Tuesday, April 23, 2024

-->

रामप्रसादको संग्रहालयमा लोकबाजाको कथा

काङलिङ त्यस्तो परम्परागत बाजा हो, जुन मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। संग्रहालयमा यो बाजा कहाँबाट ल्याइयो भनेर रामप्रसाद खुलाउन चाहँदैनन्। काङलिङ अब लोप हुन थालेको छ।

रामप्रसादको संग्रहालयमा लोकबाजाको कथा

काठमाडौँ– मान्छेको नलीहाडबाट बनेको बाजा! के यस्तो पनि सम्भव हुन्छ?

काङलिङ त्यस्तो बाजा हो, जुन परम्परागत रूपमा मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। काङलिङबारे लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेललाई जानकारी थियो। संग्राहलयका लागि विभिन्न बाजा संकलन गर्ने क्रममा उनले काङलिङबारे अनेक किस्सा सुनेका थिए। देखेका भने थिएनन्। 

यो बाजा कहाँ पाइन्छ भनेर थाहा पाउनै उनलाई धेरै वर्ष लाग्यो। मुस्किलले भेटाएको काङलिङ उनले किनेर ल्याए। तर संग्रहालयमा राख्ने कि नराख्ने दुविधामा परे। वास्तवमा त्यो बाजा संग्रहालयमा राख्न उनी डराएका थिए।

चट्याङ लागेर मृत्यु भएका परम्परागत रूपमा बाजाको काम गर्ने एक जातिका पुरुषको दाहिने नलीखुट्टाको हाडबाट काङलिङ बाजा बनाइएको विश्वास रहेको उनी बताउँछन्। तर अहिले काङलिङ बनाइँदैन।

“काङलिङ कहाँ पाइन्छ भन्ने पत्तो लगाइयो, खरिद गरेर घर पनि ल्याइयो”, उनी भन्छन्, “तर मृत्यु भएको मानिसको हाडबाट बनेको बाजामा प्रेत र नकारात्मक उर्जा हुने लोककथा तथा कहानीमा सुन्दै आएको थिएँ। सोही डरले म दुई दिनसम्म सुत्न सकिनँ।”

संग्रहालयमा राख्ने कि नराख्ने निर्क्योलका लागि बाजा किनेको तेस्रो दिन उनी आफ्ना गुरु स्वामी अखडानन्द सरस्वतीलाई भेट्न गए। त्यसबखत गुरुले भनेको उनलाई अझै याद छ, “सकारात्मक मनसायले प्रयोग गरेको वस्तुमा नकारात्मक उर्जा नै भए पनि त्यो निस्तेज हुन्छ। यसले तिमीलाई केही असर गर्दैन।”

गुरु दक्षिणा हो– लोकबाजा संग्रहालय
त्रिपुरेश्वरस्थित लोकबाजा संग्राहलयका संस्थापक हुन् रामप्रसाद। २८ वर्षअघिसम्म उनी थांका बेचेर जीविकोपार्जन गर्थे। उनलाई थांकासम्बन्धी गहिरो अध्ययन गर्न मन लाग्यो। थांकामा देवी देवताका विभिन्न रूप र महिमा कुँदिएको हुन्छ। यस प्रकारको विद्या आर्जनका लागि गुरुको आवश्यकता पर्ने उनी बताउँछन्।

रामप्रसादले दीक्षा लिन स्वामी अखडानन्द सरस्वतीलाई गुरु थापे। देवी–देवताका विभिन्न आकृति र दैवी शक्ति भएका थांका बुझ्न सक्ने भए। उनले थांका व्यवसायसँगै देशलाई चिनाउन केही नयाँ संकल्प गरेर गुरु भेटी चढाउने निधो गरे। अनि, २०५२ सालमा गुरु दक्षिण स्वरूप लोकबाजा संग्रहालय बनाउने संकल्प गरे।

“शुरूआतमा त मलाई नेपालमा ३०–३५ वटा बाजा होलान् भन्ने लागेको थियो। बिस्तारै खोज्दै जाने क्रममा धेरै बाजा रहेको पत्ता लाग्न थाल्यो। अचम्म पनि लाग्यो,” उनी भन्छन्, “नेपाल एकेडेमीमा तुलसी दिवस र रामशरण दर्नालले तयार गरेका केही बाजासम्बन्धी पुस्तकको सहयोगमा लोकबाजा संग्रहालयको काम अघि बढाएँ।”

संग्रहालय स्थापना थालेको पहिलो वर्ष बाजाहरूको नाम संकलनमै बितेको उनी बताउँछन्। त्यति बेला उनले १५० वटा जति बाजाको नाम संकलन गरेका थिए। 

जीविकोपार्जनको पाटो थांका व्यवसायलाई पनि उनले छाडेका थिएनन्। थांका व्यवसायबाट आम्दानी गरेको केही रकम लोकबाजा संकलनमा खर्चेका थिए। संकलन गरेका बाजाहरू कालधारास्थित आफू बस्ने कोठामा राखेका थिए।

संग्रहालयका लागि आफू बसेको कोठा अपर्याप्त भएपछि २०५८ फागुनमा उनले भद्रकालीमा छुट्टै कोठा भाडामा लिए। त्यसपछि संग्रहालय पनि बिस्तार हुँदै गयो। त्यहाँ पनि उनलाई ठाउँ अभाव हुन थाल्यो।

२०६४ सालमा त्रिपुरेश्वर महादेव मन्दिरको चारमध्ये एक सत्तलमा संग्रहालय स्थापना गर्न राष्ट्रिय गुठी संस्थानले उनलाई सहमति दियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट उनले त्यहाँ संग्रहालय राख्ने अनुमति पाएका हुन्।

उनले स्थापना गरेको संग्रहालय अहिले एउटा कोठामा अट्न मुस्किल छ। संग्रहालयमा नेपालमा पाइने ६५५ प्रकारका एक हजार २०० बाजा छन्। तीमध्ये ५८ वटा बाजा साथीहरूबाट सहयोग पाएका थिए।

उनका अनुसार, नेपालमा एक हजार ३५० प्रकारका लोकबाजा प्रयोग भएको पाइएको छ। सबै बाजा भेट्न मुस्किल भएको र कतिपय लोप भइसकेको हुनसक्ने उनी बताउँछन्।

लोकबाजाको संरक्षण किन आवश्यक?
रामप्रसादका अनुसार प्रारम्भिक बाजाहरू ढुङ्गा, काठ, हाड, पात र सिङबाट बनेका थिए। त्यसपछि विस्तारित हुँदै विभिन्न स्वरूपका र फरक प्रकृतिका धुन निस्किने बाजा आए। “हाम्रो संगीत संस्कृतिको इतिहास विराट छ, जसले हामीलाई छुट्टै पहिचान दिएको छ,” उनी भन्छन्, “मानव इतिहास शुरू भएदेखि नै बाजाको प्रयोग भएको पाइन्छ। ताल बाजाको माउ ताली हो। सुर बाजाको माउ सुसेली भएको इतिहास छ।”

भाषाको उत्पति हुनुअघि संचारका लागि विभिन्न बाजाको प्रयोग भएको उनी बताउँछन्। संचारका लागि हाउभाउ, ताली र ओठमा रुखका पातहरू च्याप्दै विभिन्न सांकेतिक धुनहरू बजाउने चलन थियो। भाषाको विकास क्रमसँगै बाजाको प्रयोग विशेष कार्यहरूमा मात्रै हुन थालेको उनको भनाइ छ।

बाजामा अनेक लोक आख्यानहरू जोडिएका हुन्छन्। “बाजा कहिल्यै एक्लो हुँदैन, बाजासँग समाजका विभिन्न अवयवहरू गाँसिएका छन्,” उनी भन्छन्, “बाजासँग जोडिएका विभिन्न संगीत र संस्कृतिहरू छन्।”

बाजा संकलनकै क्रममा उनले एक बाजाबाट अनेक ताल र सुर बज्छ भन्ने थाहा पाए। उनी भन्छन्, “एउटै बाजाको पनि फरक फरक संगीतको मिठास लिन पाइन्छ। मादलु तालमा पुर्वी नेपालमा बजाइने झ्याउरे र बिस्तारै पश्चिमतर्फ आउँदै गर्दा बजाइने झ्याउरेको भिन्नतामा छुट्टै किसिमको आनन्द महसुस हुन्छ।”

अभिलेखबिना नै बाजाले हजारौँ वर्षको इतिहास बोकेको रामप्रसाद बताउँछन्। परम्परागत युद्धको इतिहास संगीतको धुनमा सजिएर लोकगीत बन्ने गरेको उनको भनाइ छ। “जित्नेहरूको इतिहास शिलालेखमा हुन्छ, तर हार्नेहरूको दुःख र वियोग लामो हुन्छ। त्यो दुःखको संयोजन बाजाले संगीतमार्फत गरेको हुन्छ,” उनी भन्छन्, “हाम्रो अभौतिक सम्पत्ति, सांगीतिक सम्पदाका गाथाहरू भौतिक बाजासँग जोडिएको छ।”

जापान सरकारबाट अवार्ड
बाजा संकलन गरिरहँदा धेरै दुःख भोगेको र संघर्ष गरेको रामप्रसाद बताउँछन्। उनी भन्छन्, “दुःख लुकाउनुपर्छ। बाजा संकलनको हरेक दिन ठक्कर, हन्डर खाए पनि ती संघर्षले संग्रहालय तयार भयो।”

लोकबाजा संस्कृतिको रक्षामा गरेको योगदानको कदर गर्दै जापान सरकारले रामप्रसादलाई सन् २०२० मा नेक्की एशिया अवार्डबाट सम्मानित गरेको थियो। एशिया क्षेत्रमा संस्कृति र समुदायतर्फ योगदान गरेकोमा उनी सम्मानित भएका थिए। उनी भन्छन् “मैले कसैलाई चिनेको थिइनँ। कसैले पुरस्कार दिन्छ भनेर यो काम गरेको पनि होइन। जापानबाट अवार्डका लागि छनोट भएको जानकारी आउँदा म अचम्ममा परेको थिएँ।”

लोकबाजा संग्रहालयमा आगन्तुकहरूको सकारात्मक प्रतिक्रियाले उर्जा थपिदिने उनी बताउँछन्। संगीत सम्बन्धी अध्ययन र अवलोकन गर्न विद्यार्थीहरू पनि संग्रहालय पुग्ने गरेका छन्। कतिपय पर्यटक भने यति धेरै प्रकारका बाजा देखेर आश्चर्यमा पर्ने गरेको उनको भनाइ छ। “हाम्रो भाषा, संस्कृति र संगीत पुस्तान्तरण हुन आवश्यक छ। नत्र हाम्रा यी सम्पत्ति लोप हुँदै जान्छन्,” उनी भन्छन्।

मौलिक लोकबाजाको इतिहास पाठ्यक्रममा समेटेर नयाँ पुस्तालाई पढाउनुपर्ने उनको भनाइ छ। अहिले कक्षा १० को सामाजिक शिक्षामा लोकबाजालाई पनि समेटेको भन्दै उनले खुशी प्रकट गरे।

तर संस्कृति बचाउने नाममा सहायता लिन नहुने रामप्रसादको तर्क छ। “संस्कृति बचाउन सहयोग माग्यौँ भने हामी कमजोर हुन्छौँ। सबैले आफ्नो घरमा मौलिक प्रयोगमा आउने बाजाहरू बचाएर राख्ने हो भने संग्रहालय आवश्यक नै पर्दैन,” उनी भन्छन्।


भिडियो


सम्बन्धित सामग्री