Friday, April 19, 2024

-->

१०० वर्ष पुरानो श्रीमहलको अस्तित्व संकटमा, कसले गर्दैछ मास्ने प्रपञ्च?

रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

१०० वर्ष पुरानो श्रीमहलको अस्तित्व संकटमा कसले गर्दैछ मास्ने प्रपञ्च
श्रीमहल। तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– रानीसाहेबा, उपस्थित सज्जनवृन्द। आजको समारोहमा मैले भाग लिन पाएँ। त्यसमा मलाई बहुत खुशी लागेको छ। खुशी दुई कुराले छ। एउटा कुरा त केमा भने, हामीहरूको बीचमा कृषिका सम्बन्धमा अनुसन्धानका लागि एउटा केन्द्रको आवश्यकता थियो, त्यो स्थापित हुने भो र रानीसाहेबाको कृपाबाट। त्यसले एउटा अर्को खुशी रानी साहेबाकै जुन एउटा उदारताको परिचय दान दिनु भएको छ, यस दानबाट आफ्नो निजी सम्पतिलाई कसरी हितकारी काममा  लाग्न सकोस् भन्ने प्रमाण दिनु भएको छ। त्यसले गर्दा बडो खुशी लागेको छ समारोहमा सरिक हुन पाउँदा। 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०१७ मंसिर २४ गते रानी जगदम्बा देवीले पुलचोकस्थित श्रीमहल सरकारलाई दान दिन आयोजित कार्यक्रममा दिएको भाषणको अंश हो यो।

उक्त भवन सरकारले कृषि अनुसन्धान केन्द्रको रूपमा उपयोग गर्ने भाषणमा उल्लेख भएअनुसार त्यतिखेर श्रीमहललाई ‘जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र’ नामकरण गरिएको थियो। तर ६ दशक बितिसक्दा पनि श्रीमहललाई कृषि अनुसन्धान केन्द्र बनाइएन। केही वर्ष कृषि महाविद्यालय राखिएको भवन बरू अन्य प्रयोजनका लागि प्रयोग गरियो। २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएपछि भने बेवारिसे छाडिएको थियो।

श्रीमहलमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागको कार्यालय थियो। भूकम्पपछि उक्त कार्यालय श्रीमहल नजिकैको अर्को सरकारी भवनमा सरेको छ।

क्षतिग्रस्त भवनलाई त्यतिकै छाडिएको छ। भवनका बाहिरी केही भाग भत्किसकेका छन्। चर्केको र भत्केको भाग उदांगै छ। 

क्षतिग्रस्त श्रीमहल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विभागले गएको माघ २७ गते एउटा सूचना प्रकाशित गरेको थियो। सूचना श्रीमहलको वातावरणीय प्रतिवेदन मूल्यांकन (ईआईए) सम्बन्धी छ।

सूचनामा श्रीमहल क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा के–कस्ता प्रभाव पर्दछ यकिन गर्न सो स्थानको सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएको उल्लेख छ। त्यसपछि सार्वजनिक सुनुवाइ गरेर भवन पुनर्निर्माणको टेन्डर प्रक्रिया शुरू हुने स्थानीय पूर्वाधार विभागका प्रवक्ता महेश अर्याल बताउँछन्।

“हामीले वातावरण परीक्षणको लागि सूचना निकालेका हौँ,” प्रवक्ता अर्याल भन्छन्, “त्यसपछि बजेट अस्योरेन्स हुन्छ। पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको पुरानै डिजाइनलाई आधार मानेका छौँ।” यस परियोजनाका लागि अनुमानित रकम एक अर्बभन्दा माथि रहेको उनी बताउँछन्।

विभागका योजना शाखा प्रमुख राजकाजी श्रेष्ठका अनुसार भवन पूर्णरूपमा भत्काएर बनाउन लागिएको हो। २०७५–७६ सालमै पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माणका लागि टेन्डर आव्हान गरे पनि विभिन्न कारणले रद्द भएको उनले बताए। 

इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङ रिर्सच एन्ड कन्सल्ट नामको संस्थाले अध्ययन गरेर भवन भग्नावशेष भएको र भत्काएर पुनर्निर्माण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिएको छ। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त निजी संस्थालाई अध्ययनको जिम्मा दिएको प्रवक्ता अर्यालले जानकारी दिए।

उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र कटवाल भन्छन्, “हामीले अध्ययन गर्दा भवन संहिताअनुसार भवनहरूको अवस्था कस्तो छ? आगामी भूकम्पमा कतिको जोखिम छ वा छैन भनेर अध्ययन गर्छौं। जगदेखि नै ढल्किएको, ठूला क्र्याक भएको, एक भाग भत्किएको जस्तो अवस्थामा पुनर्निर्माण नै उपयुक्त हुन्छ।” 

यद्यपि, ऐतिहासिक भवनहरू जोगाउन प्रबलीकरण गर्न सकिने विकल्प खुला हुने कटवाल बताउँछन्। तर यस्ता भवन कार्यालय प्रयोजनमा प्रयोग हुँदा सीमित संख्यामा मात्र मानिस बस्न सकिने उनको सुझाव छ। 

‘लोड–बियरिङ’ भवन भत्काउनु पर्दैन
श्रीमहल करिब १०० वर्ष पुरानो भवन हो। सम्पदा संरक्षणविद् रवीन्द्र पुरी राणाकालीन तथा मल्लकालीन समयमा ‘लोड–बियरिङ’ (पिलर प्रणाली नभई इँटाको गारोले बनेको) शैलीमा बनेका भवन भत्काउनु नपर्ने बताउँछन्। यस्ता भवनलाई ‘रेट्रोफिटिङ’ अर्थात् प्रबलीकरण गर्न सकिन्छ। ऐतिहासिक भवनलाई जति खर्च लागे पनि प्रबलीकरण नै गर्नुपर्ने उनको भनाइ छ।

श्रीमहललाई पनि पुनर्निर्माण गर्न आवश्यक नरहेको पुरी बताउँछन्। जीर्णोद्वारको रूपमा भवनलाई प्रबलीकरण गर्नु सबैभन्दा उत्तम उपाय भएको उनको भनाइ छ। भत्काउने निर्णय भइसकेका सिंहदरबार तथा बबरमहललाई सम्पदा संरक्षणविद् तथा अभियन्ताकै प्रयासमा रोकिएको उनले बताए।

“२०७२ सालको भूकम्पपछि राणाकालीन भवनहरू क्षतिग्रस्त भए। पुनर्निर्माणमा राज्य संयन्त्र नै अग्रसर भयो, त्यो अनावश्यक हो,” उनी भन्छन्, “आर्थिक लाभ नै भवन पुनर्निर्माणको कारण बनेको सबैलाई थाहा छ।”

‘अद्वितीय कृति’ संरक्षण गर्नुपर्ने
प्राचीन स्मारक संरक्षण ऐन २०१३ दफा २ (क) अनुसार १०० वर्ष पुगेका भवन, स्तम्भ, शिलालेख, पात्रलगायतका वस्तु पुरातात्विक हुन्, जसलाई कुनै प्रकारको क्षति पुर्‍याउन पाइँदैन। श्रीमहल निर्माण भएको ९९ वर्ष पुगेको र त्यसैलाई आधार मानी कानूनको गलत व्याख्या गर्दै यस्ता ऐतिहासिक भवन भत्काउन खोजिएको सम्पदा संरक्षणविद् तथा अधिवक्ता सञ्जय अधिकारीको दाबी छ।

यिनै कारण देखाई महांकालअघिको त्रिचन्द्र मिलिटरी हस्पिटलको भवन पनि भत्काइएको उनी बताउँछन्। प्राचीन स्मारक ऐनको दफा १६ (क) मा १०० वर्ष ननाघेका, तर अद्वितीय किसिमका कलाकृति बचाउनुपर्ने व्यवस्था छ। उक्त दफामा भनिएको छ, “यस ऐनमा अन्यत्र जुनसुकै कुरा उल्लेख भए तापनि १०० वर्ष ननाघेका अद्वितीय किसिमका कलाकृति तथा कुनै समयको महत्व दर्साउने स्मारकहरू पुरातत्व विभागले संरक्षण गर्न गराउन सक्नेछ।”

सोहीअनुसार, न्यूनतम क्षति हुनेगरी भवनलाई प्रबलीकरण गर्नुपर्ने अधिवक्ता अधिकारी बताउँछन्। “भवन भत्काएर पुनर्निर्माण पहिलेजस्तै बनाउने भन्ने व्याख्या नै नमिल्दो छ,” उनले भने। 

पुरातत्व विभागका प्रवक्ता रामप्रसाद कुँवर श्रीमहलको पुनर्निर्माणका लागि कुनै प्रकारको सहमति तथा जानकारी प्राप्त नभएको बताउँछन्। “त्यहाँ भवनको एक भाग भत्कने अवस्थामा रहेको र दुर्घटना निम्तिन सक्ने सूचना आएपछि प्राविधिक अध्ययन टोली खटाएका थियौँ,” प्रवक्ता कुँवर भन्छन्, “यद्यपि, पुनर्निर्माणकै लागि सम्बन्धित विभागबाट कुनै प्रकारको जानकारी आएको छैन।” 

स्थानीय पूर्वाधार विभाग योजना शाखाका प्रमुख श्रेष्ठले भवनको डिजाइन र योजनाबारे पुरातत्व विभागलाई जानकारी दिन बाँकी रहेको बताए।

चन्द्र शमशेरले छोराहरूका लागि बनाएको भवन
यो भवन राणा प्रधानमन्त्री चन्द्र शमशेरले १९८० सालमा बनाएका थिए। इतिहासकार पुरूषोत्तम शमशेरद्वारा लिखित् ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकअनुसार चन्द्र शमशेरले उनकी कान्छी बडामहारानी बालकुमारी देवी र दुई छोरा विष्णु शमशेर तथा मदन शमशेरका नाममा भवन बनाएका थिए (पृष्ठ ६४)

रानी जगदम्बा। तस्वीर स्रोत: मदन पुरस्कार पुस्तकालय

रानी जगदम्बाले श्रीमहल सरकारलाई दिएको समाचार २०१७ मंसिर २७ को गोरखापत्रमा प्रकाशित भएको थियो। ‘कृषि कलेज तथा अनुसन्धानशालाका लागि रानी जगदम्बाद्वारा श्रीमहलको हस्तान्तरण’ शीर्षकमा प्रकाशित समाचारमा श्रीमहल ४० वर्षअगाडि निर्माण भएको उल्लेख छ। त्यसअनुसार उक्त भवन १९७७ मा नै बनेको हो। त्यस्तै इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङ रिर्सच एन्ड कन्सल्टले तयार पारेको प्रतिवेदनमा उक्त भवन १९८३ साल (सन् १९२६) मा निर्माण भएको  उल्लेख छ। 

१९८६ मंसिर ३० गते चन्द्र शमशेरको निधन भएपछि भीम शमेशर सत्तामा आए। चन्द्र शमशेरकी रानी बालकुमारी र उनका जेठा छोरा विष्णुशमशेर विदेश पलायन भए। कान्छा छोरा मदन शमशेर र उनकी श्रीमती जगदम्बा देवी श्रीमहलमा बसेका थिए। 

राणा शासनको अन्त्यसँगै रानी जगदम्बाले करिब १८० रोपनीमा बनेको उक्त महल र वरपरको क्षेत्र विभिन्न प्रयोजनमा दान तथा बिक्री गरेको अभिलेख पाइन्छ। जसमध्ये, श्रीमहल २०१७ सालमा कृषि महाविद्यालय सञ्चालनका लागि दान गरिएको समाचार त्यही साल मंसिर २७ गतेको गोरखापत्रमा प्रकाशित छ। 

त्यस्तै, महलको मुख्यद्वारको २२ रोपनी जग्गा रानी जगदम्बाले साझा यातायातलाई प्रदान गरेको साझा यातायात परिसर नजिकै रहेको शिलालेखमा उल्लेख छ।

युरोपियन नियोक्लासिक डिजाइनको ‘अद्वितीय कलाकृति’
एन्फ्रास्ट्रक्चरल इन्जिनियरिङ रिर्सच एन्ड कन्सल्ट प्राइभेट लिमिटेडको अध्ययनमा श्रीमहलको अद्वितीय कलाकृतिबारे उल्लेख छ। युरोपियन नियोक्लासिक डिजाइनमा बनेको तीनतले श्रीमहल चर्तुभुज आकारमा छ। इन्जिनियर किशोर नरसिंह राणाले यसको डिजाइन गरेका थिए।

माटो मोटरले बनेका कोरिन्थ कोलम शैलीका पर्खाल, हरेक झ्यालमाथि स्टक्को, पोर्टिकोस्, कोलोल्यान्डजस्ता युरोपियन शैली भवनमा कुँदिएका छन्। त्यस्तै, चार ग्रिसेली मानवका आकृति पनि देखिन्छन्। युरोपियन शैलीमा भवन बने पनि सुर्की, माटो मोटर, बुर्जा, इँटाजस्ता स्थानीय साधन र स्थानीय कलाकौशल प्रयोग भएको सम्पदा संरक्षणविद् पुरी बताउँछन्। 

सन् १८४६– १९५१ को बीचमा नेपालभर यस्ता ५० वटा जति भवन बनेको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये १० वटा भवन चन्द्र शमशेरले बनाएका थिए।

यी भवनमध्ये त्रिचन्द्र कलेजको भवन, राष्ट्र बैंकको पुरानो भवन बाँकी छन्। त्यस्तै, लक्ष्मी निवासलाई पुनर्निर्माण गरिएको छ भने सेतो दरबारको ढोका मात्र बाँकी रहेको अधिवक्ता अधिकारीले बताए। बरू, स्थानीय मठ–मन्दिरहरू समुदायको मातहतमा हुँदा संरक्षण भएको उनको तर्क छ।

सम्पदा संरक्षणविद् पुरी भत्काउनु नपर्ने दरबार हाई स्कुल र राष्ट्र बैंकको भवन पनि भत्काएर नोक्सान गरिएको बताउँछन्। राष्ट्र बैंकको भवन त पुरातत्व विभागले नै नभत्काउन भने पनि नटेरिएको उनको भनाइ छ। पुरी भन्छन्, “यस्तै क्रम जारी रह्यो भने भोलिका दिनमा हामीसँग केही पुरातात्विक सम्पदा बाँकी रहने छैनन्। पुराना सम्पदा जीर्णोद्वार गर्ने हो, भत्काउने होइन।”

दानको भवन विभिन्न प्रयोजनमा
कमल दीक्षितको ‘नेति नेति’ पुस्तकको पृष्ठ ६६ को अन्तिम पंक्तिमा उल्लेख छ, “जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र खोल्ने भनेर रानी साहेबले दान दिएको भवन पुस १ गते रातिदेखि बन्दीगृहमा परिणत भयो। धेरै जना राजनेताहरू त्यही श्रीमहलमा नजरबन्दमा रहे, २–३ वर्षसम्म त्यो त्यस्तै रह्यो– श्रीमहल बन्दीगृह।”

इतिहासकार पुरूषोत्तम बस्नेतका अनुसार, राजा महेन्द्रले ‘कु’ गरेसँगै गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइरालालगायत नेतालाई त्यहाँ थुनिएको थियो। त्यसपछि केही समय ओभरसियर कम्पनी भाडामा बसेका थिए।

२०१७ सालमा कृषि महाविद्यालय बनाउने भनेर दान भएको भए पनि २०२५ पुसबाट महाविद्यालय सञ्चालन भएको थियो। त्यसअघि २०१४ सालमा स्थापित महाविद्यालय सिंहदरबारमै सञ्चालनमा थियो।

श्रीमहलमा कृषि महाविद्यालय राखिएको चार वर्षपछि २०२९ सालमा रामपुर सारिएको त्यहाँस्थित कृषि क्याम्पसका प्रमुख मिलन सुवेदी बताउँछन्। “पुल्चोकमा पर्याप्त स्थान भएन र कृषि विषयको प्रयोगात्मकका लागि आवश्यक पर्ने खेती काठमाडौँभन्दा ग्रामीण भेग उचित हुने भनी तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्र, रामपुरमा हस्तान्तरण गरिएको थियो। सो निर्णयसँगै कृषि महाविद्यालय रामपुर सरेको हो”, क्याम्पस प्रमुख सुवेदीले भने। 

लेखक तथा पत्रकार कनकमणि दीक्षितका अनुसार, बन्दीगृहपछि केही समय कृषि महाविद्यालय पनि सञ्चालन भएको थियो। पछि उक्त महाविद्यालयलाई चितवनको रामपुर सारियो। “एउटा प्रयोजनका लागि दान दिइएको भवन अर्को प्रयोजनमा किन र कसरी प्रयोग भइरहेको छ?” दीक्षित प्रश्न गर्छन्।


सम्बन्धित सामग्री