रवि लामिछानेको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरेर रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गरेर लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो।

लामिछाने चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दर्ता भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान तथा कारबाही शाखाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा रहेको व्यवस्थाअनुसार कामकारबाही गर्न सभामुखलाई पत्र लेखेको थियो।

“सम्माननीय सभामुखलाई सम्बोधन गरी पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ।

रास्वपाले सोमबार नै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ।