर निर्णयमा हस्ताक्षर गरेका थिए। उक्त बैठकमा इतिहासकार तथा  सम्बन्धित क्षेत्रका विज्ञहरूको पनि सहभागिता थियो। 

“उक्त निर्णयमा युनेस्कोसँग अनुमति लिन आवश्यक छ भन्ने बुँदा समावेश छ। नेपाल सरकारले पुरातत्त्व विभागमार्फत युनेस्कोसँग अनुमति लिनुपर्ने हुन्छ। हामी त्यही पर्खिएर बसेका छौँ,” नगरप्रमुख प्रजापति भन्छन्, “यस विषयमा विभागलाई पटकपटक पत्राचार तथा बैठक बस्दा पनि स्पष्ट जानकारी आएको छैन।”

यस विषयमा विभाग वा युनेस्को कसले पहल नगरेको हो थाहा नभएको उनी बताउँछन्। नेपालले युनेस्को कन्भेसन–१९७२ मा हस्ताक्षर गरेको कारण युनेस्कोसँगको सहकार्यबिना संरचना परिवर्तन गर्न नमिल्ने पुरातत्त्व विभागका प्रवक्ता कुँवरको तर्क छ। “यस विषयमा थप कुराकानी हुन बाँकी छ,” उनले भने।

विज्ञहरू के भन्छन्?
इतिहासकार श्रेष्ठ विभागको अडान उचित भए पनि राणाकालमा बनेका बेलायती ‘नियोक्लासिकल’ शैलीबाट प्रभावित भएको बताउँछन्। “सय वर्ष बितिसक्दा राणाकालमा बनेको नियोक्लासिकल शैली पनि नेपाली कलाकौशल नै हुन्। तर सम्बन्धित संरचनामा मौलिक शैलीको प्रमाण र सीप छ भने, त्यसैले प्राथमिकता पाउनु पर्छ,” श्रेष्ठ भन्छन्, “आयातित नियोक्लासिकलको तुलनामा नेपालको मौलिक मल्लकालीन शैली यहाँको चिनारी हो।”

सम्पदा संरक्षणविद् रवीन्द्र पुरी पनि नगरपालिकाले राखेको  धारणासँग सहमत छन्। उनी भन्छन्, “कुनै संरचना मल्लकालीन स्वरूपमा थियो, तर घटनाक्रममा त्यो राणाकालीन वा अन्य शैलीमा बनेको थियो र पुनर्निर्माणको आवश्यकता छ भने त्यस्ता संरचना शुरूआतमा जस्तो शैलीमा बनेको थियो, त्यस्तै बनाउनु पर्छ।”

उनका अनुसार काठमाडौँको रानीपोखरी, पाटनको भैदेग मन्दिर, भक्तपुरकै शिलु महादेव यसका पछिल्ला उदाहरण हुन्।

काठमाडौँको रानीपोखरी र पाटनको भैदेग मन्दिर।

लामो विवादपछि प्रताप मल्लको समयमा बनेको रानीपोखरी मन्दिरदेखि भूकम्पअघि नै पुनर्निर्माणको आवश्यकता परेको पाटनको भैदेग मन्दिरहरू पनि त्यस्तै विवाद र समाधान हुँदै बनेका थिए। १९९० सालको भूकम्पबाट क्षतिग्रस्त भएको पाटनको भैदेग मन्दिर राणकालीन शैलीमा पुनर्निर्माण भएको थियो।

पुरीका अनुसार २०७० सालमा युनेस्कोकै सहमति लिएर उक्त मन्दिरलाई शुरूआती मल्लकालीन शैलीमा बनाइँदैछ। यसलाई नजिरको रूपमा स्थापित गरी भक्तपुरको संग्रहालय पुनर्निर्माण गर्न सकिने उनी बताउँछन्। 

“लाल बैठक राणाकरण भएको हो। उक्त भवनका झ्याल तथा ढोका अझै पनि मल्लकालीन छन्। यसमा विभाग रुमलिनु पर्ने अवस्था म देख्दिनँ,” उनले भने।

पुरातत्त्व विभाग विश्वसम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले संग्रहालय र लाल दरबार पुनर्निर्माणबारे विभाग, नगरपालिका र युनेस्कोबीच पटकपटक बैठक, छलफल भइरहेको बताए। उनले भने, “नगरपालिका र विभाग दुवै लचिलो रूपमा बैठकमा प्रस्तुत भएका छन्। चाँडै नै निष्कर्षमा पुग्ने देखिएको छ, विवाद समाधान हुन्छ।”


सम्बन्धित सामग्री