Wednesday, April 24, 2024

-->

रंगमञ्च
दीप दर्नाल भर्सेस कमल घिमिरे

नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई  केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्।

दीप दर्नाल भर्सेस कमल घिमिरे

भोगाइ एक
करिब १५ वर्षअगाडिको घटना हो। टोलमा जस्तापाताले छाएका घरहरू भएको बेला कल्पना गरौँ न।

घरमा छिँडीको एउटा अँध्यारो कोठा खाली थियो। आमाले बताएअनुसार कोही बस्न आउने कुरा भए पनि बैना गरिएको थिएन। त्यो बेला ठूलो हुरिबतास चलेर जस्तापाताले छाएका कमजोर छाप्रका छाना उडायो। एउटा छाप्रोको छाना उडाएपछि त्यो परिवारका मान्छेले ‘आपतकालीन अवतरण’ हाम्रो घरको त्यो खाली कोठामा गरे।

कोठा भाडामा लिएर बस्ने त्यो परिवारले बसिआएको छाप्रो उडाएपछि अर्को कोठा खोजी गर्न थाले। पहिलो आशाचाहिँ आपतकालीन अवतरण गरेको कोठामै बस्न पाए हुने भन्ने रहेछ। हुरिबतास रोकिएपछि हाम्रो परिवारभित्र त्योभन्दा ठूलो हुन्डरी चल्न थाल्यो, पक्ष विपक्षमा वादविवाद शुरू भयो। हामीले उनीहरूलाई ‘यही कोठामा बस’ भन्न सकेनौँ। 

कारण, उनीहरू दलित थिए। दलित हुन् भन्ने थाहा हुँदाहुँदै आपतकालीन अवतरण पाएका हुन्। परिचित नै हुन्। हामीसँग बोलीचाली राम्रै थियो।

अर्काे दिन उनीहरूले कोठा पाए र त्यतै सरे। 

यो घटनाले पछुतो भइरहेछ! अनि, बेलाबेला जातीय विभेदका कुरा बाहिर आउँदा परिवारमा छलफल हुन्छ र नमिठो बनाउँछ। 

यस्तैमा, रूपा सुनुवारको घटनाबाहिर आउँदा हाम्रो परिवारमा पनि स्मृतिमा रहिरहेको उक्त घटनाबारे छलफल भएको हो। परिवारका कसैले पनि जातीय विभेदलाई नमान्दा हामीले आपतकालीन अवतरण गर्न आइपुगेको उक्त परिवारलाई कोठा दिन सकेनौँ। उनीहरूले ‘हामीलाई कोठा दिनुपर्छ’ भनेर अनुरोध पनि गरेका हैनन्। ‘दलित हौँ’ सोचेरै उनीहरू चुपचाप गए। नचाहेर पनि कताकता हामीभित्र गाडिएर रहेको ‘जात व्यवस्था’ हाबी भएको थियो। रूपा बोलिन् र दुनियाँसामू हाम्रो चरित्र उदाङगो भयो। धेरैजसो बोल्दैनन् र ‘छुवाछुत मुक्त’ भएको १५ वर्षसम्म पनि ‘जात व्यवस्था’ चुपचाप कायमै रहन्छ।

नाटक ‘विमोक्ष’को विषयवस्तुभित्र प्रवेश गर्नलाई यही घटना काफी भइदिन्छ। यस्तै परिस्थिति नाटकका पात्रहरूमार्फत अनुभूत गर्न सकिन्छ।

दलित भनेर शहरबाट अपमानित दीप दर्नाल कतै कोठा नपाएपछि कमल घिमिरेको खोल ओढेर यो प्रदूषणयुक्त शहरमा जोगिने कोशिश गर्छ। त्यसपछि जादूकै शैलीमा कमल घिमिरेहरूले कोठा पाउँछन्। कोठा मात्रै पाउँदैनन्, मौका मिले घरधनीको प्रेम पनि पाउँछन्। त्यो प्रेम यतिसम्म अघि बढ्छ कि, घरधनीको सारा सम्पत्ति प्राप्त गर्ने अवस्थामा पुग्छन्। तर दीप दर्नालहरूलाई सास फेर्न पनि साह्रै सकस छ। 

बसिरहेको घरमा दलित भन्ने थाहा पाएपछि आफू अपमानित हुने डरले दीप दर्नालले कोठा छोड्छ। अधबैँसे घरधनी रस्मीदेवी बस्नेतसँगको प्रेममा लिप्त कमल घिमिरेलाई कोठाबाट निकाल्न नचाहेको मुमाहजुरको पश्चातापबाट बुझिन्छ। यो नाटक मुमाहजुर र दीप दर्नालको स्मृतिमा कुँदिएका कलात्मक तस्वीरहरूको दृश्यपान हो। कहिले मञ्चमा दृश्यमार्फत त कहिले भिडियोमार्फत दर्शकहरू स्मृतिमा सजिलै पुग्छन्।

नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई  केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्। 

‘रुकुम कान्ड’का नवराज विक पनि स्मरणमा आइदिन्छन्। कारण, यो नाटक जातीय विभेद मात्रै नभएर प्रेमप्रधान पनि हो। प्रेम, कोठा भाडामा लिएर बस्ने एक दलित युवक र घरधनी रस्मीदेवी बस्नेतबीचको। 

यति भूमिका बाँधिसकेपछि, नाटक हेर्ने दर्शकको लागि सायद मार्ग प्रस्शत भयो नै होला। यति आधुनिक समाजमा बाँचेर पनि हामी हरेक दिन जातीय विभेदका विभिन्न घटनाहरूको साक्षी बस्नु परेकोमा मन चसक्क दुख्छ। दीप दर्नालसँगै आन्दोलित बन्न पुगिन्छ। 

“शुभकार्यमा उनीहरूले सिलाएका त्यही कपडाका लुगा चल्ने, उनीहरूले बजाएका बाजा चल्ने, तर उनीहरू नचल्ने!” यो प्रश्न दीपले गर्छ।

भोगाइ दुई
परदेशबाट फर्किएर काम गर्ने स्कुल पुगेको छु। किचेनमा काम गर्ने महिलाअगाडि आउनुहुन्छ। उहाँसँग मेरो परिचय छैन। उहाँले पुर्खौली थातथलोबारे सोधपुछ गर्नुहुन्छ। आफ्नो परिचयमा नाम ‘रमिला विश्वकर्मा’ बताउनुहुन्छ। 

घरमा आएर बुबाअमासँग सोधपुछ गरेँ।

“ए, उनीहरू हाम्रा आफन्त हुन्! बाउचाहिँ कहाँ छ रे?” कुराकानी गर्दै जाँदा बुबा पुर्खौली थातथलोको स्मरण गर्न पुग्नुहुन्छ। 

“तपाईंले कसरी चिन्नुभयो? हामी आफन्त रहेछौँ,” अर्काे दिन स्कुल पुग्दा मैले भनेँ। 

“त्यही त शङ्का लागेर, हो कि हैन भनेर सोधेको। बौद्धमा बस्नुहुन्छ, हाम्रो बुबाले तपाईंको बुबालाई भेट्न खोज्नु भएको छ, खबर गरिदिनू न है!” अप्ठ्यारो मान्दै उहाँले भन्नुभयो। 

म क्यान्टिन पुग्दा उहाँ मुस्कुराउनु हुन्छ। त्यो मुस्कानमा अप्ठ्यारोपन बढी बुझ्छु। खाजा, खाना उहाँसँगै मागेर सहज पारिदिन कोशिश गर्छु। घरि चिया, घरि खाजा–खाना, घरि पानी पनि ल्यादिनुहुन्छ।

“क्यान्टिनमा तपाईंले हाम्रो आफन्तलाई पो ल्याउनु भएछ, कस्तो कोइन्सिडेन्ट!” कुराकानीको सन्दर्भमा एक दिन स्कुलको प्रशासकलाई अनायासै भनेँ। 

“हो र? उहाँ इन्टरभ्यूबाटै छनोट हुनुभएको हो,” प्रशासकले जवाफ दिए। यस्ता सकारात्मक तस्वीर पनि नभएका हैनन्। 

प्रेमको मार्ग हुँदै जातीय मुद्दामाथिको मन्थन र छुवाछुतबाट मुक्ति खोज्नु नाटक विमोक्षको मियो हो।

कर्णेल श्रीमान् स्वर्गबास भएपछि उनको कमल घिमिरेसँगको प्रेम अस्वाभाविक लाग्दैन। किनभने, कर्णेलको हिंस्रक स्वाभाव, सैनिक चालढाल प्रेमिल रस्मीदेवीलाई नजँचेको हुनसक्छ। उनलाई यौन रुचाउने नारीको रूपमा पनि चित्रण गरिएको छ। दुई छोरीकी आमा रस्मीदेवीले आफ्नो यौनइच्छा पूर्तिका लागि कमललाई प्रेम गरेजस्तो लाग्छ। 

तर मुमाहजुरले जीवनको उतरार्द्धमा पश्चाताप गर्दा साँचो प्रेम भएको बताउँछिन्। समाजमा अन्तर्जातीय प्रेम, विवाहको सफलतातिर गएका प्रसंगहरू नभएका पनि हैनन्। यदि साँचो प्रेम थियो भने, रस्मीदेवीलाई कमलको प्रेमबाट छुटाउने तत्त्वहरू केही छैनन्। 

मुमाहजुरका अनुसार उनी दीप दर्नाललाई पनि गहिरो प्रेम गर्छिन्। यही बुझिन्छ। 

आफू अपमानित हुनुपर्ने डरले दीप दर्नाल आफैँ कमलको खोल मृत कर्णेलको वा मुमाहजुरकै घरमा छोडेर भागेको महसुस हुन्छ। किनभने, आफू बाँचेको समाजलाई ढाँटेर दोब्बर उमेरकी महिलासँग प्रेममा बाँचिरहनु सम्भव पनि थिएन होला! 

के कमल घिमिरेले सुरक्षित जीवनयापनका लागि रस्मीदेवीसँगको प्रेम स्वीकारेको हो? आफूभन्दा दोब्बर उमेरकी महिलासँगको प्रेमबाट ऊ के हासिल गर्न चाहन्छ? 

दीप दर्नाल खुब पछुताएको छ। प्रेमसम्बन्ध र यी सबै कुरा उसलाई ढोँग लाग्छ। 

दीप दर्नाल, कमल घिमिरे, रस्मीदेवी, मुमाहजुर को–को हुन् भनेर पाठकहरू अलमलमा पर्ने बेला भयो। दर्शकहरू भने अलमलमा पर्दैनन्। विमोक्ष नाटक बिमारले थला परेकी मुमाहजुरले दर्शकलाई स्मृतिमा पुर्‍याएर सुनाएको आफ्नै कथा हो। जसको घरमा कमल घिमिरे कोठा भाडामा बस्न आइपुग्छ। 

मुमाहजुर र दीप दर्नाल आफ्ना स्मृतिका घटनाहरू स्मरण गर्दै पश्चातापमा अघि बढ्छन्। नाटक विमोक्ष जातीय भेद्भावविरुद्धको बलियो आवाज हो। वर्गीय खाडलबीचमा पनि प्रेम अङ्कुरणको बलियो उदाहरण हो। 

मुमाहजुर (सगुना शाह)को अभिनय सहज, सरल छ। लाग्छ, मुमाहजुरकै लागि सगुनाको जन्म भएको हो। अङ्ग्रेजी भाषाका थुप्रै नाटकमा अभिनय गरेसकेकी सगुनाको परिपक्व अभिनय यसमा देख्न पाइन्छ। ‘एक्टर हुँ’ भन्ने भाव मनभित्र पसेको भए उनले अभिनय देखाउन थाल्थिन्। ‘ननएक्टर’ हुनु नै उनको शक्ति हो।

दीप दर्नाललाई यो शहरले कमल घिमिरे बनाइदिएकोमा नाटकभरि पछुतोमा छन्, दीप। मुमाहजुरले दर्शाउने प्रेम, उनले दिन खोजेको सम्पत्ति सबै लत्याएर मुक्तिको सास फेरेको अनुभूत हुन्छ। अनुभवी कलाकार तथा लेखक घिमिरे युवराज आफैँ दीपको भूमिकामा मञ्चमा उत्रिएका छन्। उनी आफैँ मञ्चमा हुनुले आफूले लेखेको ‘टेक्स्ट’लाई न्याय मिलेको छ। दीपले पीडा बोल्दा दर्शकलाई सन्तुष्टि मिल्छ र पीडामा पनि हलमा दर्शकको हाँसो गुन्जिन्छ। यो सन्तुष्टिको हाँसो गुन्जिनुमा घिमिरे युवराजको अभिनयको परिपक्वता हो।  

पछिल्लो समयलाई विश्लेषण गर्ने हो भने घिमिरे युवराज सामाजिक मुद्दाहरूमाथि प्रस्तुति र लेखनकलामा एकछत्र धावा बोल्ने नाम हो। छोटो समयमा उनले फरक दर्शकको माहोल बनाइसकेका छन्। हो, यस्तै बौद्धिक दर्शकलाई विमोक्षले आकर्षित गर्नुको कारण यसको ‘टेक्स्ट’ कवितात्मक छ। प्रेममा रमाउने युवायुवतीले यो नाटक दोहोर्याएर पनि हेर्न सक्छन्। किनभने, प्रेमलाई यौनको नजिक पुर्याएर दर्शकलाई कुत्कुती लगाउने मात्रै नभएर कमल र रस्मीदेवीको यौनिक भावभङ्गिमा, भेषभूषाले दर्शकहरू कतिखेर त खानेखुशी पनि गर्न पुग्छन्। केही उच्छ्वास फुत्केला ठानेर सायद आफ्नै मुख थुन्न पुग्छन्। 

प्रयोगात्मक धारमा विश्वास गर्ने घिमिरे युवराज आफैँ पनि कुशल निर्देशक हुन्। उनका थुप्रै नाटकहरू चर्चित छन्। शिल्पी थिएटरले प्रस्तुत गरेको यो नाटक शिल्पीको मञ्चन इतिहास हेर्ने हो भने अलि फरकचाहिँ हो। 

रस्मीदेवीले प्रेमिल, यौनिक रस दर्शकमा मज्जैले प्रवाह गर्छिन्। कारण, पवित्रा खड्काको अभिनय अनुभवले हो। शिथिल, बिरामी, निरास दृश्यपछि स्मृतिमा आउने अर्को दृश्यमा दर्शकले खुब मज्जा लिन्छन्। यसरी आउने मज्जामा साथ दिएका छन् नयाँ कलाकार सागर खातीले। मञ्चमा उत्रिएका अरु कलाकारको दाँजोमा नयाँ भए पनि कमलको रुपमा सागरको अभिनय परिपक्व लाग्छ। सागरले नाटकमा कमलको चरित्रमै रहेर प्रत्यक्ष संगीत दिने काम पनि पूरा गरेका छन्। किनभने, कमल गीतार बजाएर गीत गाउन, कविता सुनाउन पोख्त छ।

अहिले नाटक मञ्चनमा विषय छनोटदेखि कलाकार र प्रस्तुतिमा समेत किसिमकिसिमका ‘स्टन्ट’को सहायता लिइराखिएको छ। दर्शक कम आउने डरले यस्ता स्टन्ट हुन्छन्। विभिन्न किसिमका दाबीहरू प्रस्तुत गर्छन्। यो काममा थिएटर, निर्देशक र स्वंयम लेखक पनि लागिपरेका छन्। 

यी सबै झन्झटबाट टाढा रहेर चुपचाप कठिन विषयवस्तुमा काम गरिरहने निर्देशक हुन् प्रवीण खतिवडा। उहिल्यै गुरुकुलबाट उदाएका प्रविण अभिनयका बादशाह हुन्। पछिल्लो पटक कठिन विषयवस्तुमा सरल निर्देशन कौशल लिएर रङ्मञ्चमा छाइरहेका छन्। हेड्डा ग्याब्लर, सरजमिन, मिमाँशा, ऊ कस्को, महादेवको बाजी, लखन पट्वारी, एक बोली एक दाम, मार्क्स फर्किए जस्ता नाटक हेर्ने दर्शक प्रवीणको निर्देशकीय खुबीसँग परिचित छन्। 

निर्देशककै खुबी दर्शिने यो नाटकको सबैभन्दा शक्तिशाली पाटो भनेको मञ्च निर्माण र प्रकाश परिकल्पना हो। भव्य मञ्चले दर्शकलाई अन्तिमसम्म आनन्द दिन्छ। दृश्यानुसार नै परिवर्तन हुने प्रकाश मात्रै पनि पात्रहरूको मनस्थिति बुझाउन पर्याप्त छ। 

मौकाको फाइदा उठाउन नचुक्ने कमल बिन्दास छ। दीपभित्र पश्चातापको ज्वाला दन्किरहेको बुझिन्छ। आफ्नो असली परिचय लुकाएकोमा आत्मग्लानीले छट्पटिएको छ। अति नै भएपछि सहन नसकेर दीपले कमललाई गाली पनि गर्छ। आफ्नै प्रतिबिम्बसँग कुरा गर्न ‘फ्ल्यास ब्याक’ देखाउनलाई निर्देशकले प्रयोग गरेको कौशल आकर्षक छ। र यसलाई मञ्चको सजावटले पनि विश्वासिलो बनाइदिएको हो। 

मेरा धेरै साथीहरू हुनुहुन्छ जो कागजपत्रमा र वास्तविक जीवनमा दोहोरो भूमिका निर्वाह गरिराख्नु भएको छ। ती तमाम साथीहरूको साझा आवाज हो यो नाटक। दर्शक हसाउन भद्दा ‘कमेडी’ गर्ने हिसाबले चरित्र निर्माण गर्ने कलाकारहरू र निर्देशकहरूलाई समेत यो नाटक ठूलो चुनौती हो। 

नाटक विमोक्ष शहर, यहाँका मालिकहरू, यो राज्य र दलितका नारा लिएर बाँचिरहेका नेता, कार्यकर्ता सबैका लागि दरिलो झापड हो। 

धेरै सर्जकहरूले काम गरिरहेका मुद्दामा नाटक विमोक्षले फरक प्रस्तुति दिएर भिन्न छाप छोडेको छ। कलात्मक चेतले भरिपूर्ण यो नाटक फागुन १७ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ।


सम्बन्धित सामग्री